रंगमञ्चबाट फिल्ममा आएका कर्मा शाक्य अभिनयमा विविधता दिन सक्ने अभिनेताका रूपमा चिनिन्छन् । ‘सानो संसार’बाट नेपाली फिल्ममा डेब्यु गरेका उनले ‘एक दिन एक रात’, ‘फर्स्ट लभ’, ‘लुट’, ‘मृगतृष्णा’, ‘हाइवे’, ‘भिजा गर्ल’, ‘रेसम फिलिली’, ‘लुकामारी’, ‘षटकोण’ ‘कठपुतली’, ‘महानगर’लगायत दर्जनौँ फिल्ममा अभिनय गरेका छन् । पछिल्लो समय उनी अभिनीत फिल्म ‘साम्बाला’ प्रतिष्ठित फिल्म फेस्टिभल ‘बर्लिन’ र ‘लोर्कानो’मा प्रदर्शन भइसकेको छ । कर्माले आफ्नो अभिनय यात्रा पवन बराइलीलाई सुनाएका छन् :
म फिल्ममा अभिनय गर्छु भनेर आएको होइन । रंगमञ्चमा नाटकमा अभिनय गरिरहेको थिएँ । नाटकको विभिन्न क्यारेक्टरमै रमाइरहेको थिएँ । फिल्म ‘सानो संसार’का लागि अडिसन खुलाएको थाहा पाएँ । मलाई पनि अडिसन दिएर हेरौँ न भन्ने लाग्यो । फिल्ममा म ‘लिड’ रोलका लागि छनोट हुन्छु भन्ने आशा पनि थिएन । तर, भाग्यवश लिड रोलका लागि छनोट भएँ । सांनो संसारमा मेरो कामलाई दर्शकले मन पराइदिनुभयो । त्यसपछि मलाई एकपछि अर्काे फिल्मको अफर आइरह्यो । त्यहीअनुसार आफू पनि बग्दै जानुपर्ने बाध्यता भयो । ‘सानो संसार’ नै मेरा लागि टर्निङ पोइन्ट बन्यो ।
दर्शकले ‘सानो संसार’मा मलाई लभर ब्वाईका रूपमा देखे । अरू फिल्ममा पनि दर्शकले लभर ब्वाईकै भूमिका हेर्न चाहन्थे । म थिएटरबाट आएको कलाकार । त्यसैले मलाई एउटै खालको रोल गर्न मन लाग्दैन । म गुरुकुल हुँदादेखि स्पष्ट थिएँ कि फिल्म होस् वा नाटकमा फरक–फरक चरित्र गर्नुपर्छ । मैले पनि हरेक फिल्ममा फरक–फरक चरित्र गर्न कोसिस गरेँ ।
हरेक फिल्ममा गेटअप चेन्ज गरेँ । ‘फस्ट लभ’ जस्ता फिल्ममा लभर ब्वाईको रूपमा देखिएँ । यो क्यारेक्टरमा मलाई दर्शकले मन पराएकै थिए । तर, एक्कासि मलाई ‘लुट’मा गुन्डा देख्दा दर्शकले रुचाएनन् । ‘लुट’को पोस्टरमा सबैभन्दा ठुलो मेरो फोटो थियो । तर, फिल्मको मुख्य कलाकार सौगात मल्ल थिए । सौगात मल्लको फोटो ठुलो राख्नुपर्ने थियो । मलाई सानो संसारले स्टार बनाएको थियो । बजारमा म बिक्री भइरहेको थिएँ । त्यसवेला म अहिलेको दयाहाङ राई नै थिएँ । त्यसैले ‘लुट’का निर्माताले मेरो फोटो अगाडि राख्नुपर्छ भन्नुभयो । त्यसवेला मलाई धेरैले ‘तपाईंको सानो संसारको चक्लेटी लुक्स राम्रो थियो । अरू गेटअप चेन्ज गरेर तपाईंले गल्ती गर्नुभयो’ भन्थे । तर, मलाई एउटै क्यारेक्टर गर्न मन थिएन । मैले अरू क्यारेक्टर गरेर गल्ती गरेँ जस्तो लाग्दैन ।
दयाहाङ राई, सौगात मल्ल, विपिन कार्कीहरू स्टार भइसके, तर तपाईं किन पछि ? भनेको पनि सुन्छु । तर, उनीहरू सबै काठमाडौंबाहिरबाट आएर संघर्ष गरेका हुन् । उनीहरूको भोगाइ फरक छ । मेरो भोगाइ फरक छ । म काठमाडौंमै जन्मिएँ, हुर्किएँ । मैले स्कुल अंग्रेजी माध्यममा पढेँ । म अंग्रेजी र नेवारी जति राम्रो बोल्न सक्छु, त्यति नेपाली बोल्न सक्दिनँ । मैले निकै मिहिनेत गरेर नेपाली बोल्न सिकेँ । मलाई भाषाको समस्या छ । उनीहरू (दयाहाङ, सौगात, विपिन ) ले गर्ने क्यारेक्टर म गर्न सक्दिनँ । मलाई उनीहरूको क्षमता थाहा छ । फिल्ममा उनीहरूले फड्को मारिरहेका छन् । त्यसमा म खुसी छु । उनीहरूको सफलतामा रमाइरहेको छु । मलाई उनीहरूप्रति ईर्ष्या छैन ।
क्वालिटीको काम गरौँ भनेर केही समय फिल्म गरिनँ । तर, समकालीन साथीहरू निकै व्यस्त हुन थाले । उनीहरूले धमाधम फिल्म खेलिरहेको देख्न थालेँ । मलाई पनि आफू कतै हराएँ कि जस्तो फिल हुन थाल्यो । त्यसपछि छोटो भूमिका भए पनि काम गर्न थालेँ । कोठामा बसेर मात्रै नहुने रहेछ भन्ने महसुस भयो । तीन–चार वर्षमा राम्रो फिल्म खेल्छु भनेर नहुने रहेछ भन्ने लाग्यो । त्यसपछि छोटो रोल भए पनि फिल्महरूमा काम गर्दै गएँ । मैले ४० वटा फिल्ममा अभिनय गरिसकेछु । यसवर्ष ‘साम्बाला’मा फरक अनुभव गर्न पाएँ । मेरो करिअरका लागि पनि ‘साम्बाला’ महत्वपूर्ण रह्यो ।
बर्लिनको अनुभव
‘बर्लिन’ र ‘लोर्कानो’ जस्ता फेस्टिभलमा सहभागी हुन पाएँ । त्यहाँ नेपाली कलाकारका रूपमा उपस्थित थिएँ । त्यहाँ मैले फरक अनुभव गर्न पाएँ । गुरुकुलमा छँदादेखि मीन भामसँग वल्र्ड सिनेमाको कुरा हुन्थ्यो । विश्वभरका फिल्म फेस्टिभलको कुरा गर्थ्याै । त्यसवेला मीनसँग विश्वका फिल्म फेस्टिभलको कुरा गरिन्थ्यो । मलाई फेस्टिभलमा जाने लोभ थियो । मलाई पनि कलाकारका रूपमा नयाँ अनुभव गर्नु थियो । ‘साम्बाला’ बर्लिनको मुख्य प्रतिस्पर्धामा छनोट भएपछि म धेरै उत्साहित थिएँ ।
बर्लिनमा विश्वका प्रसिद्ध निर्देशक, निर्माता र कलाकार हिँड्ने रेड कार्पेटमा हिँड्ने अवसर जुर्यो । ‘रेड कार्पेट’मा ठुला फिल्ममेकरजसरी हिँड्न पाइयो । सेलिब्रिटीहरू आउँदा बेग्लै उत्साह हुँदो रहेछ । यो मेरा लागि ठुलो सौभाग्य थियो । ठुला फिल्ममेकरलाई आफ्नै अगाडि पाउँदा खुसी नलाग्ने कुरै भएन । बर्लिनमा दुनियाँभरका एक से एक स्टार र फिल्ममेकरलाई प्रत्यक्ष देख्ने–भेट्ने मौका जुर्यो । यो अवसर ‘साम्बाला’ले जुरायो ।
मलाई अहिले पनि सपनाजस्तै लाग्छ । बर्लिनमा दर्शक फोटो खिच्न आउँथे । ‘तिमीहरूको फिल्म मुख्य प्रतिस्पर्धामा छ हैन ?’ भनेर सोध्थे । बर्लिनमा मनोज बाजपेयीले मसँग सेल्फी लिनुभयो । मैले ‘हेल्लो आई एम कर्मा फ्रम नेपाल’ भनिनसक्दै ‘ओ यु ह्याब फिल्म इन द कम्पिटिसन राइट ?’ भन्नुभयो । नेपालको फिल्म सबै पहिल्यै थाहा रहेछ । उहाँले अंग्रेजीमा सेल्फी लिऊँ भन्नुभयो । मैले भन्नुअघि नै उहाँले भन्नुभयो । म अचम्ममा परेँ । ‘लोर्कानो’ फेस्टिभलमा साम्बाला हेरेपछि अटो ग्राफ लिन आए । निर्देशक मीन भाम र थिन्ले ल्हामुको अटो ग्राफ लिन लाइन लागे । त्यो सब हाम्रा लागि ‘अचम्म’ नै थियो ।
राम्रो काम बाँकी नै छ
अहिलेसम्म जसरी गरिरहेको छु, राम्रै गरिरहेको छु, ठिकै गरिरहको छु । मलाई अहिलेसम्म गरेको फिल्ममा कुनै पश्चात्ताप छैन । कतिपय फिल्म सिकाइका रूपमा मात्रै काम गरेँ । अब रिजल्ट निकाल्ने काम गर्नुपर्ने छ । अहिले मलाई आँट आएको छ । क्वालिटीको काम गर्न मन छ । त्यसैले केही निर्देशकसँग कुरा गरिरहेको छु । मैले पहिले निर्देशकलाई भन्दिनथेँ । तर, चुपचाप बसेर नहुने रहेछ । म पनि छु है भन्नुपर्ने रहेछ ।
आफ्नो उपस्थिति देखाउनुपर्ने रहेछ । यो दौरानमा केही साथीका लागि काम गरेँ । केही राम्रो क्यारेक्टरका लागि सपोर्टिङ रोल पनि गरेँ । तर, मलाई सपोर्टिङ एक्टरका रूपमा मात्रै हेरियो । तर, म ‘सपोर्टिङ एक्टर’ मात्रै होइन । कलाकारका रूपमा पाँच मिनेट वा दुई घण्टाको क्यारेक्टर गर्न मलाई समस्या हुँदैन । तर, मलाई पाँच मिनेटका लागि मात्रै गर्न मन छैन । मलाई अब सपोर्टिङ एक्टरका रूपमा काम गर्न पुग्यो । अब लिड रोलमा काम गर्नु छ । मलाई आफ्नो क्षमता थाहा छ । लिड एक्टरका रूपमा काम गर्न सक्छु र गरेको पनि छु ।
‘सानो संसार’देखि ‘साम्बाला’सम्म आइपुग्दा ४० वटा चलचित्रमा अभिनय गरिसकेछु । मैले राम्रा सिनेमामा काम गरेको रहेछु । तर, आफूलाई उकुसमुकुस भइराख्छ । आफ्नो कामलाई धेरै गर्नुपर्ने रहेछ । मैले पनि काम त गरिरहेको रहेछु । राम्रै सिनेमा गरिरहेको रहेछु । अब कसरी राम्रो फिल्म गर्ने भन्नेतिर केन्द्रित छु । अर्थपूर्ण काम गरौँ भन्ने लागेको छ । यो मेरो दायित्व पनि हो । अझै आँत भरिने काम गर्न बाँकी छ ।