• वि.सं २०८१ भदौ २२ शनिबार
  • Saturday, 07 September, 2024
पवन बराइली
२०८१ भदौ १ शनिबार १०:०९:००
समाज

मिस नेपाल प्रतियोगितामा महिला सशक्तीकरणको बहस धेरै गरिन्छ 

२०८१ भदौ १ शनिबार १०:०९:००
पवन बराइली

 

मिस नेपालमा विभिन्न चरणमा प्रतिस्पर्धा हुन्छ । अनि कसरी सौन्दर्य प्रतियोगिता मात्रै भयो ? मिस नेपालमा सुन्दरतामा भन्दा पनि बौद्धिकतालाई प्राथमिकता दिइन्छ । त्यसैले सौन्दर्य प्रतियोगितालाई रूपमा मात्रै हेरिनु हुँदैन । 

 

मिस नेपाल–२०२४ को उपाधि जित्नुभयो । यो उपाधिको हकदार तपाईं नै कसरी हुनुभयो ?
मिस नेपालमा विभिन्न पेसा र व्यवसायबाट सहभागी थिए ।  सबै कन्टेस्टेन्ट उत्कृष्ट थिए । म पेसाले व्यवसायी हुँ । अरू डाक्टर, इन्जिनियर, आर्किटेक्टलगायत विभिन्न पृष्ठभूमिबाट सहभागी थिए । अझ म सोसियल वर्क ब्याकग्राउन्डबाट थिएँ । त्यसैले विभिन्न प्रोजेक्टमा आबद्ध भएर सोसियल वर्क गर्दै आइरहेकी छु । मैले १८ वर्षको उमेरमा आफ्नै व्यवसाय सुरु गरेँ । अहिले एक दर्जनभन्दा बढी महिलालाई रोजगारी दिइरहेकी छु । मैले पढाइसँगै कामलाई पनि प्राथमिकता दिँदै आएँ । मेरो समाजप्रतिको दृढ संकल्प र आत्मविश्वासले पनि मिस नेपाल बन्न सहयोग पुग्यो जस्तो लाग्छ । तर, सबैे आ–आफ्ना पर्सनालिटी, भिन्नभिन्न सीप र पृष्ठभूमिका कारण आफ्नो क्षेत्रमा सक्षम थिए । 

 

ताज पहिरिने उद्देश्य मात्रै बोकेर मिस नेपालमा सहभागी हुनुभएको थियो वा यसका पछाडि अरू पनि सपना छन् ? 
म स्कुल पढ्दादेखि मिस नेपालको कार्यक्रम र अन्तर्वार्ताहरू  हेर्थेँ । कहिलेकाहीँ मनमा म पनि मिस नेपालमा जान सक्छु र भन्ने प्रश्न उब्जिन्थ्यो । तर, कुनै दिन मिस नेपालमा जान्छु भन्ने इच्छाचाहिँ नभएको होइन । मेरो प्राथमिकता पढाइ र काममा मात्रै थियो । साथसाथै सामाजिक कार्यमा पनि सक्रिय थिएँ । मेरो बुबाआमा पनि समाजसेवी हुनुहुन्छ । जसले गर्दा सानैदेखि समाजसँग नजिक हुन पाएँ । विभिन्न सामाजिक संघसंस्थामा भोलेन्टियरका रूपमा काम पनि गरेँ । त्यसको प्रभावले पनि ‘सोसियल वर्क’ नै पढेँ । सोसियल वर्कका लागि म नेपालका दुर्गम ठाउँमा पुगेँ । त्यसबाट नेपालको वास्तविकता बुझ्ने अवसर पाएँ । दुर्गम गाउँमा महिला सशक्तीकरण र सचेतनासम्बन्धी धेरै कार्यक्रम पनि चलाएँ । हिजो गरेको कामलाई प्रभावकारी रूपमा अघि बढाउन र आफ्नो क्षमता निखार्न मद्दत पुग्छ भन्ने उद्देश्यले म मिस नेपालमा आएकी हुँ ।  म नेपालको प्रतिनिधित्व गर्दै ‘मिस वर्ल्ड’मा जाँदै छु । त्यहाँ मलाई कसैले पनि आश्माकुमारी केसी भनेर चिन्दैनन् । मलाई मेरो नामले होइन, नेपाल (देश)को नामले चिन्नेछन्, बोलाउनेछन् । त्यसैले मेरो काँधमा जिम्मेवारी थपिएको छ ।  मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दै देशलाई चिनाउने जिम्मेवारी थपिएको छ । यसलाई नै मैले जीवनको सबैभन्दा ठुलो परिवर्तन भएको महसुस गरेकी छु ।

 

अहिलेसम्म गर्नुभएका काममध्ये तपाईंको प्राथमिकतामा कुन पर्छ ?
काठमाडौंमा बसेर बोल्नु धेरै सजिलो रहेछ । तर, गाउँघरको यथार्थ अर्कै रहेछ । हामी सहरमा बसेर ठुला कुरा गछौंँ । अझै पनि धेरै मान्छेलाई जीविकोपार्जन गर्न कति गाह्रो छ भन्ने बुझ्न सकेको छैन । नेपालको वास्तविकता काठमाडौंमा बसेर मात्रै होइन, नेपालको हिमाल, पहाड र तराईका विभिन्न ठाउँ पुग्न आवश्यक छ । मलाई सोसियल वर्कले नेपाल बुझ्न असाध्यै सहयोग गर्‍यो । सबैलाई शिक्षाको पहुँच पुर्‍याउनुपर्‍यो र शिक्षाको गुणस्तरमा विकास गर्न आवश्यक छ । म पनि नेपालको गुणस्तरीय शिक्षाका लागि काम गर्छु । सोसियल वर्कलाई अझ दीर्घकालीन रूपमा अघि बढाउने सोच छ । मलाई नेपाली महिला भएर देशमै केही गर्ने हुटहुटी छ । देशका लागि काम गर्ने अठोट विश्वास पनि छ ।

 

मिस वर्ल्डका लागि कस्तो तयारी गरिरहनुभएको छ ? 
‘ब्युटी विथ पर्पाेज’लाई मिस वर्ल्डको महत्वपूर्ण पक्ष मानिन्छ । अहिले म ब्युटी विथ पर्पाेज’ प्रोजेक्टमा नै केन्द्रित भइरहेको छु । मैले गर्दै आइरहेको सोसियल वर्कलाई दीर्घकालीन रूपमा कसरी काम गर्न सकिन्छ भन्नेबारे योजना बनाउँदै छु । यसअघि मिस वर्ल्डमा जानुभएकाहरूसँग पनि छलफल गरिरहेकी छु । वर्ल्डमा नेपालको प्रतिनिधित्व कसरी गर्न सकिन्छ भन्नेमा फोकस भइरहेछु । स्टेज प्रस्तुति, व्यक्तित्व विकास, बलियो प्रस्तुतीकरणका लागि पनि आफूलाई तयार गर्दै छु ।

 

नेपाललाई विश्वसामु चिनाउने प्रमुख कुरा के–के हुन सक्लान् ? नेपाल वर्ल्डमा सगरमाथा र वुद्धको घर भनेर चिनिएको छ । जियोग्राफिकल्ली नेपाल वर्ल्डमा चर्चित छ । हामी नेचुरल ब्युटीमा एकदमै धनी छौँ । तर, हाम्रो परम्परागत संस्कृति, नेपालीहरूको सद्भाव र मायालु व्यवहार, यहाँको खानपान पनि मुख्य हुन् । मलाई नेपालको आर्ट, आर्किटेक्चर, कल्चर र खानपानमाथि काम गर्न मन छ । हामी विविधताले सम्पन्न देशमा छौँ । त्यसैले हाम्रो आर्ट, आर्किटेक्चर, कल्चरलाई वर्ल्डमा पुर्‍याउन सकिन्छ । यहाँको संस्कृति र सभ्यतालाई पनि म वर्ल्डमा चिनाउनेछु । 

 

मिस नेपालमा बौद्धिकताभन्दा बाहिरी सुन्दरतालाई प्राथमिकता दिइन्छ भन्ने गरेको सुनिन्छ । तपाईंलाई के लाग्छ ?
मिस नेपाल सौन्दर्य प्रतियोगिता मात्रै होइन । यसपटक हामी डाक्टर, इन्जिनियर, व्यवसायीलगायत विभिन्न फिल्डका सहभागी थियौँ । हामी सबै आफ्ना फिल्डमा सक्षम थियौँ । तर, मिस नेपाल एउटा प्रतियोगिता हो । जहाँ धेरै कुरा सिक्न पाइन्छ । आफ्नो क्षमतालाई थप निखार्न मद्दत गर्छ । महिला अधिकार, उद्यमशीलता, मेन्टल हेल्थ, क्लाइमेट चेन्ज, व्यक्तित्व विकासजस्ता विभिन्न इस्युमा ट्रेनिङ दिइन्छ । यहाँ महिला सशक्तीकरणको झन् धेरै कुरा गरिन्छ । विभिन्न चरणमा प्रतिस्पर्धा हुन्छ । अनि कसरी सौन्दर्य प्रतियोगिता मात्रै भयो ? मिस नेपालमा सुन्दरताभन्दा पनि बौद्धिकतालाई प्राथमिकता दिइन्छ । त्यसैले सौन्दर्य प्रतियोगिताको रूपमा मात्रै हेरिनुहुँदैन ।

 

तपाईंको बुझाइमा सुन्दरता के हो ?
सुन्दरतालाई हेर्ने दृष्टिकोण मान्छेको आँखामा भर पर्छ । बाहिरी सुन्दरतामा क्षणिक मात्रै हुन्छ । मान्छे बाहिरी सुन्दरताभन्दा मनभित्रको सुन्दर हुनुपर्छ जस्तो लाग्छ । तपाईंको मन सफा/सुन्दर छ भने, जीवनभर सुन्दर बनाइराख्छ । मिस वर्ल्डको ‘ब्युटी विथ पर्पाेज’ प्रोजेक्टमा पनि बाहिरी सुन्दरतालाई मात्रै हेरिँदैन, मनभित्रको सुन्दरतालाई पनि हेरिन्छ ।

 

‘मिस नेपाल’ भएपछि समाजका घटनालाई खासै चासो दिँदैनन् भन्ने गरेको सुनिन्छ नि ! 
यो मान्छेहरूको दृष्टिकोण होला । तर, यसअघिका मिस नेपालहरूले समाजमा राम्रो काम गरिसक्नुभएको छ । मिस नेपालहरूले पुलहरू बनाएका छन् । अस्पताल खोलेका छन् । बिजुली बत्ती पुर्‍याएका छन् । यस्ता महत्वपूर्ण प्रोजेक्ट मिस नेपालहरूले गरेका छन् । यसलाई भुल्नु हुँदैन ।

 

तपाईं आफैँ व्यवसायी र सामाजिक कार्यमा सक्रिय हुनुहुन्छ । ‘हिडन ट्रेजर’को अनुबन्धमा एक वर्षसम्म काम गर्नुपर्दा आफूलाई खुम्चिएजस्तो लाग्दैन ? 
मिस नेपाल भएपछि एक वर्ष हिडन ट्रेजरसँग काम गर्नुपर्ने नियम नै हुन्छ । सहभागी हुनुअघि म तयार भएर आएकी हुँ । क्राउन पहिरिपछि मेरो काँधमा दायित्व थपिएको छ । मैले कर्तव्य निर्वाह गर्नुपर्छ । यसलाई बन्धन फिल गर्दिनँ । यो मेरो एउटा कर्तव्य पनि हो । मलाई हिडन ट्रेजरले काम गर्न झन् सहज बनाइदिएको छ । मेरो भिजनलाई फराकिलो बनाउन सहयोग गरेको छ । समाजमा दीर्घकालीन र प्रभावकारी काम गर्ने मेरो सपना छ । समाजसेवा गर्न फन्ड आवश्यक छ । समाजसेवा गर्न  इच्छा मात्रै भएर हुँदैन । यसका लागि हिडन ट्रेजरले थप सम्भावनाका ढोका खोलिदिएको छ । नयाँ प्रोजेक्टहरू सजिलै गर्न सक्ने आँट थपिएको छ ।

 

नेपालमा केही गर्ने वातावरण छैन भन्दै युवाशक्ति विदेश पलायन भइरहेको देखिन्छ । तर, तपाईं देशको मायाले कहिल्यै विदेश जान मन लागेन भन्नुहुन्छ । खासमा तपाईंले के भन्न खोज्नुभएको हो ?
अहिले नेपाल मानव निर्यात गर्ने देशजस्तो बनेको छ । तर,  विदेश जानु नराम्रो पनि होइन । हामी कुवाको भ्यागुतो बनेर बस्नुहुँदैन । देशबाहिर पनि जानुपर्छ । त्यहाँको समृद्धि र समाजलाई बुझ्नुपर्छ । नेपालको विकास हामी युवाले नै गर्ने हो ।  तर, देशमा हामी युवाले अवसर नै देख्न छोड्यौँ कि जस्तो लाग्छ । जहाँ समस्या छ, त्यहाँ उपाय निस्कन्छ । साथै अवसर पनि सिर्जना गर्न सकिन्छ । म नेपालमा अवसरै अवसर देख्छु । हामीले कोसिस नगरेर पनि अवसर नदेखेको हुन सक्छ ।  हाम्रो देशमा समस्या छ । तर, समस्यासँगै अवसर पनि खोज्न सक्नुपर्छ । मेरो बुबाआमाको सोच पनि छोरी विदेशमा पढिदिए हुन्थ्यो भन्ने थियो । म विदेश नजाँदा बुबाआमा धेरै चिन्तित हुनुहुन्थ्यो । मलाई कतिले नेपाल किन बसेको पनि भन्थे । तर, मलाई विदेश जाने सोच कहिल्यै आएन । मलाई कसैले पत्याउँदैनथे । तर, मैले हार मानिनँ । हिम्मत जुटाउँदै अघि बढेँ । मैले  १८ वर्षदेखि आमाबुबासँग सय रुपैयाँ पनि मागेको छैन । खर्च आफैँले कमाउन सकेँ । 

 

राजनीतिक नेतृत्वलाई गाली गरेर हुँदैन । तर, हामीले ‘मैले के गर्दै छु, मैले के गरिनँ भनेर आफैँलाई प्रश्न गर्न आवश्यक छ । हामीलाई परिस्थितिले बाहिर जान बाध्य गराइरहेको होला । फर्किएर विदेशमा सिकेको सीप नेपालमा नै प्रयोग गरौँ ।

 

अहिले राजनीतिक अस्थिरताले गर्दा युवाहरूमा फ्रस्टेसन पैदा भएको छ । हामीजस्ता युवालाई व्यवसाय सञ्चालन गर्न निकै कठिन छ । सरकारले हामीजस्ता युवालाई उद्यमशीलताका लागि प्रोत्साहन गर्नुपर्छ । सरकारले युवालक्षित उद्यममा लगानी गर्न आवश्यक छ । नेपालमा युवाशक्तिलाई रोक्न सरकारले युवालक्षित उद्यमशीलताको रणनीति बनाउनुपर्छ । अर्काे गुणस्तरीय शिक्षामा लगानी गर्नुपर्छ, जसले अवसर सिर्जना गर्न सहयोग पुग्छ । नेपाल पर्यटनको सम्भावना बोकेको देश हो । विश्वका धेरै देशले पर्यटन विकास गरी फड्को मारिसकेका छन् । हाम्रोमा पनि पर्यटकलाई आकर्षण गर्न पर्याप्त सम्भावना छ । यसबाट पनि रोजगारीको सिर्जना गर्न सकिन्छ । 

 

महिला सशक्तीकरणका लागि महिलाको भूमिका कस्तो हुनुपर्ला ? 
महिला दिदीबहिनीले एक–अर्कालाई प्रतिस्पर्धीका रूपमा लिनुहुँदैन । एक–अर्कामा सहयोगको भावना राख्नुपर्छ । हामी शिक्षा र आर्थिक रूपमा बलियो हुनुपर्छ । महिला गृहिणी भएर बस्नु नराम्रो भन्दिनँ । मेरो आमा पनि गृहिणी हुनुहुन्छ । तर, महिला आर्थिक रूपमा बलियो हुनुपर्छ । तपाईंले पैसा मात्रै कमाउनुहुँदैन ।  पैसासँगै आत्मसम्मान र स्वतन्त्रता पनि कमाइन्छ । नेपाली समाज पितृसत्तात्मक सोचबाट माथि उठ्न सकेको छैन । देशको सेकेन्डरी पोजिसनमा महिलालाई राखिन्छ र प्राइमरी पोजिसनमा पुरुषलाई प्राथमिकता दिइन्छ । हुन त पहिलेभन्दा राजनीतिमा महिलाको उपस्थिति बढ्दो छ । तर, इक्वालिटी हुनुअघि इक्युटी महत्वपूर्ण छ । समानता ल्याउनुअघि महिलाको प्रतिनिधित्व पनि जरुरी छ । त्यही भएर महिला आरक्षण निकै महत्वपूर्ण छ । जब महिलाहरू लिडिङ पोजिसनमा पुग्छन्, तब नयाँ पुस्तालाई पनि प्रोत्साहन मिल्छ ।

 

मिस नेपालहरू प्रायः मिडिया र सिनेमा क्षेत्रमै लागेको देखिन्छ, तपाईंको योजना के छ ?
मेरो अभिनय गर्ने क्षमता छैन । अहिले मेरो प्राथमिकता यतातिर छैन । मैले गरिरहेको व्यवसायलाई अझ विस्तार गर्नु छ । अहिले पाएको प्लाटफर्मबाट धेरै लाभ उठाउनु छ । अहिले केही महिलालाई रोजगार दिन सकिरहेको छु । भविष्यमा लाखौँ महिला दिदीबहिनीलाई नेपालमै रोजगारी सिर्जना गर्ने सपना छ । समाजसेवाको यात्राको दायारालाई अझ फराकिलो पार्नुपर्छ । हिजो मलाई कसैले चिन्दैनथे । तर, आज मेरो नाम त थाहा हुन थालेको छ । यो प्लाटफर्म प्रयोग गरेर सामाजिक कार्यमा अझ सक्रिय हुन मन छ । समाजमा दीर्घकालीन र प्रभावकारी काम गर्न मन छ । महिलालाई ‘फाइनान्सियल इन्डिपेन्डेन्स’मा तालिम पनि दिइरहेको छु । आउँदो दिनमा व्यवसाय, सीप विकासमा अन्य महिलालाई पनि अवसर दिने योजना छ ।