मेरो बार्सिलोना सहरले ‘मास–पर्यटन’का कारण मौलिकता गुमाउँदै गइरहेको छ । तर, आगन्तुकलाई धपाउनु यसको समाधान भने होइन ।
मबाट मेरो सहर चोरिएको छ र मैले यसलाई फिर्ता पाउन सकिरहेको छैन । बार्सिलोनामा हामी पर्यटनको भिडले किचिएका छौँ र यसको कुनै समाधान पनि देखिरहेको छैन । युरोपका रोम, फ्लोरेन्स, भेनिस, आमस्र्टडम, पेरिस वा प्रागजस्ता अन्य लोकप्रिय पर्यटन गन्तव्यस्थलमा बसोवास गर्ने मानिसका अनुभव हाम्रा लागि नागरिकका रूपमा अनुकरण योग्य छन्, जहाँ पर्यटनका नकारात्मक प्रभाव कम गर्ने प्रयासले विभिन्न स्तरमा सफलता पाएका छन् ।
बार्सिलोनामा, लोकप्रिय पर्यटक गन्तव्यहरूमा ध्वनि प्रतिबन्ध र प्रणालीजस्ता प्रयासले काम गरिरहेका छैनन् भन्ने कुरा प्रस्ट छ । यही कारण नागरिकका तहबाट विरोध भइरहेको छ । यस सहरमा बर्सेनि लगभग तीन करोड २० लाख पर्यटक आउँछन् ।
यही २२ अगस्टबाट सुरु भएको ‘अमेरिका कप’, शरद ऋतुका लागि निर्धारित ‘हेल्थ एन्ड बिजनेस कंग्रेस’हरू र सबैभन्दा महत्वपूर्ण यस सहरलाई ‘पार्टी डेस्टिनेसन’का रूपमा प्रवर्धनले पर्यटक आगमनलाई नयाँ उचाइमा लैजाने निश्चित छ ।
बार्सिलोना सहरको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को १४ प्रतिशत हिस्सा पर्यटन क्षेत्रले ओगटेको छ । यहाँ पर्यटन क्षेत्रले करिब एक लाख ५० हजार मानिसलाई रोजगारी दिएको छ भने वार्षिक लगभग १२ अर्ब ४५ करोड युरो आम्दानी दिन्छ । तर, केवल १६ लाख जनसंख्या भएको एउटा सहरमा तीन करोड २० लाख पर्यटकको आगमनले नगरको बजेटलाई पनि ठुलो भार पार्छ नै । बार्सिलोनाको नगरसभाले सुरक्षा, सार्वजनिक यातायात, मर्मत–सम्भार र सरसफाइमा पाँच करोड युरो अतिरिक्त आर्थिक व्ययभार थपिने अनुमान गरेको छ ।
दैनिक दुई लाखभन्दा बढी मानिस हिँड्ने सहरको मुख्य चोक ‘ला रम्ब्ला’का फोहोर फाल्ने डस्टबिनहरू दिनमा १४ पटक खाली गर्नुपर्ने हुन्छ । हालैमा नगर परिषद्ले पर्यटक कर प्रतिरात प्रतिव्यक्ति ३.२५ युरोबाट ४ युरोमा वृद्धि गरेको छ । तर, बजेटसँग सन्तुलन मिलाउने हो भने यसलाई पुनः ६ युरोमा वृद्धि गर्नुपर्नेछ ।
बार्सिलोनामा ‘मास पर्यटन’ सापेक्षिक रूपमा भर्खरैको परिघटना हो । बार्सिलोनामा मास पर्यटन सन् १९९२ को ओलम्पिकसँगै सुरु भएको हो । र, बार्सिलोनाका पर्यटन रणनीतिकारहरूलाई प्रचार रणनीतिलाई संख्याभन्दा पनि गुणस्तरतर्फ केन्द्रित गराउनुपर्ने रहेछ, अर्थात् धेरैभन्दा धेरै सांस्कृतिक आगन्तुक र कमभन्दा कम ‘ब्याकप्याकर’लाई आकर्षित गर्नुपर्ने रहेछ भन्ने बुझ्न ३० वर्ष लागेको छ । ‘हाम्रो मध्यावधि लक्ष्य त्यो हो । हामी त्यहाँ पुग्ने नै छौँ । किनकि, हामी थप होटेल निर्माण गर्नेछैनौँ । थप क्रुज वा पर्यटक अपार्टमेन्टलाई अनुमति दिनेछैनौँ,’ बार्सिलोनाको पर्यटन क्षेत्र सञ्चालन गर्ने पब्लिक–प्राइभेट कन्सोर्टियम ‘टुरिज्मे डे बार्सिलोना’का सिइओ माटेउ हर्नान्डेज भन्छन्, ‘यो सहर अझ महँगो हुन गइरहेको छ र यसले कम खर्च गर्ने पर्यटकको भिडलाई पन्छाउनेछ ।’
तर, भन्न सजिलो छ, गर्न सजिलो हुँदैन । उदाहरणका लागि, विश्व व्यापारका लक्जरी सम्मेलन आयोजना वा लक्जरी क्लिनिकमा भिआइपीहरूका लागि नौ सयदेखि चार हजार युरोसम्मका २४ घन्टे चेक–अप सेवा प्रदान गर्ने स्वास्थ्य पर्यटनको प्रवद्र्धनजस्ता कुरा मात्रै पर्याप्त हुँदैन । पर्यटनले पुर्याएको क्षतिको मापन र मूल्यांकन गर्न सक्ने र सोहीअनुसार नीति समायोजन गर्न सक्ने व्यापक एवं दीर्घकालीन दृष्टिकोणको आवश्यकतासँग माटेउ सहमत छन् । उदाहरणका लागि, पर्यटनले रोजगारी सिर्जना गर्न सक्छ, तर पैसा कमाउने प्रलोभनका कारण धेरै युवाले पूर्णकालीन शिक्षा परित्याग गर्ने सम्भावना पनि हुन्छ, होइन र ?
पर्यटनले लागुऔषध तस्करी बढाउँछ । साथै, ससाना अपराध र यौनकार्यलाई पनि वृद्धि गर्छ । यी सबैले सहरको चरित्रलाई नै प्रभाव पार्छ । स्थानीय पसलहरू अक्सर पर्यटकउन्मुख व्यवसायद्वारा प्रतिस्थापित हुन पुग्छन् । केही हप्ताअघि मात्रै ‘ला बार्सिलोनेटा’को समुद्री किनारमा रहेको अन्तिम पुस्तक पसल बन्द गरियो, जसलाई एउटा भाङ पसलले प्रतिस्थापन गर्यो । अब बार्सिलोनामा भाङ पसलहरू २५ पुगेका छन् । यी पसल मुख्यतया सहरको पुरानो भागमा छन्, जो पर्यटकले खचाखच हुन्छन् । सहरको मौलिक सामाजिक तथा आर्थिक संरचनाको संरक्षण गर्न कत्तिको कठिन छ भन्ने कुराको एउटा उदाहरण हो यो ।
सबैभन्दा महत्वपूर्ण कुरा, पर्यटनका कारण सिर्जित ‘जेन्ट्रिफिकेसन’ अर्थात् सहरी क्षेत्र वा त्यहाँका संरचनाको अधिक व्यापारीकरणका कारण स्थानीयवासीको विस्थापन वा सोका कारण सिर्जित महँगाइले आवास संकटलाई थप चर्काइरहेको छ । यसरी सामान्य नागरिकले गम्भीर सामाजिक दुष्परिणामहरू साक्षात्कार गर्नुपरेको छ । घरमालिकले आफ्नो सम्पत्तिलाई अल्पकालिक भाडास्थल वा पर्यटक अपार्टमेन्टमा बदल्न खोज्दा स्थानीय सर्वसाधारणले लामो समयका लागि घरकोठा नै नपाउने हुँदै गएको छ ।
बार्सिलोनाका मेयर जाउमे कोलबोनीले सन् २०२८ सम्ममा पर्यटकलाई अपार्टमेन्ट भाडामा दिन प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । तर, उनको योजनाले कानुनी झमेलाका बाढीको सामना गर्नुपर्ने आकलन सहजै गर्न सकिन्छ । हिजोआज, यो सहरमा १० हजार अधिकृत पर्यटक अपार्टमेन्ट छन् । तर, होलिडे रेन्टलका प्लाटफर्ममा सूचीबद्ध भए पनि धेरैजसो अवैध छन् ।
जब भवन, अपार्टमेन्ट, पसल र रेस्टुराँका मालिकको अधिकतम लाभ निकाल्नबाहेक बार्सिलोनासँग कुनै सम्बन्ध हुँदैन भने तपाईं कसरी एउटा समुदायमा आधारित सहर निर्माण गर्न सक्नुहुन्छ ? अन्तर्राष्ट्रिय लगानीकर्ताले मुख्य पर्यटक क्षेत्रनजिकका व्यावसायिक सम्पत्ति हात पारिसकेका छन् । उनीहरूलाई उनीहरूको नाफा हाम्रो घाटा हो भनेर विश्वस्त पार्न असम्भव जस्तै देखिन्छ ।
यहाँ के गलत भएको छ भन्ने थाहा पाउन यहाँको समुद्र तटलाई नै उदाहरणमा लिँदा हुन्छ । सन् १९९२ को ओलम्पिकअघि हामीसँग समुद्र तट (बिच) भन्ने नै थिएन । पुरानो बन्दरगाह उत्तरको सामुद्रिक तटक्षेत्र कलकारखाना र झोपडपट्टीहरूले ओगटेको थियो । आज, खेलका कारण हामीसँग तीन माइल (५ किमि) भन्दा लामो ‘बिच’ क्षेत्र छ । यहाँको समुद्र र समुद्री तटको बालुवा आन्तरिक एवं विदेशी पयर्टक, पारिवारिक घुमफिर र रमाइलोका लागि आउनेहरूका लागि आकर्षणका केन्द्र हुन् । यसले कसरी सहरी योजनाले एउटा औद्योगिक र उजाड ठाउँलाई जीवन्त बनाउन सक्छ भन्ने देखाउँछ ।
तर, यो ‘जीवन’ ठुला टुर अपरेटर, होटेल, क्रुज जहाज र फुड चेनहरूलाई बेचिएको छ । अहिले यहाँको समुद्री किनारमा केही रहलपहल स्थानीय मात्र बाँकी छन्, तीमध्ये पनि ज्यादै थोरै त्यहाँ टिक्नेछन् । बार्सिलोना सधैँ एउटा खुला सहर रहिआएको छ । भूमध्यसागरीय र आइबेरियन प्रायद्वीपको प्रवेशद्वार अनि बहुराष्ट्रिय तथा बहुसांस्कृतिको प्रवेशद्वार रहिआएको छ । युरोपेली चौराहा (चारदोबाटो)को रूपमा यसले सबैलाई स्वागत गर्छ । स्पेनको दक्षिण भेगका कामदारले यो सहर निर्माण गर्न मद्दत गरेका थिए भने अहिले ‘ग्लोबल साउथ’का मानिसले यो कार्यलाई जारी राखेका छन् । यहाँको लगभग २५ प्रतिशत जनसंख्या विदेशमा जन्मेको छ ।
तर ‘मास पर्यटन’ हालको दरमा बढ्दै गयो भने (स्पेनले २०२३ मा सन् २०२२ को तुलनामा १९ प्रतिशत वृद्धिसहित आठ करोड ५१ लाखसहित कीर्तिमानी विदेशी पर्यटक भित्र्याएको थियो), बार्सिलोनालगायत यहाँका अन्य गन्तव्यले आफ्नो वास्तविक पहिचानका साथै प्रामाणिक पर्यटकीय अनुभव पनि गुमाउँदै जानेछन् ।
केही बार्सिलोनावासी पर्यटकहरूलाई धपाउनुपर्छ भन्दै छन् भावनात्मक भएर । यही कारण, विमानस्थल विस्तारको विरोधमा धेरैको समर्थन छ । बार्सिलोनाका मेयरको हालैको प्रस्तावले क्रुजको संख्यालाई पनि सीमित गरेको छ ।
तर, अवरोधहरू तेर्स्याउँदैमा हामीलाई हाम्रो बार्सिलोना फिर्ता हुनेछैन । अत्याधुनिक कला, संस्कृति र खानाको दृष्टिले समकालीन वास्तुकला र सहरीकरणको एउटा नमुना हो यो सहर । पर्यटक र पर्यटन उद्योगले मेरो सहरलाई सम्मानपूर्वक व्यवहार गर्नुपर्ने मानिसहरूको एउटा समुदायको सट्टा एउटा खेलमैदानको रूपमा व्यवहार गरेर उनीहरूले पुर्याइरहेका हानिका बारेमा बुझाउँदा मात्र यो सहरको स्थितिमा सुधार हुनेछ । यसबाट पर्यटक आफैँ पनि लाभान्वित हुनेछन् । उनीहरूले स्थानीय मित्र र फर्किंदा अविस्मरणीय सम्झना लिएर जान पाउनेछन् ।
(जेभियर मास डे साक्सस ‘ला भ्यानगार्डिया’का स्तम्भकार हुन् । ‘द गार्जियन’बाट नारायण शिवाकोटीको अनुवाद ।)