छोराछोरीले विदेशबाट पठाएको पैसाले गाउँमा बुबाआमा क्षणिक खुसी देखिन्छन्, गरिबी पनि कम भयो होला, तर वास्तविक खुसी हराएको छ
मान्छे विभिन्न प्रयोजनले घुम्छन् । आफ्नो प्रयोजनका लागि घुम्ने मान्छेहरू धेरै भेटिन्छन् । तर, मचाहिँ जीवनको क्षितिज फराकिलो बनाउन घुम्छु । घुम्दा जीवनको दृष्टिकोण फराकिलो हुन्छ । गाउँघरमा पुग्दा फरक अनुभूति गर्न पाइन्छ । म अहिलेसम्म नेपालका हिमाल, पहाड र मधेशका विभिन्न ठाउँ पुगेको छु । त्यहाँका हरियाली र पाखा पखेरासँग नजिक हुन पाएको छ । समाजको संस्कृति, इतिहास, मानवीय भावना बुझ्न पाएको छु । उनीहरूको भावनासँग नजिक हुन पाइन्छ । यी सबै कुराले मलाई घुम्न पल्कायो ।
मैले सुरुसुरुमा रहरले भिडियो बनाएर युट्युबमा अपलोड गरेको थिएँ । घुमफिर गर्दाको भिडियो पनि बनाउँन त भनेर घुमन्ते युटुयुब च्यानलमा भिडियो राखेँ । त्यसपछि मान्छेहरूका राम्रा प्रतिक्रिया आए । बिस्तारै फरक–फरक ठाउँका भिडियो बनाउँदै युट्युबमा राख्न थालेँ । बिस्तारै घुम्नमै रमाउन थालेँ । घुम्न थप सहज हुन्छ भन्ने हेतुले घुमेको भिडियो र फोटाहरू सामाजिक सञ्जालमा राख्न थालेँ । पैसा कमाउने उद्देश्यले घुमेको होइन ।
म मधेशका अधिकांश गाउँ पुगेको छु । त्यसैगरी कर्णालीका हुम्ला, जुम्ला, मुगु, डोल्पालगायत अधिकांश ठाउँहरू पुगेको छु । गण्डकी प्रदेशका धेरै गाउँ–ठाउँ घुमेको छु । पूर्वी पहाडका सबै ठाउँ पुगेको छु ।
सहरबाट निस्किएर गाउँ पुग्दा बेग्लै आनन्द आउँछ । गाउँलेहरूसँग भेट्दा र गफगाफ गर्न पाउँदा झन् रमाइलो लाग्छ । गाउँघर पुग्दा सुख मात्रै होइन, दु:ख पनि अनुभूत गर्न पाइन्छ । सुख र दु:खको मिश्रणले यात्रालाई रमाइलो बनाउनेरहेछ । सजिलै पुगेका गन्तव्य अल्छी र पट्यारलाग्दो हुँदोरहेछ । यात्राको क्रममा खोला, झरना र पधेँरा भेटिन्छन् । त्यस्ता प्राकृतिक दृश्यले थप आकर्षित गर्छ । अर्काे यात्राको क्रममा त्यहाँको समाज, संस्कृृति र मानवीय सम्बन्धले लोभ्याउँछ । यस्ता अनुभवको समिश्रण नै यात्रा रहेछ ।
मलाई गाउँका मान्छेको आत्मीयता र सत्कारले आकर्षित गर्छ । त्यस्ता ठाउँहरू फेरिफेरि जान मन लाग्छ । त्यसैले यात्रामा मानवीय सम्बन्ध विशेष हुन्छ । नेपालमा ठाउँअनुसार त्यहाँका मान्छेका भोगाइ फरक–फरक छन् । हिमाल, पहाड र मधेशका मान्छेका भोगाइ फरक छन् । हिमाल क्षेत्रका (शेर्पा) मानिसको जीवनशैली साधारण खालको लाग्छ । उनीहरू आफ्नो जीवनशैलीसँग सन्तुष्ट देखिन्छन् । उनीहरू ठूलो स्वरले कराएको पनि सुनिँदैन । उनीहरूको आफ्नै संसार छ । उनीहरू शान्त स्वभावका हुन्छन् । तर, मधेशका मान्छेका जीवनशैली बेग्लै छ । उनीहरूको पनि आफ्नै संसार हुन्छ । पहाडका मान्छेहरूको स्वभाव पनि फरक पाइन्छ । यात्राले मानवीय भावना र स्वभाव पनि बुझ्न पाइने रहेछ ।
बदलिँदो गाउँ
एउटै ठाउँमा पटकपटक जाँदा एकदम बदलिरहेको प्रत्यक्ष देख्न पाइन्छ । कुनै वेलाका चौतारी–देउराली थियो, तर पछि पुग्दा हुँदैन । गाउँलेहरूका चौरीखर्क र गोठहरू देखिँदैनन् । प्राकृतिक सुन्दरताले भरिपूर्ण डाँडापाखाहरूमा सडक पुगेको हुन्छ । अग्ला डाँडाहरूमा ‘भ्यु टावर’ ठडिएको देखिन्छ । यस्तो द्रुत परिवर्तन आफ्नै आँखाले देखिन्छ ।
गाउँका लेक र खर्क कम हुँदै गएका छन् । डाँडाको टुप्पोमा भ्यु टावर, होटेल, धर्मशाला छन् । गाउँका मान्छेलाई टुरिजमबारे थाहा छैन, त्यहाँ घुम्ने मान्छे पनि गएका छैनन् । पाहुनालाई कसरी सत्कार गर्ने, के खुवाउनेबारे गाउँलेलाई आधारभूत तालिम छैन । करोडौँ खर्च गरेर भ्यु टावर, होटेल बनाइन्छ । तर, त्यसले खासै फाइदा गरेको देखिँदैन ।
जंगल र खर्कसँग गाउँलेहरूका बेग्लै सम्बन्ध छ । प्रकृतिसँग उनीहरूको आस्था जोडिएको छ । तर, उनीहरूको खर्कहरू पनि मासिँदै छन् । विकासका आयोजनाले ती ठाउँका रूप हराउँदै छ । पहाडमा मात्रै होइन, तराईका गाउँहरू पनि मासिँदै छन् । तराईमा धर्मग्रन्थमा समेटिका तालतलैयामा सिमेन्टेड घरहरू बन्न थालेका छन् । गाउँका चौतारी, देउराली, ढुंगेधारा, पानीघट्ट, धनसारहरू देखिँदैनन् । गाउँका पुराना घरहरू हराउँदै छन् । गाउँ र सहरको लडाइँले गाउँ कुरूप हुँदै गएको छ । अहिले गाउँका पानीघट्ट होइन, डिजेलबाट चल्ने मिल भेटिन्छन् ।
हिमाल, पहाड र मधेशका मान्छेका भोगाइ फरक छन् । हिमाल क्षेत्रका मानिसहरूको जीवनशैली साधारण खालको लाग्छ । उनीहरू आफ्नो जीवनशैलीसँग सन्तुष्ट देखिन्छन् । उनीहरू ठूलो स्वरले कराएको पनि सुनिँदैन । उनीहरूको आफ्नै संसार छ, शान्त स्वभावका हुन्छन् । तर, पहाड र मधेशका मान्छेको जीवनशैली बेग्लै छ।
गाउँमा स्थानीय सरकार छ । गाउँमा विकास गर्ने अभियन्ता सहरबाट पुगेका हुँदारहेछन् । चुनाव जितेका प्रतिनिधिसँग पनि सहरको आइडिया हुँदोरहेछ । उनीहरूमा दिगो विकास र पर्यावरण संरक्षण गर्ने सोच देखिँदैन । गाउँले पनि सहरिया आइडियासँग मक्ख हुनेरहेछन् ।
अहिले गाउँमा भइरहेको विकासले प्रकृति मासिँदै गएको छ । मान्छेसँग भएको नेपालीपन हट्दै गएको छ । गाउँमा बटुवालाई गर्ने संस्कार र सहयोगको भावना हराउँदै गएको छ । यो गाउँमा अन्धाधुन्दा गरिएको विकासको प्रभाव पनि हो । हाम्रा पुर्खाहरूले प्रकृति जोगाएर राखेका थिए । उनीहरूले गर्दा चौतारी र देउराली बाँचेका थिए । प्रकृति, संस्कृति हाम्रो सम्पत्ति थियो । तर, गाउँमा अहिले चौतारी भेटिँदैनन् । दीर्घकालीन र वातावरणमैत्री विकास हुनुपर्ने हो । तर, त्यस्तो भिजन भएका मान्छे भेटिँदैनन् । मान्छेहरूमा पर्यावरण जोगाउने चेत छैन । गाउँ सुहाउँदो विकास नहुँदा सुन्दर डाँडापाखाहरू कुरूप हुँदै गएको देखिन्छ । पर्याप्त अनुसन्धानविना विकास गरेको देखिन्छ । जसले गर्दा प्रकृति र पर्यावरण दोहन हुँदै गइरहेको छ ।
नेपालमा घुम्नका लागि ‘भर्जिन’ डाँडापाखाहरू धेरै छन् । हामी (घुमन्ते)ले एउटा जिल्ला पुग्दा त्यहाँ कम्तीमा चारवटा ठाउँ लिएर आउँछौँ । प्राकृतिक सुन्दरताले भरिएका नयाँनयाँ ठाउँ भेटिन्छन् । नेपालमा चलेका ठाउँ मात्रै चर्चामा छन् । पर्यटकीय सम्भावना बोकेका ठाउँ ओझेलमा छन् । कर्णालीमा धेरै ठाउँहरू छन्, ती ठाउँहरू पर्यटकीय सुन्दरताले भरिपूर्ण छन् । बडिमालिकालाई अझै बाहिर ल्याउन सकेका छैनौँ । सुदूरपश्चिमको दार्चुलामा धेरै ठाउँहरू ओझेलमा छन् । पूर्वका ताप्लेजुङ, संखुवासभा, भोजपुरलगायत धेरै ठाउँ अझै भर्जिन छन् । कास्की जिल्लाका धेरै ठाउँ ओझेलमा छन् । पर्यटन विकास लागि दीर्घकालीन योजना बनाएर लाग्नुपर्छजस्तो लाग्छ । सामाजिक सञ्जालले गर्दा एकाध मान्छे पुगेपछि पर्यटनको विकास गर्ने चलन बढेको छ । त्यहाँ हचुवामा संरचना बनाउन थालिन्छ । स्थानीय सरकार, प्रदेश सरकारले बजेट छुट्याउँछ । हतारमा विकास गर्नुहुँदैनजस्तो लाग्छ ।
सडक र गाउँको सम्बन्ध
अहिले गाउँमा सडकलाई विकासको ‘न्यारेटिभ’ बनाइएको छ । विकासका लागि बाटो अपरिहार्य छ । तर, गाउँमा सडक गलत ढंगले खनिएको देखिन्छ । दीर्घकालीन रूपमा सडक पुर्याएको देखिँदैन । सडक एउटा गाउँबाट अर्काे गाउँमा पुर्याउँनुपर्छ भन्ने बुझाइ छ । गाउँलाई सुहाउँदो विकास हुनुपर्थ्यो होला । गाउँका खेतबारी कृषिसँग पनि जोडिएका छन् । कृषि गाउँको जीविकोपार्जनसँग जोडिएको छ । तर, खेतीयोग्य जमिन सडकले धेरै ठाउँ भत्काएको छ ।
अहिले गाउँहरू सुनसान देखिन्छन् । बाटोमा पर्ने गाउँहरूको आयस्रोत बन्द भएको छ । त्यहाँको मान्छेको आम्दानी गुमेको छ । पहिले अधिकांश गाउँमा टिहाउस हुन्थे । अहिले टिहाउसमा आम्दानी छैन । पर्यटकहरू पहिले बाटोको गाउँमा वास बस्दै गन्तव्य पुग्थे । अहिले सडकको पहुँचले एक–दुई दिनमै गन्तव्यमा पुग्छन् । मनाङ र पूर्वको गुफापोखरीलाई उदाहरणको रूपमा लिन सकिन्छ । त्यहाँ सडक पुगेर स्थानीयलाई केही फाइदा भएको देखिँदैन । यो ठाउँमा पहिले २८–३१ दिनसम्म ट्रेकिङ गरिन्थ्यो । यहाँ अहिले मोटरबाटोले गर्दा पाँच दिनमा यात्रा सकिन्छ ।
गाउँका आम्दानीसँगै सांस्कृतिक पक्ष ओझेल पर्न थालेका छन् । सडकले गाउँका मान्छेहरूको पेसा खोसियो, त्यसले उनीहरूको गाँस खोसिन थालेको छ । गाउँमा सकड बाटो, स्वास्थ्य, शिक्षा, बिजुलीबत्ती, सूचनाको सुविधा हुनुपर्छ । साथै यसले गाउँको गरिबी हट्नुपर्छ । अचेल गाउँलाई सहर बनाउने होडले एकै ठाउँमा झुरुप्प बस्ती बसाल्ने र सिमेन्टेड भवन बनाइन्छ । यसले गाउँको मुहार मेटाउनेरहेछ ।
विकासले मान्छेको जीवनशैलीमा फाइदा पुग्नुपर्ने हो । सहर हुँदै गएको गाउँका मान्छेमा खुसी भेटिँदैन । अहिलेको समयको प्रभावसँगै त्यहाँ मान्छेका महत्वाकांक्षा बढ्न थालेको देखिन्छ । त्यसले गाउँका मान्छेमा चिन्ता थपिदिएको छ । अहिले गाउँमा गरिबी कम भएको देखिन्छ । तर, मानिसहरूको दु:ख बढिरहेको छ । सडक पुगेपछि गाउँमा सहरको कल्पना हुँदोरहेछ । बिस्तारै गाउँका मान्छेहरूमा महत्वकांक्षा बढ्दोरहेछ । त्यसले आवश्यकता बढाउँनेरहेछ । जसले गाउँका युवाहरू सहर पस्ने र बिदेसिएको पाइन्छ ।
यात्रा गर्दा अधिकांश गाउँहरू वृद्धवृद्धा दु:ख खेपिरहेको भेटिन्छन् । उनीहरू छोराछोरी साथमा हुँदैनन् । एक्लै जीवन काटिरहेको बुढापाका र बालबच्चा भएका गाउँ धेरै छन् । कतिपय गाउँमा मलामी जाने युवा भेटिँदैनन् । हामीले हरेकपटक गाउँ जाँदा मान्छे क्रमशः घटिरहेको देखिन्छ । टुरिजम भएको ठाउँमा केही मान्छेहरू छन् । कतिपय सडक पहुँच नभएका गाउँमा मान्छे घटेका छैनन् । तर, पहुँच पुगेका गाउँ रित्तिन थालेका छन् । छोराछोरीले विदेशबाट पठाएको पैसाले गाउँमा बुबाआमा क्षणिक खुसी भए होलान्, गरिबी पनि कम भयो होला, तर उनीहरू खुसी छैनन् ।