पुटिन, ट्रम्प र नेतन्याहु : स्टालिन, हिटलर र माओका प्यारोडी
असाधारण असाधारण रूपले प्रतिभाशाली, हिम्मतिला, क्यारिज्म्याटिक व्यक्तित्व भएका ‘महान् मानव’ले आफ्नो प्रतिभा र व्यक्तित्वको बलमा इतिहासलाई दिशानिर्देश र इतिहासको मार्ग नै परिवर्तन गर्छन् भन्ने १९औँ शताब्दीको विचार जबर्जस्त रूपले कायम छ । सन् १९६० को दशकको समतावादी र मार्क्सवादी सामाजिक सिद्धान्तको उदय र ऐतिहासिक घटनालाई आममानिसको दृष्टिकोणबाट हेर्ने इपी थम्पसनको ‘हिस्ट्री फ्रम बिलो’ विचारधाराको उदय बाबजुद यो विचार कायमै छ ।
स्कटल्यान्डेली दार्शनिक थोमस कार्लाइलले अरस्तु, जुलियस सिजर, नेपोलियन, मार्टिन लुथर तथा पैगम्बर मोहम्मदजस्ता व्यक्तित्वहरूलाई आफूवरपरको संसारलाई मौलिक र स्थायी रूपमा नै परिवर्तन गर्ने आफ्नो समयका असाधारण नायकका रूपमा हेरेका छन् । उनी मानव समुदायले ‘विश्व इतिहास’का निर्मातालाई मात्र बुझ्ने, तिनको सराहना गर्ने र पछ्याउनेमा विश्वास गर्छन् ।
यो एउटा प्रस्तावित विचार हो, तर यो आकर्षक र दीर्घजीवी छ । प्रायः पुरुषहरू आफूलाई मानव समुदाय र राष्ट्रको नेतृत्व गर्ने, तिनको मसिहा हुने, परम कर्तव्य र विशेष मिसन भएको शूरवीरका प्रारूपमा निर्मित ठान्छन् । आफूलाई सबैभन्दा राम्रोसँग थाहा छ भन्ने लाग्छ उनीहरूलाई । अद्वितीय अन्तर्दृष्टि भएको ठान्छन् आफूलाई । अरूमाथि आफ्ना विचार लाद्न पर्याप्तरूपले निर्दयी र दम्भी हुन्छन् पुरुषहरू ।
वर्तमान युगमा बाहेक ती तथाकथित ‘महापुरुष’हरू सामान्यतया नायकभन्दा पनि ‘एन्टी–हिरो (विरोधी नायक)’ अथवा अझ सटिक रूपमा भन्दा आमरूपमा खलनायकका रूपमा बढी बुझिन्थे । कार्लाइलका ‘चुनिन्दाहरू’जस्तै उनीहरूले उल्लेख्य शक्ति आफूमा सन्निहित गर्छन् । ‘महापुरुष’हरूका विपरीत उनीहरूले त्यो अथाह शक्तिको मूर्खतापूर्ण, स्वार्थी र विनाशकारी प्रयोग गर्छन् । मानिसका खराब प्रवृत्ति, पूर्वाग्रह र डरलाई आफूतर्फ आकर्षित गर्छन् । २०औँ शताब्दीका सबैभन्दा ठूला नायकत्वविरोधी खलनायकहरू आमसंहारकर्ता थिए, जो एडोल्फ हिटलर, जोसेफ स्टालिन र माओत्सेतुङ हुन् ।
हिजोआज तिनकै प्रतिच्छायाजस्ता लाग्ने समकालीन खलनायकहरूको हातमा विश्व इतिहासको परिवर्तनको कमान छ । उनीहरूका विचार, भयंकर अहम्, सत्यप्रतिको चरम उपेक्षा, निरसता र चिसो हृदयले उनीहरूलाई अनैतिक युगका प्रमुख खलनाकको रूपमा चित्रित गरेको छ । दुर्भाग्यपूर्ण, अशान्त र युद्धपिपासु विश्वका तीन शैतान अर्थात् तीन दुस्साहसी भ्लादिमिर पुटिन, बेन्जामिन नेतन्याहु र डोनाल्ड ट्रम्पतर्फ अघि बढौँ ।
यी तीनबीच के समानता छ ? रुसी राष्ट्रपति पुटिन चेचेन्या, जर्जिया र सिरियामा जसरी नै अन्य मुलुकमा आक्रमण गर्छन् । त्यहाँका सर्वसाधारणलाई मार्छन् । उनको ‘युक्रेन युद्ध अपराध’मा अहिलेसम्म कम्तीमा ११ हजार गैरसैनिक मारिसकेका छन् । एकाएक खस्न आइपुग्ने र एकै विस्फोटमा पूरै अपार्टमेन्ट भवन ध्वस्त बनाउने ५९० किलोग्राम विस्फोटकले भरिएका ‘ग्लाइड बम’ मस्को निर्मित पछिल्ला त्रासदी हुन् (तुलना गरेरभन्दा, एउटा तोपगोलामा करिब ५.९ किलोग्राम विस्फोटक हुन्छ) । पुटिनले गत हप्ता मात्रै युक्रेनमाथि थप विनाशकारी हवाई आक्रमणको आदेश दिएका छन् ।
त्यसपछि यहाँ इजरायलका प्रधानमन्त्री नेतन्याहु पनि छन् । उनको गाजामा आफ्ना कब्जाकारी सैनिक राखिराख्ने जिद्दीले युद्धविराम सम्झौतामा बाधा पुर्याइरहेको छ । गत हप्ता उनले वेस्ट बैंकमा पुनः ‘घातक आक्रमण’ सुरु गरे । उनी लेबनानमाथि पनि आक्रमण गर्न लालायित छन् । गत ७ अक्टोबरमा हमासले इजरायलमा नरसंहार मच्चाए यता गाजामा ४० हजारभन्दा बढी प्यालेस्टिनीको जीवनलीला समाप्त भइसकेको छ । पुटिनजस्तै नेतन्याहु पनि मानवताविरुद्धको अपराधका आरोपित हुन् ।
अमेरिकी राष्ट्रपति पदका प्रत्याशी ट्रम्प अर्कै खालका दैत्यासुर हुन्, जसले अमेरिकी लोकतन्त्रको हत्या गर्न खोजेका थिए । उनी अफगानिस्तान, इराक, सोमालिया, भेनेजुएला र उत्तर कोरियामा जस्तै आक्रमण गर्न रुचाउँछन् । ट्रम्प युरोप, नेटो, युक्रेन, जापान वा ताइवानको पक्षमा उभिनेछैनन् । उनी पनि एक हत्यारा नै हुन्, जसको साक्षी सन् २०२० को इरानी जनरल कासिम सुलेमानीको हत्याले पस्किन्छ । ट्रम्पमाथि सन् २०२१ को ६ जनवरीमा भएको ‘कू’ प्रयासका लागि गत साता पुनः अभियोजन गरिएको छ ।
यी तीनैजना झुट बोल्न अभ्यस्त छन् । उनीहरूमा इमानदारिता छैन वा सम्मान भाव पनि प्रदर्शन गर्दैनन् । उनीहरू पूर्वाग्रही मिडियाको भरपुर उपयोग गर्छन् । भ्रष्ट आचरणलाई मौलाउन दिन्छन् अनि आफ्नो मकसद पूरा गर्न धम्कीपूर्ण बयानबाजीको उपयोग गर्छन् । पुरानो युगका ‘डेमोगग’हरूले जस्तै, ट्रम्पले पनि कुशलतापूर्वक अराजक भिड उतार्न सक्छन् । नेतन्याहु कराउँछन् र धम्की मात्रै दिन्छन् । पुटिन बनाबटी हाँसो हाँस्न र बर्बराउन अभ्यस्त छन् । तर, अहिले क्रुस्क क्षेत्रमा जस्तो कुनै नराम्रो घटना हुन्छ त्यो वेला भने लुक्छन् ।
विगतका ‘महापुरुषहरू’का निम्छरा प्यारोडी अर्थात् आजका खलनायकहरू विश्वव्यापी मूल्य–मान्यतालाई बलियो बनाउनुको साटो कमजोर पार्छन् । यी तीनैजनाले उग्रराष्ट्रवादी अनुचरहरूलाई उक्साउँछन् । विश्वभर विषाक्त स्वउच्चवादका संस्करण जन्माउँछन् । पुटिन जो बाइडेनलाई आणविक अस्त्र देखाएर टिकिराख्न सफल छन् । नेतन्याहुले यहुदीविरोधीहरूलाई हतियार बनाएका छन् । खुनी ट्रम्पले आफैँलाई हत्याप्रयासबाट बचाउन सकेनन् ‘भगवान् अर्थात् भाग्य’ले बचायो ।
यस्ता मानिसलाई कसरी रोक्न सकिएला ? तानाशाहको तुष्टीकरण ट्रम्पको नियति हो । उनलाई खुसी पार्न खोज्नु भनेको साढेलाई रातो झन्डा देखाउनुसरह हुन्छ । अमेरिकीहरूले दिइरहेजस्तै छुट नेतन्याहुलाई दिनु पनि मूर्खता हुन्छ । उनी प्रस्ताव त स्वीकार गर्छन्, तर आफ्नो मनलाग्दी जारी नै राख्छन् । नकारवादी पुटिन कसैलाई भाउ दिँदैनन् । उनको युद्ध तबसम्म समाप्त हुनेछैन जबसम्म उनी सकिनेछैनन् ।
चुरो कुरा यहाँनेर छ । यी तीनै खलनायकले ‘बुलन्द राष्ट्रिय दृष्टिकोण’लाई समर्थन गर्छन् । पुटिनले सोभियत साम्राज्यलाई पुनर्जीवित गर्ने कुरामा जोड दिएका छन् । नेतन्याहु सम्पूर्ण ऐतिहासिक प्यालेस्टाइन भूमि कब्जा गरेर यहुदी राज्यको झगडामा निर्णायक विजय प्राप्त गर्न चाहन्छन् । ट्रम्प आफूले केही नगरी अरूकै खर्चमा अमेरिकालाई फेरि महान् बनाउन चाहन्छन् ।
आफूलाई केन्द्रमा राखिएका ‘मिसन, म्यान्डेट र कथित महान् उद्देश्य’ मिश्रित यी खतरनाक दृष्टिभ्रममा वार्ताका लागि कुनै गुन्जाइस हुँदैन । उन्मादीहरूसँग सामञ्जस्यताको कुनै गुन्जाइस हुँदैन । पुटिन सोभियतकाल र त्यसपछिका साम्यवादका पीडितहरूको लासमाथि चढेर सत्तामा उक्लिएका हुन् । नेतन्याहु मुलुकको जीवनव्यापी रगत र आसुको त्रासदीका खोटा उत्पादन हुन् । सन् २०१७ को सार्लाेट्सभिल्लेदेखि सन् २०२१ को क्यापिटल हिलसम्मका हिंसामा ट्रम्पको उदयको जरो गाडिएको छ । निर्वासन, जेल वा मृत्युले मात्र यी मानिसलाई शान्त पार्नेछ । यिनको सुखद अन्त हुनेछैन ।
आधुनिक युगका यी खलनायकको उदयले एउटा प्रश्नको उठान गर्छ । उदाहरण बसाल्ने र अरूलाई डोर्याउने आजका ज्ञात वा अज्ञात सच्चा महापुरुष वा महान् महिला अर्थात् नायकहरू को हुन् त ?
ती स्वर्गीय नेल्सन मन्डेला अनि हत्या गरिएका एलेक्सी नाभाल्नीहरू हुन् । यसैगरी, इरानी महिला अधिकारकर्मी तथा नोबेल शान्ति पुरस्कार विजेता नर्गिस मोहम्मदी र सिरिन इबादी पनि त्यही कोटीका हुन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस हरेक दिन उठेदेखि नै शान्तिका लागि प्रयास गर्छन् । राजा चाल्र्स ? ग्रेटा थनबर्ग ? टेलर स्विफ्ट ? तपाईंका गणित शिक्षक ?
सबैले आ–आफ्नो रोजाइका उम्मेदवार भेट्टाउनेछन् राजनीतिक क्षेत्र र त्यसबाहिर पनि । तर, सबैजना के कुरामा सहमत हुनेछन् भने विश्वले आफू जीवित रहने र खलनायकहरूको युग समाप्त गर्ने तरिका फेला पार्नैपर्छ । इतिहासका महान् ‘एन्टी–हिरोज’जस्तै यी तीनैजना खलनायक पनि बितेर जानेछन् ।
(टिस्डेल ‘अब्जर्भर’को विदेश मामिला टिप्पणीकार हुन् । ‘द गार्जियन’बाट नारायण शिवाकोटीको अनुवाद ।)