• वि.सं २०८१ असोज २१ सोमबार
  • Monday, 07 October, 2024
मीनराज बसन्त
२०८१ भदौ २२ शनिबार १०:०५:००
सम्झना

बौद्धिकताले लेख्ने  राइटर हो, हृदयले लेख्ने अथर हो

२०८१ भदौ २२ शनिबार १०:०५:००
मीनराज बसन्त

 

सन् १९५२ मा भारतको मध्यप्रदेशस्थित सीतापुरमा जन्मिएका उदय प्रकाश भुइँमान्छेका कथा खिप्न सिपालु मानिन्छन् । उनका ‘पिली छतरी वाली लडकी’, ‘मोहनदास’, ‘तिरिछ’, ‘अबुतर–कबुतर’लगायत दर्जनभन्दा बढी कथा, कवितासंग्रह प्रकाशित छन् । ‘मोहनदास’का लागि सन् २०१० को प्रतिष्ठित ‘साहित्य अकादमी पुरस्कार’बाट विभूषित प्रकाशले ‘भारतभूषण अग्रवाल पुरस्कार’, रुसको प्रतिष्ठित अन्तर्राष्ट्रिय पुस्किन सम्मान’, ‘सार्क राइटर्स अवार्ड’लगायत दर्जनौँ पुरस्कार र सम्मान पाइसकेका छन् । उदय प्रकाशसँग दक्षिण एसियाली साहित्य लेखनको सेरोफेरोमा रही मीनराज बसन्तले गरेको संवाद:

 

तपाईं एकजना प्रगतिशील लेखक हुनुहुन्छ । यता नेपालमा पनि प्रगतिशील साहित्य लेख्छौँ भनेर दाबी गर्नेहरू थुप्रै छन् । यहाँको प्रगतिशील लेखनबारे तपाईं कत्तिको जानकार हुनुहुन्छ ? के उनीहरूले दाबी गरेजस्तै नेपालमा प्रगतिशील साहित्य देख्नुहुन्छ ?

 

नेपालका केही पुराना लेखकलाई चिन्छु, तर निकै कम मात्र । म नेपाली भाषा पढ्न नजान्ने भएकाले पनि प्रशस्त किताब पढ्न पाएको छैन । हिन्दी या अंग्रेजीमा अनुवाद भएको थाहा पाए पढ्नेछु । अहिले म आइलोसेनमा बस्ने भएकाले हो या अन्य कारण, पहिलेकोजस्तो निकटता नभएको महसुस हुन्छ । बाँकी नेपालमा जे छ, यहाँ (भारत) मा पनि त्यही छ ।

 

तपाईंले भन्नुभएको प्रगतिशील, जनवादी या जनसंस्कृति मञ्च यी सबै राजनीतिक संगठन (पोलिटिकल फर्मेसन्स) हुन् । म जोड दिएर भन्न चाहन्छु, अहिले जुन समयमा हामी छौँ, त्यो ‘पोस्ट पोलिटिकल एज’ हो । ग्राम्स्कीले भनेजस्तो नागरिक समाज (सिभिल सोसाइटी) लगभग गलत छ । जो पावरका लागि संघर्ष गर्छन्, त्यसमा जनता–नागरिक त्यसबाट अलग हुन्छन् । त्यसलाई हामी सबैजना संलग्न हुने ‘महात्मा गान्धी पार्टिसिपेट्री डेमोक्रेसी’ भन्थ्यौँ । साल, दुई सालमा केही सेकेन्डका लागि संलग्न भएपछि उनीहरूको भूमिका रहँदैन । मलाई अझै पनि लाग्छ, १८औँ शताब्दीमा जुन ढंगले लोकतन्त्रको परिकल्पना गरिएको थियो, त्यो कहीँकतै अहिले पनि हुनु आवश्यक छ । यो हुन्छ, हुँदैन लेखकका रूपमा सोच्न या कल्पना मात्रै गर्न सकिन्छ । त्यसमा हाम्रो कुनै निर्णायक भूमिका रहँदैन ।

 

सन् २०१५ मा साहित्य अकादेमी अवार्ड तपाईंले फिर्ता गर्नुभयो । यता नेपालमा चाहिँ सरकारी अवार्ड लिन लाइन लागेरै फर्म भर्ने चलन छ । सरकारले लेखकलाई दिने अवार्ड कति ठिक कति बेठिक ?

 

यो निकै गम्भीर प्रश्न हो । यसमा लेखक मात्रै नभएर अन्य पेसामा भएका मानिस पनि छन् । कोही खेलाडी होलान् त कोही व्यापारी । लेखकले आफूले आफूलाई महान् मान्ने त कोही छैन । अहिलेसम्म कुनै लेखकले मभन्दा ठुलो लेखक अरू छैन भनेको छ र ? छैन नि ! सरकारले सबै पेसालाई सहयोग गर्नुपर्छ, अवार्ड दिएर महिमामण्डन मात्रै गर्नुहुँदैन । अनुदान, फेलोसिप आदि दिइनुपर्छ । कोही एक चित्रकार छ भने उसले बनाएका पेन्टिङ सरकारले किनिदिँदा ऊ स्वतः आफ्नै सिर्जनाले प्रतिष्ठित बन्न थाल्छ । आफ्नो काम गर्न सुविधा साधन पाउँछ । तर, अवार्डको कुनै अर्थ छैन । कसलाई कति दिने अवार्ड ? हिन्दीमा सबभन्दा ठुलो पुरस्कार भनेको लेखक श्रीलाल शुक्लजीको नाममा पुरस्कार छ, जसको राशि १३–१५ लाख जति छ । त्यस्तै अन्य पुरस्कारमध्ये ज्ञानपीठ, साहित्य अकादेमी पनि छन् । साहित्य अकादेमीको रकम एक लाख रुपैयाँ भारु छ । त्यसले के हुन्छ ? तर, यत्ति हो कि केही पुरस्कार प्रतिष्ठित हुन्छन् । पुरस्कार राशिभन्दा पनि लेखकले पाउने सम्मान र गरिमाको महत्व बढी हुन्छ । मैले सन् २०१५ मा साहित्य अकादेमी पुरस्कार फिर्ता गर्नुको अर्थ कलबुर्ती हत्याको सांकेतिक विरोध थियो ।

 

केही लेखक छन्, जो आफ्ना अगाडि अवार्डको चाङ लागेपछि सेलिब्रिटी भइन्छ भन्ने सोच्छन् नि !

 

सेलिब्रिटी दुई प्रकारका मानिस बन्छन् । एक, जो धेरै उत्पीडित छ, ऊ पनि सेलिब्रिटी बन्छ । उदाहरणका लागि सलमान रुस्दीलाई लिन सकिन्छ । केही महिनाअघि रुस्दीमाथि अमेरिकामा चक्कुद्वारा सांघातिक हमला गरियो । यस्ता लेखक कुनै पनि उग्र अतिवादी मानिसको सिकार बन्छन् । रुस्दी जहाँ बस्छन्, त्यो उच्च सुरक्षा भएको ठाउँ हो । त्यहाँ पनि कडा सुरक्षा पार गरेर कुनै अतिवादीले हमला गर्‍यो । हमलामा परी रुस्दीले एउटा आँखा सधैँका लागि गुमाए । एउटा सेलिब्रिटी त्यो हो, जसलाई थुप्रै पुरस्कार, सम्मान दिइन्छ । टेगोरलाई पनि ब्रिटिस सरकारले अवार्ड दिएको थियो । तर, सन् १९१९ मा जालियाँबाग काण्ड घटेपछि उनले अवार्ड फिर्ता गरे । 

 

दोस्रो सेलिब्रिटी भित्रैदेखि चेतना भएको व्यक्ति हुन्छ । उसलाई थाहा हुन्छ, कुनै अवार्ड पाउँदैमा ठुलो साहित्यकार भइँदैन । ठुलो हुने अन्य थुप्रै मानक हुन्छन् । जो लेखक हुन्छ, उसका आफ्नै पाठक हुन्छन् । पाठक नै लेखकको शक्ति हो । पाठकले नै लेखकलाई बनाउँछन्, बचाउँछन् । नत्र कसले कसलाई सोध्छ र !

 

‘दिल्ली की दिवार’, ‘तिरिछ’ जस्ता कथामा पुँजीवादी सहरमाथि निर्मम प्रहार गरिएको छ । यता, नेपाली समाजमा भने सहर नै समग्र समृद्धिको द्योतक हो भनेर व्याख्या गरिन्छ । हो त ?

 

पुँजी र पुँजीवादमा भिन्नता छ । प्रत्येक मानिस पुँजी चाहन्छ । तर, तपाईंले पुँजीलाई ‘स्टेट पावर’ दिनुभयो भने समस्या त्यहीँबाट सुरु हुन्छ । जो मानिस गाउँबाट सहर पसेका छन्, उसैगरी भारतबाट अमेरिका या क्यानडा जाने मानिसको संख्या दिन–प्रतिदिन बढिरहेको छ । उनीहरू योग्यता (डिग्री) या अन्य कुनै उपाय नभएको खण्डमा चोरबाटो हुँदै जाने कोसिस गरिरहेका छन् । उनीहरूलाई जसरी हुन्छ ती देशमा पुग्नु छ । यसको कारण, त्यहाँ समृद्धि छ, राम्रो जीवनयापन हुन्छ भन्ने हो । समृद्धि भएकैले गाउँबाट मानिस पोकापन्तुरा कसेर सहर पसेका हुन् ।

 

कुनै एउटा गाउँमा गएर तपाईं हेर्नुस् न ! कति समस्या छन् । कसैले गाउँमा हाइवे (सडक) पुग्यो भनेर दाबी गर्दैमा सबै ठिक छ, समृद्ध छ भन्न मिल्दैन । अझै पनि गाउँभित्रका गल्लीमा कोही बिरामी हुँदा अधिकांश घरमा एम्बुलेन्स पुग्न सक्दैन । यसकारण अन्तर त छ नै । 

 

‘दिल्ली की दिवार’ कथा कालोधनमाथि लेखिएको छ । त्यो कालोधन पर्खालभित्र राखिएको छ कि कहीँ अन्त राखिएको छ भन्ने नै थाहा छैन । यसले हामीजस्ता साधारण मानिसका लागि पैसाको महत्व नै रहँदैन । १९९० मा प्रोफेसर अरुणकुमारको एउटा किताब प्रकाशित भएको थियो । त्यतिवेला भारतमा ४५ प्रतिशत कालोधन थियो । सय रुपैयाँको नोटको मार्केट भ्यालु ५५ रुपैयाँ मात्रै हुन्थ्यो । तर, अहिले सयको भ्यालु २० पनि रहेन । त्यो पैसा कहाँ गयो ? यही कारणले पनि ‘दिल्ली की दिवार’ प्रसिद्ध भयो, कैयौँ भाषामा अनुवाद भयो । 

 

हामीले साधारण तरिकाले सोच्नुपर्छ । एड्भान्स आग्र्युमेन्टस्को लेभलमा गएर सोच्नुभयो या तर्क गर्नुभयो भने एसेन्स अफ ट्रुथ बुझ्न सकिँदैन । गाउँमा बसोवास गर्ने कुनै एकजनालाई भेटेर उसलाई सोध्नुस्, आजको समय कस्तो लाग्दै छ ? उसको जवाफ जे हुन्छ, एसेन्स हुनेछ ।

 

गाउँबाट धमाधम सहर भित्रिँदा सहरमा अनधिकृत बस्ती बढ्दै गएका छन् । भारतको राजधानी दिल्लीमै बस्नेहरूमध्ये पनि ४८ प्रतिशतजति मानिस सुविधासम्पन्न छैनन् । भारत, नेपाल, बंगलादेशलगायत समग्र दक्षिण एसियाकै समस्या हो, गाउँबाट सहर पस्ने । तर, यो विषयमा चीन फरक देखिएको छ । उसले आफ्नो जनसंख्यालाई संशाधनमा रूपान्तरण गरेको छ । हामीलाई त कहिले धर्मका नाममा लडाइयो, कहिले भाषाका नाममा । युवा जनशक्ति बढी भएको देश मानिन्छ भारत । अर्थात्, विश्व बुढो भइसक्यो । कपाल फुलिसक्यो । कालो कपाल हुनेहरू दक्षिण एसियामा धेरै छन् । तर, उनीहरू कहाँ छन् ? के गर्दै छन् ? थाहा पाउनुभयो भने तपाईं दुःखी बन्नुहुनेछ । उनीहरू अर्थहीन कुरामा लडिरहेका छन्, नशामा झुमिरहेका छन् । उत्पादनमूलक क्षेत्रमा लाग्नुपर्ने युवा पुस्ता अनुत्पादक क्षेत्रमा गइरहेका छन् । अहिल्यै केही भन्न त सकिन्न, तर यिनमा सम्भावना प्रचुर छ । उनीहरूले प्रविधि, मेडिकल साइन्स, टुरिजमलगायत क्षेत्रमा प्राप्त गरेको उपलब्धिले पनि त्यतातिर संकेत गर्छ ।

 

गाउँबाट सहर भित्रिनेमध्ये केही मात्रै सफल हुन्छन् । तपाईंले देखिहाल्नुभयो, २०२० को कोरोना महामारीमा सहरमा बस्नेहरू सबै गाउँ फर्के । यी तिनै मान्छे थिए, जो पहिले गाउँ छोडेर सहर पसेका थिए । यही कुरा विश्वमा भइरहेको छ । अमेरिकामा ट्रम्प राष्ट्रपति हुँदा आप्रवासन नीति कडा गरे । अमेरिका र मेक्सिकोबिच पर्खाल लगाउने कुरा गरे । चाहे त्यो दिल्लीको पर्खाल होस्, चीनको ग्रेटवाल, अमेरिका–मेक्सिकोबिचको पर्खाल, यी सबै पार गर्न कठिन छ । पहिले जर्मनी पूर्व–पश्चिम दुई भागमा बाँडिँदा बर्लिनको पर्खाल थियो । पर्खाल सबैतिर छन् । तर, यी पर्खाल भत्किन्छन् पनि । डिभिजन र रियुनिफिकेसन दुवै हुन्छन् । म त चाहन्छु, कहीँ कुनै पर्खाल नै नहोस् । उत्तर कोरिया र दक्षिण कोरिया एउटै बनोस्, भारत, पाकिस्तान, नेपाल सबैमा अधिक खुलापन होस् । कोही कसैका लागि खतरा नबनोस् ।

 

अहिंसा सबभन्दा ठुलो शक्ति हो । जित पनि उसकै हुन्छ । तर, बिचमा जुन समय गुज्रिन्छ, त्यो डरलाग्दो हुन्छ । दुःखद हुन्छ । गान्धीजी १०–२० वर्ष थप जीवित हुन्थे भने दक्षिण एसियाको भूराजनीतिक अवस्था अर्कै हुन्थ्यो । आज जस्तो छ, त्यस्तो पक्कै हुँदैनथ्यो । उनलाई हिंसाले मारिदियो । गान्धीलाई मार्न त मारियो, तर त्यसपछि नै गान्धी थप फैलिए । कुनै जमानामा म पोलिटिक्समा सक्रिय हुँदा त्यसरी नै सोच्थेँ । तर, अहिले म सिर्फ पावर पोलिटिक्सले सबथोक गर्न सक्दैन भन्नेमा विश्वस्त छु । त्यसको सीमा छ । नेपालमै पनि जुन सशस्त्र द्वन्द्व भयो र पछि त्यसलाई क्रान्तिसमेत भनियो । त्यतिवेला पनि मलाई मान्छेहरू सोध्थे । कुनै पनि क्रान्ति एक दिनमा कुर्सी बदलिँदैमा आउँदैन भन्ने मेरो जवाफ हुन्थ्यो । यसको लामो अवधि हुन्छ । यसको रूपान्तरणमा ३०, ५० या सय वर्ष पनि लाग्न सक्छ । रुसमै हेरौँ न ! सोभियत संघ ७० वर्षसम्म रह्यो र पछि विलुप्त भयो ।

 

तपाईंलाई पढ्ने कतिपयले तपाईं मार्क्सवादी विचारको नजिक हुनुहुन्छ पनि भन्छन् । लेखकका लागि कुनै आइडोलोजी हुनु कति जरुरी छ ?

 

यो अर्को कठिन प्रश्न हो । हेर्नुस्, कुनै पनि आइडोलोजी चट्टानझैँ सधैँ एकनास हुँदैन । समयसँगै आइडोलोजी पनि परिवर्तन हुँदै जाने कुरा हो । कुनै यस्तो चिज छैन, जो परिवर्तन हुँदैन । मार्क्सको समयमा साम्राज्यवाद थिएन । त्यो पछि लेनिनको समयमा आएको हो । यस्तै, फाँसीको परिकल्पना पनि मार्क्सले गरेनन् । उनीपछि आउनेहरूलाई सजायमा ‘फाँसी’ हुनुपर्छ भन्ने लाग्यो र आयो पनि । अर्थात्, परिवर्तन भइरहन्छ, जरुरी पनि छ । अब मार्क्सवादकै आधारमा सबै चिज चल्नेवाला छैन । समाजको संरचना निकै परिवर्तन भइसकेको छ । स्वयं मार्क्स पनि प्रविधि सधैँ परिवर्तन हुन्छ भन्ने कुरा स्वीकार गर्थे । जब मानिस चारखुट्टेबाट दुईखुट्टे (होमोसेपियन) बन्यो र पहिलोपल्ट उभियो, विश्व स्वतः परिवर्तन हुन थाल्यो । फेरि पहिया आएपछि उसको गति बढ्यो । त्यसपछि विश्वमा झन् परिवर्तन हुन थाल्यो ।

 

विचारधाराको बेसमा मार्क्सवादलाई राखेर हेर्ने हो भने पनि त्यसको आधारमा ‘मोड अफ प्रडक्सन’ के हो भन्ने प्रश्न उठ्छ । त्यसैमाथि राजनीति, विश्वास–अन्धविश्वास, फेसन, ग्ल्यामर, सिनेमा, साहित्य कहीँ न कहीँ टिकेका हुन्छन् । एकले अर्कोलाई कतै न कतै प्रभावित पनि गरेको हुन्छ । 

 

अँ, म मार्क्सवादी होइन । उनलाई त्यति पढेको पनि छैन । तर यत्ति हो, लेखकको कुनै आइडेन्टिटी हुँदैन । अथर केवल अथर नै हुन्छ । मार्क्सबारे लुइस अल्थुजरले भनेका थिए कि उनी मार्क्सवादी थिएनन् । यता भारतमा गान्धी थिए, तर उनी गान्धीवादी थिएनन् । बुद्ध बौद्धिष्ठ थिएनन्, बुद्ध नै थिए । जीवन रहुन्जेलसम्म तपाईंको विचारधारा, विश्वदृष्टि, चेतना आदिमा परिवर्तन तपाईंले नचाहँदा–नचाहँदै पनि हुन्छ, भइरहन्छ । खासमा लेखकको विचारधारा के भन्ने त उसको लेखनले पछि प्रमाणित गर्दै लैजाने कुरा हो । 

 

उहिलेका पुराना आलोचकहरू पढ्दा थाहा हुन्छ, उनीहरूले युरोपियन रियालिजममाथि निरन्तर अध्ययन गरेका थिए । कैयौँ लेखकले लेखिरहे, अध्ययन गरिरहे । त्यसपछि मात्रै यथार्थवाद आएको हो । आज हामी बाँचिरहेको समयमा यथार्थ कहाँ छ ? मैले भन्दै आइरहेको छु, तीन चिज ईश्वर, जनता र यथार्थ, आजसम्म कसैले देखेको छैन । तर, नाम भने बारम्बार उसकै लिइरहेको छ । ईश्वरलाई कसैले देखेको छ र ? छैन । तर, हरेक ठाउँमा ईश्वर नै ईश्वर हुन्छ । जसले जनता, जनता भनेको छ, त्यो जनता को हो ? अनि यथार्थ ? यथार्थ ठोस छैन । सबैका आआफ्नै धारणा छन् । जसलाई हामी समाज भन्छौँ, त्यो समाज एउटा मात्रै छैन । हामी थुप्रै समाजमाझ रहन्छौँ । हामीले यति मात्रै बुझ्न–जान्न आवश्यक छ, हामी आफ्नो समयका सामान्य नागरिक मात्रै हौँ । हामीसँग कुनै पावर (शक्ति) छैन । जे छ, शब्दमार्फत अभिव्यक्त हुने विचार वा भावको शक्ति मात्रै छ । अतः मलाई कसैले मार्क्सवादी या बुद्धिष्ठ भन्छ भने कुराको तालमेल मिल्दैन । लेखक, संगीतकारलाई कुन आइडोलोजीमा राख्ने ?

 

यसका कैयौँ उदाहरण दिन सकिन्छ । जो मार्क्सवादी थिए, उनीहरूलाई कम्युनिस्ट पार्टीले नै निष्कासन गरे । तपाईं एकदम इमानदार बन्नुहुन्छ, मानवीय चिन्तासँग जोडिनुहुन्छ तपाईंलाई यस्ता खालका समूह–संगठनले फिटिक्कै रुचाउँदैनन् ।

 

तपाईंले एक अन्तर्वार्तामा अथर र राइटरको फरक बताउनुभएको थियो । दक्षिण एसियाली समाजमा खास अथर चाहिने हो कि राइटर ?

 

हामीलाई दुवै चाहिन्छ । जो अथर हुन्छ, उसले गल्ती गर्छ । तर, जो राइटर हुन्छ, ऊ तार्किक हुन्छ, फ्याक्चुअल हुन्छ । राइटर पनि फेक हुन्छ । फेक न्युज, आर्टिफिसियल इन्टेलिजेन्स आदि इत्यादि । बुकर प्राइज प्राप्त गर्ने जापानिज युवतीले आफूले एआईको सहारा लिएको आत्मस्वीकृति गरिन् । जो चिज म्यानुअल हुन्छ, त्यही चिज मात्रै टिक्छ । राइटर र अथरलाई आस्थावादी अनास्थावादीका रूपमा लिन सकिन्छ । कहिलेकाहीँ राइटरले ठुल्ठुला कुरा लेख्न सक्छ । तर, अथर हुन मुस्किल हुन्छ । अथर बन्न हृदय ठुलो चाहिन्छ । बौद्धिकताको आधारमा जो बढी निर्भर हुन्छ, त्यो राइटर हो । जोसँग भिजन हुन्छ, हृदय हुन्छ, ऊ निश्चय नै अथर हो ।

 

बजारको रुचि हेरेर साहित्य लेख्ने जमात नेपालमा बढ्दो छ । तपाईंको अनुभवमा लेखकलाई बजार कति आवश्यक छ ? बजार र समाजको रुचिअनुसार लेख्नु सही हो या गलत ?

 

केवल बजारलाई मात्रै केन्द्रमा राखेर साहित्य सिर्जना गर्ने मान्छे भारतमा पनि नभएका होइनन्, टन्नै छन् । कुनै टिभी च्यानलको प्रस्तोताले उपन्यास, कथा, कविता लेख्छ भने ऊ बजारमा सहजै बिक्न सक्छ । कारण, उसको भिजिबिलिटी हुन्छ । बजारलाई कस्तो मसला चाहिन्छ भनेर लेख्ने जमात ठुलो छ । तर, केही यस्ता पनि छन्, जसले आफ्नो माग बजारमा पैदा गर्छन् ।

 

जब सदियौँ पहिले एसियामा ससाना बजार बन्न थाले, सामन्ती शासनमा जकडिएका दुलार, मोची, दस्तकार आदिलाई लाग्यो, अब गाउँबाट भाग्नुपर्छ । उनीहरू बजारतिर लागे । एक हदसम्म बजारले उनीहरूलाई स्वतन्त्रता पनि दियो । गाउँमा बन्द परिवेशमा बसेर जीवनयापन गरिरहेका उनीहरूलाई बजारमा आउँदा ठुलो स्पेस मिल्यो, साहस भरियो । यसलाई ‘भक्ति आन्दोलन’ पनि भनिन्छ ।

 

एकातिर यसलाई ‘बजारवाद’ पनि भनिन्छ । मेरा एक अर्थशास्त्री मित्र यो शब्द सुनेर हाँस्थे । उनी भन्थे– बजारवाद भन्ने शब्द भारतीयले नामकरण गरे । अर्थशास्त्रमा मार्केटिजम भन्ने शब्दै हुँदैन, मार्केट हुन्छ । बजारमा बसिरहेको एउटा मोचीले ग्राहकको रुचिअनुसार नै जुत्ता बनाउँछ । उसले बजार हेरेर जुत्ता बनाउँदैन । कवि धुमिलको एउटा कवितांश छ, प्रत्येक मान्छे एकजोडी जुत्ता हो । मोचीका लागि हरकोही एकजोडी जुत्ता नै हो । यस्तो खालको जुन साहित्य छ, डरलाग्दो छ । मैले देखेको छु, कैयौँ अभिनेता÷अभिनेत्री फिल्ममा चल्न सकेनन्, तर उनीहरू उपन्यास र कवितामा चलिरहेका छन् । उनीहरूकै विज्ञापन बढी हुन्छ । कसैलाई तल खसाल्नु वा प्रहार गर्नु छ भने अभियान पनि चलाइहाल्छन् । तत्काल उनीहरूको जत्था उभिन्छ । बजारकेन्द्रित हुँदा यस्ता खतरा छन् ।

 

यसकारण बजारले थोरै समयका लागि रियाक्ट गर्छ । मानौँ, कुनै फिल्मी एक्टरले आफ्नो एउटा ब्रान्ड बजारमा ल्यायो । त्यो कति दिनसम्म चल्छ ? अर्को दिन अर्को ब्रान्ड आइहाल्छ । तर, साहित्य बजारको मागको पछाडि भाग्दैन । साहित्यले जीवन सत्य, मानवीय समाज, प्रकृतितिर हेर्छ । जो सुपरहिट फिल्म हुन्छन्, जसले भन्छन् पाँच दिनमा यति करोड कमाइ भयो, १० दिनमा यति करोड भयो, यो सब कर्पोरेट सेल हो । उनीहरूले पहिल्यै तय गरिसकेका हुन्छन् कि हामीले यति दिनसम्म फिल्मलाई ‘हाउसफुल’ देखाउँछौँ । तर, हलमा जाँदा भित्र पाँच–सातजनाभन्दा हुँदैनन् । अर्थात्, सबै टिकट उनीहरूले आफैँले किन्छन् । यही हालत साहित्यमा पनि हुन लागेको छ । यो सबबिच एउटा लेखकले लेखिरहन र समयसँग जोडिइरहन जति महत्वपूर्ण छ, उत्तिकै कठिन पनि छ ।

 

अन्त्यमा, नेपाललाई परिवेश बनाएर कुनै किताब लेख्ने योजना छ कि ?

 

योजना छ । योजनाअनुसार काम पनि गरिरहेको छु । यो मेरो पहिलो उपन्यास हुनेछ । यसअघिका कृतिलाई मैले ‘कथा’ भन्दै आएको छु । मान्छु, कथामा आख्यानात्मकता अवश्य छ । तर, मलाई के थाहा छ भने कथा र उपन्यासमा भिन्नता छ । त्यसको संरचना पनि फरक हुन्छ । स्वास्थ्य र समयले साथ दिए यो वर्ष नयाँ किताब पूरा गर्छु ।