द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको आलोकमा सीताराम तामाङद्वारा लेखिएको नेपालको सामाजिक इतिहास ‘नेपाल: समाज विकासको ऐतिहासिक भौतिकवादी निरुपण’ सम्भवत: नेपालकै पहिलो र एक मात्र यथार्थपरक विस्तृत पक्ष र खण्ड संक्षेपमा समेटिएको कृति हो । आंशिक र खण्ड–खण्डको रूपमा त कतिपय लेख, राजनीतिक नेता तथा इतिहासका अध्येताबाट प्रकाशित गरिँदै आएका हुन् । प्राक्–ऐतिहासिक कालदेखि हालसम्मका सामाजिक एवं ऐतिहासिक विकासमा मोड र प्रवृत्तिहरूको सांगोपांगो पक्ष केलाउने, संक्षिप्त र सरल भाषामा विश्लेषण भएको पुस्तकको महत्व बीस वर्षको अवधिमा चौथो संस्करणको रूपमा प्रकाशित हुनाले पनि देखाउँछ ।
द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद भनेको तथ्यको आधारमा सत्यको खोज हो । मार्क्सवादी–लेनिनवादी विचार पद्धतिको र नेपाली समाजको इतिहासको गहन अध्ययन र विश्लेषणको लामो अभ्यासबाट प्राप्त बौद्धिक विमर्शबाट मात्र यस्तो अनुसन्धानात्मक लेखनी सम्भव हुने हो ।
मार्क्सवादी–लेनिनवादी तथा अन्य समाजशास्त्रीले मानव समाजको उत्पत्ति र विकासका चरणको संश्लेषण–जीविकोपार्जनका लागि प्रयोग भएको औजार, श्रम, उत्पादन सम्बन्ध (स्वामित्व) र विनिमय प्रणालीका आधारमा गरिने वर्गीकरण विधिलाई आधार मानेर इतिहासका चरणको निरूपण गर्छन् । राजा–महाराजा, भुरेटाकुरे शासक वा सीमित स्थानीय ठालू वा सरदारको वंशावली र तिनका कार्यको बखानमा यथार्थ समाजको र राजनीतिको ऐतिहासिक विकास एकपक्षीय मात्र हुन्छ । इतिहासले समग्रमा मानव समाजको आर्थिक सामाजिक, सांस्कृतिक एवं राजनीतिक विकासको गतिशीलतालाई विहंगम दृष्टिले विश्लेषण गरिएको हुनुपर्छ ।
बहुसांस्कृतिक, बहुभाषिक तथा आर्थिक क्रियाकलापको विविधतायुक्त नेपाली समाजको सभ्यताका चरणको इतिहास नै वास्तविक इतिहास हो । शासनसत्ताका उत्थान, पतन, तिनका प्रशस्ती र कार्यको विवरणमा मात्र अधिकांश नेपाली इतिहास लेखन सीमित देखिन्छ । समाजको सामग्रिक विकासका विविध पक्षको सन्दर्भ एवं गतिशीलताको यथार्थ विश्लेषणको कमी रहेको विद्यमान अवस्थामा लेखकले इतिहासको ठिक विश्लेषण गर्ने प्रयास गर्नुभएको छ । इतिहासलाई समय परिवेशको गोरेटोमा हिँडाउनु भएको छ ।
लेखकले निम्न पक्ष र सन्दर्भमा आफ्नो मौलिक प्रस्तुति र प्रयासबाट तथ्यहरूको उजागर र विश्लेषण गर्नुभएको छ । इतिहासका अनुमानित, मनोगत वा मनगढन्ते प्रस्थापना सच्याउने कार्य, ऐतिहासिक चरणको विकासका उल्लेखनीय मोडको यथार्थ विश्लेषण, शरणार्थी आगन्तुकले यस क्षेत्रका आदिवासी जनजातिमाथि प्रभाव विस्तार र नियन्त्रण गर्दै राज्यसत्ता र सामाजिक प्रचलनमाथि गरेको बेदखल, वर्गसंघर्ष र राजनीतिक सत्ताका उल्लेखनीय मोड र गतिविधिको विश्लेषण, आधुनिक सचेतनायुक्त सामाजिक तथा राजनीतिक संघर्षको विकासको विश्लेषण, जनस्तरमा भएका आन्दोलन र विद्रोहको प्रस्तुति, निरंकुश राजतन्त्रात्मक युगको सुरुवात, उत्थान, पतन र अवसानको विश्लेषण, प्रजातान्त्रिक आन्दोलनको विकासका परिघटना–विकासको क्रममा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, समाजवादको स्वाधीन तथा समृद्ध भविष्य दृष्टिको प्रस्तुति र साम्राज्यवाद, विस्तारवाद एवं नवउदारवादी नवऔपनिवेशिक हत्कण्डाको विवरण एवं विश्लेषण ।
मानवसमाजको विकासक्रममा चेतनाको अभिवृद्धिसँगै निर्वाहका लागि सिकार तथा कन्दमूलको संकलन, ढुंगे हतियारको प्रयोगका अवस्थामा नेपालमा पनि मातृसत्तात्मक समाज रहेका थुप्रै संकेत आजपर्यन्त प्रशस्तै छन् । आजसम्म पनि नेपालको हिमाली प्रदेशमा मातृसत्ताको बचेखुचेको अवशेष बहुपति प्रथा कायमै छ । कृषिकर्ममा संक्रमणको क्रममा क्रमशः पितृसत्तामा समाज रूपान्तरण हुँदै गयो । निजी सम्पत्ति र पितृप्रधान समाजको विकासक्रममा दास–मालिक तथा सामन्ती सत्ताको भ्रूण विकास भयो । नेपालमा दास–मालिक सत्ताको अवस्था अन्यत्रजस्तो प्रबल रूपमा समाजमा व्याप्त नरहे पनि न्यून रूपमा आजपर्यन्त त्यसका अवशेष छँदै छन् । भुरेटाकुरे, थुम तथा गाउँका ठालू माथपरीहरूको सामाजिक सत्ता ईस्वी संवतको सुरुवातको शताब्दीपछि नेपालमा विकास भइआएको हो भन्ने तथ्य लेखकले ठम्याउनुभएको छ।
सीताराम तामाङजीको विहंगम अध्ययन, अनुसन्धान र दृष्टि प्रक्षेपणबाट तयार भएको यो पुस्तक म्याक्रोस्तरका घटना एवं प्रवृत्तिलाई समेटेर तयार पारिएको अनुसन्धानात्मक कृति हो । ऐतिहासिक भौतिकवादी दृष्टिले समाज विकासको यथार्थ रूपरेखा पहिल्याएर सामाजिक राजनीतिक इतिहासका मूल घटनाक्रम र प्रवृत्तिलाई वस्तुगत तथ्यका आधारमा तयार पारिएको यो संक्षिप्त ‘महाभारत’ हो । नेपालका सबै जाति, जनजातिका सामाजिक आर्थिक राजनीतिक विकास, उत्थान, दमन एवं नवजागरणका अभियान, आन्दोलन र चेतना अभिवृद्धिको यथार्थपरक एकीकृत इतिहास अझै लेखिनु आवश्यक छ । जागरण बुक हाउसबाट प्रकाशित यो पुस्तकमा सीतारामजीले एकसरो सिरदेखि पुछारसम्म इतिहासलाई जोत्ने प्रयास गर्नुभएकोमा बधाइका पात्र हुनुहुन्छ । इतिहासको बारीमा बाँझो फोर्ने काम सीतारामजीबाट भएको छ, बीचबीचमा राँटा छन् । सतहमा उधिन्नु, बाँकी रहेका राँटा तथा रहस्य अरू अध्येताले उधिन्ने नै छन् भन्ने आशा गरौँ । अस्तु !