• वि.सं २०८१ भदौ २२ शनिबार
  • Saturday, 07 September, 2024
पवन बराइली
२०८१ भदौ ८ शनिबार ०८:२५:००
फिल्म

‘डकुमेन्ट्री’मा आएनन् मधेशका कथा 

मधेश डकुमेन्ट्रीका लागि कथाको मुहान हो, तर हामीले त्यतातिर ध्यान दिएका छैनौँ

२०८१ भदौ ८ शनिबार ०८:२५:००
पवन बराइली

 

निर्देशक प्रणय लिम्बूका ‘इतिहास जित्नेहरूका लागि’, ‘फर्गिभ ! फर्गेट नट !’, ‘गोर्खाज् ब्लुज, बोन्डेड फर जेनेरेसन’, ‘द अन्फिनिस्ट रेभुलुसन’, ‘लस्ट इन ट्रान्जिसन’, ‘डडेलोभित्रका सतिसाल’जस्ता डकुमेन्ट्री चर्चित छन् । दुई दशकदेखि डकुमेन्ट्री क्षेत्रमा लागेका उनका ‘इतिहास जित्नेहरूका लागि’ र ‘फर्गिभ ! फर्गेट नट !’ले श्रीलंकाको न्यु वेभ फिल्म फेस्टिभल र टोरन्टो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा अवार्ड जितेका थिए । लिम्बूसँग नेपाली डकुमेन्ट्रीका कथामा केन्द्रित रही पवन बराइलीले गरेको कुराकानी : 

 

डकुमेन्ट्री सजिलो विधा होइन । यसका लागि गहिरो अध्ययन चाहिन्छ । यसमा कलात्मकताले निकै महत्व राख्छ । समाजका कुनै विषयलाई छनोट गरेर आफ्नो आइडियामा काम गरिन्छ । पछिल्लो समय नेपालमा डकुमेन्ट्रीको संख्या बढ्दो छ । तर, गुणात्मक डकुमेन्ट्री भने बनिरहेका छैनन् । सिर्जनात्मकभन्दा पनि विकासे डकुमेन्ट्री धेरै बनिरहेका देखिन्छन् । क्वालिटीको डकुमेन्ट्री बनाउन समय लाग्छ । डकुमेन्ट्री बनाउन आर्थिक रूपमा पनि महँगो छ । हाम्रोमा चार–पाँच दिनमा पनि डकुमेन्ट्री बनाइरहेका हुन्छन् । त्यसरी स्तरीय ‘डकुमेन्ट्री’ बन्दैन । 

 

डकुमेन्ट्रीलाई हेर्ने दृष्टिकोण 
नेपालमा डकुमेन्ट्रीलाई टेलिभिजनमा प्रसारण गर्ने भिडियो रिपोर्टको रूपमा बुझिन्छ । डकुमेन्ट्रीलाई भ्यालु पनि दिइँदैन । टेलिभिजनले हास्य टेलिशृंखला किन्छ । तर, डकुमेन्ट्री किनेर प्रसारण गर्ने आँट गर्दैन । निजी टेलिभिजनले डकुमेन्ट्रीलाई लगानी गर्नुपर्थ्यो । त्यसो गर्दा ओझेलमा परेका विषय डकुमेन्ट्रीमार्फत बाहिर आउँथे । त्यसपछि गुणात्मक डकुमेन्ट्री बन्थ्यो । दर्शकको रुचि बढ्थ्यो । 

 

हाम्रोमा डकुमेन्ट्री बनाएर देखाउने प्लेटफर्मको अभाव छ । हामीले आफ्नै प्यासनले मात्रै डकुमेन्ट्री बनाइरहेका छौँ । गतिलो प्लेटफर्म नहुँदा बाध्य भएर फिल्म फेस्टिभलहरूमा लैजानुपरेको छ । डकुमेन्ट्रीका लागि विषय पर्याप्त भए पनि ल्याउन सकिरहेका छैनौँ । 

 

हामीले डकुमेन्ट्रीमा अग्ला हिमाल, भेडा, चौँरीगोठ र हिमाली गाउँलाई मात्रै देखाइरहेका छौँ । डकुमेन्ट्रीमा मधेशका कथा आएका छैनन् । मधेशमा ओझेलमा रहेका विषय धेरै छन् । तर, डकुमेन्ट्रीमा हामीले ल्याउन सकेका छैनौँ । हामी डकुमेन्ट्रीमा हिमाललाई मात्रै देखाइरहेका छौँ । तराई र चुरे क्षेत्रका भित्री कथाहरू डकुमेन्ट्रीमा आउनुपर्थ्यो । मधेश डकुमेन्ट्रीका लागि कथाको मुहान हो । तर, हामीले त्यतातिर ध्यान दिएका छैनौँ । हामी तराईका विषयलाई डकुमेन्ट्रीमार्फत बाहिर ल्याएर बहस गर्न सक्छौँ । 

 

अहिलेका डकुमेन्ट्रीले समाजका विषयलाई बाहिर ल्याएर बहस गर्न सकिरहेको छैन । ‘फर्गिभ ! फर्गेट नट !’, ‘वु विल बि अ गोर्खा’, ‘जोगीमाराका ज्युँदाहरू’, ‘इतिहास जित्नेहरूका लागि’, ‘द कोरियन ड्रिम’ जस्ता डकुमेन्ट्रीले बहस सिर्जना गरेका थिए । पहिले गम्भीर विषयमा जोखिम मोलेर डकुमेन्ट्री बन्थे । अहिले कमजोर विषयमा डकुमेन्ट्री बनिरहेका छन् । डकुमेन्ट्रीमार्फत प्रश्न गरिन्थ्यो । मैले पनि द्वन्द्वको समयमा निकै जोखिम मोलेर डकुमेन्ट्री बनाएँ । अहिले त्यस्ता खालका डकुमेन्ट्री नै बन्न सकिरहेका छैनन् ।

 

‘हु विल बि अ गोर्खा’ सिनेमा हलमै प्रदर्शन गरिएको थियो । डकुमेन्ट्री हेर्ने दर्शकले सिनेमा घर खचाखच भरिएको हुन्थ्यो । तर, अहिले डकुमेन्ट्री न हलमा देखाइन्छ, न फेस्टिभलमै ।

 

डकुमेन्ट्री देखाउने प्लेटफर्म खोइ ?
राम्रो डकुमेन्ट्री बन्न टेलिभिजन र निजी कम्पनीले लगानी गर्नुपर्छ । अहिले डकुमेन्ट्री मेकरमा पनि मिहिनेत कम देखिन्छ । अहिलेका डकुमेन्ट्रीमा गहन विषय र पर्याप्त अध्ययनको अभाव देखिन्छ । नेपालमा ६–६ महिनामा दुई–तीनवटा फिल्म फेस्टिभल आयोजना हुन्छन् । हामीलाई फेस्टिभलमा डकुमेन्ट्री पठाउन हतार हुन्छ । त्यसैले स्तरीय डकुमेन्ट्री बन्न सकेको छैन । अर्काे डकुमेन्ट्रीका लागि लगानी सुरक्षित छैन । डकुमेन्ट्रीमा लगानी गरेपछि उठ्ने ग्यारेन्टी हुँदैन । बनाएर हार्डडिक्समा थन्क्याएर राख्नुपर्ने अवस्था छ । केसाङ छेतेन दाइको ‘हु विल वी अ गोर्खा’ ‘अलजजिरा‘ले प्रसारण गरिदियो । विदेशी टेलिभिजनहरूमा बेच्ने सबैको त्यस्तो पहुँच हुँदैन । हाम्रोमा टेलिभिजनले डकुमेन्ट्री प्रसारण गर्नुपर्‍यो भन्यो भने उल्टै पैसा माग्छ । विदेशमा डकुमेन्ट्री प्रसारण गर्न टेलिभिजनले मेकरसँग किन्छ । हाम्रोमा ठीक उल्टो छ । मैले नेपाल टेलिभिजनमा समय किनेर डकुमेन्ट्री प्रसारण गरेको छु । प्रसारणको माध्यम नभएपछि हामी आफैँ बनाउने र आफैँ रमाउने मात्रै भइरहेको छ । त्यसैले पनि अहिले स्तरीय डकुमेन्ट्री बन्न सकेको छैन । त्यसैको प्रभाव होला दर्शकको डकुमेन्ट्रीप्रति रुचि घट्दै गएको छ । अनि टेलिभिजन रिपोर्टलाई डकुमेन्ट्री मान्न थालिएको छ । 

 

मैले डकुमेन्ट्री बनाउन थालेको २० वर्ष भयो । प्यासनले मात्रै डकुमेन्ट्री बनाइरहेको छु । कहिलेसम्म ‘प्यासन’ले बनाइरहने ? डकुमेन्ट्री बनाएर जीविकोपार्जन गर्न मुस्किल छ । बनाएर पनि आर्थिक रूपमा फाइदा छैन । डकुमेन्ट्री बनाएर बेच्ने गतिलो प्लेटफर्म पनि छैन । हाम्रो त्यसै पनि सानो बजार छ । सिर्जनात्मक डकुमेन्ट्री बनाएर टिक्न गाह्रो छ । स्तरीय डकुमेन्ट्री बनाउँछु भन्नलाई पनि लगानी जुटाउनै मुस्किल हुन्छ । डकुमेन्ट्री बनाउन समय लाग्छ । त्यसमाथि खर्च पनि बढ्छ । त्यसैले अहिले स्तरीय डकुमेन्ट्री बन्न नसकेको हो ।

 

डकुमेन्ट्रीमा राज्यको सहयोग
डकुमेन्ट्रीलाई राज्यले समेत बुझ्न सकेको छैन । यो विधालाई कहिल्यै प्रोत्साहन गर्दैन । डकुमेन्ट्री बनाउने पनि फिल्ममेकर नै हो । राज्यले अझै डकुमेन्ट्रीलाई फिल्ममेकिङको महत्वपूर्ण विधाको रूपमा लिन सकेको छैन । यो आफैँमा दुःखद कुरा हो । हामीले स्तरीय डकुमेन्ट्री बनाउन सक्नुपर्छ । विदेशीका फिल्म फेस्टिभलहरूमा नेपाली डकुमेन्ट्री छानिन थालेका छन् । तर, डकुमेन्ट्रीले अवार्ड जित्न सकेका छैनन् । विदेशी फेस्टिभलका लागि हाम्रो सिर्जनाको स्तरीयता पुगेन होला । ‘स्पिरिट डज नोट कम एनिमोर’ले अन्तर्राष्ट्रिय ढोका खोलिदियो । त्यसपछि ‘फरगिभ ! फर्गेट नट !’ ‘हु विल बि अ गोर्खा’, ‘सुनकली’, ‘यार्साको यात्रा’लगायत केही डकुमेन्ट्रीले अन्तर्राष्ट्रिय वृत्तमा नेपालको प्रतिनिधित्व गरे । तर, पछिल्ला वर्षमा उत्कृष्ट डकुमेन्ट्री बन्न सकिरहेका छैनन् ।

 

राज्यले यो विधामा पनि लगानी गर्नुपर्छ । राज्यले फिल्म भनेको ‘फिक्सन’ मात्रै हो भन्ने बुझेको छ । डकुमेन्ट्रीलाई फिल्मको रूपमा बुझेको छैन । डकुमेन्ट्री पनि फिल्म नै हो । डकुमेन्ट्री निर्माणका लागि राज्यले सहयोग गर्नुपर्छ । निजी टेलिभिजन र कम्पनीले लगानी गर्नुपर्छ । नेपाली डकुमेन्ट्रीलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउनुपर्छ । हामीसँग प्राकृतिक सुन्दरता छ । हाम्रो सांस्कृतिक विविधता छ । हरेक समुदाय र जातजातिका आफ्नै कथा छन् । हामीले यी कुरालाई डकुमेन्ट्रीमा समेट्न सक्छौँ । डकुमेन्ट्रीका लागि अन्तर्राष्ट्रियस्तरमा बजार विस्तार गर्दै लैजान सक्छौँ । हामीले विषयवस्तु र मेकिङमा मिहिनेत गर्नुपर्छ । धेरै देशमा राज्यले लगानी गर्छ । उनीहरूको विभिन्न फाउन्डेसन र टेलिभिजनले लगानी गर्छन् । नेपालमा आफ्नै बलबुताले मात्रै डकुमेन्ट्री बनिरहेको छ । डकुमेन्ट्रीमा लगानी गर्‍यो भने सम्भावना प्रशस्तै छ । हाम्रो कथा डकुमेन्ट्रीमार्फत विश्वलाई देखाउन सक्छौँ । डकुमेन्ट्रीको विषयका लागि नेपाल मुहान नै मान्न सकिन्छ । हामीले धेरै विषयलाई बाहिर उजागर गर्न बाँकी छ, जुन फिक्सन फिल्मले पनि सकिरहेको छैन । डकुमेन्ट्री कथानक चलचित्रजस्तो आमदर्शकले हेर्ने चलचित्र होइन । तर, यसले विषयलाई बुलन्द रूपमा प्रस्तुत गर्न सक्छ । डकुमेन्ट्री समाजको कथा देखाउने सशक्त माध्यम हो ।