• वि.सं २०८१ भदौ २२ शनिबार
  • Saturday, 07 September, 2024
विवेक पोख्रेल
२०८१ भदौ १५ शनिबार ०८:२१:००
रिपाेर्ट

काजीमान भन्थे–सरखार हाम्रो होइन रैछ

२०८१ भदौ १५ शनिबार ०८:२१:००
विवेक पोख्रेल

 

भदौ ३ गते साँझ साह्रै नरमाइलो खबर सुन्नुपर्‍यो । जिल्ला प्रहरी कार्यालय चितवनबाट प्राप्त जानकारीअनुसार कुसुमखोलाको आफ्नो घर फर्कने क्रममा रिउ नदीको बाढीले बगाउँदा ५८ वर्षका काजीमान चेपाङको मृत्यु भयो । माडी नगरपालिका– ९, कुसुमखोलानिवासी काजीमान कुसुमखोला प्रतिरोध संघर्षका पर्यायका रूपमा परिचित थिए । चितवन निकुञ्ज प्रशासनले बारम्बार बस्ती हटाउन बल प्रयोग गर्दासमेत उनले आफ्नो थातथलो छाडेका थिएनन् । राज्यसंग संघर्ष गर्दा कहिल्यै नढलेका काजीमानलाई कहिले नउठ्ने गरी रिउखोलाको भेलले ढलाएको छ ।

 

व्यस्थापनसहित अन्य गाउँलाई कुसुम खोलाबाट अन्तै सार्दासमेत उनले आफ्नो पुरानो थातथलो कहिल्यै छोडेनन् । उनी बारीमा तोरी लगाउने तयारीमा थिए । त्यसका लागि हँसियामा धार लगाउँन गाउँ छाडेर आरन आएका थिए । फर्कने क्रममा उनलाई खोलाले बगायो ।

 

संघर्षको क्रममा होस् वा भेटको क्रममा निकै नम्र स्वभावका काजीमानसँगका धेरै सम्झना अहिले पनि ताजा छ । ०७७ को मध्य बर्खामा निकुञ्ज प्रशासनले हात्ती र आगो लगाएर उठीवास गराएका कुसुमखोलाका चेपाङबारे नयाँ पत्रिकामा समाचार आएपछि अस्ट्रेलियानिवासी सुपक अधिकारीको नेतृत्वमा सहयोग प्राप्त भएको थियो । सो सहयोगबाट हामीले काजीमानसहितका परिवारलाई बाख्रा हस्तान्तरण गरेका थियौँ । बाख्राले पाठापाठी पाएपछि उनले हामीसँग खुसी साटेका थिए । काजीमानहरूका सपना सामान्य थिए । उनीहरू वषौँदेखि त्रिपालमुनि रात कटाउँदै आएका थिए ।

 

दुई वर्षअघि चेपाङ समुदायको न्वागी पर्व मनाउने क्रममा उनी भरतपुर आइपुगेका थिए । त्यसवेला उनीसँग भेट भएको थियो । नयाँ पत्रिकाको समाचारबाट उनीहरूको पीडा थाहा पाएर केही सहयोगीले उनीहरूलाई पुनः केही थान कम्बल हस्तान्तरण गरेका थिए । काजीमान साथीहरूसहित आएका थिए । आयोजकले खाजाको रूपमा केरा र स्याउ राखेको थियो । काजीमानले केरा छाडेर स्याउ खाएका थिए । मेरो भागको पनि स्याउ उनलाई दिएँ । उनी भन्दै थिए, ‘केरा त हाम्रोतिर पनि पाइन्छ । यो नयाँ फल रहेछ मीठो लाग्यो ।’ उनी सफा मनका थिए । मनमा भएका कुरा राखिहाल्थे । कुसुम खोला पुग्दा बारीमा फलेका फलफुल तथा खानेकुरा मलाई दिन्थे । अत्यन्तै मिलनसार काजीमान प्रत्येक भेटमा भनिरहन्थे, ‘सरकारले कता–कता घर बनाइदिन्छु भन्छ । तर, दिँदैन । हाम्रो सबथोक कुसुम खोलामै छ । कुसुमखोला छोड्न मनै लाग्दैन ।’

 

काजीमान खाली खुट्टै हिँड्थे । जंगल, खोला, बजार जहाँ जाँदा पनि उनको खुट्टामा चप्पल हुँदैनथ्यो । प्रायः पुरानो ढाका टोपी, सर्ट र पाइन्टमा देखिने काजीमान २०५३ सालदेखि कुसुमखोला बस्दै आएका थिए । पछिल्लोपटक उनले फोनमा भनेका थिए, ‘तपाईंहरूले लेख्दियो भने हुन्छ रे । तपाईंहरूको पहुँच ठुला नेतासँग छ । हाम्रो गाउँसम्म आउने बाटो र एउटा एम्बुलेन्स व्यवस्था गर्दिनु न ।’ उनको त्यति गरुँगो प्रस्तावले म अवाक हुन्थेँ । पत्रकारको काम समाचार लेखेर सम्बन्धित निकायसम्म खबर पुर्‍याउनु हो, तपाईंहरूको पीडा सकेसम्म लेख्ने कोसिस गर्छु भनेर उनलाई भन्थेँ ।

 

सरकार गरिब र विपन्न चेपाङको घरमा आगो लगाएर उनीहरूलाई हटाउन चाहन्थ्यो । तर, उनीहरू त्यही सरकारसँग अपेक्षा राखिरहेका थिए । जुन सरकारले वासै उठाएर लखेटेको–लखेटै गर्छ, त्यही सरकारसँग उनीहरू बाटो, एम्बुलेन्स उपलब्ध गराउदेऊ भनिरहेका थिए । उनीहरूको कुरा कसैले कहिले सुनेन । अहिले झनै नसुन्ने अवस्था पुगेको ठान्छन् चेपाङहरू । किन भने वर्तमान प्रधानमन्त्री केपी ओलीकै पालामा उता चेपाङको घरमा आर्मीले आगो लगाएको थियो भने यता लाखौँको खर्चमा राममन्दिर निर्माण गरिएको थियो । मठमन्दिर बनाउन लाखौँ खर्च गर्ने राज्यले उनीहरूको माग कहिले पूरा गरेन । अन्ततः यसरी आवाज उठाउने एउटा प्रतिरोधी स्वर सदाका लागि रोकियो ।

 

काजीमानलाई खोलाले होइन, हाम्रो संरचनाले मार्‍यो, राज्यले मार्‍यो । राज्यले बन्दुक र बर्दीको आडमा उनीलाई जीवनभर तर्साउने कोसिस गरिरह्यो । तर, उनी डराएनन् । आफूले सकेको संघर्ष गरिरहे । यदि राज्यले नागरिकको सुरक्षा गरेको भए, गाँस र वासको व्यवस्था गरेको भए उनी अकालमा मर्नुपर्ने थिएन । गणतन्त्र नेपालले उनको मृत्युलाई विपत्मा परी ज्यान गुमाएको भन्छ ।

 

काजीमान राज्यले भनेजस्तो अटेरी थिएनन् । उनी राज्यले भनेको मान्न तयार पनि थिए । ‘म यो ठाउँ (कुसुमखोला) छोड्न चाहन्छु । तर, हामीले जानेको यही खेतीपाती र पशुपालन हो । हामीलाई राज्यले यो व्यवस्था गरिदियो भने हामी जहाँ गएर बस्न पनि सक्छौँ । तर, हामीलाई नदीको किनारमा लगेर अलपत्र छोडिदिन्छ । अनि हामी किन सरकारले भनेको मान्ने ?,’ उनी भन्थे,‘फेरि आर्को ठाउँमा पुगेर सुकुमवासी बन्दिनँ, बाचुन्जेल यहीँ नै संघर्ष गरेर मर्छु ।’ 

 

गाउँले सबैले कुसुमखोला छाडेपछि काजीमान एक्लै थिए । बाघ, भालु, हात्तीसँग डर लाग्दैन भनेर सोध्दा उनी भन्थे, ‘मलाई जंगलको बाघ, भालुसँग कहिल्यै डर लागेन । तर, राज्यसँग औधि डर लाग्छ । हात्तीमा आएका निकुञ्जका मान्छेहरूले हाम्रो घर जलायो । घर जलाउँदा नागरिकता जल्यो, पैसा जल्यो । त्यसपछि डर लाग्न थाल्यो ।’ काजीमान गम्भीर हुँदै सुनाउँथे, ‘हामी यहीँ बस्छौँ । हामीलाई नलखेट्नु । बरु बिजुली, खानेपानी, अस्पताल बनाइदिनू । तर, सरकार हाम्रो होइनरहेछ । कहिलेकाहीँ कस्तो ठाउँमा जन्म भयो भनेर पछुतो पनि लाग्छ ।’

 

कस्तो ठाउँ हो कुसुमखोला ? 
चितवनको माडी नगरपालिका– ९ मा पर्छ कुसुमखोला । यो क्षेत्र चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्छ । वसन्तपुर बजारदेखि झन्डै १८ किलोमिटर मोटरबाटो हुँदै ४५ मिनेटको पैदल दूरीमा पर्छ यो ठाउँ । चितवनको लोथरसहित धादिङ र मकवानपुरबाट बसाइँ सर्दै कुसुमखोला क्षेत्रमा तीन दशकदेखि चेपाङ परिवार बस्दै आएका थिए । सुरुमा एक सय ६० चेपाङ परिवार बस्थे  । ०७४ मा डुबानमा परेपछि अधिकांश परिवार माडीकै विभिन्न ठाउँमा बसाइँ सरे । १० घरपरिवार भने कुसुमखोला क्षेत्रमै बसिरहेका थिए । सरकारले कोभिड त्रासका बिच ०७७ को मध्यबर्खा (३ साउन)मा हात्ती लगाएर चेपाङका घरटहरा भत्काइदिएको थियो । पुनः बस्न सक्ने भन्दै आगो नै लगाइदिएपछि काजीमानबाहेकका सबैले त्यो ठाउँ छाडेका थिए ।

 

तर, बिहान–बेलुकाको छाक टार्नै समस्या भएपछि पुनः बाली लगाउन अन्य चेपाङ पनि कुसुमखोला जाने गरेका छन् । पक्की घरमा वासको व्यवस्था गरिदिने आश्वासनले कुसुमखोलाका चेपाङ माडीकै कृष्णनगर, परवी खोलाकिनार, खरकट्टा, प्याउलीलगायत ठाउँमा बसाइँ सरेका थिए । तर, पेट भर्ने माध्यम नभेटेपछि बाली लगाउन पुनः कुसुमखोलाकै जमिनमा आउनेको संख्या बढ्दै छ । विगतमा सीमाको सुरक्षा हुने भन्दै राज्यले नै चेपाङहरूलाई यहाँ राखेको बताइन्छ । काजीमानको मृत्यु भएपछि उनकी श्रीमती नानीमाया चेपाङ सातवर्षे छोरीसहित कुुसुमखोलामा बसिरहेकी छिन् ।