• वि.सं २०८१ भदौ २२ शनिबार
  • Saturday, 07 September, 2024
माइकल लिबोइच
२०८१ भदौ १५ शनिबार ०७:२६:००
अनुवाद

‘गसिप’ नराम्रो कुरा होइन 

२०८१ भदौ १५ शनिबार ०७:२६:००
माइकल लिबोइच

 

सर्वेक्षण संस्था ‘युगोभ’ले गरेको ‘गसिप’माथिको पछिल्लो सर्वेक्षणमा आधाभन्दा बढी अमेरिकीले आफूले ‘गसिप’ (अरूका कुरा काट्ने काम) गर्ने स्विकारेको उल्लेख छ । युगोभ प्रतिवेदनमा बाँकी आधा अमेरिकीचाहिँ ‘गसिपर’ हुन् कि होइनन् भनेर उल्लेख छैैन । तर, उनीहरू पनि यस्तै हुन सक्छन् ।

 

‘गसिप’लाई अक्सर अनुपस्थित व्यक्तिबारे गरिने अनौपचारिक कुराकानीका रूपमा परिभाषित गरिन्छ । यो मानव संस्कृतिको एउटा विश्वव्यापी विशेषता नै हो । साथै, यो लामो समयदेखि व्यापक निन्दाको विषय पनि रहिआएको छ । ‘तिमी मानिसमाझ कुरौटे बन्ने छैनौ’, १९:१६ मा लेभेटिकस भन्छन् । ‘कुरौटे (गसिप मंगर) हुनु सद्गुणबाट पतन हुनु हो,’ द एनालेक्टस्मा कन्फ्युसियसको भनाइ उद्धृत गरिएको छ । कुरानले कुरा काट्ने कामलाई निषेध गरेको छ । सन् २०१७ मा फिलिपिन्सको एउटा स्थानीय सरकारले ‘गसिप’विरुद्ध अध्यादेशै पारित गर्‍र्या । यसलाई जरिवानासहित एक दिन फोहोर उठाउने सजाय हुने गरी दण्डनीय अपराध करार गर्‍यो । प्रतिदिन धर्मनिरपेक्ष बन्दै गएको भनिने अमेरिकामा समेत दुईतिहाइभन्दा बढी अमेरिकी ‘गसिप’ समाजका लागि खराब हुनेमा विश्वास गर्छन्।

 

र पनि... कसले गर्दैन र ‘गसिप’ ? ‘जसले अलिकति ‘गसिप’ गरेर प्रकृतिको आज्ञा पालन गर्छ, उसले आधारभूत आवश्यकता पूरा गर्दाको जस्तो अथाह सन्तुष्टि अनुभव गर्छ,’ इटालियन यहुदी लेखक तथा रसायनशास्त्री प्रिमो लेवी लेख्छन् । पक्कै पनि हामीमध्ये केही गसिपै त गर्दैनौ, तर कुरा पोखेर मन हलुंगो भने पक्कै गर्छाैं । केहीचाहिँ आफ्नो जीवनसाथी वा आमासँग मात्र ‘गसिप’ गर्छौं, त्यो पनि ‘सासूहरूका’ बारेमा मात्र । अनि केहीले भने खुसीसाथ हरेक अवसरमा ‘गसिप’ गर्छाैं र अरूका कुरा खोल्छौँ । केहीचाहिँ ‘तिमीलाई थाहै छ, म कसैको बारेमा नराम्रो कुरा गर्न मनपराउदिनँ’ भन्दै सुरुवात हुन्छन् । तर, मानिस हुनुको, सामाजिक प्राणी हुनुको एउटा प्रमुख पक्ष के भने हामी कुनै न कुनै रूपमा अरूका बारेमा गफिन्छौँ, होइन र ?

 

‘गसिप’ शब्द पापभन्दा पनि ‘दोषपूर्ण आनन्द’सँग जोडिएको यो विश्वमा यस प्राकृतिक आज्ञाको परिपालन नगर्ने अर्थात् त्यस आधारभूत आवश्यकताको परिपूर्ति हुदाँ आफूलाई प्राप्त हुने सन्तुष्टिलाई इन्कार गर्न सक्दो प्रयास गर्ने मानिस पनि हुन्छन् । मैले यस्ता करिब एक दर्जन मानिससँग कुरा गरेँ, जसलाई म ‘अब्स्टेनर’ भन्ने गर्छु । ती सबै महिला थिए । मैले उनीहरूलाई मेरा साथीभाइ, ‘गसिप’का बारेमा लेखिएका लेख र ‘बे एरिया’का महिलाको फेसबुक समूहमार्फत फेला पारेको थिएँ । विभिन्न कुराले उनीहरूलाई ‘गसिप’बाट टाढा रहन अभिप्रेरित गर्‍यो । कसैका लागि यो धर्म थियो भने केहीका लागि कर्म । उनीहरूमध्ये धेरै ‘वचनमा त्रुटिरहित’ हुनुको महत्वबारे ज्ञान बाँड्ने डन मिगुएल रुइजको सेल्फ–हेल्प पुस्तक ‘द फोर एग्रिमेन्ट्स’बाट प्रेरित थिए । एउटी युवती अफिसमा शत्रुतापूर्ण अफवाहको सिकार बनेपछि आफ्नो ‘वाणी’लाई संयमित गर्ने उत्प्रेरित भएकी थिइन् ।

 

मैले कुरा गरेका कसैले पनि आफूले अरूको कुरा नकाट्ने ‘शुद्ध बोली’को दाबी गरेनन् । तर, उनीहरू सबैले यो कुरालाई गम्भीरतापूर्वक भने लिए । उनीहरू मानव अन्तत्र्रिmयाको यस स्वाभाविक अभिव्यक्ति अर्थात् ‘गसिप’लाई किन इन्कार गर्छन् भन्ने बुझ्न मैले यी ‘अब्स्टेनर’हरूको खोजी गरेँ । साथै, मैले उनीहरूको यस्तो रोजाइले उनीहरूको जीवन र सम्बन्धलाई कसरी असर गरेको छ भन्ने कुरा बुझ्न पाउने आशा पनि गरेँ । उनीहरूले यसबाट के पाइरहेका छन् ? म जिज्ञासु थिएँ । 

 

‘गसिप’ एउटा हानिकारक कार्य हो भन्ने ‘अवधारणा’सँग मेरो पहिलो परिचय योसी टोइभ रचित धार्मिक बालभजनमार्फत भएको थियो । ‘आफ्नो घर, स्कुल र सार्वजनिक ठाउँमा नराम्रो कुरा गर्नबाट आफ्ना ओठलाई जोगाऊ,’ उनीरचित बालगीतले भन्छन् । बाल्यकालभर मेरो स्कुलमा, मेरा अभिभावकबाट र मेरा सहपाठीले समेत ममा यस शिक्षालाई सबलीकरण गरे । सबैको धारणा मेरो बाल्यकालको धार्मिक संस्कृतिले जस्तै गसिप नराम्रो कुरा हो भन्ने खालकै थियो (हुन त मेरो धार्मिक समुदायका अधिकांश मानिस अझै पनि गसिप गर्छन्, अलिकति लज्जाका साथ) । यसका सद्गुण पनि छन् भन्ने विश्वासका कारण होइन कि यसबाट आनन्द मिल्ने भएकाले र कार्यस्थलमा ‘गसिप’ सहकर्मीसित सम्बन्ध गाँस्ने र अघि बढ्ने एउटा मार्गसमेत हो भन्ने थाहा पाएकाले पनि गत केही वर्षमा ‘गसिप’बारे मेरा अधिकांश पूर्वाग्रह धर्मराए ।

 

गत वर्ष मैले के महसुस गरेँ भने म मेरो कुराकानीको उल्लेख्य हिस्सा अन्य व्यक्तिबारे कुरा गर्नमा खर्च गर्दाे रहेछु । प्रायः म कुनै न कुनै निराशाका बारेमा कुरा गरिरहेको हुन्थेँ । भाइबहिनीले भनेको कुनै चित्त दुख्दो कुरा, साथीभाइ वा सहकर्मीले गरेका बेतुकका कुरा, चिकित्सकको अक्षमताबारेका अडकल आदि आदि । तर, यी ससाना चिडचिडाहटले मेरो कुराकानीको उल्लेखनीय समय खाइरहेका थिए । अनि मैले के अरू मानिसबारे यति धेरै कुरा गर्दा मलाई अधिक नकारात्मक, अधिक आलोचनात्मक र कम खुसी त बनाइरहेको छैन भन्ने सोच्न थालेँ । र, आफ्नो जीवनमा परिवर्तन गर्नु आवश्यक छ कि छैन भन्ने सोचेर ‘अब्स्टेनर’हरूको खोजी गर्न थालेँ ।

 

‘गसिप’ गर्दिनँ भनेर कसम खान खोज्नु ‘ज्याकी पल्लास’जस्तो हुन खोज्नु हुन्छ । क्याथोलिक साधक पल्लास सान फ्रान्सिस्को निवासी आहार विशेषज्ञ हुन्, जो आफूलाई एक अत्यन्त सद्गुणी मान्छिन् । उनले आफ्नो २० को दशकको सुरुमै क्याथोलिक शिक्षाको सन्दर्भमा निन्दा र झुटबारे अर्थात् गसिपबारे सोच्न थालिन्, जसमा निन्दालाई गाली बेइज्जती र सच्चाइको प्रसारको अवरोेध र अफवाहको प्रसारका रूपमा चित्रित गरिएको थियो । ४१ वर्षे पल्लासले मलाई उनको धर्मका धेरैजसो नैतिक निर्देशन परिपालन गर्न कठिन नभएको बताइन् । तर, बोलीमा लगाम विशेषगरी ‘डिट्रेक्सन(अरूको छवि धुमिल्याउने वाणीमा लगाम लाउने कुरा)’ले भने उनलाई एकदमै सतायो । तिनले चुनौती नै खडा गरे । ‘कसैको पनि कुरा नकाट्ने काम’ एकदमै गाह्रो काम थियो । अरूले ‘गसिप’को सुरुआत गर्दा अक्सर अनायासै उनी सामेल हुन पुगिहाल्थिन् । 

 

‘मैले यसलाई आफ्नो जीवनमा ध्यान नदिने उपायको रूपमा प्रयोग गरेँ,’ गसिपलाई ‘एक बहाना’का रूपमा वर्णन गर्दै उनले मलाई भनिन्, ‘म अरूका बारेमा र उनीहरूले के गरिरहेका छन् भन्नेबारेमा बढी सोचिरहेको हुन्थेँ । तसर्थ, मैले आफ्नो बारेमा सोच्नु पर्थेन ।’

 

‘गसिप’लाई एक प्रकारको ‘ध्यान विकर्षक’ वा ‘बहाना’का रूपमा वर्णन गर्नेमा पल्लास मात्र थिइनन् । उपन्यासकार इएम फोस्र्टरले ‘अ प्यासेज टु इन्डिया’ पुस्तकमा ‘गसिप’लाई वास्तविक जीवनलाई बिथोल्न प्रयास गर्ने अर्धजीवित चिजमध्येको एक’का रूपमा वर्णन गरेका छन् । हालैमा, मेरा सहकर्मी एवं स्तम्भकार जेनेप तुफेकीले वेल्स अर्थात् राजकुमारी क्याथरिनमाथि ‘गसिप’प्रतिको जनआकर्षणलाई ‘रोटी र सर्कस’को आधुनिक संस्करणको रूपमा वर्णन गरे ।

 

सामुदायिक स्वास्थ्यकर्मी स्टेभोना गोर्डन तपाईंसँग उनलाई कुनै समस्या छ कि छैन भनेर ठाडै भन्न डराउँदिनन् । मुठभेडको यो निमन्त्रणले उनलाई सधैँ सकारात्मक परिणाम प्रदान गरेन । ‘म लडाकु भएर हुर्केकी हुँ मेरो मुखकै कारण,’ उनले भनिन् । तर, एक वयस्कका रूपमा उनी ‘गसिप’ होइन, सञ्चारको प्रत्यक्ष शैली अँगाल्छिन् । गोर्डन विशेषगरी कार्यस्थलमा अरूसँग ‘गसिप’ गर्दिनन् र ‘गसिप’ सुन्न पनि मन पराउँदिनन् । ‘जब मानिसहरू सुरु हुन्छन्, म पछि हट्छु,’ उनी भन्छिन् । जब सहकर्मीले मसँग कुनै मनमुटाव रहेको व्यक्तिका बारेमा ‘गसिप’को प्रयास गर्छन् म उनीहरूलाई ‘त्यो मेरो सरोकारको कुरा होइन तिमी गएर उसलाई म तिम्राबारे यस्तो महसुस गर्छु भनेर हल निकाल्दैनौ ? भन्ने गर्छु ।’ ‘मानिसलाई यस्तो जवाफ मन पर्दैन,’ उनले भनिन् । 

 

‘मेरो अनुभव के छ भने म जे कुरामा सहमत छु, त्यसमा मात्रै ध्यान दिन्छु । मैले साक्षात्कार गरेका कुराले मात्र मेरो सोचलाई आकार दिन्छ,’ अमेरिकी दार्शनिक तथा मनोवैज्ञानिक विलियम जेम्स लेख्छन् । धेरैजसो ‘अब्स्टेनर’ले प्रस्ताव गरेझैं ‘गसिप’बाट टाढा रहनुले कम नकारात्मक व्यक्ति बनाउन सक्छ कि भनेर म उत्सुक थिएँ । त्यसैले मैले स्ट्यानफोर्डका मनोविज्ञानका प्राध्यापक तथा भावनाको अध्ययन गर्ने स्ट्यानफोर्ड साइकोफिजियोलोजी ल्याबोरेटरीका निर्देशक डाक्टर जेम्स ग्रोससँग कुरा गरेँ । ‘जब मानिसहरू व्यवस्थित ढाँचाका व्यवहारमा संलग्न हुन्छन्, चाहे त्यो साँच्चै राम्रो हुन गरिरहेको कोसिस होस् वा अन्य मानिसका लागि वास्तवमै खराब होस्, ती व्यवस्थित ढाँचा र व्यवहारले निश्चित रूपमा हाम्रो सोचलाई असर गर्छ,’ आत्म–नियन्त्रणलाई अभ्यासबाट मजबुत बनाउन सकिने पाखुरासँग तुलना गर्दै उनले मलाई भने । 

 

उनले ‘गसिप’ गर्न चाहनेलाई व्यवस्थापन गर्ने रणनीतिबारे विचार गर्न सुझाए । उनको पहिलो सिफारिस थियो, नियन्त्रणका परिस्थितिजन्य रूप । यसमा तपाईंलाई ‘गसिप’मा आकर्षित गर्न सक्ने परिस्थिति र मानिसबाट जोगिने कुरा पर्छ । नियन्त्रणका संज्ञानात्मक रूपमा ‘गसिप’बारे तपाईंले ध्यान दिने र सोच्ने तरिकामा परिवर्तनको कुरा पर्छ । र, तेस्रो हो इच्छाशक्ति । 

 

मैले ग्रोसको पहिलो उपाय अर्थात् नियन्त्रणको परिस्थितिजन्य स्वरूपका बारेमा सोचेँ । जब–जब मैले ‘गसिप’ छोड्ने कोसिस गरेँ, यसले मेरो मित्रतालाई असर गर्छ जस्तो लागेर चिन्तित हुन पुगेँ । धेरै मनोवैज्ञानिकका अनुसार ‘गसिप’ मानव सम्बन्ध निर्माणको आधारभूत तरिकामध्ये एक हो । उत्सवका वेला ‘भोज’को सत्र बन्द गर्ने व्यक्तिसँग मित्र हुन कसले चाहला र ?

 

‘अब्स्टेनर’हरूसँगको कुराकानीले मेरो यस डरलाई पूर्णतया शान्त पार्न सकेन । एउटी महिलाले मलाई उनले खुलेर ‘गसिप’ गरिन् भने मात्र उनीसँग धेरै साथी हुनेछन्, अथवा थोरै मानिससँग भए पनि गहिरो मित्रता गाँसिनेछ भन्नेमा आफू विश्वस्त रहेको बताइन् । अर्कीले चाहि ‘गसिप’मा संलग्न हुन अनिच्छाले पदोन्नतिमा असर पारेको हुन सक्ने ठानेकी रहिछन् । अधिकांश ‘अब्स्टेनर’ यसलाई चुकाउन मूल्य भएको टिप्पणी गरे । उनीहरूले आफूले ‘गसिप’ नगर्ने कारण आफूहरूका सम्बन्ध गहिरो, बलियो र विश्वसनीय भएको ठानेका थिए । 

 

मैले मित्रतालाई गुमाउन सकिने सम्पत्तिका रूपमा लिइरहेको थिएँ । तर, यो त्योभन्दा जटिल कुरा हो । मित्रता एउटा आपसी छनौट प्रक्रिया हो वा हुनुपर्छ । अर्थात् दुई व्यक्तिहरू एक–अर्काका लागि राम्रोसँग फिट हुने भएकैले मित्र हुन्छन् । यदि मैले ‘गसिप’ गर्न पूर्ण रूपमा बन्द गरेँ भने अथवा कसैले अर्काे व्यक्तिको कुरा निकाल्नासाथ विषय परिवर्तन गरेँ वा सो स्थान नै छोडेर गएँ भने मलाई लाग्छ, मेरा अधिकांश सम्बन्धले स्वाभाविक रूपमा आफूलाई समायोजित गर्नेछन् । अन्य व्यक्तिका बारेमा कुरा गरेर बित्ने समय पुस्तक, समाचार वा भावी योजनाबारे कुरा गरेर बित्न थाल्नेछ । सायद मेरा जीवनमा ‘गसिप’हरू नजिक आउन बन्द हुनेछन् । न त म नै ‘गसिप’को नजिक जानेछु, गएँ भने यिनले मलाई निरन्तर आफूतर्फ खिच्न खोज्छन् । 

 

ग्रोसले उल्लेख गरेको दोस्रो किसिमको रणनीति हामीले हाम्रो ध्यानको प्रयोग गर्ने तरिका र कुराबारे सोच्ने तरिकासँग सम्बन्धित छ । उनले मलाई मस्तिष्कले नकारात्मक कुराबाट आफ्नो ध्यान हटाउन सिक्न सक्छ र यसमा अभ्यस्त भएपछि स्वस्फूर्त रूपमा नतिजा दिन जारी राख्न सक्छ भनेर बताए । उनका अनुसार जो ‘गसिप’ गर्नबाट जोगिन चाहन्छ, त्यो व्यक्तिले यसले आफूलाई कसरी खराब देखाउन सक्छ भन्नेबारे सोचेर आफ्नो इच्छालाई अन्तै अभिमुख गर्न सक्छ । (मैले कुराकानी गरेका अधिकांश महिलाले गसिपबाट टाढा रहँदा नै अरूले आफूलाई बढी भरोसायोग्य ठान्न मद्दत गरेको उल्लेख गरे ।) लिचम्यानका अनुसार मानिसका कमजोरीभन्दा पनि असल गुण पत्ता लगाउनतर्फ लाग्नु भनेको धार्मिक अनुज्ञा परिपालन सरह हो । यो आत्म–नियन्त्रणको एक तरिका पनि हो । 

 

तर, आजको युगमा ‘गसिप’को एउटा ठुलो विडम्बना के भने, यसबाट टाढै रहनुलाई नैतिक तवरमा शंकास्पद कार्य पनि मानिन सक्छ । यदि गसिपले यौन दुराचारीको संख्या घटाउन मद्दत गर्न सक्छ भने गसिप नगर्नु एक किसिमले अनैतिक कार्य हुँदैन र ? सामाजिक विज्ञानले पनि ‘गसिप’ प्राकृतिक, उपयोगी वा असल हो भन्ने असंख्य प्रमाण प्रदान गर्छ । स्ट्यानफोर्ड र युनिभर्सिटी अफ मेरिल्यान्डले हालै गरेको एक अध्ययनले ‘गसिप’ र ‘अस्ट्रासाइजेसन(बहिष्करण)’ले समूहहरूलाई ‘हेपाइ’मा सुधार गर्न, शोषणलाई रोक्न र सहयोग र सहकार्यलाई प्रोत्साहित गर्न मद्दत गर्ने औजारका रूपमा पाएको छ । अर्काे शब्दमा भन्दा, गसिप चाहनेका लागि यसको औचित्यको कुनै कमी छैन ।

 

तर, व्यक्तिगत रूपमा मेरा लागि चाहिँ के त ? मलाई ‘अब्स्टेनर’हरूले वर्णन गरेजस्ता जीवन र सम्बन्धहरू सम्मोहक लागे । म तिनको आशावादिता, तिनको सद्भाव, अरूलाई उनीहरूका सर्वाेत्तम गुणबाट चिन्ने प्रतिबद्धताबाट चकित भएँ । यसको अर्थ मैले ‘गसिप’विरुद्ध कसमै खाएको छु भन्ने चाहिँ कदापि होइन । तर, मैले निश्चित रूपमा यसमा कटौती गरेको छु । अनि तपाईंलाई थाहा छ, म जति कम मानिसका कुरा गर्छु, त्यति नै कम मानिसका कुरा काट्न थाल्छु । जति कम गुनासो गर्छु, त्यति नै कम गुनासो गर्न खोज्नेछु । गुनासो गर्नुपर्ने कुराहरू पनि उति नै कम देख्न थाल्नेछु ।

 

हिजोआज म मेरी बहिनीलाई कुनै ‘बितेका कुरा’ नगर्न, आफूलाई निराश पार्नुको साटो आनन्दित पार्ने कुरामा जोड दिन आग्रह गर्ने गर्छु । म भर्खरै एउटा नयाँ यहुदी समुदायमा सरेको छु र मैले के थाहा पाएँ भने गसिपमा कटौती गरेर, मैले धेरै पटक राजनीतिबाट बच्न सक्षम भएको छु । । जब तपाईंले कुनै पक्ष लिनुहुन्न भने तपाईंलाई पक्ष लिन आग्रह गर्दै तपाईंका मानिस पनि कम भएर जान्छन् । 

 

मलाई एउटा मित्रको बारेमा याद आउँछ, जो सम्भवतः ‘बकबासमा चुप्पी’ साध्ने मेरो तरिकाबाट पीडित भएको छ । यो कुरा एउटा यस्तो मित्रको हो, जो आफ्नो साथीभाइ एवं परिवार र पार्टनरका बारेमा गसिप गर्ने आदतको सिकार छ । इमानदार भएरभन्दा मैले यस्तो मित्रबिनै रहन रोज्नेछु । तर, उसलाई मैले यसो भनेँ भनेर चाहिँ नबताइदिनू नि !

 

(लिबोइच न्युयोर्क टाइम्सको विचार पृष्ठकी स्टाफ इडिटर हुन् । यो आलेख ‘द न्युयोर्क टाइम्स’बाट नारायण शिवाकोटीले भावानुवाद गरेका हुन् ।)