• वि.सं २०८१ भदौ २२ शनिबार
  • Saturday, 07 September, 2024
पर्शुराम काफ्ले
२०८१ भदौ १५ शनिबार ०७:५१:००
सम्झना

मेरो चीन डायरी

२०८१ भदौ १५ शनिबार ०७:५१:००
पर्शुराम काफ्ले

 

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ दुई वर्ष कार्यकाल व्यतीत गरेर सरकारी निर्णयअनुसार शनिबार (आज) स्वदेश फर्किँदै छन् । चीनमा रहँदा राजदूतका रूपमा उनले के–के भूमिका निर्वाह गरे ? कम्युनिस्ट पृष्ठभूमिका श्रेष्ठले चीन आउनुअघि सोचेको–बुझेको चीन र चीन आएपछि देखेको चीनमा के–कति फरकपन पाए ? नेपाल–चीन सम्बन्धका विभिन्न आयामलाई उनले कसरी देखे र यसबिच के–के गरे ? स्वदेश फर्किनुअघि बेइजिङस्थित नेपाली राजदूतावासमा राजदूत श्रेष्ठले पर्शुराम काफ्लेलाई आफ्नो चीन डायरी बेलीविस्तार लगाएका छन् :

 

म राजदूत भएपछि जीवनमा पहिलोपटक चीन आएको हुँ । विद्यार्थीकालदेखि नै चीन सुन्दै पढ्दै आइयो । सांस्कृतिक क्रान्तिदेखि सन् १९८० को दशकयता चीनको खुलापन, चिनियाँ कम्युनिस्ट पार्टीभित्रका संघर्षहरू सुनिएको, पढिएको थियो । चीन सच्चा कम्युनिस्ट आन्दोलनबाट बदलिएर पुँजीवादी बाटोतिर हिँडेको हामीलाई लागेकै हो । यो एउटा बुझाइ थियो ।

 

अर्को, चीनबाट फर्केर गएकाहरूबाट सुनिएको थियो कि चीनले अद्भूत विकास गरेको छ । यद्यपि, चीनले आफूलाई विकासोन्मुख नै भनिरहेको छ । एउटा कम्युनिस्ट देशका रूपमा, तीव्र आर्थिक विकासमा चीन लम्किरहेकाले केही सिक्ने अवसर पाउँछ । नेपाल र चीनबिच सम्बन्धको सात दशकमा कुनै पनि विवाद नभएको अवस्था छ । यो देशमा गएर केही कुरा सिक्नेछु र देशको हितका लागि काम गर्छु भन्ने अभिप्राय मेरो दिमागमा आयो । म केही गर्छु, गर्न सक्छु भन्ने आँकडासहित चीन आएँ ।

 

म आउँदा कोभिड थियो । छेन्दुमा १५ दिन क्वारेन्टाइनमा बसेर म बेइजिङ आइपुगेँ । आउनुभन्दा अघि मैले जे बुझेको थिएँ, त्यो बुझाईको कतिपय प्रतिशत फेरियो चीन आएपछि । चीनले आफ्नो संस्कार, संस्कृति राम्रोसँग जोगाएको रहेछ । सांस्कृतिक क्रान्तिका पालामा धेरै कुरा भत्काइएको थियो । तर, विशाल चीनले आफ्नो संस्कृति सम्पदाको संरक्षण गरेको मैले पाएँ ।

 

विकासमा चमत्कार गरेछ चीनले । यो चरणमा मैले चीनको २२ प्रान्तको भ्रमण गरेँ । हरेक प्रान्तको भ्रमणमा नयाँ अनुभूति भयो । पहिलोपटक साम्दोङ प्रान्तको छिन्दाओ भ्रमण गरेँ । म आएको तीन साताजतिपछि परराष्ट्रमन्त्री डा. नारायण खड्काको औपचारिक चीन भ्रमण थियो । परराष्ट्र मन्त्रालयमा प्रोटोकल बुझाएलगत्तै छिन्दाओ जाने, बैठकमा बस्ने अवसर पाएँ । नारायण खड्का र वाङ यीबिचको बैठकमा दुई देशबिच भएका सबै समझदारीहरूको पुनरावलोकन भयो । नेपालले चीनसँग हाम्रो अपेक्षा के–के छ भन्ने कुरा स्पष्ट रूपमा राखियो, चीन पक्षले पनि सकारात्मक जवाफ दियो । चीनबाट अपेक्षा गरेका विषयहरू राम्रोसँग राखियो ।

 

छिन्दोओमा जर्मनले उद्योगधन्दा खोलेको रहेछ । छिन्दाओ बियर उनीहरूको देन रहेछ । त्यहाँको रहनसहन बेग्लै रहेछ । म अर्को ठाउँ गोभी मरुभूमिको नजिक जिङसिया प्रान्त गएँ । ह्वाङ हो नदीको किनारमा बालुवा नै बालुवा रहेको ठाउँ । पहिला सिल्क रोड रहेछ । ऊँटमा मंगोलियातिरको व्यापार गर्ने ठाउँ । त्यहाँ पुग्दा चकित भएँ । त्यस्तो ठाउँमा हरियाली । विकासको चमत्कार रहेछ । हावाले बालुवा उडाएर कति उचाइमा तल खसाउँछ भन्नेसम्मको अध्ययन गरेछन् । त्यहाँ धेरै रिसर्चपछि अंगुर लगाएछन् । अंगुरबाट वाइन बनाए त्यहाँ । मैले भनेको थिएँ, यो चमत्कार हो । यदि जनता एकीकृत भए र कडा मिहिनेत गरे, सही नीति र सुशासन भयो भने मरुभूमि ग्रिनरीमा र ग्रिनरी वाइनरीमा परिणत हुनेरहेछ भनेर मैले कमेन्ट गरेँ । साङघाई पनि पुगेँ ।

 

कार्यकालको समयमा मैले पाँचपटक तिब्बतको भ्रमण गरेँ । त्यहाँ धेरै राजदूतले जाने अवसर पाउँदैनन् । तर, हाम्रा लागि सीमा जोडिएको चिनियाँ राज्य तिब्बत हो । सुरुमा ५० जनाजति राजदूतहरूलाई चीनले लिएर गएको थियो । त्यो प्रतिनिधिमण्डलको नेता म थिएँ । त्यहाँको पार्टी सेक्रेटरी, प्रदेशका अध्यक्षसँग भेट भयो । धेरै ठाउँ देखाए । तिब्बत पठार त हो, के छ र भन्ने थियो । ल्हासामा सुनको खानी छ कि, हामीले सुनेको । दक्षिण–अफ्रिकामा सुनको खानी देखेर आएको थिएँ । तिब्बत पूरै हरियाली भएछ । यो अर्को अचम्म हो । त्यहाँ करोडौँ आरएमबि खर्च गरेका छन् । ब्रह्मपुत्र सुरु हुने ठाउँनिर ल्हासा खोलालाई रसियन प्रविधिले पानी माथि तानेर डाँडामा बिरुवा रोपेर सिँचाइ गरेको रहेछ चीनले । मेरो आँखाले अर्को चमत्कार देख्यो ।

 

प्रधानमन्त्री प्रचण्डको भ्रमणका वेला दोस्रोपटक तिब्बत गएँ । कैलाश मानसरोवरसम्म पुग्ने अवसर भयो । हाम्रो चीनसँगको महत्वपूर्ण गेटवे तिब्बत हो जसलाई चीनले सिजाङ भन्छन् । स्वर्गको सहर । ल्हासामा हाम्रो सत्रौँ शताब्दीदेखिको कूटनीतिक कार्यालय थियो । नेपालको मात्रै छ, अरू देशहरूको उपस्थिति त्यहाँ छैन । पहिलाको वकिल कार्यालय अहिले महावाणिज्य दूतावास छ । चीनले नै भवन बनाइदिएको छ । तिब्बतको परिवर्तन अद्भूत छ । 

 

रुस र जापानको नजिक हेलेन्जुला पनि पुगेँ । रुसले रेल बनाएको रहेछ । त्यो सबै चीन संरक्षित राखेको छ चीनले । हाइनन प्रान्तको अर्को विशेषता छ । हरेक प्रान्तहरूको आफ्नै विशेषता छ ।

 

मेरो निस्कर्ष छ, चीन बुझिसाध्यै छैन । मैले कति बुझैँ होला र चीनजस्तो लाग्यो । कतिपय मानिस भन्छन्, मैले चीन बुझेँ यो गरेँ । त्यो बुझाइको गहिराइ कति होला भनेर प्रश्न गर्न थालेको छु ।

 

मेरो पालामा सबैतिरबाट राम्रो सहयोग पाएँ । कम्युनिस्ट पार्टीको पृष्ठभूमिका कारण काम गर्नै सजिलो हुने भन्ने होइन । तर, केही सजिलो हुने पक्का हो । चिनियाँहरू अत्यन्तै बाठा छन् । जोसुकैसँग पनि चीनको सम्बन्ध राम्रो हुन्छ । म पनि कम्युनिस्ट पृष्ठभूमि भएकाले उनीहरूसँग कुरा गर्न सजिलो त हुन्छ । तर, उनीहरूले हामीलाई गर्ने व्यवहार र दिने कूटनीतिक पहुँच, सुविधामा फरक पर्दैन । उत्तरकोरिया, भियतनाम, लाओस, कम्बोडिया, पाकिस्तानलाई उनीहरूले एउटा नजरबाट हेर्छन् । पाकिस्तान त चीनको आइरन ब्रदर नै भन्छन् । उनीहरूले हामीलाई गर्ने ट्रिटमेन्टमा पक्षपात छैन । म कम्युनिस्ट भएकै कारण चीनमा फरक अनुभूति गर्रिनँ । कम्युनिस्टलाई काखा, अर्कालाई पाखा गर्दैन । पश्चिमा देशले हामीलाई दुःख दिन्छन्, दुई देशको सम्बन्ध प्रतिस्पर्धात्मक हो भन्छन्, तर अमेरिकी राजदूतलाई पनि उनीहरूले फरक व्यवहार नगर्दारहेछन् ।

 

म माओवादी पार्टीको स्थायी समिति सदस्य थिएँ, वरिष्ठ नेताका रूपमा पनि हेर्छन् । मलाई राजदूतकै रूपमा भन्दा अलिकति फरक त हेर्लान् । मैले देखेको हो, चीनले जनतालाई केन्द्रमा राखेर काम गर्दारहेछन् । लोकतन्त्रका बारेमा चीनले आफ्नो विशेषताको व्याख्या गरेका छन् । लोकतन्त्र भनेको भोट हाल्ने, धेरै पार्टी खोल्ने हो कि जनताको सेवा गर्ने ? लोकतन्त्र र मानव अधिकारको चिनियाँ परिभाषा आफ्नै छ । चिनियाँ कम्युनिस्ट पार्टी छ । सिपिपिसिसी छ यहाँ । यहाँ अरू पनि पार्टी छन् । नीति निर्माण तहमा तलबाटै निर्वाचित हुनुपर्छ यहाँ । सी जिनपिङ पनि निर्वाचित हुँदाहुँदै आउनुपर्छ तल्लो निकायबाट । जनताको तहमा सिपिपिसिसी छ, जुन माओको समयदेखि स्थापित भएको हो । चाइना पिपुल्स कंग्रेस र सिपिपिसिसीको सम्मेलन हुन्छ हरेक वर्षको मार्चमा । टु सेसन भन्छन् । जनताको तहबाट के गर्नुपर्छ भन्ने ल्याउँछौँ र सम्बोधन गर्छौँ भन्नेछ । 

 

बहुदलपछि नेपालमा परियोजनाहरू छनोट गर्ने विधि बसालिएको थियो । गाउँबाट तय भएका परियोजना इलाकामा जाने, त्यहाँबाट जिल्ला विकास समिति हुँदै राष्ट्रिय योजना आयोगमा पठाउने । सम्भावना हेरेर परियोजना तय गर्ने गरिन्थ्यो । यस्तै, प्रकारको प्रक्रिया रहेछ चीनमा पनि । जनताको अधिकार संरक्षित रहेछ चीनमा । कतिपय विवादहरू तलैबाट समाधान हुँदैहुँदै केन्द्रमा आइपुग्दा धेरै बाँकी रहँदैन । 

 

चीनमा लोकतन्त्र छ छैन भन्नेहरूले चीन बुझेको छैन । यहाँको लोकतन्त्र पश्चिमा खालको होइन । चीन समाजवादीको बाटोमा गएको देश हो । चीनमा सम्पत्तिमाथिको अधिकार छ, त भूस्वामित्व छैन । जमिन सरकारको छ ।

 

भारतसँग जनस्तरमा जस्तो अन्तरक्रिया हुन्छ चीनसँग त्यो स्तरको हुन सकेको छैन । यहाँको कतिपय प्रविधि हामीलाई थाहा छैन । भारतको सिक्ने अवसर हामीलाई छ, चीनको अकिल छैन । अर्को, भौगोलिक अवस्थाले पनि हामीले सोचेजस्तो गर्न सकिएका छैनौँ । सद्भाव, प्रेम, ममता र पारस्परिक सहयोग यसबिचमा क्रमिक रूपमा अघि बढेको छ । नयाँ उचाइमा हामीले लैजानुपर्नेछ । ०१९ मा सिले नेपाल भ्रमण गरेपछि दुई देशको सम्बन्ध रणनीतिक साझेदारीमा विकास भएको भन्नुभयो । ७० वर्षको उपलब्धि भनेको यही हो, सम्बन्ध रणनीतिक साझदारीमा विकसित भयो । नेपालले चीनबाट प्राप्त के गर्न सक्यो भन्ने छ । हामी दिन सक्ने होइन, लिने अवस्थामा छौँ । अहिले नेपालमा पहिलो प्रत्यक्ष वैदेशिक लगानी चीनबाट आएको छ । विकास साझेदारीका हिसाबले ७० वर्षमा हामीले राम्रो विकास गरेका छौँ । 

 

दुई देशबिच विश्वलाई हेर्ने, क्षेत्रलाई हेर्ने विषयमा पनि सम्बन्ध सुमधुर नै छ । आन्तरिक मामिलामा हस्तक्षेप गरेको देख्दैनौँ, पाउँदैनौँ । हामी असंलग्न मुलुक हौँ । कुनै सैन्य गठबन्धनमा हामी छैनौँ । शिक्षामा चीनले काम गरेको छ । सबै क्षेत्रमा सहयोगात्मक सम्बन्ध छ । 

 

कम्युनिस्ट पार्टीहरूलाई मिलाउन लागेको छैन चीन । यदि त्यस्तो थियो भने त एक हुन्थे होला नि । कम्युनिस्ट पाटीहरू धेरै हुँदै गएका छन् । धेरै कम्युनिस्ट पार्टी छ, एउटै बनाउनुस् । बरु केही सहयोग गर्नुपर्छ कि भन्छन् । यसमा सद्भाव राख्छन् । तर, यो सुझावको मात्रै हो, हस्तक्षेपमा होइन । सुझाव दिए, अलिकति दबाब दिएको भए एकता हुन्थ्यो होला नि । भर्खरै दुई कम्युनिस्ट पार्टी एक ठाउँमा थिए । पार्टीले सद्भाव राखेको हो । सरकारको दैनन्दिनमा हस्तक्षेप होइन । पार्टीको तहबाट नेपालमा कम्युनिस्ट मिलाउन खोजेका थिए विगतमा । तर, सम्भव भएन ।

 

पार्टी डोमिनेटेड सम्बन्ध होइन । तर, चीनले नेपालका सबै पार्टीहरूसँग सम्बन्ध राखेको छ । नेपाली कांग्रेसका साथीहरूसँग पनि उनीहरूको सम्बन्ध राम्रो छ । भ्रमण दलमा सबै दलका मानिसलाई चीन ल्याएका छन् । एमाले, माओवादी, कांग्रेस र अरू पार्टीका टोली आइरहेका छन् । मिलाएरै बोलाउँछन्, एउटालाई मात्रै बोलाउँदैनन् चिनियाँहरू । 

 

राजदूतलाई असाधारण अधिकार र सर्वाधिकार सम्पन्न भनिएको छ । देशको प्रतिनिधि हो, जनताको प्रतिनिधि हो । राजदूतलाई केही न केही अधिकार त हुनुपर्‍यो नि, त्यो दिँदैन । नेपालको स्मार्टनेस भएन भन्ने अनुभूति मलाई पनि भयो । 

 

हामी हरेक महिना रिपोर्ट पठाउँछौँ । त्यहाँको डिभिजनले प्राप्त भयो धन्यवादभन्दा अरू केही सुझाव आउँदैन । कहाँ के पुग्यो, पुगेन भन्ने केही सुझाव आउँदैन । घर्रामा राख्न रिपोर्ट पठाएको हो र हामीले ? तर, हामीलाई फिडब्याक कहिल्यै आउँदैन । हामीले २४ वटा पठाइसक्यौँ, अहिलेसम्म फिडब्याक आएन । तपाईंको रिपोर्ट प्राप्त भयो भन्ने आएछ, रिपोर्ट प्राप्त भएपछि के भयो भन्ने कहिल्यै आएन । यो मलाई अनुभूति भएको कुरा गर्दै छु । चीन, भारत, अमेरिकाका राजदूतावासले काठमाडौंमा कसरी काम गर्छन् ? हाम्रो नेतृत्वले पनि यी राष्ट्रका काठमाडौंस्थित राजदूतावाससँग समन्वय गर्ने, उनीहरूले पनि आफ्नै राजदूतावाससँग समन्वय गर्ने गरेपछि हाम्रो के काम रह्यो ? परराष्ट्र मन्त्रालयले सबै डिल उनीहरूको दूतावाससँग गर्छन् अनि काम भएन भन्छन् हामीलाई । भ्रमणको रेकर्ड छैन, बैठकमा हामीलाई राख्दैन । हाम्रा राजदूतहरूलाई खोइ अधिकार ? राजदूत कर्मचारी होइन, काम गरेपछि तलब खानुपर्छ, तर काम गर्न दिएको खोइ ? चीन, भारतजस्ता देशमा जाने राजदूतलाई हैसियतपूर्ण बनाउनुपर्दैन ? राजदूतले हेडक्वार्टरसँग समन्वय गर्नुपर्छ, तर हामीले केही पनि गर्न पाउँदैनौँ । हातखुट्टा बाँधिएको त होइन, तर वातावरण दिँदैन ।

 

अत्यन्तै गोप्य भनेर सीमासम्बन्धी बैठकमा राजदूतावासका प्रतिनिधि कसैलाई समेटिएन । एकजना सहसचिव वा उपसचिव आएर अत्यन्तै गोप्य बैठक गर्ने । पत्रपत्रिकामा आउने, तर राजदूतावासका प्रतिनिधि कोही बस्नु नपर्ने । यस्तो काम हामीकहाँ मात्रै हुन्छ । यस्तो वातावरण भएपछि राजदूतावासले परिणाम दिन सक्दैन । राजदूतले काम गर्न सक्दैन । परराष्ट्रले तत्तत् देशलाई भनिदिनुपर्छ, तपाईंहरूले राजदूतावासमार्फत संवाद अघि बढाउनु । धेरै कुरा ट्रयाकमा आउँछ । 

 

विदाइ भेट गरेँ । दुई वर्षमा मैले के गरेँ भन्ने समीक्षा हुन्छ । जाने वेलामा नराम्रो कसले भन्छ र ? नराम्रो भन्ने गरी के पो गरिएको छ र ? चिनियाँ विदेशमन्त्री वाङ यीले पनि मलाई बुधबार चिठी पठाउनुभएको छ । भाइसमिनिस्टर, एसियन डिपार्टमेन्टका महानिर्देशकसँग भेटेँ । 

 

बिआरआईमा सही गरिसक्नुभएको छ । कार्यान्वयन योजनामा सही गरौँ भन्ने चिनियाँ जोड छ । मैले भन्ने गरेको छु कि तपाईंहरूले केही उदारता अपनाउनुपर्छ । हामीकहाँ सर्वसम्मति ल्याउनुपर्नेछ । केही पार्टी अनुदान भएमा मात्रै बिआरआई कार्यान्वयन योजनामा सही गरौँ भनेका छन् । अमेरिकाले एमसिसी परियोजना अनुदानमा दिएको छ । बिआरआई भनेको पारस्परिक सहकार्य, साझा भविष्य भनेको छ । नेपालको आर्थिक अवस्थाले गर्दा नेपाल ऋणको जालोमा पर्छ भन्ने शक्ति छन् । चीनले लचकता अपनाउनुपर्छ । केही मुख्य परियोजना बिआरआईअन्तर्गत अनुदानमा बनाइदिनुस् भन्ने मेरो प्रस्ताव छ ।

 

बिआरआई परियोजना गर्ने । अनुदान, सहुलियत ऋण सबै कुरा हालौँ भन्ने छ । परियोजना छान्ने वेलामा लगानी ढाँचा तय गरौँ भन्न सकिन्छ । ऋण हामीले अन्तबाट पनि लिएका छौँ भने चीनसँग किन नगर्ने ? १५० देशसँग बिआरआई कार्यान्वयन योजनामा हस्ताक्षर गरेका छन् । नेपालले किन नगर्ने भनेका छन् । हामीकहाँ प्राविधिक समस्या छ, भनेको छु । विकासका लागि, नेपालको भविष्यका लागि बिआरआईमा सहकार्य गर्नुपर्छ । बिआरआई कार्यान्वयन योजनामा यो यो क्षेत्रमा सहकार्य गर्छौँ भन्ने योजना हो । त्यसमा लगानी ढाँचाको कुरा कहाँ हुन्छ ? जस्तो, हामीले नेपाल चीन रेलवे भनेका छौँ । मानौँ यसको सात अर्ब लाग्छ । आधा–आधा गर्ने हो कि, ६ अर्ब चीनले दिने हो कि पछि तय लाग्छ नि । 

 

पोखरा विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्न नेपालले भनेको छ । सिकाको उपाध्यक्ष मसँग बैठक गरेपछि नेपाल गए । नेपालले चिठी पठाएको छ । मलाई विश्वास छ, उनीहरूले सकारात्मक रूपमा लिनेछन् । 

 

चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण गराउन नेपाल इच्छुक छ । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको चीन भ्रमणका वेलामा कुराकानी भएको हो । तपाईंलाई कुन ठाउँ जान मन पर्छ भन्नेसम्मको कुरा भएको हो । वाङ यीले पोखरा जाने इच्छा जनाउनुभएको छ । तर, भ्रमणको मितिलगायतका विषयमा छलफल भएको छैन । हामीले त चिनियाँ राष्ट्रपतिको पनि भ्रमण गर्नुपर्छ भनिरहेका छौँ । 

 

फर्किँदै गर्दा मलाई लागेको के हो भने जति बुझेको थिएँ, जानेको थिएँ, चीन थप बुझेँ र सकेजति देशका लागि काम गरेँ । म आएपछि १४ वटा परम्परागत नाकाहरू खुलेका छन् । काठमाडौं–ल्हासा बस सेवाको कुरा भएको छ । मलाई विश्वास छ त्यो सञ्चालनमा आउनेछ । चिनियाँहरूले बाटो बनाइरहेका छन् । हामी पनि बाटो स्तरोन्नति गर्दै छौँ । रोकिएको काठमाडौं–ल्हासा उडान सुचारु भएको छ । काठमाडौंबाट कैलाश मानसरोवर प्रत्यक्ष उडान भरौँ भन्ने प्रस्ताव राखेको छु । किनभने त्यहाँ चीनले आली एयरपोर्ट सञ्चालन गरेका छन् । नेपालबाट नेपाल एयरलाइन्सले सांघाईमा उडान भर्ने कुराकानी भइरहेको छ । काठमाडौं–बेइजिङ प्रत्यक्ष उडान पनि सुरु भएको छ । अहिले बन्द छ, तर हिमालय एयरलाइन्सले चाँडै नै खोल्नेछ । जेहोस्, सकारात्मक परिवर्तन र उपलब्धिसहित म फर्किंदै छु । खुसी छु ।