अध्ययन–अनुसन्धानका क्रममा संस्कृतिविद् सत्यमोहन जोशी विभिन्न देश पुगेका छन् । नेपाली भाषा शिक्षणका लागि जोशीले केही वर्ष चीनमा बिताए । संयुक्त राष्ट्रसंघको ‘विद्वत्वृत्ति’ (फेलोसिप) पाएर न्युजिल्यान्ड पुगे । सोही कारण जोशीले आफूलाई न्युजिल्यान्ड पुग्ने पहिलो नेपालीका रूपमा चिनाउने गरेका छन् । जोशीले २०४९ सालमा ‘न्युजिल्यान्डमा पहिलो नेपाली’ नामक पुस्तक नै लेखेका छन् ।
सामान्य ज्ञान र स्कुल कलेजका पाठ्यक्रममा समेत न्युजिल्यान्ड पुग्ने पहिलो नेपाली भनेर सत्यमोहन जोशीको नाम पढ्दै पढाइँदै आइएको छ । लोकसेवालगायतले न्युजिल्यान्ड पुग्ने पहिलो नेपाली को हुन् भन्ने प्रश्नको उत्तरमा सत्यमोहन जोशीलाई मान्यता दिएको छ । तर, के न्युजिल्यान्ड पुग्ने पहिलो नेपाली सत्यमोहन जोशी नै हुन् त ?
न्युजिल्यान्ड पहिला को पुगे ?
विसं. २०१० सालमा फेलोसिप पाएर अध्ययनका लागि न्युजिल्यान्ड पुगेका जोशीले आफू नै त्यहाँ पुग्ने पहिलो नेपाली भएको बताएका छन् । न्युजिल्यान्ड भ्रमणबारे जोशीले लेखेका छन्, ‘अब पाठकवर्गको मनमा खुल्दुली भइरहेको हुन सक्छ– न्युजिल्यान्डमा पुग्ने पहिलो नेपाली को थिए त ? वास्तवमा त्यस देशमा पुग्ने पहिलो नेपाली यसै पंक्तिका लेखक (म, सत्यमोहन जोशी) नै हो । यसमा हो र भन्ने प्रश्न उठ्न सक्छ, शंका गर्ने ठाउँ हुन्छ । यसैले म आफ्ना डायरीका रिपोर्टमा आधारित सत्य कुराहरू बताउँछु । म त्यो न्युजिल्यान्ड भन्ने देशमा विक्रम संवत् २००९–२०१० जेठ (सन् १९५३ जुन) मा पुगेको थिएँ ।’ (जोशी, २०४९ः ३)
त्यसैगरी २०७५ कात्तिक १८ गते जोशीले सेतोपाटीडटकममा ‘हवाईजहाज चढ्न हिँडेको थिएँ, समुद्रमा पो लगे !’ शीर्षकमा आफ्ना विचार पोखेका छन् । जोशीका अनुसार उनी ‘युनाइटेड नेसन्स टेक्निकल एसिस्टेन्स एड्मिनिस्ट्रेसन’मार्फत राष्ट्रसंघको ‘फेलोसिप’ पाएपछि न्युजिल्यान्ड पुगेका थिए । जोशीले भनेका छन्, ‘त्यो वेला यो न्युजिल्यान्ड भन्ने देश कहाँ हो कहाँ ? खोजी गरेपछि दक्षिणी गोलाद्र्ध (एन्टार्टिका)को सबभन्दा नजिकमा छ भन्ने पत्तो लाग्यो । अनकन्टार यस्तो ठाउँमा जान जो पनि तर्सिने । त्यतिन्जेल कुनै नेपाली पुगेका छन् कि भनेर सोधिखोजी गर्दा पनि अस्ट्रेलियासम्म मात्र पुगेको पाइयो । न्युजिल्यान्डमा त आजसम्मै कोही नपुगेको सुनियो ।’
संस्कृतिविद् जोशीको भनाइलाई आधार मान्ने हो भने न्युजिल्यान्ड पुग्ने उनी नै पहिलो नेपाली हुन् । तर, विगतका तथ्यले संस्कृतिविद् जोशीभन्दा अगाडि जनरल मृगेन्द्रशमशेर, तारामानसिंह स्वार र प्रा. साम्वदेव पाण्डे न्युजिल्यान्ड पुगेको देखाउँछ । वरिष्ठ साहित्यकार पहलमानसिंह स्वारका छोरासमेत रहेका तारामानसिंह स्वारले सो कुरा आफ्नो पुस्तक ‘केही शैक्षिक संस्मरण’ मा उल्लेख गरेका छन् । अम्बिकादेवी स्वारद्वारा २०३७ सालमा प्रकाशित पुस्तकमा ‘नेपालीको प्रथम अष्ट्रेलिया यात्रा’ उपशीर्षकमा अष्ट्रेलिया र न्युजिल्यान्ड भ्रमणको वर्णन छ ।
स्वारका अनुसार २००५ मंसिरमा अस्टे«लियाको ल्यापस्टनमा आयोजित एसिया तथा सुदूरपूर्वका लागि राष्ट्रसंघीय आर्थिक आयोग (इकाफे) को दोस्रो अधिवेशन सम्पन्न भएको थियो । सो अधिवेशनमा भाग लिन तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डल अष्ट्रेलिया पुगेको थियो । नेपाली प्रतिनिधिमण्डलमा मेजर जनरल मृगेन्द्रशमशेर, आधार शिक्षाका डेपुटी सेक्रेटरी तारामानसिंह स्वार र प्रा. साम्वदेव पाण्डे थिए । स्वारका अनुसार अष्ट्रेलिया र न्युजिल्यान्ड पुग्ने यो पहिलो नेपालीको टोली थियो ।
जनरल मृगेन्द्रशमशेरको नेतृत्वमा गएको सो टोली काठमाडौंबाट कलकत्तासम्म स्थलमार्ग र त्यहाँबाट हवाईजहाजमा बैंकक, सिंगापुर, इन्डोनेसिया हुँदै अष्ट्रेलियाको डार्बिन भएर सिड्नी पुगेको थियो । सिड्नीमा नेपाली टोलीले राम्रो स्वागत पाएको थियो । त्यहाँ उनीहरूले दौरा–सुरुवाल, कोट, टोपी लगाएका थिए ।
सम्मेलनपछि नेपाली प्रतिनिधिमण्डल सरकारी पाहुनाकै रूपमा अष्ट्रेलियाको राजधानी क्यानबेरा पुगेको थियो । (स्वार, २०३७ः २७–२८) । त्यसैगरी स्वारले लेखेका छन्, ‘सम्मेलन समाप्त भएपछि हामीहरू न्युजिल्यान्ड सरकारको निमन्त्रणामा एक हप्ता न्युजिल्यान्डको उत्तरी टापुको भ्रमणमा गयौँ । त्यहाँबाट सिडनी, सिंगापुर हुँदै बैंकक पुग्यौँ । बैंककमा तीन–चार दिन बसेर कलकत्ता हुँदै काठमाडौं फक्र्यौँ ।’ (स्वार, २०३७ः ३०) यी तथ्यले न्युजिल्यान्ड पुग्ने पहिलो नेपाली संस्कृतिविद् सत्यमोहन जोशी हुन् भन्ने कुरा खण्डन गर्छ । सत्यमोहन जोशी २०१० जेठमा न्युजिल्यान्ड पुग्नुभन्दा पाँच वर्षअघि २००५ मंसिरमै मृगेन्द्रशमशेर, तारामानसिंह स्वार र प्रा. साम्वदेव पन्त न्युजिल्यान्ड पुगिसकेको देखिन्छ ।
बेलायतीले राहदानी जारी गथ्र्यो !
२०७५ कात्तिक १८ गतेको सेतोपाटीडटकममा संस्कृतिविद् जोशीले न्युजिल्यान्ड जाँदाको अनुभव साटेका छन् । सेतोपाटी अनलाइनमा जोशीले भनेका छन्, ‘त्यतिवेला पासपोर्ट पनि हुन्नथ्यो । एउटा लिखित कागज हुन्थ्यो । काठमाडौंस्थित बेलायती दूतावासले नै न्युजिल्यान्डको राहदानी जारी गथ्र्यो ।’ त्यतिवेला पासपोर्ट (राहदानी) नहुने र काठमाडौंस्थित बेलायती दूतावासले न्युजिल्यान्डको राहदानी दिने भन्ने कुरामा पनि सत्यमा देखिँदैन ।
विदेश यात्रामा जाने आफ्ना नागरिकका लागि सम्बन्धित राष्ट्रको सरकारले नै पासपोर्ट (राहदानी) उपलब्ध गराउनुपर्ने हुन्छ । त्यसैले नेपाली नागरिकलाई बेलायतले न्युजिल्यान्डको राहदानी जारी गथ्र्यो भन्ने तथ्य पनि मिल्दैन । जोशीभन्दा पहिले नेपाली राहदानी लिएरै मृगेन्द्रशमशेर, तारामानसिंह स्वार र प्रा. साम्वदेव पाण्डे अष्ट्रेलिया र न्युजिल्यान्ड पुगेका छन् । २००५ साल मार्ग ३ गते रोज ५ मुकाम काठमाडौं नेपालबाट जारी भएको तारामानसिंह स्वारको राहदानी (पासपोर्ट)मा पाउनेको नाम ‘मास्टर तारामानसिं’ लेखिएको छ ।
२६० नं. को स्वारको राहदानीमा विजयशमशेरले दुई ठाउँमा हस्ताक्षर गरेका छन् । स्वारको राहदानीमा जान पाइने मुलुकहरू भनेर अंग्रेजी र नेपाली भाषामा हिन्दुस्थान, बर्मा, स्याम, सिंगापुर, नेदरल्यान्ड्स, इस्टइन्डिज, न्युजिल्यान्ड र अष्ट्रेलियाको नाम छ । त्यसका मुनि निलो मसीले विजयशमशेरको सही गरेका छन् । राहदानीको सिरानीमा नेपाली, अंग्रेजी र फारसी भाषाको ठूलो छाप लगाइएको छ ।
बेलायत पुग्ने पहिलो नेपाली
संस्कृतिविद् सत्यमोहन जोशीले आफ्नो पुस्तक ‘न्युजिल्यान्डमा पहिलो नेपाली’को ‘पहिलो हुनुको कीर्तिमान’ उपशीर्षकमा लेखेका छन्, ‘इंग्ल्यान्डमा सबभन्दा पहिले पुग्ने नेपाली को थिए ?’ यसको सही उत्तर हो– जंगबहादुर कुँवर । अब फेरि अर्को प्रश्न उठ्न सक्छ– न्युजिल्यान्डमा सबभन्दा पहिले पुग्ने नेपाली को थिए ? यसको सही उत्तर यही पुस्तकले दिनेछ । हुन त अमेरिका, जापान आदि देशहरूमा सबभन्दा पहिले पुग्ने नेपालीहरू को–को थिए नि भन्ने प्रश्न पनि उठ्न सक्छन् । यी प्रश्नको उत्तरमा अमेरिका पुग्ने पहिलो नेपालीमा जयपृथ्वीबहादुर सिंह, जापान पुग्ने पहिलो नेपालीमा पद्मसुन्दर मल्ल थिए भन्ने कुरा थाहा हुन आउँछ । (जोशी, २०४९ः १)
जोशीझैँ आमनेपालीले बेलायत (इंग्ल्यान्ड) पुग्ने पहिलो नेपालीका रूपमा जंगबहादुरलाई लिने गरेका छन् । सन् १८५० जनवरीमा बेलायततिर लागेका जंगबहादुरको टोलीमा भाइ जगतशमशेर, धीरशमशेर, काजी करवीर खत्री, डिल्लीसिंह बस्न्यातसहित चौधजना, भान्से चारजना, कामदार १२ जना र तिनका सहयोगी दशजना सँगै थिए । (राणा, १९८०ः ११६) त्यसैले जंगबहादुरलाई बेलायत पुग्ने पहिलो नेपाली मान्ने हो भने उनीसँगै गएका अरूहरूको पनि नाम लिनुपर्ने हुन्छ । तर, पछिल्लो अध्ययनले जंगबहादुरभन्दा पहिल्यै नेपाली नागरिक मोतीलाल सिंह बेलायत पुगेको देखाएको छ । अक्सफोर्ड विश्वविद्यालयका रिसर्च फेलो मानवशास्त्री कृष्णप्रसाद अधिकारीले यो तथ्य बाहिर ल्याएका छन् । दुर्लभ तथ्य–प्रमाण बटुलेर अधिकारीले सन् २०१३ मा ‘बेलायतमा पहिलो नेपाली मोतीलाल सिंहको रहस्यमय जीवन र उनको ऐतिहासिक आलेख’ शीर्षकमा पुस्तक नै प्रकाशित गरेका छन् ।
अधिकारीका अनुसार बेलायत पुगेपछि जंगबहादुर र उनको टोलीले त्यहाँ घुमघाम र मोजमस्ती गरेको थियो । घुमघामकै क्रममा एक दिन जंगबहादुरको भेट आफूजस्तै नेपाली बोल्ने मोतीलाल सिंहसँग भएको थियो । जंगबहादुरलाई भेट्दा मोतीलाल ५६ वर्षका थिए । उनले आफ्नो नाम ‘मुतिलोल सिङ’ लेख्ने गरेका थिए । सन् १८५० जुलाईको ‘न्यु मन्थ्ली म्यागेजिन’मा ‘लन्डनमा नेपालीको विवरण’ शीर्षकमा मोतीलालको लेखसमेत छापिएको थियो । लेखमा मोतीलालले उल्लेख गरेको विवरण यस्तो छः
‘म मोतीलाल सिंह नेपालको भादगाउँ भन्ने ठाउँमा जन्मेको हुँ । यो ठाउँ काठमाडौं राजधानीभन्दा धेरै टाढा छैन । त्यतिवेला राजा गीर्वाणयुद्धविक्रम शाह र प्रधानमन्त्री भीमसेन थापा थिए महाराजा थिए । यसैबीच नेपालका यी महान् शासकले बृहत्तर फैलिएको देश अंग्रेज अधीनस्थ भारतसँग युद्ध गर्ने फैसला गरे । यति वेलासम्म मैले बीसवटा भाद्र कृष्णपक्ष बिताइसकेको थिएँ । गोरखाको एउटा जाति भएको नाताले त्यो युद्धमा मलाई पनि पठाइयो । त्यो अन्तिम घमासान युद्धमा म घाइते भएँ र मलाई युद्धबन्दी बनाइयो ।
अभिशप्त र अपहेलित म पछि जित्नेकै सेनामा भर्ना भएँ र उनीहरूले जस्तै लड्न र अंग्रेजी बोल्न सिकेँ । जतिवेला शान्तिका दिन आए, म आफ्नो मातृभूमिभन्दा धेरै टाढा कलकत्ता सहरमा बसिसकेको थिएँ । त्यहाँ मैले एक शूद्र जातिकी महिलालाई आफ्नी श्रीमती छानेँ । थुप्रै बालबच्चा भए । एउटा पानीजहाजको अंग्रेज कप्तानले सुन दिने लोभ देखाएको कारण मैले धेरै हन्डर खानुप-यो । यात्राको क्रममा जम्मा गरेका सबै रुपैयाँ पनि हराएँ ।
केही समयपछि मैले लन्डनका चिसा सडकमा भोकै तिर्खाउँदै र जाडोले काँप्दै बिताएँ । पछि, मैले सेन्ट पउल चर्चको पूर्वपट्टि पैदलमार्गमा हातमा कुचो च्यापेर खडा हुँदै जीवन गुजारा गरेँ । अन्त्यमा मेरा देशवासीसँग मेरो जम्काभेट भयो । म दुःखीमाथि महामहिम मन्त्री जंगबहादुरको नजर पर्न गयो । अहिले म जे छु, उनकै कृपाले हो ।’ (अधिकारी, २०१३ः १६–१९) । यी तथ्य हेर्दा जंगबहादुर र उनको टोलीभन्दा अगाडि नै बेलायतमा नेपाली नागरिक मोतीलाल सिंह पुगिसकेको पुष्टि हुन्छ ।