• वि.सं २०८१ असोज २१ सोमबार
  • Monday, 07 October, 2024
निश्चल बस्नेत
२०८१ भदौ २२ शनिबार ०७:४३:००
फिल्म

‘लुट’ बनाउँदा...

२०८१ भदौ २२ शनिबार ०७:४३:००
निश्चल बस्नेत


लुट सिनेमा सफल हुनुको पछाडि सबैको मिहिनेत छ । त्यो वेला हामीसँग ‘लुट’बाहेक अरू अप्सन नै थिएन । 

 

त्यसवेला फिल्म क्षेत्रमा एकदमै नयाँ थिएँ । फिल्म क्षेत्रका कसैलाई पनि चिन्दिन थिएँ । फिल्म कलेज अस्कर कलेज) पढिसकेपछि एक–दुईवटा फिल्ममा असिस्ट गरेको थिएँ । फिल्ममा काम गर्ने र सिक्ने प्रक्रिया भर्खर सुरु भएको थियो । तर, मसँग फिल्म (लुट)को कथा थियो । मैले ‘लुट’लाई सर्ट फिल्म बनाउन खोजेको थिएँ । तर, मीन भामले फिचर फिल्म बनाउनुपर्छ भने । ‘लुट’लाई फिचर फिल्म बनाउनुपर्छ भन्ने पहिलो मान्छे मीन भाम हुन् । उनले मलाई एउटा आँट दिए । त्यसपछि फिचर फिल्म बनाउन जुर्मुराएको हो । मलाई फिल्म बनाउने हुटहुटी मात्रै थियो । कुनै पनि कलाकारसँग मेरो पहुँच थिएन ।

 

म कर्मा शाक्यलाई मात्रै चिन्थेँ । कर्मा कलेजमा आइरहने भएर पहिलै चिनजान थियो । हामीले ‘लुट’का लागि कर्मालाई प्रस्ताव गर्‍यौँ । उनले ‘लुट’मा खेल्छु भन्दा म एकदम खुसी भएँ । तर, फिल्मका लागि धेरै कलाकार बाँकी नै थिए । फिल्मका लागि दयाहाङ राई र सौगात मल्ल भयो भने खत्रा हुन्छ भन्ने दिमागमा थियो । तर, दया दाइसम्म पुग्ने कतैबाट पनि पहुँच थिएन । कसरी भेट्ने ? भेटेर के भन्ने पनि थाहा थिएन । मसँग पैसा पनि पर्याप्त थिएन । मलाई फिल्म बनाउने जोश मात्रै थियो । मीन भामले दयाहाङ दाइसँग भेट गराइदिए । भेटमा दया दाइले मलाई भनेको एउटा कुरा अझै याद छ, ‘त्यो काम गरेबापत पैसाचाहिँ लिनुपर्छ । तिम्रो गोजीबाट एक रुपैयाँ भए पनि लिन्छु । तर, बाँकी पैसाचाहिँ पछि नदिए पनि ठिकै छ ।’ त्यो कुराले मलगायत टिमलाई एउटा ऊर्जा दियो । थप ऊर्जा जाग्यो । त्यसवेला दया दाइलाई भेटाएर मीन भामले मलाई ठूलो गुन लगाए ।

 

फिल्मका लागि दयाहाङ राई र सौगात मल्ल भयो भने खत्रा हुन्छ भन्ने दिमागमा थियो । तर, दया दाइसम्म पुग्ने कतैबाट पनि पहुँच थिएन । कसरी भेट्ने ? भेटेर के भन्ने पनि थाहा थिएन । मसँग पैसा पनि पर्याप्त थिएन । फिल्म बनाउने जोश मात्रै थियो ।

 

त्यसपछि त्यही दौरानमा सौगात मल्ल दाइसँग भेट भयो । सौगात दाइलाई भेटेर स्क्रिप्ट दिएँ । स्क्रिप्टको केही दिनमै प्रतिक्रिया आउला भन्ने आशा गरेको थिएँ । तर, सौगात दाइले तीन–चार दिनसम्म स्क्रिप्टको प्रतिक्रिया दिनुभएन । उहाँलाई मैले बनाएको सर्ट फिल्म पनि देखाएको थिएँ । तर, उहाँले तिम्रो सर्ट फिल्म मन परेन भन्नुभएको थियो । स्क्रिप्टको प्रतिक्रिया नआउँदा मन परेन भन्ने हो कि भन्ने डर थियो । तर, केही दिनपछि उहाँले मसँग पनि केही आइडिया छ काम गर्नुपर्छ भन्नुभयो । त्यसपछि म ढुक्क भएँ ।

 

हामी फिल्म बनाउन जुट्यौँ । हामी सबैजना वर्कसपमा बस्यौँ । ५–६ महिनासम्म वर्कसपमै बसेका थियौँ । वर्कसपमा बस्दा हरेक दिन सबैबाट नयाँ–नयाँ आइडिया आउँथ्यो । मैले दया दाइ, सौगात दाइबाट धेरै कुरा सिक्ने मौका पाएँ । ‘लुट’ मैले लेखेर मात्रै बनेको फिल्म होइन । त्यसमा सिंगो टिमको आइडिया छ । यो फिल्म सफल हुनुको पछाडि सबैको मिहिनेत छ । त्यो वेला हामीसँग ‘लुट’बाहेक अरू अप्सन नै थिएन । सबैको ध्यान एउटै थियो, फिल्म राम्रो बनाउने । फिल्ममा सकेजति राम्रो गर्न खोज्यौँ । तर, फिल्ममा नराम्रा पक्ष पनि छन् । हामीसँग बजेट सीमित थियो । सीमित स्रोत–साधनमा हामीले काम गरेका थियौँ ।

 

सन् २०१३ तिरको कुरा हो । ‘लुट’ फ्रान्सको पेरिसमा आयोजना भएको एउटा फिल्म फेस्टिभलमा छनोट भयो । त्यो फेस्टिभलमा भारतको ‘बिहे पास’ भन्ने फिल्म पनि थियो । फेस्टिभलमा पछि ‘बिहे पास’ले अवार्ड जित्यो । 

 

सन् २०१३ तिरको कुरा हो । लुट’ फ्रान्सको पेरिसमा आयोजना भएको एउटा फिल्म फेस्टिभलमा छनोट भयो । त्यो फेस्टिभलमा भारतको ‘बिहे पास’ भन्ने फिल्म पनि थियो । फेस्टिभलमा पछि ‘बिहे पास’ले अवार्ड जित्यो ।

 

मलाई फेस्टिभलमा ‘लुट’ छनोट हुँदा अचम्म लाग्यो । मैले ‘लुट’ कर्मशील हिसाबले बनाएको फिल्म हो । फेस्टिभलमा किन छनोट गरेको भनेर आयोजकलाई सोधेको थिएँ । आयोजकले भनेको थियो, ‘यो फिल्म साउथ एसियामा प्रभाव पार्न सफल फिल्म लाग्यो । यसले नेपाली फिल्म मेकिङको प्रोसेस नै फरक ढंगले प्रस्तुत गरेको हाम्रो रिसर्चले देखायो । त्यसैले हामीले फेस्टिभलमा देखाउन खोजेको हो ।’ मलाई फेस्टिभलले भिसा प्रक्रिया र सम्पूर्ण खर्च व्यवस्थापन गरेको थियो । फेस्टिभलको निर्देशक आफैँले महँगो गाडीमा होटेलसम्म पुर्‍याउँथ्यो । म अचम्ममा परेँ । फिल्म मेकरलाई दिने मान–सम्मान नै अर्कै थियो । फ्रान्सले आर्ट एन्ट कल्चरलाई प्राथमिकतामा राख्दोरहेछ ।

 

फिल्म मेकिङमा आउँदै गरेको नयाँ पुस्तासँग ठुलो आशावादी छु । नयाँ पुस्ता टेक्निकल्ली धेरै कुरा जानेर आइरहेका छन् । तर, उनीहरूले स्टोरी टेलिङमा ध्यान दिनुपर्छ । हामीले संसारभरिको फिल्म हेरिरहेका छौँ । अहिले संसारका फिल्म मेकरले स्टोरी टेलिङको फम्र्याट चेन्ज गरिरहेका छन् । त्यसैले नयाँ पुस्ताले स्टोरी टेलिङमा फरक तरिकाले सोच्नुपर्छ होला । नयाँ पुस्ताको काम हेरेर हामीजस्ता मेकरलाई पनि झट्का लागोस् भन्ने लाग्छ ।

 

अहिले हामीले सामान्य स्टोरी भनिरहेका छौँ । त्यसमा मलाई चित्त बुझ्दैन । अहिले बनिरहेको फिल्मले मेरो आँत भरिँदैन । मैले बनाएको फिल्मले होस् वा अरूले बनाएको फिल्मले आँत भरिएको छैन । आफूले बनाएको फिल्मले पनि सन्तुष्ट दिएको छैन । फिल्म बनाइरहँदा मलाई केही कुरा खड्किरहन्छ । फिल्म बनाइसकेपछि केही न केही असन्तुष्ट हुन्छ ।

 

अधिकांश निर्देशकको पहिलो फिल्म अभावमा बन्छ । अभावमा बन्दा त्यो फिल्मभन्दा अरू केही ठूलो लाग्दैन । सबैभन्दा ठूलो नै फिल्मलाई मानिएको हुन्छ । त्यो फिल्म सफल होस् नहोस् । त्यसपछि एक किसिमको बुझाइ आउँदोरहेछ । त्योभन्दा अघि फिल्म कसरी हेरिन्थ्यो ? एउटा फिल्म बनाएपछि आफूलाई फिल्म मेकर भनिहाल्न मन लाग्दोरहेछ । म त फिल्म बनाउने मान्छे हो नि भन्ने मनस्थितिको विकास हुनेरहेछ । त्यसपछि बजारको अवस्था पनि हेरिँदोरहेछ । मेकरको पहिलो प्राथमिकता दामी फिल्म बनाउनुपर्छ भन्ने हुनुपर्ने हो । तर, आर्थिक कुराले हाम्रो माइन्ड डाइभर्ट गरिदिँदोरहेछ । 

 

अबको पाँच–सात वर्षपछि नयाँ पुस्ताले फिल्म बनाउन थाल्छन् । त्यसपछि हाम्रो पुस्ता बेरोजगार हुन्छ । हाम्रो स्टोरी टेलिङ मान्छेलाई फिक्का लाग्छ । त्यसपछि हामीलाई कसैले गन्दैन । उनीहरूसँग हामीले सिक्न, बुझ्नतिर पनि लाग्नुपर्छ होला । फिल्ममा डेडिकेसन, प्यासन र इमानदार भएर लाग्ने टिम हुनुपर्छ । 

 

प्रस्तुति : पवन बराइली