• वि.सं २०८१ असोज २१ सोमबार
  • Monday, 07 October, 2024
पवन बराइली
२०८१ भदौ २२ शनिबार ०८:४२:००
रिपाेर्ट

रंगमञ्चबाट सिनेमामा गएकाले रंगमञ्च बिर्सिए

७ प्रश्न : रंगकर्मी आशान्त शर्मालाई 

२०८१ भदौ २२ शनिबार ०८:४२:००
पवन बराइली

 

 

आशान्त शर्मा अब्बल रंगकर्मीमा गनिन्छन् । उनी रंगमञ्चमा तीन दशकअघिदेखि सक्रिय छन् । ‘मलामी’, ‘टलक जंग भर्सेस टुल्के’, ‘तीन एकान्त’, ‘इन द रेड एन्ड ब्राउन्ड वाटर’, ‘वेटिङ फर गोदो’जस्ता नाटकमार्फत उनले दर्शकमाझ राम्रो छाप छाडिसकेका छन् । आधा दर्जनभन्दा बढी नाटक निर्देशन गरिसकेका आशान्तले धेरै सिनेमामा अभिनयसमेत गरिसकेका छन् । रंगमञ्चको अनुभवबारे उनीसँग पवन बराइलीले गरेको कुराकानी :

 

१. प्रायः आफैँले लेखेको नाटक निर्देशन गर्नुहुन्छ । अरूले लेखेको नाटक निर्देशन गर्दाको अनुभव कस्तो छ ? 
म झन्डै २० महिनापछि नाटक ‘काँचो धागो’ निर्देशनमा फर्किएँ । यो बिचको समयमा मानसिक रूपमा आफैँ नाटक लेख्ने अवस्था थिइनँ । अरूले लेखेको नाटकमा पनि काम नखोजेको होइन । तर, गतिलो नाटक पाइनँ । अहिलेको समयको कथाको नाटक भेटिएन । तर, म आफैँ समयको कथा भन्न रुचाउँछु । समयको कथा र मानवीय संवेदनाको कथा भएन भने नाटक गर्दिनँ । मेरो सबैजसो नाटक वर्तमान समयका हुन्छन् । त्यस्तै कथामा नाटक गर्न रुचाउँछु । आफूले लेखेको नाटक निर्देशन गर्दा सिर्जनात्मक घेरा नाघ्न गाह्रो हुन्छ । आफूलाई सिर्जनात्मक घेराले रोक्छ । तर, अरूले लेखेकोमा आफ्नो सिर्जनात्मकता थप्न पाइन्छ ।

 

२. नाटक ‘काँचो धागो’मार्फत खास के भन्न खोज्नुभएको हो ?
यो नाटक अहिलेको समयको कथा हो । नाटकले अहिलेको समयको मानवीय सम्बन्धको कथा भन्छ । परिवार र साथीभाइबिचको सम्बन्ध र कमजोरी देखाउँछ । यसमा सबै मानवीय सम्बन्धको कथा समेटिएको छ । काँचो धागोलाई बाटेर जति बाक्लो बनाइन्छ, धागो जति मोटो भयो, त्यति नै बोलियो हुन्छ । जब काँचो धागो पातलिँदै जान्छ, त्यति नै कमजोर हुँदै जान्छ । त्यस्तो धागोलाई सजिलै चुडाउँन सकिन्छ । तर, मानवीय सम्बन्ध बाक्लियो र जोडियो भने बलियो हुन्छ । नाटकले मानवीय सम्बन्धहरू जोडिनुपर्छ भन्न खोजेको हो ।

 

३. नेपाली नाटकका कथा कमजोर हुन्छन् भनेको सुनिन्छ नि !
सबैजनाले समाजको कथा भन्न खोजिरहेका हुन्छन् । तर, नेपाली नाटकहरूको कथा कमजोर हुन्छन् भनेको सुनिरहेका हुन्छौँ । केही नयाँ पुस्ताका नाट्यकर्मी उत्साहका साथ नाटकको कथा लेख्नुहुन्छ । तर, पुगिरहेको छैन । अहिलेको समयको कथा र मान्छेको आवश्यकता नाटकमा आउनुपर्छ । त्यसो भयो भने दर्शकलाई कनेक्ट गर्न सकिन्छ । कतिपय नाटकहरू हतारमा ल्याउँन खोज्दा कमजोर भएका होलान् । तर, नाटकमा विभिन्न समुदायका कथा आइरहेका छन् । यो आफैँमा राम्रो पक्ष हो । अहिले शिल्पी थिएटरमा ‘सोरठी‘ मञ्चन भइरहेको छ । केही समयअघि मात्रै ‘बाखाम्मा’, ‘मासिन्या’जस्ता नाटक मञ्चन भए । नाटकमा विभिन्न समुदायका फरक–फरक कथा आइरहेका छन् । तर, हामी रंगकर्मी जति समाजको भित्री तहसम्म पुग्नुपर्ने हो, पुग्न सकेका छैनौँ जस्तो लाग्छ । अहिले हामी रंगकर्मी अल्छी भएका छौँ । काठमाडौंको क्याफेमा बसेर थाहा पाएर जसरी रंगकर्म गरिरहेका छौँ । समाजभित्र अझै छिर्न सकेका छैनौँ । रंगमञ्चमा सुन्दर सिर्जना गर्न समाज र मान्छेको मनभित्र छिर्न सक्नुपर्छ । प्रविधिले उपलब्ध गराएको स्रोतहरूको भरमा नाटक लेख्न थाल्यौँ । यसले हामीलाई बर्बाद बनाउन सक्छ । हामीले काठमाडौंभित्रका कथा पनि ल्याउन सकेका छैनौँ । 

 

नेपालमा नाटकको राम्रो कथा लेख्ने मान्छेको अभाव छ । यो अभाव हुनुको कारण हामी रंगकर्मी आफैँ पनि हो । राम्रो नाटक लेख्नेलाई सम्मान गर्न सकेनौँ । फेरि नाटक लेखन आफैँमा गाह्रो विधा पनि हो । चलचित्रको कथा लेख्न जति सजिलो छ, त्यति नाटक लेख्न सजिलो छैन । बरु उपन्यास लेख्न सजिलो होला । तर, नाटक लेख्न साँच्चै गाह्रो हुन्छ । कतिपय साथीले नाटक लेखेर ल्याउँछन् । तर, टेलिसिरियलकोे स्क्रिप्टजस्तो लाग्छ । त्यस्तो कथामा नाटक गर्न मन लाग्दैन ।

 

४. रंगमञ्चबाट आएका कलाकार सिनेमामा जमिरहेका छन् । रंगमञ्चचाहिँ संघर्षमै देखिन्छ । किन होला ?
रंगमञ्च आफैँमा संघर्ष गर्ने थलो हो । यहाँ धेरै संघर्ष गर्नुपर्छ । रंगमञ्चमा अभाव हुन्छ, तर सिर्जना पनि राम्रो हुन्छ । यसमा अभाव भए पनि सुन्दरता छ । अभावले नयाँ–नयाँ सिर्जना जन्माउँछ । रंगमञ्चमा अभाव भएन भने सुन्दरता हुँदैन । सबै सहज भयो भने सुन्दरता हुँदैन । रंगमञ्चमा अलि–अलि अभाव हुनु भनेको सिर्जना निखारिनुु पनि हो । तर, रंगमञ्चबाट सिनेमामा गएकाहरू चर्चित भए । रंगमञ्चलाई बिर्सिए । सिनेमामा गए पनि रंगमञ्चलाई साथ दिनुपर्थ्यो। तर, उनीहरूले रंगमञ्चमा फर्किन चाहेको देखिँदैन । अहिले पिकमा पुगेका छन्, त्यसैले तल ओर्लिन मन लागेन होला । हिजो आफूले टेकेको धरातल टेक्दै झर्नुपर्थ्यो। नाटक र सिनेमा समान विधा हुन् भन्ने कुरा बिर्सिरहेका छन् ।

 

५. तपाईंसँग रंगमञ्च र सिनेमा दुवैको अनुभव छ । कुनमा सजिलो लाग्यो ?
नाटक र सिनेमा फरक विधा लाग्दैन । दुई विधाको माध्यम मात्रै फरक हो । सिनेमामा क्यामेराको माध्यमबाट स्क्रिनमा देखाइन्छ । नाटकलाई स्टेजमा प्रस्तुत गरिन्छ । नाटकमा संवादमार्फत भनिन्छ । सिनेमाको पहुँच धेरै हुन्छ । सिनेमामा भन्दा नाटकमा धेरै रचनात्मक हुन पाइन्छ । सीमित स्रोत साधनमा धेरैभन्दा धेरै सिर्जना गर्नुपर्ने हुन्छ । सिनेमामा काम गर्न धेरै सजिलो हुन्छ ।

 

६. रंगमञ्चमा नयाँ पुस्ताको आगमनलाई कसरी हेर्नुहुन्छ ? 
नयाँ पुस्ता ऊर्जासहित आइरहेका छन् । उनीहरूमा समयचेत, समाजचेत पनि देखिन्छ । उनीहरू प्रविधिको भरपूर ज्ञान बोकेर आइरहेका छन् । तर, कलाचेत कम देखिन्छ । कलाचेतमा अझै माझिनुपर्ने देखिन्छ । प्रविधिले सहयोग पुर्‍याएको छ । तर, प्रविधिसँग मात्रै भर पर्नुहुँदैन ।

 

७. रंगमञ्चमा समाजको प्रतिबिम्ब कस्तो देखिन्छ ?
रंगमञ्चले समाजलाई नियालिदिए राम्रो ऐना देखाउन सक्थ्यो । अहिले यस्तो भइरहेको छैन । रंगमञ्च समाजसँग जोडिनुपर्ने र समाज रंगमञ्चसँग जोडिनुपर्थ्यो। अहिले अभाव देखिन्छ । समाजमा नेतृत्व गर्नेहरू रंगमञ्चमा आएर नाटक हेर्नुपर्छ । रंगमञ्चमा लागेका मान्छेले पनि समाज हेर्नुपर्छ । समाजमा पुगेर कथा ल्याउनुपथ्र्याे, त्यसमा हामी चुकेका छौँ । अग्रज रंगकर्मीले सिर्जनात्मक चेत हस्तान्तरण गर्नुपर्छ । नयाँ आएका रंगकर्मीले नयाँ समयले के ल्याउँदै छ, के भन्दै छ भन्ने कुरा बुझेर अवगत गराउनुपर्छ ।