• वि.सं २०८१ माघ २ बुधबार
  • Wednesday, 15 January, 2025
नयाँ पत्रिका
२०८१ भदौ १५ शनिबार ०९:५७:००
साहित्य

मन परेका पुस्तकबारे शिक्षाविद् विद्यानाथ कोइराला

२०८१ भदौ १५ शनिबार ०९:५७:००
नयाँ पत्रिका

 

आफ्नो बाटो आफ्नै पाइला – कुलप्रसाद कोइराला : नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाको यो पुस्तक निकै इमानदारितासाथ लेखिएको छ । इमानदारीसाथ लेखिएको जीवनकहानी भएकाले यो मलाई निकै मनपर्छ । यसमा उहाँको जीवन कसरी गुज्रियो, विश्वविद्यालयमा कसरी काम गर्नुभयो ? कांग्रेसको राजनीति गर्दा कसरी दु:ख पाउनुभयो । उपकुलपति भइसकेपछि कुन दसा भोग्नुभयो र पारिवारिक जीवन कसरी बित्यो भन्ने विषयमा छ । निकै उत्कृष्ट छ । उहाँले नेपालका विश्वविद्यालयका समस्या पनि यसमा औँल्याउनुभएको छ ।

 

बाँसुरीको धुन – टीकाराम रेग्मी : उहाँले कथात्मक तरिकाबाट यो पुस्तक लेख्नुभएको हो । यसमा उहाँले नेपाली समाजको वर्तमान परिवेशलाई चित्रण गर्नुभएको छ । कथामा विभिन्न सामाजिक, शैक्षिक, आर्थिक र मनोवैज्ञानिक कुरा छन् । समाज सुधार कसरी गर्न सकिन्छ भन्ने चिन्तन पनि छन् । उहाँले शिक्षा क्षेत्रमा पनि धेरै पुस्तक लेख्नुभएको छ । उहाँको यो पुस्तक पनि राम्रै छ ।

 

छानिएका रचना भाग–१/ भाग–२ – भैरव रिसाल : पत्रकार भैरव रिसालको यो पुस्तक पनि निकै राम्रो छ । राजनीतिले स्वास्थ्य, शिक्षालाई कसरी बिगार्‍यो, राजनीतिक नेतृत्वले किन त्यस्तो गर्‍यो भन्ने विषयमा लेख्नुभएको छ । यसमा उहाँले अहिलेको परिवेशमा राजनीतिलाई सुधार्न गर्नुपर्ने पहलबारे पनि उल्लेख गर्नुभएको छ ।

 

प्रजेन्ट्री अन्डर क्यापिटलिजम इन कन्टेम्पोररी नेपाल : म्याक्रो एन्ड माइक्रो न्यारेटिभ्स – लयप्रसाद उप्रेती : ‘पिजेन्ट्री अन्डर क्यापिटलिजम इन कन्टेम्पोररी नेपाल : म्याक्रो एन्ड माइक्रो न्यारेटिभ्स’ मलाई मन परेको अर्को पुस्तक हो । लयप्रसाद उप्रेतीको यस पुस्तकमा नेपालको आर्थिक क्षेत्रलाई विश्लेषण गरिएको छ । यसमा नेपाली सामन्ती प्रणालीको विश्लेषण गरेर पश्चिमा उदार अर्थतन्त्रले कसरी काम गर्छ, हामी कसरी ठगिन्छौँ र कहाँनेर गएर फस्छौँ भन्ने कुरा छ ।

 

जैविक दर्शन – मोहन तिमल्सिना : यो पुस्तकले आधुनिक विज्ञानसँग हाम्रा पुर्खाको विज्ञानलाई जोड्नुभएको छ । पश्चिमा विज्ञान र हाम्रो अध्यात्मको विज्ञानलाई मिलाउन सक्ने सम्भावना भए पनि हामीले त्यसरी खोजेनौँ भन्ने उहाँको जिकिर हो । पश्चिमा सिद्धान्तको चर्चा पनि मज्जाले गर्नुभएको छ । पूर्वीय चिन्तनलाई पनि जोड्नुभएको छ । यो पुस्तक पनि पढ्न उपयोगी छ ।

 

इमिल – जियन ज्याक रुसो : यो जियन ज्याक रुसोद्वारा लेखिएको पुस्तक हो । यसमा उनले काल्पनिक छोरा (इमिल) लाई कसरी पढाउने भन्ने विषयमा लेखेका छन् । यसमा किताबी शिक्षा नभएर जिन्दगीको शिक्षाबारे उल्लेख छ । प्राकृतिक शिक्षामा उनले जोड दिएका छन् । समाजमा चलिआएको कृत्रिम र औपचारिक शिक्षाको साटो प्राकृतिक शिक्षाले कसरी इमिललाई आफ्नो वास्तविक प्रकृतिप्रति इमानदार रहँदै सामाजिक, नैतिक र तर्कसंगत हुन सिकाउँछ भन्ने यसमा छ । पानी पर्दा बच्चाहरू उफ्रन खोज्छन्, त्यतिवेलासम्म उनीहरूले धेरै कुरा थाहा पाउँछन् । वातावरण विज्ञान, स्वास्थ्य, पानी कसरी पर्छ भन्ने कुरा पनि थाहा पाउँछन् । शिक्षकले धेरै नियन्त्रण गर्नु हुँदैन । मानिस स्वतन्त्र जन्मन्छ र स्वतन्त्र नै रहन पाउनुपर्छ भन्ने तर्क यसमा छ । तुलसीप्रसाद ढुंगेलले यसलाई नेपालीमा अनुवाद गर्नुभएको छ ।

 

शिक्षा नेपालको सन्दर्भ – डा. सुरेशराज शर्मा : यसमा पनि विद्यालय शिक्षादेखि विश्वविद्यालय शिक्षा, व्यावसायिक शिक्षाको कल्पना हामीले कसरी गर्‍यौँ र अहिले के गरिरहेका छौँ भन्ने विषयमा चर्चा गर्नुभएको छ । उहाँ काठमाडौं विश्वविद्यालयको पूर्वउपकुलपति पनि हो । शिक्षालाई सुधार्न व्यावसायिक शिक्षा नदिई सुख छैन र हाम्रा परम्परागत प्रविधि, सीप र ज्ञानलाई अहिलेको आधुनिक बजारसँग जोड्नुपर्छ भन्ने कुरा छ । सम्भावनाका कुरा छन् ।

 

शिक्षाका सारथि – शिक्षा पत्रकार समूह : यो शिक्षा पत्रकार समूहले निकालेको पुस्तक हो । यसमा राम्रो अभ्यास गरेका हिमाल, पहाड र मधेशका विभिन्न विद्यालयका २५ जना शिक्षकको अनुभव छ । उनीहरूले विद्यालय सुधार कसरी गरे भन्ने विषय उल्लेख गरिएको छ । कसैले व्यावसायिक शिक्षा लागू गरे, कसैले विद्यार्थीलाई बचतको अभ्यास गर्न लगाए, कसैले बच्चालाई अब्बल बनाउन वास्तविक जिन्दगीसँग जोड्ने काम गरे, कतिले समुदाय र अभिभावकलाई विद्यालयसँग जोडे र यसरी विद्यालय सुधारे भन्ने विषय छ । विद्यालय सुधारका अनुभव समावेश भएकाले यो पुस्तक निकै उपयोगी छ । 

 

शब्द तरंग – जगदीश्वर पोखरेल : यस कविता संग्रहमा अहिले समाजमा घटिरहेका सामाजिक, आपराधिक र राजनीतिक विकृतिबारे लेखिएको छ । भ्रष्टाचार र राजनीतिक विकृतिलाई कवि पोखरेलले निकै सशक्त रूपमा लेख्नुभएको छ । यसमा समसामयिक कविता छन् । देशका युवाका विषयमा पनि लेख्नुभएको छ । यो देशको अहिलेको निराशाको प्रतिनिधित्व यस पुस्तकले गर्छ । त्यससँगै उहाँले आशा जगाउने खालका कविता पनि यस संग्रहमा लेख्नुभएको छ । यसमा दुवै कुरा छन् ।