• वि.सं २०८१ भदौ २२ शनिबार
  • Saturday, 07 September, 2024
२०८१ भदौ ८ शनिबार ११:०४:००
समाज

अन्तरसांस्कृतिक विवाहको सामाजिक प्रभाव 

२०८१ भदौ ८ शनिबार ११:०४:००

 

बहुसांस्कृतिक पहिचान भएका बालबालिका फरक संस्कृतिमा पनि चाँडै घुलमिल हुन सक्ने विभिन्न अन्तर्राष्ट्रिय अध्ययनले देखाएका छन्

मुस्लिम बाबु र हिन्दु आमाका सन्तान हुन्, अभिनेता नाजिर हुसैन । उनले दुवै संस्कार पछ्याइरहेका छन् । मदरसा गएर कुरान पढ्छन्, रोजा बस्छन् । दसैँ, तिहारमा टीका लगाउँछन् । ‘होस्टेल रिटर्न्स’ फिल्ममा उनले रामेश्वर यादवको चरित्र गरेका थिए । कपाल खौरेर टुपी राखे, जनै भिरे । ‘नेपाली समाजको परिप्रेक्ष्यमा मेरी आमा मुस्लिमसँग विवाह गरेर गइसकेपछि म स्वतः मुस्लिम भएँ । कतिपयलाई मेरो भूमिका अनौँठोे पनि लाग्यो होला । तर, मैले हिन्दु समाजलाई सानैदेखि नजिकबाट बुझेकाले यो चरित्र बुझ्न र भिज्न मलाई अप्ठ्यारो महसुस हुँदै भएन,’ अन्तरसांस्कृतिक पहिचानको फाइदाबारे उनले भने । 

अन्तरसांस्कृतिक पहिचान भएका बालबालिका फरक संस्कृतिमा पनि चाँडै घुलमिल हुन सक्ने विभिन्न अन्तर्राष्ट्रिय अध्ययनले देखाएका छन् । ‘फरक पहिरन, परम्परा, भाषा र दृष्टिकोणको अन्तरघुलन, आपसी बुझाइ, सम्मान र समाजमा घुलमिल हुन सक्ने स्वभावमा यसले महत्वपूर्ण प्रभाव राख्छ,’ अमेरिकन ग्लोबल ट्यालेन्टडटकममा प्रकाशित एक आलेखमा उल्लेख छ, ‘अन्य बालबालिकाले स्कुल पुगेर बुझ्न थाल्ने कतिपय सामाजिक कुरा अन्तर–सांस्कृतिक सम्बन्धबाट जन्मेका बालबालिकाले घरमै बुझिसकेका हुन्छन् । किनकि, सानैदेखि उनीहरूले फरक धर्म र फरक संस्कार सिकेका हुन्छन् ।’ नाजिर भन्छन्, ‘मुस्लिम समुदायमा जाँदा म हिन्दु हुँ भन्ने बिर्सिन्छु र हिन्दु समुदायमा आउँदा मुस्लिम हुँ भन्ने बिर्सिन्छु । दुवै संस्कृतिमा भिजेको छु । दुवै राम्रो लाग्छ ।’

बहुसांस्कृतिक पहिचान भएको परिवारमा फरक भाषा र फरक रीतिरिवाजलगायत विषय जोडिएर आउँछन् । यसले सांस्कृतिक रूपमा उदार पुस्ता निर्माण गर्न, नयाँ दृष्टिकोण र सोचलाई उदारताका साथ स्विकार्न प्रेरणा मिल्ने सोही परिवारमा हुर्केका सन्तानको अनुभव छ । ‘बहुसांस्कृतिक पहिचानका लागि म भाग्यमानी महसुस गर्छु । मैले कुरान पढ्न पाएँ, स्वस्थानी व्रतकथा सुन्न पाएँ,’ नाजिरले भने । 

ब्राह्मण समुदायका बाबु र दलित समुदायकी आमाका सन्तान हुन्, यशकुमार । हुर्कँदै गर्दा यशमा संगीतमा केही गर्ने ठूलो सपना थियो । उनी आमाको पहिचानसँग आफूलाई ज्यादा नजिक ठान्छन् । गलत र सही छुट्याउने भएपछि परिवर्तनका लागि आवाज उठाउनुपर्छ भन्ने उनलाई लाग्यो । ०५८ ताका उनले आफैँ गीत लेखेर गाए, ‘बिरानो यो मन्दिरमा कुनै दियो जल्दैन, नआऊ मेरोसामु तिमी मैले छोएको पानी चल्दैन... ।’

रोमान्टिक गीतको बाढी आइरहेको तत्कालीन नेपाली संगीत क्षेत्रमा यो गीतले हलचल नै ल्यायो । यस गीतलाई लाखौँ स्रोताले मन पराए । यशकुमार बिस्तारै स्थापित नाम बने । यसपछि पनि उनले छुवाछुतविरुद्ध गाइरहे । सामाजिक विभेदविरुद्ध उनले ‘बाटोमुनिको फूल’ र ‘बाटोमुनिको फूल–२’ निर्माण गरेर त्यसमा अभिनय पनि गरे ।

नेपाल समाजवादी पार्टी (नेसपा) नेतृ मानुषी यमी भट्टराई सामाजिक विभेद अस्वीकार्य भए पनि नेपाली समाजमा यसको प्रभाव कायमै रहेको स्विकार्छिन् । ‘राजनीतिक चेत भएको परिवारमा जन्मिएकाले मेरो घरभित्र धर्म र जातको कुराले प्रवेश पाएन । तर, समाजमा यसको प्रभाव रहिआएको महसुस गरेकी छु । हाम्रो पुस्ताले यसलाई तोड्नुपर्छ । यो विभेद अस्वीकार्य छ,’ उनले भनिन्, ‘हाम्रो समाज पितृसत्तात्मक छ । काठमाडौंबाट निर्वाचन लड्दा कतिपयले मलाई ब्राह्मण बाबुकी छोरी गोरखाबाट चुनाव किन नलडेको भनेर पनि सोधेका थिए । त्यहीकारण कति ठाउँमा पुगेर मैले नेवार आमाकी छोरी हुँ भनेर भाषणै गर्नुपर्‍यो,’ उनले भनिन्, ‘नेपालभाषा बुझ्न सक्ने भए पनि बोल्नमा म अभ्यस्त छैन । त्यहीकारण पनि मलाई यस्तो आरोप लागेको हुन सक्छ ।’

सांस्कृतिक अन्तर्घुलनको बेफाइदाभन्दा फाइदा धेरै लिन पाएको मानुषीको अनुभव छ । ‘म नास्तिक हुँ । बुबा–आमा (पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई– पूर्वमन्त्री हिसिला यमी) धर्ममा विश्वास नराख्ने भए पनि उहाँहरूको पारिवारिक पृष्ठभूमि हिन्दु र बौद्ध धर्मसँग जोडिने भयो । यसका बाबजुद उहाँहरूले आफ्नो परिवारलाई सहज रूपमा कन्भिन्स गर्नुभएको थियो,’ उनले भनिन्, ‘यो धर्म र संस्कार मानिसले नै बनाएको हो । तर, यो त धेरै वर्षदेखि हाम्रो स्वभाव हुँदै गएर अहिले स्थापित स्वभाव बनेको हो । तर, व्यक्तिगत रूपबाटै पनि यसमा सुधार ल्याउन सकिनेरहेछ भन्ने उदाहरण मैले अभिभावकबाट सिकेकी छु । बौद्ध र हिन्दु समाजमा आफूलाई उत्तिकै नजिक राख्न पाउँदा खुसी लाग्छ ।

सञ्चारकर्मी तथा पूर्वमिस नेपाल माल्भिका सुब्बा किराँती बाबु र हिन्दु आमाकी सन्तान हुन् । बाबु–आमाले अन्तर–सांस्कृतिक विवाहका कारण केही चुनौती खेप्नुपरे पनि सन्तानको जीवनमा त्यसको प्रभाव पार्न नदिएको उनले बताइन् । ‘म जन्मँदासम्म बाबु–आमा र उहाँका हामी तीन सन्तानको अलग संसार थियो । त्यहाँ हामी फरक संस्कारका बाबु–आमाबाट जन्मेको सन्तान भन्ने कहिल्यै महसुस भएन । बुबा–आमाको जोड छोराछोरी शिक्षित हुनुपर्छ भन्नेमा रह्यो,’ उनले भनिन् । अहिले आएर सांस्कृतिक रूपमा आफूलाई किराँती भन्न रुचाउने उनले बताइन् । ‘सानोमा दुवै धर्म फलो गरियो । अहिले आएर किराँती धर्म बढी फलो गर्छु । सबै धर्म र संस्कारलाई सम्मान गर्छु । बुबा–आमाले हामीलाई उदार विचार राख्न सिकाउनुभयो । हाम्रो हुर्काइ नै त्यसरी भयो । सबै धर्म र जातजातिप्रति सद्भाव रह्यो ।’

आफ्ना छोरालाई अहिले नेवारी र किराँती संस्कार दुवै सिकाइरहेको माल्भिकाले बताइन् । ‘मेरा बुबा–आमाको जोड शिक्षामा थियो । तर, मैले आफ्नो छोरालाई दुवै संस्कार सिकाइरहेको छु । उसले बुबापट्टिको नेवारी संस्कार र आमापट्टिको किराँती संस्कार दुवै फलो गर्छ,’ उनले भनिन् । 

गायक यशकुमार भन्छन्, ‘मेरा बुबा–आमाले बाँचेको समाज र मैले बाँचेको समाज धेरै फरक छ । मेरी श्रीमती नेवारी समुदायकी हुन् । यहाँको भाषा र संस्कार फरक छ । मेरा दुवै छोरा मामाघरमै बढी नजिक छन् । दसैँ, तिहार, संक्रान्तिमा उनीहरू मामाघर जान्छन् र त्यहाँकै संस्कारमा ज्यादा भिजेका छन्,’ उनी थप्छन्, ‘दुई फरक संस्कार र समाजमा हुर्किएका सन्तानमा उदारता देखिन्छ । फराकिलो विचार राख्नुपर्छ भन्ने सोच देखिन्छ ।’

चर्चित सफ्ट टेनिस खेलाडी निरा कायस्थ तामाङ आमाकी छोरी हुन् । उनकी छोरी सुनिरा थापा क्षेत्री अहिले लन टेनिसकी उदीयमान खेलाडी हु्न् । निराले तीनपटक एसियाली खेलमा प्रतिस्पर्धा गरिसकेकी छिन् । ‘बहुसांस्कृतिक परिवार भएकाले हामी अलि उदार रूपमा हुर्कियौँ । मेरो ठूलो भाइ, मेरी बहिनी र मैले पनि फरक संस्कृतिमा बिहे गर्‍यौँ,’ निराले भनिन्, ‘मेरी हजुरआमा पनि श्रीवास्तव हुनुहुन्थ्यो । हामी फरक–फरक संस्कृतिमा पनि अभ्यस्त छौँ । हिन्दु र बौद्ध दुवै धर्म फलो गर्छु । मामाघरमा जाँदा हजुरआमाले तामाङ संस्कृति र कथा सुनाउनुहुन्थ्यो,’ उनले थपिन्, ‘म खेलमा लागेँ । मेरा दुवै भाइ आर्टमा लागे । बहिनी पनि सफ्ट टेनिसकै अन्तर्राष्ट्रिय खेलाडी हुन् । उनीहरू बहुप्रतिभाशाली छन् । बहुसंस्कृतिमा हुर्कँदाको फाइदा हो भन्ने लाग्छ ।’

जातीय र धार्मिक विविधता नेपाली समाजको सुन्दर पक्ष हुँदाहुँदै पनि सामाजिक र सांस्कृतिक विभेदले सदियौँदेखि समाजमा जरा गाडेको विषय नजरअन्दाज गर्न नमिल्ने मानवशास्त्री सुरेश ढकाल बताउँछन् । ‘मुलुकी ऐन १९१० हेर्नुभयो भने त्यहाँ जातको चर्चा धेरै छ । यसमा कसले के गर्न हुने ? के गर्न नहुने ? कसले कोसँग विवाह गर्न हुने र नहुने ? कोसँग विहे गरे के सजाय हुने भनेर धेरै ठाउँमा लेखिएको छ । त्यहाँबाट हामी यहाँ आएको धेरै भएको छैन । त्यहीकारण जात व्यवस्थाको जड अहिले पनि उत्तिकै छ ,’ उनले भने ।

विशेष गरी, दलित समुदाय यस विभेदबाट धेरै पीडित हुनुपरेको मानवशास्त्री ढकाल बताउँछन् । ‘कसले कोसँग बिहे गर्‍यो । कुन ठाउँको बिहे गर्‍यो भन्नेले भोगाइमा फरक पारेको देखिन्छ । स्थान, वर्ग, समय, शिक्षाको स्तरले भोगाइको तह फरक पार्छ । पुख्र्यौली थातथलोमा बस्नेहरूलाई यस्तो विवाहले धेरै असर गर्न सक्छ । विदेश बसेकाहरूमा असर कम पर्ने भयो । आर्थिक रूपमा माथिल्लो वर्गमा असर कम देखिने भयो । बाबु–आमाले दुःख गरेर सन्तान हुर्काउँदा सन्तानमा त्यसको प्रभाव नपार्ला । तर, समाजले गर्ने विभेदको प्रभाव सन्तानले भोग्नुपर्‍यो भने नमीठो हुन्छ । यद्यपि, पछिल्लो समय अन्तर्जातीय–अन्तरसांस्कृतिक विवाहको स्वीकार्यता बढ्दो छ,’ उनी भन्छन् ।

स्वीकार्यता बढ्दै छ : सुरेश ढकाल, मानवशास्त्री


जातीय व्यवस्था अलि कडा भएको नेपाली वा भारतीय समाजमा अन्तरसांस्कृतिक विवाहको विषय स्वीकार्य हुन गाह्रो भएजस्तो देखिन्छ । परिस्थितिअनुसार विषय पृथक् हुने भयो । यसलाई एउटै डालोमा हालेर हेर्न मिल्दैन । दलितले विशेष समस्या भोग्नुपरेको देखेको छु । परिवार कति उदार छ भन्ने विषयले ठूलो प्रभाव राख्छ । वर्गीय हिसाबले माथिल्लो वर्गलाई समस्या कम होला । बाउ–बाजेकै थलोमा हुनुहुन्छ वा थलो फेरेर जानुभएको छ, त्यसले पनि फरक पार्ने हुन्छ । भोगाइको तह, प्रताडनाको तह वा मिलेर बसेको तह यसमा फरक हुन्छन् । 

छोराछोरीलाई कसरी हुर्काइन्छ भन्ने महत्ववपूर्ण छ । शिक्षित राजनीतिक परिवारमा जन्मेको सन्तान व्यापक चेतना लिएर हुर्कन्छ । प्रताडित र कम शिक्षित वा समाजले स्विकारेन भने मनोदशा अलग हुन सक्छ । नवराज विक, अजित मिजारको घटना पनि फरक पृष्ठभूमिकै प्रेमको उपज थियो । नारायणगोपालले पनि बिहे गर्दा भूपि शेरचनको घरमा लगेर राखेका हुन्, पेमलालाई । उहाँको घरले स्विकारेन । केही दुर्घटना नभएका होइनन्, तर बिस्तारै स्वीकार्यता बढ्दै छ । वैदेशिक रोजगारी वा विदेश पढ्न गएकाहरूमा अन्तरसांस्कृतिक र अन्तर्जातीय विवाह बढ्दै छ । लोकेसन फरक पर्नासाथ जात सोध्नुपरेन । मन परे विवाह गरे भयो । तर, पुर्खाको थलोमा बस्नेहरूलाई अहिले पनि गाह्रो हुन सक्छ ।