• वि.सं २०८१ भदौ २२ शनिबार
  • Saturday, 07 September, 2024
रामचन्द्र शर्मा
२०८१ भदौ ८ शनिबार ०९:५३:००
सम्झना

गीताको सार : आदर्श जीवनको आधार

२०८१ भदौ ८ शनिबार ०९:५३:००
रामचन्द्र शर्मा

 

संसारले अत्यन्त मूल्यवान मानी आदरको दृष्टिले हेर्ने श्रेष्ठतम काल्पनिक छवि आदर्श हो भने जन्मदेखि मृत्युसम्मका यावत् गतिविधिको समष्टि जीवन हो । मानिसको मनभावना तथा बुद्धिले जीवनको गतिविधि र आदर्शमा हुने प्रेरक शक्तिले जीवनलाई सही दिशा दिन्छ । काल्पनिकतामा आधारित आदर्शको मार्गचित्रमा जीवन विशिष्ट, सार्थक र रंगीन बन्छ । हाम्रा सर्वज्ञानी महर्षि वेदव्यासले पाँच हजार वर्ष पहिले रचना गरेको भागवत गीतामा मानव शरीर, मन, बुद्धि, भावना र आदर्शका मानकको विवेचना गरिएको छ । गीता हिन्दुको मात्र नभई विश्वभरका सबै धर्म सम्प्रदाय र जातजातिको हित रक्षा गर्ने साझा ग्रन्थ भएकाले जीवनशास्त्रको रूपमा लिइन्छ । जीवनलाई आदर्शमय र सार्थक बनाउन गीताको महत्वकति व्यावहारिक छ भन्ने विषयमा संक्षिप्तमा चर्चा गर्ने प्रयास गरिएको छ, यो लेखमा ।

 

कूटनीतिका शिखर भगवान् कृष्ण र सर्वश्रेष्ठ धनुर्धर भक्त अर्जुनबिचको प्रश्नोत्तर संवाद शैलीमा रचिएको गीता युद्ध गर्नुपर्ने क्षेत्रीय धर्म पालना गर्न हच्किँदै अर्जुनले हातको गाण्डिव धनु फाली गरेको विषादबाट सुरु भई पुनः फालेको धनुष हातमा लिँदै दृढतापूर्वक युद्ध गर्न अग्रसर भएर टुंगिएको छ । राग, द्वेष, ईष्र्या, अहंकार, कर्तृत्वाभिमान र फलाशक्ति त्यागी स्वधर्मको कर्म ध्यानपूर्वक गर्दै परमानन्दको आत्मानुभूति गर भन्ने गीतोपदेशले गीता भरिएको छ । धर्मको मार्गमा हिँड्दा अधर्मले थिचिएका युद्ध लडी विजयी हुने सामथ्र्य र साधन भएर पनि रागको वशमा परेर हच्किँदै युद्धबाट विमुख भएका अर्जुनलाई युद्ध लड्ने प्रेरणा र शक्ति प्रदान गरेको त्यही गीतोपदेश नै गीताको सार हो ।

 

सामान्य जीवन बिताएको मानिसलाई गीताको यो सार अनुसरण गर्न असम्भवजस्तो लाग्छ । त्यसलाई मनन गरी ऋषिहरूले लामो आत्मानुसन्धान गरी सहज र सुलभ तरिकाबाट व्यवहारमा ल्याउने ज्ञान र साधनाको विधि पत्ता लगाए । गीतामा तिनको विज्ञानसंगत ढंगले विवेचना गरिदिएका हुँदा गीता संसारकै उत्कृष्ट जीवन शास्त्रको रूपमा प्रसिद्ध छ ।

 

आनन्द प्राप्त गर्नु मानवको सबैभन्दा ठूलो र अन्तिम लक्ष्य हो । गीताले मानिसलाई त्यो लक्ष्य र लक्ष्य प्राप्त गर्न मूलधनरूपी सजगता दुवै दिएको छ । त्यो सजगता भनेको ध्यान हो ।

 

गीताले शरीर मन्दिर, आत्मा ईश्वर र मन सेवक हो भन्ने ज्ञान दिन्छ । सुख, शान्ति, समृद्धि दिने ईश्वर को हो भन्ने गलत प्रश्न गर्दै खोज्न बाहिरी संसारमा दौडिँदा मानिसले आफ्नो अमूल्य जीवन ऊर्जा र समय खेर फाली थाके गलेर झनै अशान्ति र दुःखले घेरिएको छ । गीताले यो संसार ऐना हो हरेक मानिसले भित्रबाट जे प्रकट गर्छ, संसारले त्यही दिन्छ भन्दै मानिस भित्रै रहेको शान्ति, खुसी र आनन्दको खजाना खोज्न सिकाउँदै भेट्टाइदिन्छ ।

 

भौतिक विज्ञानले बाहिरी जगत्को मात्र व्याख्या विवेचना गरेझैँ गीताले मानवजीवनको विज्ञानको व्याख्या विवेचना गर्छ । हाम्रा वासना, प्रवृत्ति, भावना एवं कर्महरूको सूक्ष्म अध्ययन, विश्लेषण र वर्गीकरण गरी जीवनको वास्तविकता बताएको छ गीताले । जसरी एउटा मोटर गाडीमा इन्धन, तापक्रम, गतिलगायत यान्त्रिक स्थिति जान्ने संकेत हुन्छन्, त्यसरी नै मानिसमा रहने सत्व, रज र तम गुणको मात्रा कति छ र कुन गुणले कस्तो व्यक्तित्व निर्माण गर्छ भन्ने संकेत र सन्तुलन मिलाउने ज्ञान र विधि छ गीतामा । 

 

गीताले जीवन जिउने कला सिकाउँदै मानिसलाई परिस्थितिको दास होइन, स्वामी बनाउँछ । अर्थात्, हामीमा रहेका अज्ञान, मिथ्या धारणा एवं दुष्प्रवृत्तिलाई ज्ञानाग्निमा (अध्यात्म शास्त्रहरूको अध्ययन तथा तिनको तात्पर्यमा चिन्तन मनन गर्ने) आहुति दिएर ज्ञान यज्ञ सम्पन्न गर्न प्रेरित गर्छ । जीवनको सारा खेल खेलाउने हाम्रो मन र बुद्धिको एकता एवं समतालाई समन्वय गराउँदै हामीलाई परमानन्दमा स्थित गराउन योगारुढ गराउँछ । आत्मसन्तुष्टि र निष्कामत्व भावले युक्त स्थितप्रज्ञ बनाइदिन्छ ।

 

मन मिल्ने साथीमा पनि दुस्मनीको कालो घेरा हुने मानव मनोविज्ञान हामी सबैमा छ । जसले गर्दा साथी अब्बल भएकोमा साथीले नै भित्रभित्रै चित्त दुखाउँछ । एक–अर्कालाई घात नगर्ने दोहोरो समझदारीको जगमा साथीको सम्बन्ध बन्ने हुँदा साथीको भूमिका मूलतः सहयोगी हुन्छ । तर, बाँकी दुनियाँको भूमिका मुखमा रामराम बगलीमा छुरा जस्तो रहने हुँदा तटस्थ, निष्पक्ष, लोकतान्त्रिक र सम्मानपूर्वक विमति राख्ने बनी दुनियाँसंग उल्झनबाट जोगाउन गीताले मनलाई राग, द्वेष, अहंकाररहित बनाई आत्ममा निवास गराएर स्वधर्म पालन गर्ने कर्ममा केन्द्रित गराउँछ । गर्ने क्षमता र इच्छा भएको काम गर्नु स्वधर्म हो, जसले गर्नेलाई खुसी र परिणाम राम्रो दिन्छ ।

 

हुन त कतिपय व्यक्तिले गीता ज्ञानको विपरीत अर्थ लगाएर कर्म गर, फलको आशा नगर भनी भ्रम सिर्जना गरेका छन् । यथार्थमा गीताले फलाशक्तिमा चिन्तित हुँदा व्यर्थमा खेर जाने समय र ऊर्जा निश्चिन्त भई कर्ममै सदुपयोग गरी फल सुनिश्चित गराएको हो । किनकि कर्म नै सफलता हो । युद्धमोर्चाबाट पन्छिन चाहेका अर्जुनलाई युद्ध गर्न अग्रसर गराएको गीता कर्म प्रधान छ । गीताको सार आत्मा, परमात्मा र कर्ममा बढी केन्द्रित छ । किनभने आत्मा रहेसम्म जीवन छ, आत्मा नरहे जीवन नै रहँदैन । शरीर, मन, बुद्धि, चित्त, अहंकार देखिने जड कुरा हुन्, कोठामा रहेका विभिन्न खाले बल्ब र स्विचजस्तै । आत्मा विद्युत् हो । विद्युत् देखिँदैन केवल अनुभव गर्न सकिएजस्तै आत्मा पनि निराकार छ देखिँदैन, तर अनुभवमा आउँछ । बाहिरबाट धान कुट्ने कर्ता मेसिन देखिन्छ, तर विद्युत् नभए मेसिनले मात्र धान कुटिँदैन । त्यसरी नै शरीर मन बुद्धिले आत्माको चैतन्य स्वरूपको सहायताले मात्र काम गर्न समर्थ हुन्छन् । तर, आत्म कर्ता होइन, गराउनेवाला मालिक हो । विद्युत्को स्रोत पानी वा वायु हो भने आत्माको स्रोत परमात्मा । प्राणको रूपमा रहने वायु, पानी, शक्ति र क्षमता नै वास्तविक परमात्मा हो, जसमा हाम्रो जीवन अडेको छ । बल्बमा रहेको रंगको मिश्रण र मात्रानुसार बल्बले कोठा विभिन्न रंगमा प्रकाशित गरेझैँ आत्माबाट मन बुद्धिले जे–जति मात्रामा सात्विक, राजसी र तामसी गुण ग्रहण गर्छन्, उत्तिकै मात्राको आचरण र व्यक्तित्व निर्माण हुन्छ मानिसमा । ती गुण जन्मसिद्ध र प्रकृति प्रदत्त हुन् । तापनि, ज्ञान आर्जन गरी सात्विक गुण बढाउन सकिन्छ । सात्विक गुणले मानिस राग, द्वेष, अहंकार र स्वार्थरहित बन्छ । त्यस्तो निःस्वार्थी मानिसले महान् उपलब्धि हासिल गरी जीवनलाई आदर्शमय बनाउँछ । त्यस्तो आदर्शको जीवन बनाउने ज्ञान कर्मबाट प्राप्त हुने हुँदा कर्म नै ईश्वरको पूजा मान्छ गीताले ।

 

अष्टावक्र गीताले आत्मालाई संसारी पनि होइन, किनकि यो संसारमा लिप्त हुँदैन र असंसारी पनि होइन, किनकि संसार त्यसैको अभिव्यक्ति हो भनेको छ । त्यसैले जान्नेहरू भन्छन् कि दुःखी भएर खुसी खोज्नु बत्ती निभाएर उज्यालो खोज्नुजस्तै हो । अर्थात्, खुसी निवास गर्ने आफ्नै आत्मा निरीक्षण र आत्मानुभूति गरी परमानन्दमा स्थित हुन छाडेर अज्ञानवश बाहिर खोजेर हामी स्वयंले दुःखलाई आमन्त्रण गरेका छौँ । यो अज्ञान केवल आत्मज्ञानले मात्र हाटाउन सक्छ । आत्मज्ञान बुद्धि र चर्मचक्षुबाट सिक्ने विषय होइन, ज्ञानचक्षु चाहिन्छ, जो गीतामा छ । 

 

आत्मनिरीक्षणको यात्रा आफूले आफैँलाई म को हुँ ? भन्ने प्रश्नबाट सुरु हुन्छ र म के–के होइन भन्दै विवेचना गर्दा उत्तर मिल्छ । नाम धेरैजनाको एउटै हुन्छ, त्यसले म चिनाउँदैन, हातखुट्टा, मुखलगायत कर्मेन्द्रिय र आँखा, कान, नाक, जिब्रो र छाला ज्ञानेन्द्रिय नहुने पनि जीवित रहने र मुटु–कलेजोलगायत अंग प्रत्यारोपण हुने हुँदा ती अंग पनि म होइन रहेछु भन्ने थाहा हुन्छ । यसरी केलाउँदै जाँदा साक्षीभाव उत्पन्न भई शरीरका सबै अंग नियाल्नेवाला द्रष्टा र नियालिने अंग दृश्यको रूपमा अनुभूत हुन्छ । त्यसरी अनुभूत गर्नेवाला अर्थात् थाहा पाउनेवाला नै आत्मा हो । आत्मामा स्थित हुँदा बाहिरी जगत्मा नभेटिने आकर्षक रंगीन अलौकिक दृश्य र सर्वोत्कृष्ट नतिजा ल्याउँदाको खुसीभन्दा मिठो आनन्दको अनुभूति गराउँछ । त्यो नै आत्मा स्वरूप हो । जसलाई निधारको टीका लगाउने ठाउँ (आज्ञा चक्र) मार्फत् मनको गहिराइमा पुगेर मात्र अनुभूत गर्न सकिन्छ ।

 

आनन्द प्राप्त गर्नु मानवको सबैभन्दा ठूलो र अन्तिम लक्ष्य हो । गीताले मानिसलाई त्यो लक्ष्य र लक्ष्य प्राप्त गर्न मूलधनरुपी सजगता दुवै दिएको छ । त्यो सजगता भनेको ध्यान हो । ध्यान भनेको मानिससँग वर्तमानमा भएको ज्ञानको सीमाभन्दा टाढा रहेको श्रेष्ठतर ज्ञानलाई प्राप्त गर्न बुद्धिले उडान भर्ने प्रयत्न हो । बुद्धिलाई आत्मामा स्थिर गर्दै ज्ञानपूर्वक ध्यानको अभ्यास गर्‍यो भने मानिस आफ्नो सम्पूर्ण दोष देखी मुक्त भएर पूर्णत्व प्राप्त गर्छ भनिएको छ, गीताको छैटौँ अध्यायमा । पढे–सुनेर प्राप्त गीताज्ञान पंक्तिकारको व्यवहारमा रूपान्तरण आएको अनुभवमा यो लेख लेखिएको हो ।