• वि.सं २०८२ जेठ २० आइतबार
  • Sunday, 01 June, 2025
अन्वेषण अधिकारी
२०८१ भदौ १५ शनिबार १०:४०:००
संगीत

संगीतमा सर्जक–एआई टकराव 

२०८१ भदौ १५ शनिबार १०:४०:००
अन्वेषण अधिकारी

 

कलाकारले एआई प्रयोगलाई मानव सिर्जनामाथिको आक्रमणका रूपमा हेरेका छन्

 

रवीन कार्की ढलीको चार पुस्ताले नेपाली संगीतमा योगदान गरेको छ । बाबु मोहनकृष्ण कार्की ढली संगीत संयोजक हुन् । बाजे टेकबहादुर कार्की ढली नेपाली सेनामा संगीत मास्टर थिए । साक्सोफोन र भायोलिन बजाउन माहिर रवीन संगीतमा सक्रिय भएको साढे तीन दशक नाघिसक्यो । कुनै समय उनको भायोलिन समूहलाई भ्याई–नभ्याई थियो । तर, अहिले माग निकै घटेको छ । 

 

‘इलेक्ट्रिक किबोर्डबाट भायोलिन बज्न थालेदेखि नै कलाकारलाई अप्ठ्यारो पर्न थालेको हो । अहिले त विभिन्न सफ्टवेयरले झन् मर्का थपेका छन्,’ उनले भने । उनकी छोरी पनि संगीतकी पारखी हुन् । भायोलिन र साक्सोफोन राम्ररी बजाउँछिन् । तर, उनले संगीतको साटो नर्सिङ पेसा रोजिन् । ‘संगीत पारखी भए पनि भायोलिन मात्रै बजाएर करियर बनाउन सक्ने अवस्था नरहेकाले उनले नर्सिङ क्षेत्र रोजिन्,’ कार्की ढलीले भने, ‘मसहित गरेर चार पुस्ताले संगीतमा करियर बनायो । कान्छी छोरी बल्ल दुई कक्षामा पढ्दै छिन् । हेरौँ उनले के गर्छिन् ?’

 

प्रविधिका राम्रा र नराम्रा दुवै पक्ष हुन्छन् । संगीतमा देखिएको प्राविधिक विकासले धेरै अब्बल वाद्यवादकलाई यस क्षेत्रबाट टाढा बनाएको इतिहास छ । इलेक्ट्रिक किबोर्ड, विभिन्न सफ्टवेयर हुँदै एआईको विकासले वाद्यवादकको भूमिका संगीत क्षेत्रमा कम भएर गएको छ ।

 

 

६० वर्षदेखि गायन क्षेत्रमा सक्रिय मीरा राणा भन्छिन्, ‘त्यसवेला स्पुलमा रेकर्ड हुन्थ्यो । गायनमा पैसा कम भए पनि साधना धेरै थियो । एउटा गीत रेकर्डिङ गर्न पनि ६–७ घण्टा लाग्थ्यो । तबला, हार्मोनियम, सितार, बाँसुरीलगायत सबै बाजा स्टुडियोमा हुन्थे,’ उनले भनिन्, ‘संगीत संयोजकले दिएको नोटेसनका आधारमा आफ्नो समय आउनासाथ वाद्यवादक र गायक–गायिकाले कला देखाउँथे । एकजनाको केही बिग्रिए फेरि रेकर्डिङ सुरु हुन्थ्यो । अहिले त टुक्रा–टुक्रा जोडेर गीत बन्छ ।’ 

 

राणाले थपिन्, ‘त्यतिवेला संगीत टिमवर्क थियो । एउटा होइन, सबैले राम्रो गरेपछि मात्रै राम्रो गीत बन्थ्यो । सबैे गीतको भाव बुझेर मात्रै काम गर्थे । सबैसँग संगीतका सबै विधाको धेरथोर ज्ञान हुन्थ्यो ।’

 

गायक तथा संगीतकार शम्भु राई ०४१ सालमा रेडियो नेपालमा पहिलोपटक गीत रेकर्ड गर्दाको पललाई कहिल्यै बिर्सिंदैनन् । ‘त्यतिवेला २० जनाजति वाद्यवादक स्टुडियोमा हुनुहुन्थ्यो । नातिकाजी र शिवशंकर प्रत्यक्ष रूपमा प्रस्तुति नियालेर बस्नुभएको थियो,’ उनले भने, ‘म निकै सतर्क थिएँ । चलेछ बतास सुस्तरी... दुईपटक स्टुडियोमा अभ्यास गरियो । गीत रेकर्ड भइसकेपछिको सन्तुष्टि नै अर्को थियो ।’

 

राईले थपे, ‘रेडियो नेपालमा २० जना वाद्यवादक उपलब्ध हुनु ठुलो कुरा थियो । तर, भारतमा त्यस जमानामा डेढदेखि दुई सयसम्म वाद्यवादकसँगै बसेर गायकले गाउँथे । उनीहरूको बजेट निकै ठुलो हुन्थ्यो ।’

 

त्यस जमानामा सन्तुर, भायोलिन, साक्सोफोन, ड्रम, तबलालगायत हरेक बाजाका उस्ताद हुन्थे । संगीतलाई सुमधुर र समृद्ध बनाउन पर्दापछाडिका यी उस्तादको ठुलो योगदान थियो । संगीतमा भविष्य बनाउने सपना देखेका युवाहरू उनीहरूसँग लामो साधना गर्थे । 

 

एनालग प्रविधि फोर ट्रयाक हुँदै एट ट्रयाकमा गयो । इलेक्ट्रिक किबोर्डले यतिवेला म्युजिक एरेन्जरहरूलाई सिर्जनात्मक अवरोध चिर्न सघाउ पुर्‍याइरहेको थियो । तर, सँग–सँगै वाद्यवादकमा रोजीरोटी गुम्ने भय पनि सिर्जना गरेको थियो । 

 

विगत चार दशकदेखि संगीतमा सक्रिय तबलावादक कुमार महाराज भन्छन्, ‘किबोर्डबाट कम बजेट संगीतमा संयोजन गर्न सकिने भएपछि कतिपय वाद्ययन्त्रको प्रयोग घट्न थाल्यो । मुर्चुङ्गा, ढोलक, तबला, ड्रम बजाउनेहरू ठुलो संख्यामा विदेश पलायन भए । अहिलेको डिजिटल जमानामा धेरैले सफ्टवेयर र स्याम्पलिङबाटै संगीत सिर्जना गर्छन् ।’

 

ढोलक र मादलमा पनि उत्तिकै पोख्त महाराज अहिले पनि मौलिक बाजाको माग उत्तिकै रहेको बताउँछन् । ‘पहिले महिनाभर तबला बजाउन व्यस्त भइन्थ्यो । अहिले हप्तामा दुईवटा कार्यक्रम पाउन पनि मुस्किल छ । क्यासेटको जमानामा एउटा एल्बममै आठवटा गीत हुन्थ्यो । अहिले एउटै गीत रेकर्ड गरे पुग्छ,’ उनले भने, ‘त्यसैले म्युजिक एरेन्जर र गायकको काम पनि घटेको छ । भिडियोको जमानामा सिनेमाटोग्राफर, निर्देशक, स्क्रिनप्ले राइटरलगायत नयाँ क्षेत्रमा अवसर खुलेको छ । किबोर्ड र प्लग इन्सहरूले नेपाली शैली दिन नसक्ने भएकाले सारङ्गी, बाँसुरी, मादललगायत मौलिक बाजाको माग कायमै छ ।’

 

इसराजवादक सन्तोष श्रेष्ठ भन्छन्, ‘अहिले नयाँ पुस्तामा धैर्यताको कमी छ । सायद वाद्यवादनलाई नै पेसाका रूपमा अघि बढाउनेबारे उनीहरूले सोच्न सकेका छैनन् । केही समय सिकेर छाड्नेहरू धेरै छन् ।  शास्त्रीय संगीतका पारखीले मात्रै इसराजलाई प्राथमिकतामा राख्छन् । स्टुडियो रेकर्डिङमा किबोर्ड, विभिन्न सफ्टवेयर र स्पाम्पलिङबाटै काम चलिहाल्छ । त्यहीकारण यसको प्रयोग निकै कम हुन्छ ।’ 

 

ट्रयाकमै प्रस्तुति दिने खराब चलनले संगीतमा समस्या सिर्जना गरेको उनले बताए । ‘पहिले वाद्यवादक आफैँ जान्थे । ट्रयाक बजाउने र त्यसैमा गाउने चलन बसेपछि कतिपय बाजा दुर्लभ भएर गए,’ उनले भने, ‘प्रत्यक्ष रूपमा वाद्यवादन सुन्नुको मजा नै बेग्लै छ । यसका लागि दर्शक पनि सचेत हुनुपर्छ भन्ने गरेका थियौँ । अहिले एआईले त म्युजिक एरेन्जर र गायकलाई पनि अप्ठ्यारोमा पारिसक्यो । पश्चिमा देशतिर दर्शकमा सांगीतिक चेत भएकै कारण संगीतका यन्त्र बाँचेका छन् । हामीले पनि यसबारे सोच्नुपर्छ । नत्र, वाद्ययन्त्र लोप हुन थाल्नेछन् ।’

 

प्रविधिमा देखिएको विकासले नयाँ–नयाँ गायकलाई पनि जन्म दियो । सामाजिक सञ्जालको तीव्र विकासले लाखौँ स्रोतासम्म एकैपटक गीतलाई पुर्‍याउन मिल्ने भयो । ‘प्रविधिको पहुँचका कारण संघर्षशील गायकलाई गीत बनाउन र आममानिसमाझ प्रस्तुत गर्न सहज भएको छ । नयाँ प्रतिभा उजागर हुनु, धेरै गायक–गायिका बजारमा देखिनु राम्रो पक्ष हो । तर, यसमध्ये थोरैमा मात्र साधना पक्ष बलियो देखिन्छ,’ संगीतकार अर्जुन पोखरेल भन्छन्, ‘विभिन्न प्लग इन्सहरूले एभरेज टोन्स वा एक लेभलको गायकी भएको, तर सुरमा गाउन नसक्नेहरूलाई पनि सुरमा तानिदिने भयो । जसका कारण ठिकै गाउने मानिस पनि चाँडै भाइरल हुन सक्छन् । उहाँहरूलाई लाइभ गाउँदा स्टुडियोको गुणस्तर दिन गाह्रो परेको देखिन्छ ।’

 

पोखरेलले थपे, ‘पहिलेका गायकको सवालमा रेकर्डिङ स्टुडियो र लाइभ प्रस्तुतिबिचको अन्तर संगीत बुझेकाले मात्रै छुट्याउन सक्थे । अहिले आमदर्शक–स्रोताले पनि छुट्याउन सक्ने अवस्था छ ।’

 

प्रविधिको सहयोगमा एउटा मानिसले छोटो समयमै चर्चा पाउँदा, लामो समय संघर्ष गरेको अर्को मानिस मारमा पर्न सक्ने जोखिम पनि उत्तिकै रहने उनले बताए । ‘यसले संगीतकार र स्वयं गायकलाई पनि अल्छी बनाइदिएको छ । यत्तिको मिलिहाल्छ भनेर संगीतकार र गायकले पनि सहज लिन थाले । यसले गायकलाई मिहिनेती होइन, अल्छी बन्न बहाना मिल्यो ।’

 

एआईले पार्न सक्ने प्रभाव 

 

 

प्रविधिले ठुलो फड्को मारेर हामी अहिले कृत्रिम बौद्धिकताको युगमा छौँ । अन्य क्षेत्रमा जसरी नै संगीतमा पनि यसले हस्तक्षेप निम्त्याइरहेको छ । अप्रिल ०२३ मा घोस्टराइटर नामक क्रियटरले ‘हर्ट अन माइ स्लिभ’ नामक एआई जेनेरेटेड गीत सार्वजनिक गरेको थियो, यसमा द विकेन्ड र ड्राकको आवाज नक्कल थियो । ग्रेमी अवार्डको मनोनयनमा समेत पठाइएको यो गीत चाँडै अनलाइनमा भाइरल भएको थियो । 

 

भविष्यमा मानव गायक वा संगीतज्ञको दाँजोमा एआई कलाकारको संख्या बढी हुने खतरासमेत यस गीतको चर्चापछि कतिपय संगीतज्ञले औँल्याए । एआई सफ्टवेयर र टुल्सले अहिले गीत कम्पोज गर्न, एरेन्ज गर्न र मिक्सिङ गर्न सघाइरहेका छन् । एआई अल्गोरिदम्सले ठुलो परिमाणमा संगीत डेटा, मेलोडी र रिदमलाई विश्लेषण गरेर नयाँ संगीत तयार पार्न वा संगीतकारलाई सिर्जनात्मक सुझाव दिन सक्छन् । मानिस र एआईबिचको यो सहकार्यले गीत–संगीतको उत्पादनमा सहयोग पुर्‍याउने सम्भावना एकातर्फ छ भने अर्कोतर्फ कलाकारको रोजीरोटी नै खोसिदिने जोखिम पनि छ । एआई सफ्टवेयरले अहिले शब्द रचना गरिदिने, संगीत रचना गरिदिने, गाइदिने र आफैँ प्रमोसन गरिदिने काम गर्छन् ।

 

संगीतकार राजन सिवाकोटी प्रविधिको विकासले धेरै कलाकारलाई मारमा पारेको बताउँछन् । ‘संगीत उद्योगमा कलाकारसामु सधैँ परिवर्तित अवस्था र प्रविधिलाई स्विकार्नुपर्ने बाध्यता हुन्छ । समयअनुसार प्रविधिमा खेल्न सक्नेहरू त्यहीअनुसार अघि आए । तर, म्यानुअल्ली जाने कतिपयलाई समस्यामा पार्‍यो । यसले ठुलो संख्यामा कलाकार पलायन पनि भए । यसका खराब र राम्रा पक्ष दुवै भए पनि प्रविधिलाई स्विकारेर अघि बढ्नुको विकल्प छैन,’ उनले भने ।

 

एआईयुक्त टुल्सहरूले ठुलो संख्यामा डेटाहरू एनालाइज गरेर गीतको आइडिया फुराउने, पृथक् विटहरू तयार गर्ने र गीत सिर्जनामा समेत सहयोग गर्ने गरिरहेको छ । अर्कोतर्फ, श्रोतामा पनि यसको असर गरेको छ । विभिन्न प्लेटफर्म तथा म्युजिक एपहरूले एआई अल्गोरिदममार्फत प्रयोगकर्ताको रुचिलाई ख्याल गरेर त्यहीअनुसारका गीत सिफारिसमा सूचीमा राखिदिने गर्छन् । प्रयोगकर्ताले पहिले सुन्ने गरेका गीतका आधारमा यस्ता अल्गोरिदमले काम गर्छन् ।

 

प्रविधिमा देखिएको यो परिवर्तनबारे गायक तथा संगीतकार यश कुमार भन्छन्, ‘जुन कुरा सहजै प्राप्त हुन्छ, त्यसको महत्व कम हुन्छ । ठुलो आँट, जोखिम, लगानी, सकस र रोमाञ्चकको चरण पार गरेर मात्रै शिखरमा पुग्न सकिने भएकाले सगरमाथाको महत्व छ । हेलिकोप्टर चढेर सोझै टुप्पोमा पुग्दा आरोहणको त्यो मज्जा कसरी आउला र ? कलाकार बन्न निरन्तरको अभ्यास र संघर्ष जरुरी छ । प्रविधिको जमानामा जोकोही कलाकार हुन सक्लान् । तर, त्यसरी लहडका भरमा गरिएको संगीतले चर्चा दिलाए पनि आत्मसन्तुष्टि दिन सक्दैन । र, आत्मसन्तुष्टिविनाको सिर्जनाको अर्थ छैन ।’

 

उनले थपे, ‘सर्जक र सिर्जनाबिच आमा र बच्चाको जस्तै सम्बन्ध हुन्छ । मिहिनेतसहितको सिर्जनाले आत्मसन्तुष्टि दिन्छ । तर, मेसिनले गरेका सिर्जनाले सन्तुष्टि दिन सक्दैन ।’ 

 

गायिका प्रश्ना शाक्य भन्छिन्, ‘यसले चुनौती थपेको छ । अब के होला र प्रविधि कसरी अघि बढ्ला भनेर अनुमान गर्न पनि गाह्रो छ । कसैले गरिरहेको काम रोबर्टले गरिदिँदा मानिसलाई अहिले घाटा नै हुने भयो । यो संगीत क्षेत्रको मात्रै होइन । सबै क्षेत्रमा देखिएको चुनौती हो । तर, हामीले साधना छोड्नुहुँदैन । बरु, अझै बलियो भएर आउनुपर्छ । किनकि, चाहे संगीत होस्, फेसन वा लाइफस्टाइल, समय फर्कन्छ । मानिसले गाउँदा जुन फिल दिन सक्छ । मेरो बुझाइमा त्यो एआईले दिन सक्दैन । उसले सुरमा गाउनेसम्म गर्न सक्ला । एआईबाट रचना गरिएका गीतमा धेरै विविधता हुँदैन । सबै उस्तै–उस्तै सुनिन्छन् । त्यहीकारण तत्काल चुनौती देखिए पनि यसले मानिसलाई विस्थापित गर्न नसक्ला ।’

 

यशकुमार भन्छन्, ‘एआईबाट तयार गरिएका संगीतमा भावनात्मक गहिराइ हुँदैन । मानिसको पृथक् व्यक्तिगत शैली र कलात्मक अभिव्यक्ति एआईमा खोजेर हुँदैन । यसमा आत्मा हुँदैन, यसले मानिसको हृदय स्पर्श गर्न सक्दैन ।’

 

नेपाली मौलिक बाजाहरूको प्रकृति पश्चिमा बाजाको दाँजोमा भिन्न भएकाले पनि कतिपय बाजा अझै प्रयोगमा आइरहेको अनुभव पोखरेलले सुनाए । ‘बाँसुरी, सहनाई, सारंगीलगायत बाजा प्लग इनमा उपलब्ध हुने भए पनि त्यो इन्डियन सेमी–क्लासिकल शैलीको छ । हाम्रो लोकभाकामा बज्ने शैली पृथक् छ । त्यहीकारण यी वाद्यवादन प्रयोग भइरहेकै छन् । नत्र त यहाँ गिटारको टेक पहिलेजस्तो छैन, साक्सोफोन र भायोलिनको ९० प्रतिशत काम हुँदैन । ढोलक, तबला र ड्रम्सको पहिलेजस्तो काम हुँदैन,’ उनले भने, ‘लोकगीतले हाम्रो संस्कृति जोगाउन भूमिका खेलिरहेको छ । तर, हामी अझै सचेत हुनुपर्ने अवस्था छ । जस्तो, साउथ इन्डियन म्युजिक हेर्ने हो भने उनीहरू आफ्नो कल्चर बचाएर, त्यसमा पश्चिमा संस्कृतिको फ्युजन गरेर काम गरिरहेका छन् ।’

 

एआईको प्रयोग रोक्न विश्वव्यापी अभियान 

 

गत अप्रिलमा बिली इलिस, निकी मिनाज, केट पेरी, फ्रान्क सिनात्रालगायत स्टारले खुलापत्र जारी गर्दै संगीतमा एआईको प्रयोग रोक्न माग गरेका छन् । आर्टिस्ट राइट्स एलायन्सले सार्वजनिक गरेको यस पत्रमा एआईलाई नियन्त्रण नगरिए कलाकारहरू रसातलमा पुग्ने दाबी गरिएको छ ।

 

युट्युबसहितका टेक जायन्टहरूले एआई संगीत उत्पादक उपकरणको परीक्षण गरिसकेका छन् । ‘हामीले आफ्नो आवाज र समानता चोर्नका लागि गरिएको एआईको हिंस्रक प्रयोगबाट आफूलाई सुरक्षित राख्नुपर्छ,’ कलाकारको माग छ । उनीहरूले टेक कम्पनीलाई गीतकार, संगीतकार र कलाकारको कलात्मकता विस्थापित वा अपमानित गर्ने गरी एआई म्युजिक जेनेरेसन उपकरण विकास नगर्न पनि आह्वान गरेका छन् । 

 

‘जिम्मेवारसाथ प्रयोग नगरिए एआईले हाम्रो अधिकारलाई उल्लंघन गर्छ,’ पत्रमा उल्लेख छ । कलाकारहरूले एआईको प्रयोगलाई मानव सिर्जनामाथिको आक्रमण र दमनका रूपमा हेरेका छन् । यसले सर्जकको अधिकार उल्लंघन गर्ने र संगीतको पर्यावरणीय चक्रमा विध्वंस मच्चाउने उनीहरूको बुझाइ छ । 

 

एआईले संगीत उद्योगमा नयाँ भूमिका सिर्जना गरेको तथ्यलाई पनि नजरअन्दाजन गर्न सकिँदैन । एआई टुल डेभलपर्स, डाटा एनालाइटिक्स तथा स्पेसलिस्ट, एआई असिस्टेड म्युजिक क्रिएसनलगायतलाई प्रयोग गरेर कलाकारले फाइदा पनि लिन सक्छन् ।