• वि.सं २०८१ मङ्सिर ६ बिहीबार
  • Thursday, 21 November, 2024
अन्वेषण अधिकारी
२०८१ भदौ ८ शनिबार १०:४०:००
यात्रा

कृष्णहरि बाँस्कोटालाई मन परेका गन्तव्य

२०८१ भदौ ८ शनिबार १०:४०:००
अन्वेषण अधिकारी

 

कृष्णहरि बाँस्कोटा राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख आयुक्त तथा नेपाल सरकारका पूर्वसचिव हुन् । उनी हाल सेन्टर फर इनोभेटिभ्स गभर्नेन्स प्राक्टिसेस (सिआइजिपी) का कार्यकारी अध्यक्ष छन् । सरकारी तथा निजी कामका सिलसिलामा उनले देशका ७७ जिल्ला र विश्वका ५० भन्दा धेरै मुलुकको भ्रमण गरिसकेका छन् । आफूलाई मन परेका १० गन्तव्यबारे बाँस्कोटासँग अन्वेषण अधिकारी गरेको कुराकानी : 

 

नेपालका मन परेका गन्तव्य 

चतराधाम, सुनसरी : भारतका नासिक, उज्जैन, प्रयाग र हरिद्वारमा कुम्भ मेला लाग्ने गरेको छ । नेपालका प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले चतराधाममा कुम्भमेलाको आरम्भ गर्नुभएको हो । नदीमा स्नान र भिडमा रमाउन यहाँ ठूलो संख्यामा तीर्थयात्री आउँछन् । प्रधानमन्त्री कार्यालयको सचिवका हैसियतले ०७८–०७९ सालतिर नेपाल सरकारको मुख्य प्रतिनिधि भई दोस्रो महाकुम्भ मेलामा गएको थिएँ । उक्त मेला ३३ दिन सञ्चालन भएको थियो । करिब डेढ करोड मानिस सहभागी भएका थिए । बराह क्षेत्रभित्रको पवित्र भूमिमा चतराधाम रहेको छ । यसको आसपासमा धरान बजार, भेडेटार, धनकुटासम्म पुग्न सकिन्छ । धरानको बुढासुब्बा, धुलाबारी, इलामको चियाबगान, श्रीअन्तु र पाथिभरा यहाँबाट नजिक छन् । 

 

रारा, मुगु : रारा आधा दर्जनपटक गएको छु । एकपल्ट हिँडेर गएको थिएँ । मोटरमा पनि गएको छु । हेलिकोप्टरबाट पनि गएको छु । राराको सुन्दरता बयान गरेर साध्य छैन । यहाँ पानीले आफ्नो रंग परिवर्तन गरिरहन्छ र मानिसको मनमा ऊर्जा भरिरहन्छ । रारा पुग्दा स्वर्ग धर्तीमै भएजस्तो भान हुन्छ । 

 

मंगलसेन, अछाम : ०५२ सालमा प्रमुख जिल्ला अधिकारी भएर अछामको मंगलसेनमा बसेको थिएँ । त्यतिवेला बसाइ निकै रमाइलो रह्योे । यहाँ जनता अत्यन्तै सरल, सहयोगी र मिलनसार छन् । ठाउँ प्राकृतिक रूपमा निकै सुन्दर छ । सुदूरपश्चिममा राजनीतिक चेतनाको स्तर उच्च भएको ठाउँका रूपमा अछाम चिनिन्छ । यो ऐतिहासिक सहर हो । राजा मंगलसेन बस्ने दरबार त्यहाँ थियो र धेरै प्राचीन कलाकृति पनि छन् । तर, माओवादी द्वन्द्वका क्रममा मंगलसेन दरबारसहित यहाँका ऐतिहासिक सम्पदामा ठूलो क्षति पुग्यो । 

 

दुनै, डोल्पा : प्रधानमन्त्री कार्यालयको सचिव हुँदा १० वर्षअघि अनुगमनमा डोल्पाको दुनै गएको थिएँ । त्यहाँ सफाइ अभियान सञ्चालन गरेका थियौँ । यो बजार नदी किनारमा छ । तत्कालीन समय नेपालगन्जबाट जुफाल एयरपोर्ट वा मसिने चौर हुँदै दुनै जान सकिन्थ्यो । म जुफाल हुँदै गएँ । एयरपोर्टबाट २० किलोमटिर मोटरमा चढेर सदरमुकाम पुगियो । यहाँबाट दुई घण्टामा प्रसिद्ध त्रिपुरा सुन्दरी मन्दिर पुग्न सकिन्छ । यहाँ देवीको दर्शन गर्न ठूलो संख्यामा भक्तजन आउँछन् । दुनैको प्राकृतिक भूबनोट निकै राम्रो छ । उच्च हिमाली ठाउँ भएकाले बस्ती सानो छ । हिमाली सभ्यता, रहन–सहन, जनजीवन र संस्कृति नियाल्न यहाँ जानु राम्रो हुन्छ । यहाँका मानिस मिलनसार र सरल छन् । 

 

अपी हिमाल, दार्चुला : झन्डै आठ हजार सिँढी चढेर दार्चुलाको अपी हिमाल गाउँपालिकाको केन्द्र पुगेको थिएँ । १३ करोडको लागतमा ती सिँढी बनेका रहेछन् । यहाँबाट अपी हिमालको स्पष्ट दृश्य देखिन्छ । प्राकृतिक भूबनोट निकै राम्रो छ । बेस क्याम्प पुग्नका लागि गाउँपालिकाको केन्द्रबाट थप दुई दिन हिँड्नुपर्छ । त्यहाँ पुग्नका लागि पर्यटकलाई सहज बनाउन पालिकाले सबै पूर्वाधार बनाएको छ । 

 

विदेशका मन परेका ठाउँ 

रोम, इटली : इटलीबाट मैले पब्लिक एड्मिनिस्ट्रिेसनमा पोस्ट ग्य्राजुयट डिप्लोमा सरहको कोर्स गरेको छु । इटालियन भाषाको प्रशिक्षक प्रशिक्षण कोर्स पनि गरेको छु । सन् १९८८ मा एक वर्ष र सन् १९९० मा एक वर्ष यहाँ बसेको थिएँ । त्यसक्रममा मैले अल इटली टुर गरेको छु । इटलीका सबै ठाउँ राम्रो छन् । त्यसमध्ये रोम अति नै ऐतिहासिक सहर हो । विश्व सभ्यताको विकासको इतिहास बोकेको छ । यहाँ पाइलैपिच्छे ऐतिहासिक ठाउँ भेटिन्छन् । सहर घुम्न सस्तो, सुलभ र सुरक्षित बससेवा छ । सफा, सुन्दर सहर भएकाले यहाँ ठूलो संख्यामा पर्यटक आउँछन् । यहाँ मानिसहरू अति नै मिजासिला छन् । इटलीका भेनिस, मिलान, सिसिली, नेपल्सजस्ता सहर पनि अति सुन्दर छन्, यहाँ प्राचीनकालदेखिका मूर्ति छन् । सम्भवतः विश्वकै ऐतिहासिक सहरमध्ये रोम पर्छ ।

 

न्युयोर्क सिटी, अमेरिका : अमेरिकाका करिब ५० वटा राज्यमध्ये १५ वटा जतिको भ्रमण गरेको छु । त्यसमध्ये न्युर्योक विशेष लाग्छ । संयुक्त राष्ट्र संघको मुख्यालयमा सन् २०१० तिर दुई–तीनपटक कार्यक्रमा भाग लिन गएको थिएँ । त्यसक्रममा न्युयोर्क सहरलाई नजिकबाट नियाल्न पाइयो । यो आधुनिक सहर हो । विश्वका जुनसुकै देशका मानिस पनि यो सहरमा भेटिन्छन् । लन्चको समयमा कार्यालयहरूको आँगनमै मोटरमा खाना बेच्नेहरू आइपुग्छन् । यो महँगो र विशाल सहर हो । आबादी ठूलो छ । अग्ला भवन भएकाले यसलाई गगनचुम्बी सहर पनि भनिन्छ । यो क्यानेडाको बोर्डरबाट पनि नजिक पर्छ । यहाँका हरेक कुना हरेक देशका सहरजस्तो देखिन्छ । कहीँ नेपाली, कहीँ चिनियाँ, कतै भारतीय त कतै अफ्रिकीहरूको बाहुल्य छ । यसमा सडक नम्बर निकै व्यवस्थित तरिकाले राखिएकाले गन्तव्यमा पुग्न सहज हुन्छ । मेनह्याटन नदीकिनारमा छ, त्यहीकारण घुम्न पनि असाध्यै रमाइलो छ । टाइम्स स्क्वायरमा रातभर घुम्न मिल्ने ठाउँ हो । बाटोमा खानेकुरा पनि बेच्ने, नाटक र चटक पनि देखाउने मानिस भेटिन्छन् ।

 

टोरन्टो, क्यानडा : टोरन्टो सात–आठ महिना हिउँ पर्ने ठाउँ हो । अति व्यस्त सहर । नेपाल जनप्रशासन संघको अध्यक्षको नाताले सन् ०२३ मा भ्रमण गरी इन्टरनेसनल पब्लिक पोलिसी एसोसियसनसँग पार्टनरसिपको सम्झौतामा हस्तान्तरण गर्न गएको थिएँ । यहाँ सार्वजनिक यातायातको राम्रो सुविधा छ । आँखाले देखुन्जेलका खेतबारीमा कृषि उब्जनी देख्दा जिब्रो टोक्नुपर्छ । भूगोल अति ठूलो छ । त्यसको तुलनामा जनसंख्या कम छ । आधुनिक सुविधा सबै छ । प्रदूषण र कोलाहल पनि कम छ । शान्त वातावरण छ । टोरोन्टोबाट नजिकका गाउँमा पुग्दा कतै तोरीका फाँट, कतै धान खेती, कतै गहुँ खेती देखिन्छ ।

 

लन्डन, बेलायत : अति नै ऐतिहासिक सहर हो लन्डन । यहाँका सडक साँघुरा छन् । १५औँ शताब्दीमै यो आधुनिक भइसकेको थियो । बेलायती साम्राज्य कुनै समय कहिल्यै सूर्य नअस्ताउने शक्तिशाली थियो । त्यस्तो वैभवशाली साम्राज्यको राजधानी भएकाले यो सहरको आफ्नै गर्विलो इतिहास छ । कलात्मक सडक छन् । एकातिर थेम्स नदी छ । नदीको किनारमा डुंगा चलिरहेका हुन्छन् । यहाँका मानिस भने फर्मल देखिन्छन् । चिसो भएकाले धेरैले लङ कोट लगाउने, स्वेटर, टाई लगाउने गर्छन् । बकिङह्याम प्यालेस यहाँको ऐतिहासिक महत्व बोकेको स्थल हो । बाटाभरि बगैंचा, फूलैफूल फुलेको देखिन्छ । यहाँका बजारहरू काठमाडौंको असन, इन्द्रचोकजस्तै लाग्छन् । यो सहरको लुक्स परम्परागत छ । तर, आधुनिक सुविधा सबै उपलब्ध छन् । विश्वमै आफ्नो प्रभुत्व जमाएको बेलायती साम्राज्यबारे अध्ययन गर्नका लागि पनि यो सहर घुम्नुपर्छ ।

 

टोकियो, जापान : जापानको टोकियो सहर करिब दर्जनपटक पुगेको छु । अति नै व्यस्त र ठूलो जनसंख्या भएको सहर हो यो । जापान घाम उदाउने देशका रूपमा पनि चिनिन्छ । टोकियो चिसो ठाउँ हो । प्राचीनकालदेखि नै जापानी साम्राज्य शक्तिशाली थियो । दोस्रो विश्वयुद्ध हारेपछि त्यसको असर देखियो । हिरोसिमा र नागासाकीमा अणु बम नै खस्यो । तर, जापानले हरेस खाएन । छोटो समयमै तीव्र विकास गरेर टोकियोलाई विश्वकै केन्द्रका रूपमा स्थापित गर्‍यो । यहाँको नारिता विमानस्थल विश्वकै नामुद विमानस्थलमा पर्छ । यो असाध्यै महँगो सहर हो । विज्ञान र प्रविधिको विकास हेर्न यहाँ जानु राम्रो हुन्छ । विशेषगरी विद्युतीय सामग्रीको निर्यातमा जापान विश्वभर चिनिएको छ । टोकियो एकप्रकारको डिजिटल सिटी हो ।