• वि.सं २०८१ भदौ २२ शनिबार
  • Saturday, 07 September, 2024
टोपलाल अर्याल
२०८१ भदौ १५ शनिबार ०९:२४:००
समाज

विपन्नतामाथि विपतकाे सकस

२०८१ भदौ १५ शनिबार ०९:२४:००
टोपलाल अर्याल

गुल्मीका चार पालिकामा ०६४ देखि ०८१ सम्म पहिरोबाट दलित समुदायका २७ जनाले ज्यान गुमाएका छन्, ७५ घरपरिवार विस्थापित छन् । दर्जनौँ परिवार साँझ वास बस्न घर छाडेर अन्तै जान्छन् ।

 

घरमाथिबाट झरेको पहिरोले गुल्मी मालिका गाउँपालिका–६ अर्जेका भेषबहादुर विकका पाँचजनाले १५ असारमा एकै ठाउँमा ज्यान गुमाए । उनीसहित पाँच परिवार कडेलपाटामा बस्थे । बस्ती भिरालो जग्गामा थियो । जसका कारण भेषबहादुरको घर पहिरोले तान्न थाल्यो । जोखिम बढेपछि करिब १५ वर्ष पहिले भेषबहादुर वडाको समन्वयमा केही सजिलो सार्वजनिक जग्गामा घर बनाएर बसे । तर, सजिलो भनेकै ठाउँमा पहिरोले ज्यान गुमाउनुपर्‍यो ।

 

भेषबहादुरका छोराहरू विमल, कृष्ण र सुवास भारत भएकाले जोगिए । तर, विमलले बुबा र आमा, श्रीमती र दुई छोरीसहित आफ्नो सुन्दर परिवार पहिरोमा गुमाए । अहिले सानीआमा पार्वती सुनारकोमा तीन भाइ बस्दै आएका छन् । विमलले भने,‘उपयुक्त ठाउँ खोजेर घर बनाउँछौँ ।’

 

विमलले परिवार गुमाउँदाको पीडा व्यक्त गर्न सकिरहेका छैनन् । किनकि उनी नै अब घरको मुख्य व्यक्ति हुन् । ‘म रुँदा भाइ र बहिनीहरू धेरै रोए । त्यसैले बाध्यताले आसु लुकाएर उभिएको छु,’ उनले भने, ‘दैवसँग हारेकाले अब केही जित्नु छ जस्तो लाग्दैन ।’ राज्यले मृतकको नाममा क्षतिपूर्तिस्वरूप ११ लाख दिएको थियो । तर, त्यतिले उनीहरूको जिन्दगी चलेन । दुई भाइसहित भारतमा रोजगारी गर्ने भएकाले केही दिनमा फर्किने विमलले सुनाए ।

 

मुसिकोट नगरपालिका–१ थाम बिसौनाका पहिरोबाट विस्थापित परिवार ।

 

मुसिकोट नगरपालिका– १ थाम बिसौनामा पनि आठ घर दलित परिवार बस्छन् । बिसौना पनि अप्ठ्यारो ठाउँ हो । त्यहाँको जमिन बर्सेनि बगिरहन्छ । जुन ठाउँमा ०६४ र ०८१ सालमा एकै परिवारका १० जनाले ज्यान गुमाए । पहिरोले घर च्यापेपछि ०६४ भदौ ६ गते चोकबहादुर विकका आमा रुन्नति विक, श्रीमती अमृता विक, छोरा कृष्ण र सुरजले ज्यान गुमाए । पहिरोको त्रासले ओत खोज्न आएका छिमेकी डल्ली विक र मुना विकले समेत पहिरोमा परेर ज्यान गुमाए । 

 

चोकबहादुर भारत भएकाले बाँचे । तर, आमा, श्रीमती र छोराहरूसहित परिवार गुमाए । विपत्पछि घर आएका उनी पनि भारत फर्किएनन् । गत २२ साउनमा सोही ठाउँमा फेरि पहिरो गएपछि चारजनाले ज्यान गुमाए । ०६४ को पहिरोमा बाँचेकाहरूले पनि ज्यान गुमाए । गोरु फुकाउँदै गरेका गोरे विक पनि बंगालोसहित बगे । 

 

काम गर्न मुसिकोट मैदान पुगेका चोपबहादुरले घटनामा दाइ हुकुमबहादुर विक, भतिज गोरे विक, दिदी मसुरी विक र भतिजी रियान्स विकलाई गुमाए । ‘०६४ सालमा ६ जना मरेपछि पनि बस्ती छोड्न सकिएन । अहिले पुनः दैव लाग्यो,’ उनले भने, ‘अब गुमाउन केही बाँकी छैन ।’

 

आठजनाको ज्यान लिएको सत्यवती गाउँपालिका–४ लिम्घा भिरकुनाको दलित बस्तीमा गएको पहिरो ।

 

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार ६ साउन ०७६ मा सत्यवती गाउँपालिका– ४ लिम्घाको भिरकुना र वडा नम्बर ३ को लुम्पेकमा दलित परिवारका मात्रै पाँचजना बालबालिकासहित १० जनाको ज्यान गयो । घरमाथिको डाँडोबाट खसेको पहिरोले निद्रामा रहेका भिरकुनाका कोही पनि ब्युँझिन पाएनन् । पहिरोले एकै घरका ६५ वर्षीया छलीदेवी विक र नातिनी सिवानी विक, आमाछोरा पम्फा र हेमन्त विक, आमा र छोराछोरी निर्मला, सुमन र तारा विक तथा अञ्जली विकको ज्यान गयो । लुम्पेकका आमाछोरा माया र बबि विकले पहिरोमा परी ज्यान गुमाए । 

 

श्रीमती र दुई छोराछोरी गुमाएका सत्यवती गाउँपालिका–४ लिम्घाका धनबहादुर विक भारतमा मजदुरी गर्थे । पहिरोले उनको संसारै उजाडिदिएपछि घर आए । करिब डेढ वर्ष विक छिमेक र आफन्तकोमा बसे । अहिले डेढ वर्षपछि सरकारले बनाइदिएको सानो घरमा जीवन बिताइरहेका छन् । 

 

त्यो वेला भिरकुनामै बसे पनि रूपा सुनारका आमाछोरा पहिरोमा बाँचे । उनी भर्खर छुट्टिएर गोठमा बस्थिन् । तर, नजिकैको घरमा सुतेका सासु छलीदेवी विक र छोरी शिवानी विकलाई पहिरोले बगायो । श्रीमान् भीमबहादुर भारतमा काम गर्छन् । घटनापछि पीडाले गाउँ बस्न नसकेपछि विक परिवार भारत गए । काम र छोराको पढाइ निरन्तर नभएपछि अहिले गाउँमै आएको रूपाले सुनाइन् ।

 

भिरकुना लिम्घाको सबैभन्दा ठूलो दलित बस्ती हो । वर्षौँदेखि दलित समुदाय भिरकुनामा बस्दै आएका छन् । सत्यवती गाउँपालिका– ४ लिम्घाका पूर्ववडाध्यक्ष तथा अगुवा दानबहादुर रानाका अनुसार भिरकुनामा करिब ८० घर दलित समुदाय छन् । लिम्घामा थुप्रै समथर र उब्जाउ हुने ठाउँ पनि नभएको होइन । तर, जमानामा टाठाबाठाले राम्रो जग्गा कब्जा गरे । विपन्न दलित परिवार भिरकुनाको जंगलछेउ बस्न थालेको रानाले बताए । उनीहरू सबैले स्वदेश र परदेशमा मजदुरी गरेर जीविका चलाउँदै आएका छन् । अधिकांशले अरूको खेतबारीमा मेलापात र खनजोत गर्छन् । युवाहरू भारतलगायत तेस्रो मुलुकमा पनि रहेको अगुवा रानाले बताए ।

 

उनीहरूको शिक्षाको अवस्था पनि राम्रो छैन । ८० मध्ये पहिरोपछि २५ घरपरिवार मात्र सुरक्षित ठाउँमा सारिएको छ । बाँकी परिवार भिरकुनामै बस्दै आएका छन् । ‘आर्थिक तथा सामाजिक हिसाबले मात्रै नभएर प्राकृतिक रूपमा पनि दलित समुदाय थिचोमिचोमा परेका छन्,’ राणाले भने, ‘अझै कैयौँ परिवार निकै दुःखकष्ट गरेर भिरकुनामा बसोवास गर्छन् ।’

 

५ असोज ०७८ मा सदरमुकाम तम्घासकै नजिक पनि पहिरोले घर पुरिँदा दलित परिवारका तीनजनाले ज्यान गुमाए । अविरल वर्षाको कारण राति १ बजे बारीको ढिस्को खसेर घरभित्र पसेपछि रेसुंगा नगरपालिका– ८ खानीगाउँका तिलक परियारका जुम्ल्याहा छोरी १४ वर्षीया गंगा परियार र जमुना परियार तथा २१ वर्षीया छोरी भावना परियारले ज्यान गुमाए ।

 

हरेक साँझ वास खोज्दै 

 

जिल्लाका दर्जनौँ दलित बस्ती भौगोलिक रूपमा अप्ठ्यारो र पहिरोको जोखिममा छन् । गुल्मीको मालिका गाउँपालिका– २ दर्लिङका धनबहादुर विकले घर छोडेको डेढ साता भयो । तलबाट दुनाम खोलाको डर माथिबाट पहिरोको पिरलो । विक साँझ परेपछि पाँचजनाको परिवारसहित स्थानीय च्यानडाँडा सामुदायिक स्वास्थ्य केन्द्रमा वास बस्न निस्कन्छन् । गाउँ पूरै भासिने र चर्कने भएकाले घरबाहिर पनि उत्तिकै जोखिम छ । मालिका गाउँपालिका– २ दुनामका हरिलाल विक पनि पहिरोले घर घेरेपछि श्रीमती र छोरी लिएर सधैँ साँझमा च्यानडाँडा सामुदायिक स्वास्थ्य केन्द्रमा सुत्न जान्छन् । पानी परे बस्ती नै बगाउने जोखिम भएकाले छिमेकीहरू कोही घरमा नबस्ने गरेको विकले बताए । 

पहिरोले प्रभावित मालिका गाउँपालिका–२ को दर्लिङ ।

 

गाउँमा सडक छैन । खानेपानी नहुँदा खुला आकाशको पानी पिउन दलित परिवार बाध्य छन् । सोही गाउँकै नरमती सुनार, जंगे सुनार र भागिरथी सुनारको परिवार पनि स्वास्थ्य केन्द्रमा राति वास बस्छन् । दर्लिङमा करिब ४० घर दलित परिवार पहिरोको जोखिममा छन् । तीमध्ये १३ घरपरिवार वर्षात्का कारण विस्थापित भएको स्थानीय युवा रवीन्द्र विश्वकर्माले बताए ।

 

मुक्ति समाज गुल्मीले भर्खरै सार्वजनिक गरेको विवरणअनुसार मालिका गाउँपालिका दर्लिङको कोसिला बाँध, ह्वाङ्दीको महभिर, साराकटेरी, अर्जैको ठाटी पोरिपोखरा, कँडेलपाटा, घमिरको कोट र मर्भुङको फल्लेनी र मैदानमा जोखिमपूर्ण अवस्थामा दलित बस्ती हुन् । त्यस्तै, इस्माको दोहलीको कुखुरीयाच्याना, रजस्थलको गाँव, हस्तिचौरको मल्दी, धुर्कोटको वाग्ला अज्मिर, रजस्थल, काफलपानी कोटका दलित समुदाय पहिरोको जोखिममा छन् ।

 

त्यस्तै, मदानेका सिर्सेनी पोखरा, मुसिकोटको कोटफेरा, देउराली, वामी मैदान, काउले, बिसौना, दारपाले, रुरु क्षेत्रका थानपती, चिउरेक, रिडी, भडकुवा, भर्लेनी मादा, ठाँटी, सुन्डाडा, आँटीपाटा, पाहगा, चिदियार, भागाबारी, कालीकामोड, सिदुरे, नाच्नेडाँडा, दारसिगंवास, गाङदी, रिमुवा, रेसुंगाको खान्दुला, बुढीचौर, दुबीचौर, पराल्मी, कालीगण्डकी अर्बेनीको बसपार्क क्षेत्रको तातोपानी र आपेखोलाबिचको बस्तीलगायतका दर्जनौँ बस्तीहरू जोखिमपूर्ण अवस्थामा छन् ।

 

मुक्ति समाज लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण विश्वकर्माले जोखिमपूर्ण बस्तीमा मानवीय रक्षा तथा सम्पत्तिको सुरक्षा गर्न राज्यका विभिन्न निकायलाई ध्यानाकर्षण गरिएको बताए । उनले जिल्ला प्रशासन कार्यालय गुल्मीमार्फत प्रधानमन्त्रीलाई पाँचबुँदे ज्ञापनपत्रसमेत बुझाएको बताए । ज्ञापनपत्रमा दलित समुदायलगायत अन्य समुदायको जोखिमपूर्ण बस्तीहरूको नक्सांकन गरी बस्तीको स्थानान्तरण गरी पुनर्वासको व्यवस्था गर्नुपर्ने माग छ । त्यस्तै, मृतकका परिवारलाई शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेन्टी गर्नुपर्ने, सम्भावित प्राकृतिक विपत्तिबारे जोखिमपूर्ण बस्तीमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने, बाढी–पहिरोबाट प्रभावित क्षेत्रमा समयमै राहत र उद्धार कार्य गर्नुपर्ने तथा बाढी–पहिरोबाट घाइते भएकाहरूको निःशुल्क उपचार गर्नुपर्ने माग छ ।