• वि.सं २०८१ भदौ २२ शनिबार
  • Saturday, 07 September, 2024
पुरञ्जन आचार्य
२०८१ भदौ ८ शनिबार ११:४६:००
रिपाेर्ट

कांग्रेसका दु:ख

अहिले कांग्रेसभित्र कांग्रेस खोज्दा भेटिन मुस्किल छ

२०८१ भदौ ८ शनिबार ११:४६:००
पुरञ्जन आचार्य

 

अहिले कांग्रेसमा ८० प्रतिशत गैरकांग्रेसी छन् । २० प्रतिशत कांग्रेसी ‘हामी यसलाई सपार्छौँ’ भन्दै हिँडिरहेका छन् ।

 

पहिलो पुस्ता : त्याग र निष्ठा 
बिपी कोइराला भन्थे, ‘मेरो पार्टीको नेता कार्यकर्ता देख्दै चिनिन्छ । उसँग केही पनि हुँदैन, तर नैतिक शक्ति हुन्छ । उसले कसैसँग पनि टाउको झुकाएर कुरा गर्दैन ।’ कांग्रेसको स्थापनाकालका नेताहरू बिपी कोइराला, मातृकाप्रसाद कोइराला, डिल्लीरमण रेग्मी, बालचन्द्र शर्मा, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहलगायतका नेताहरू बढो पढेलेखेका बुद्धिजीवी, संसारको राजनीति र घटनाक्रम पनि बुझेका र भारतीय स्वतन्त्र संग्रामसँग पनि कहीँ न कहीँ जोडिएका थिए । उनीहरूसँग कार्यकर्ता खासै थिएनन् । तर, सबैभन्दा ठूलो अस्त्र विचार थियो । उनीहरूसँग त्याग थियो, समर्पण थियो, निस्वार्थीपन थियो र सिद्धान्तप्रति निष्ठा थियो ।

 

पहिलो पुस्ताले भोगेको दुःख र पीडा लेखिएको छैन । यो पुस्ताले ००७ सालको क्रान्तिका लागि बन्दुक उठाउनुपर्‍यो । ००७ देखि ०१५ सम्म धेरै दुःख झेले । ०१७ देखि ०४६ सम्मको तीसवर्षे अवधिमा पनि पार्टीको संस्थापक सदस्यदेखि तल्लो तहसम्मका नेताकार्यकर्ताले काफी दुःख पाए ।

 

०१७ पुस १ पछि जब बिपी, गणेशमान र गिरिजाहरू जेल परे, कांग्रेसमा दोस्रो तहका नेताहरू देखिन थाले । धेरै नेताहरू निर्वासनमा गए । सुनसान परिस्थितिमा विद्यार्थीहरूले ढुंगा फाले र तरंगित पारे । त्यसवेला शेरबहादुर देउवा, मच्छिन्द्र पाठक, दमननाथ ढुंगाना, शैलजा आचार्य, चक्रप्रसाद बास्तोला र भीमबहादुर तामाङलगायतको सोलिड पुस्ता प्रजातन्त्रका लागि लड्नभिड्न भनेर जन्मियो । उनीहरू अधिकांश नेताजस्ता थिएनन् । उनीहरूले नेता मानेका थिए बिपी, गणेशमान र कृष्णप्रसादहरूलाई । यिनीहरूले प्रजातन्त्रको दियो बालिदिए । यसैको निरन्तरतास्वरूप दोस्रो पुस्ता अगाडि आयो, जो आज कोही राष्ट्रपति छन्, कोही छैटौँपटक प्रधानमन्त्री बन्ने लाइनमा छन् । जो अहिले मुलुकको नेतृत्व गरिरहेका छन् खासमा उनीहरू नेता बन्न जन्मिएकै थिएनन् । यिनीहरूले आफूलाई नेता हुन्छु भनेर सोचेका पनि थिएनन् । यिनीहरू कोही बिपीलाई, कोही गणेशमानलाई नेता मानेर राजनीतिमा लागेका थिए । नेता नै हुन्छु, देशलाई परिवर्तन गर्छु भनेर लागेको त पहिलो पुस्ता मात्रै थियो ।

 

०५१ मा आइपुगेपछि कार्यकर्ता र नेतृत्व दुवैको पतन सुरु भयो । यहीँबाट कांग्रेसको ‘क्वालिटी’ पनि तल जान थाल्यो । कांग्रेसको विश्वविद्यालय नै परिवर्तन भयो । यहीँबाट सिद्धान्त, विचार र आदर्शभन्दा पनि मनी, मसल्स र व्यक्तिगत स्वार्थ सुरु भयो । यहीँबाट कांग्रेसमा केन्द्रको नेतृत्वदेखि तल्लो तहसम्म वर्गीय रूपान्तरण आयो । 

 

दोस्रो पुस्ता : मनी र मसल्स
दोस्रो पुस्तामा ज्ञान, बुद्धि, विवेक, निष्ठा र निस्वार्थीपनमा केही कमजोरी छ । उनीहरूसँग इन्लाइटमेन्ट सोच र विवेकको कमी पहिलादेखि नै थियो । यिनीहरू मात्र नेतामा फलोअर्स थिए । तर, ०४६ पछि कांग्रेस पुग्यो त्यस्ताकै हातमा । स्वयं गिरिजाप्रसादले पचासौँ ठाउँ भनेका थिए, ‘म दाजुलाई सघाउनका लागि कांग्रेसमा लागिरहेँ ।’ आफ्नो ज्ञान, बुद्धि–विवेकले म नेपाललाई बनाउँछु, प्रजातन्त्रलाई संस्थागत गर्छु भनेर कांग्रेसमा लागेको होइन भनेर स्वयं उनैले भनेका छन् । उनी पहिलोपटक प्रधानमन्त्री भएर राजालाई भेट्न जाँदा भनेका रहेछन्,‘यो देशमा संवैधानिक राजतन्त्र र प्रजातन्त्र कसरी सँगै जान्छ ? म सरकारमा बसेर सिक्दै छु । तपाईंले पनि सिकाइदिनुस् ।’

 

०५१ मा शेरबहादुर देउवा प्रधानमन्त्री बने । यहाँनेर आइपुगेपछि कार्यकर्ता र नेतृत्व दुवेैको पतन सुरु भयो । यहीँबाट कांग्रेसको ‘क्वालिटी’ पनि तल जान थाल्यो । यहाँबाट कांग्रेसको विश्वविद्यालय नै परिवर्तन भयो । अब यहीँबाट सिद्धान्त, विचार र आदर्शभन्दा पनि मनी, मसल्स र व्यक्तिगत स्वार्थ सुरु भयो । यहीँबाट कांग्रेसमा केन्द्रको नेतृत्वदेखि तल्लो तहसम्म वर्गीय रूपान्तरण आयो । ०४७/०४८ तिर कांग्रेसले दुईचक्के साइकल र्‍याली गथ्र्यो, ०५१/०५२ बाट चारचक्के पजेरो, स्कोर्पियो क्रेटाको र्‍याली गर्न थाल्यो । कार्यकर्ताले पनि नेतृत्वको देखासिकी गर्न थाले । अब यहीँबाट कांग्रेसभित्र कांग्रेस भेटिन मुस्किल पर्न थाल्यो । कांग्रेसभित्र समाजवाद विलुप्त हुने अवस्था सुरु भयो । ०५१/०५२ बाट कांग्रेसको नयाँ डिएनए र कल्चर सुरु भयो । कांग्रेस संस्थापन नेताले बनाएको राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूल सिद्धान्तभन्दा पर पुग्न थाल्यो । पार्टी सञ्चालन विधि र राज्यसञ्चालन विधिमा कांग्रेसले आफूलाई नयाँ अवतारमा पायो । सिंहदरबारदेखि देशैभर कांग्रेसभित्र मनी र मसल्सको चलखेल व्यापक हुन थाल्यो । त्यसवेला दुईखाले कांग्रेस निस्किए । एउटाले ‘पार्टी हाम्रो रहेन’ भन्दै पार्टी छाडेर बसे र आफू कांग्रेस भएर कांग्रेसलाई नै हराउन थाले । त्यहाँबाट कांग्रेसमा अन्तर्घात सुरु भयो । अर्कोले ‘यो कांग्रेस होइन’, ‘यो कहिलेको कांग्रेस ? हिजो त थिएन त,’ भनिरहे ।

 

अहिले कांग्रेसमा ८० प्रतिशत गैरकांग्रेसी छन् । २० प्रतिशत कांग्रेसी ‘हामी यसलाई सपार्छौँ’ भन्दै हिँडिरहेका छन् । ८० प्रतिशतलाई देउवाको राजनीतिक संरक्षण छ । ती आर्थिक रूपले सम्पन्न छन् । ती विभिन्न बिचौलियाहरूले राजनीति भनेको पैसा कमाउने ठाउँ हो भन्ने मात्रै ठानेका छन् । उनीहरू भन्दैछन्, ‘को हो बिपी ? को हो कृष्णप्रसाद ? को हो गणेशमान ? हु आर देम ?’ 

 

एउटा घटना अहिले पनि सम्झिन्छु । ०५६ मा नेपालगन्जमा महासमिति बैठकमा मलाई कुनै कांग्रेसी कार्यकर्ताले बिपीको फोटो औँल्याउँदै सोध्यो, ‘को हो यो, दाह्री पालेको बूढो ?’ त्यो सोध्ने मान्छे अहिले कांग्रेसकै ठूलो नेता भएको छ । त्यस्ता घटना थुप्रै र थुप्रैसँग छ । किनकि बिपीलाई ती दुई–चारजनाले मात्रै बिर्सेका होइनन् बिपीलाई कांग्रेसले नै बिर्सेको छ । जब पार्टीले नै बिर्सेको छ भने कार्यकर्ताले सम्झनुपर्ने कारण पनि त केही थिएन ! दोस्रो कांग्रेस यस्तै आयो । यो एकदमै दुःख पाएको पुस्ता पनि हो । शेरबहादुर ८–१० वर्ष जेल परे । रामचन्द्र पौडेलले पनि धेरै दुःख खेपे । तर, यिनीहरूमा नेतृत्वमा हुनुपर्ने गुण र लोकतान्त्रिक आन्दोलनलाई लिड गर्नुपर्ने क्षमता कमजोर थियो । यिनीहरूको निष्ठामा शंका थिएन, तर लिडरसिप क्वालिटी यिनीहरूमा थिएन । पार्टी बचाउने क्षमता पनि यिनीहरूमा थिएन । आज यो देश किन यस्तो भयो ? किन गरिबी, युवा पलायन र भ्रष्ट्राचार छ ? किनभने यहाँ देश हाँक्ने नेता कोही भएनन्, सबै अनुयायी मात्रै भए । यिनीहरू बेइमान थिए त ? अहँ थिएनन् । यिनीहरूका लागि एउटा मात्रै इमान थियो, ‘हाम्रो नेताले जे भन्छ त्यसकै पछि लाग्ने ।’ बिपीले भारतमा बसेर नेपालमा हतियार उठाउनुपर्छ भन्नुभयो । यिनीहरूले उठाए । अर्कोपटक हतियार उठाएर हुँदैन राजासँग मेलमिलाप गर्नुपर्छ भन्नुभयो । यिनीहरूले त्यसै गरे । सबै प्रकरणमा अहिले शासन गरिरहेको यो पुस्तासँग मौलिक विचार, चिन्तन मात्रै होइन राजनीतिलाई कता लाने भन्ने सामान्य सोचै पनि थिएन । जब नेतासँग सोच हुँदैन र यति ठूलो पार्टीको नेता हुन्छ भने देश कस्तो होला ? त्यो पार्टीले उत्पादन गर्ने कार्यकर्ता कस्तो होला ? जस्तो हुनुपर्ने त्यस्तै उत्पादन भयो । यस्ताले देश बनाउँदैन । कांग्रेसमा पुनर्जागरण फर्काउन सक्ने नेता अहिले एकजना पनि छैनन् । अब लिगेसी देखाएर मात्रै पनि नेता बन्ने दिन छैन ।

 

तेस्रो पुस्ता : अनिर्णीत र अलमल 
यसैबीचमा गिरिजाप्रसाद कोइरालाजस्तो पहिलो पुस्ता पनि बाँचेकै थियो । अर्को ढाई पुस्ता (साढे दुईको पुस्ता) आइसकेको थियो शेरबहादुर देउवा, रामचन्द्र पौडेलजस्तो । तेस्रो पुस्ता विमलेन्द्र निधि, प्रकाशमान सिंहजस्ता आइपुगे । तेस्रो पुस्ता घोडाको चालजस्तो आफू सीधा चल्न नसक्ने, सधैँ कसै न कसैले संरक्षण दिइरहनुपर्ने । कांग्रेसको इतिहासमा यो पुस्ताले आफू किन राजनीतिमा लागेको भन्नेसम्म पनि डिफाइन गरेन ।

 

यसबीचमा सभापतिका लागि चुनावमा उठेर नरहरि आचार्य, विमलेन्द्र निधि, प्रकाशमान सिंहहरू पनि ओझेलमा परे । उनीहरूको झन्डै जमानत नै जफत भयो, तर यसबीचमा शेरबहादुर देउवालाई सभापतिमा चुनौती दिनेमा शेखर कोइराला अगाडि आए । उनले ४० प्रतिशत मत ल्याए । जतिवेला आफ्नै घरमा दुईजना दुईतिर थिए । सुजाता प्रकाशमानको टिममा, शशांक देउवाको टिममा । यसवेला कांग्रेसको राजनीतिले नयाँ ट्विस्ट एन्ड टर्न लियो । शेरबहादुरले जिते । उनले जित्दाजित्दै पनि शेखर कोइरालाले ल्याएको भोटले कांग्रेसभित्र वैकल्पिक शक्तिको उदय गरायो । पदाधिकारीमा पनि त्यो प्यानलबाट महामन्त्री, उपसभापति र सहमहामन्त्रीहरू बने । यसरी अहिलेको पार्टीको पहिलो पुस्तालाई तेस्रो–चौथो पुस्ताले चुनौती दिएको छ ।

 

यसबीचमा केही पुस्ता आउट भए । शेखर कोइरालाको इन्ट्री ०६५ मा भयो । कोइराला परिवारमा सुशील कोइरालापछि एकैपटक सुजाता, शेखर र शशांकको इन्ट्री भयो । शेखर १४औँ महाधिवेशनसँगै पार्टी संरचनाका कारण नेता बने । यसको पछाडि उनको मिहिनेत र लिगेसी र विचारको थोरबहुत योगदान छ । तर, शेखरलाई पब्लिकबाट नेता हुन सकस भइरहेको छ । आफूलाई परिमार्जन गर्न जरुरी छ ।

 

चौथो पुस्ता : पतन या उदय !
राजाले शासन हातमा लिएपछि त्यसको विरुद्धमा जो सडकमा आए तिनीहरू नेता भए । सडकमा राजतन्त्रविरुद्ध विश्वप्रकाश शर्मा, गगन थापा, गुरु घिमिरे, प्रदीप पौडेलहरू आए । उनीहरू सडकमा चिनिए । त्यहीवेला संसारमा ग्लोबलाइजेसन र सूचना–प्रविधिमा क्रान्ति आइरहेको थियो, त्यसले यो पुस्तालाई भरपुर सपोर्ट गर्‍यो ।

 

कांग्रेसमा युवा नेता भनेर विश्वप्रकाश, गगन, गुरु र प्रदीपहरूको अनुहार चर्चामा आउन थालेको दुई दशक भइसक्यो । राजनीतिमा अवसर पाउनेले १०–१५ वर्षमै गरेर देखाउँछन् । यो सन्दर्भमा हेर्दा उनीहरूको पनि पार्टी पोलिटिक्स र पब्लिकमा काफी समय बितिसकेको छ । अब यिनीहरूको पनि पतन या उदय चिन्ताको विषय बनेको छ । यो पुस्तामाथि पनि पोस्टमार्टम जरुरी छ । 

 

अहिले एकैपटक चौथो पुस्ताले कांग्रेसको दोस्रो पुस्तासँग फाइट गरिरहेको छ । शेरबहादुर देउवालाई चुनौती दिन एउटा मुभमेन्टबाट उदाएका गगनहरू आएर लडिरहेका छन् । उनीहरू अन्तर्राष्ट्रिय रूपमा पनि चिनिएका छन् । उनीहरूले एजेन्डा पनि चिनेका छन् । तर, कांग्रेसमा युवा नेता भनेर यी अनुहार चर्चामा आउन थालेको दुई दशक भइसक्यो । राजनीतिमा अवसर पाउनेले १०–१५ वर्षमै गरेर देखाउँछन् । यो सन्दर्भमा हेर्दा उनीहरूको पनि पार्टी पोलिटिक्स र पब्लिकमा काफी समय बितिसकेको छ । अब यिनीहरूको पनि पतन या उदय चिन्ताको विषय बनेको छ । यो पुस्तामाथि पनि पोस्टमार्टम जरुरी छ । 

 

कांग्रेसमा वैकल्पिक देखिएको अनुहारलाई पनि यतिले पुगेको छैन, आफूलाई सुर्धानुपर्ने आवश्यकता छ । कांग्रेसभित्र नैतिक संस्कृति समाप्त भएको छ, जुन बिपी कोइरालाले बनाएको मूल शक्ति हो । यसलाई उनीहरूले कसरी स्थापित गर्छन् ? त्यसका लागि उनीहरूसँग के अभियान छ ? त्यो हेर्नुपर्छ । बिपीलाई काठमाडौं आउँदा कहाँ बसौँ र के गरौँ भन्ने मूल चिन्ता हुन्थ्यो । गिरिजाप्रसाद कोइराला जीवनभर भतिजोकोमा बसेर अन्तिममा मात्र छोरीको घरमा बसे । आजका यी युवा नेताहरूले मोरल ग्राउन्डमा कसरी आफूलाई उभ्याउँछन् त्यो भोलिका लागि महत्वपूर्ण हुन्छ । यी नेताहरूले एउटा टापु बनाएका छन् । त्यसमा आफूलाई नेता हुन चाहिने सामग्री जुटाएका छन् । ती सामग्री धनीमानी, डन र तस्करले जुटाइदिएका हुन्छन् । यही आधारमा उनीहरू मिडिया कन्ट्रोल गरेर नेता हुन खोजिरहेका छन् । त्यसरी नेता भइँदैन, त्यसरी बनेको नेता टिक्दैन ।

 

कांग्रेसभित्रै कांग्रेसको खोजी
०५१ पछि कांग्रेसले आफ्नो मूल्य मात्रै छाडेको छैन, कांग्रेसीकरण नै छाडेको छ । यसको जीवनदर्शन नै परिवर्तन भएको छ । अहिले निम्न मध्यम र गरिब पृष्ठभूमिका व्यक्ति कांग्रेसभित्र नेता हुनै सक्दैन । नेता हुन पैसा नै चाहिन्छ । कांग्रेसमा अहिले नेता हुन नेतृत्वले संरक्षण मात्र गरेर हुँदैन ‘क्रेन’ नै लगाएर नेता बनाउनुपर्छ । हिजो गरिब, दलित, किसान, श्रमिक पृष्ठभूमिबाट कांग्रेसका नेता जन्मिन्थे । तब न कांग्रेस कांग्रेस भयो । विभिन्न जाति र धर्मबाट नेता जन्मिन्थे । अब त्यो कांग्रेस छैन । नेताले भ्याट्टै नेता जन्माइदिने कांग्रेस भएको छ । अहिले कांग्रेसभित्र कांग्रेस खोज्दा भेटिन मुस्किल छ । पार्टीदेखि अवसर पाउने (भ्रातृ संस्था, विभागदेखि क्याबिनेटसहित) विभिन्न ठाउँमा लगानी गरेका, नाता परेका र लिगेसी बोकेकाहरू छन् । किन एकजना पनि दलित अटाएका छैनन् ? भोटबैंक भनिएको मधेशलाई उपेक्षा गरिएको छ ।

 

सोझासीधा जनतालाई भुलभुलैयामा राख्न मात्रै सिद्धान्तको कुुरा गरिएको छ । अहिले कांग्रेसमा लिडरसिपको फ्रस्टेसन, आइडोलोजीको फ्रस्टेसन छ । अब देउवालाई देखेर कुन युवा आकर्षित होला ? वैचारिक रूपमा र जनताका भावना बुझ्ने विषयमा संसार रकेटमा उडिरहेको छ, कांग्रेस हात्तीमा सवार छ– मुगलकालीन शासक जसरी । 

 

भ्रातृ संठगन अर्थात् अजिंगर 
दुई दशकमा कांग्रेस नेतृत्वले एउटा दिव्य ज्ञान पाएको छ, त्यो हो– भ्रातृ संस्थालाई बलियो बनाएर आफैँलाई खाने अजिंगर बनाउनुहुन्न । भ्रातृ संस्था निष्क्रिय बनाउन नेताहरू नै लागिरहेका छन् । भ्रातृ संस्था चलाएर आएका नेताहरूलाई थाहा छ कि भ्रातृ संस्थाहरू सबैभन्दा ठुला अजिंगर हुन्, यिनीहरूलाई चलायमान बनायो भने आफैँलाई निल्छ । त्यो शेरबहादुरलाई पनि थाहा छ, विश्व, गगन र प्रदीपलाई पनि थाहा छ । यी संस्थाहरूलाई यसैगरी गिजोलेर राख्न सकियो भने आफूलाई थ्रेट आउँदैन भन्ने मज्जाले बुझेका छन् । त्यसैले यसलाई चलायमान नबनाउन उनीहरूबीच राष्ट्रिय सहमति छ । अहिले कांग्रेसलाई संसारमा के भइरहेको छ थाहा छैन । कुन बिचौलियालाई समात्दा प्राडो, पजेरो, स्कोर्पियो चढ्न पाइन्छ यति थाहा छ । कहाँ ठेक्कापट्टामा कमिसन आउँछ त्यो थाहा छ । अहिलेको कांग्रेसले आफ्नो होल कांग्रेस सिस्टमबाटै बिपीलाई हटाएर अलग गरेको छ ।

 

आज देउवाले हिजो जेल परेका सँगैका कति साथी सम्झिन्छन् ? प्रकाशमानले जेल बसेका कसलाई सम्झन्न होला ? सम्झने फुर्सद कसलाई छ आज ? बिपीले बनाएको कांग्रेस अब रहेन । बिपीकालीन कांग्रेससँग शक्ति थिएन, सम्पत्ति थिएन, तर नैतिक आचरण थियो । आजका अधिकांश (८० प्रतिशत) कांग्रेस अख्तियारमा पुगिने हो कि भनेर थुरथुर हुन्छन् । २० प्रतिशत कांग्रेस अहिले पनि ठिकठाकै छ । तर, ८० प्रतिशतले यसरी किनारा लगाएको छ कि बिचराहरू छेउछाउ पर्नै सक्दैनन् । 

 

प्रस्तुति : केशवप्रसाद पाण्डे