नेपालको परराष्ट्र मामिला मात्र होइन, अन्तर्राष्ट्रिय सम्बन्ध पढ्न चाहने विद्यार्थीले पढ्नैपर्ने पुस्तक धेरै छन् । कतिपय पुराना छन् भने धेरै नयाँ पनि आइरहेका छन् । कूटनीति भनेको कर्मचारीले सञ्चालन गर्ने हुलाक सेवा होइन । व्यक्तिगत आवेगमा आएर नेताहरूले गर्ने भाषण झनै होइन । यसमा प्राज्ञिक क्षेत्रको ठुलो महत्व छ, किनभने उनीहरूलाई इतिहास थाहा हुन्छ । इतिहास राम्रो पढ्ने विद्यार्थी मात्र कूटनीतिमा अब्बल हुन सक्छ । अध्ययनमा रुचि नभएको व्यक्ति कूटनीतिमा कामै लाग्दैन ।
नेपाल्स क्विन्क्वानियल मिसन्स टु चाइना
तीर्थप्रसाद मिश्र र त्रिरत्न मानन्धरद्वारा सन् १९८६ मा लिखित यो पुस्तकले नेपाल र चीन सम्बन्ध विकासका विभिन्न ऐतिहासिक कालखण्डको विवेचना गरेको छ । कूटनीतिको अध्ययन गर्न चाहने विद्यार्थी, अन्वेषणकर्ता, अनुसन्धानकर्तालाई यो पुस्तक सधैँ लाभदायी हुन सक्छ ।
जेल जर्नल
बिपी कोइरालाको पुस्तक ‘जेल जर्नल’ घरको पुस्तकालयमा छुट्नै हुन्न । कोइराला नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री भएकाले उनले आफ्नै डायरीमा लिपिबद्ध रूपमा नेपाल–भारत र नेपाल–चीन सम्बन्धका पेचिला विषय उल्लेख गरेका छन् । यी विषय अहिले पनि उत्तिकै सान्दर्भिक छन् ।
कल्चर अफ द सेपुलकर
नेपाली मात्र होइन, विदेशी पूर्वराजदूतका आत्मवृत्तान्त पनि आजकल आउन थालेका छन् । भारतीय वरिष्ठ कूटनीतिज्ञ मदनजित सिंहले ‘कल्चर अफ द सेपुलकर’मा आफू युगान्डामा राजदूत हुँदा दादा इदी अमिन भन्ने राक्षसी स्वभावको सैनिक तानाशाहबारे आफूले भोगेको रमाइलो इति वृत्तान्त उल्लेख गरेका छन् ।
जंगबहादुरको जीवनी
प्रकाश ए. राजको जंगबहादुरको जीवनी अर्को महत्वपूर्ण पुस्तक हो । यसमा बेलायत र फ्रान्समा भएको पहिलो नेपाली उच्चस्तरीय भ्रमणबारे गहकिला तथ्य उल्लेख छन् ।
विनोद चौधरीको आत्मकथा
आजकल अब्बल कूटनीतिज्ञ हुन व्यापार, लगानी, निर्यात प्रवद्र्धनलगायत अर्थतन्त्रबारे पनि दख्खल राख्नैपर्छ । विनोद चौधरीको आत्मकथामा वर्णन गरिएका दृष्टान्त यी विषयबारे बुझ्नका लागि उपयोगी छन् ।
कम्प्रिहेन्सिभ सेक्युरिटी इन साउथ एसिया
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानबाट हालै छापिएको पुस्तक हो यो । यो पुस्तक विश्वभर किन्न पाइन्छ । दक्षिण एसियाका विभिन्न देशका विद्वान्को लेख यसमा छापिएको छ । सार्क, दक्षिण एसियामा क्षेत्रीय सहयोगका चुनौतीलगायत विषय यसमा समावेश छन् ।
नेपाल एज अफ फेडरल स्टेट
नेपालले संघीयताको अभ्यास गर्दै गर्दा धेरै देशको अभ्यासबारे अध्ययन भयो । तर, आफ्नै छिमेकी देश भारतको सफल अभ्यासबारे पर्याप्त अध्ययन गरेको छैन । भिआर राघवनद्वारा सम्पादित भिज बुक्स दिल्लीले प्रकाशन गरेको पुस्तक ‘नेपाल एज अ फेडरल स्टेट : नेसन्स फ्रम इन्डिया’ अति उपयोगी हुन सक्छ । राजनीतिशास्त्र र अन्तर्राष्ट्रिय सम्बन्धका विद्यार्थी मात्रै होइन, नीति–निर्माणमा रहेका मन्त्री र सांसदले पनि यो पुस्तक पढ्नैपर्छ ।
बाइडेन एन्ड बियोन्ड : द युएस री थिंक्स साउथ एसिया
यो पुस्तक सिंगापुरको इन्स्टिच्युट अफ साउथ एसियन स्टडिजले सार्वजनिक गरेको हो । अमेरिकाको बदलिँदो दक्षिण एसियाली नीति बुझ््न यसले सघाउँछ । यसले समसामयिक अन्तर्राष्ट्रिय राजनीति र भविष्यमा आउन सक्ने चुनौतीको लेखाजोखासमेत गरेको छ ।
फेक न्युज, डिस इन्फर्मेसन एन्ड प्रोपोगान्डा इन इन्टरनेसनल रिलेसन्स
दक्षिण एसियाली अध्ययन केन्द्रले प्रकाशन गरेको यो पुस्तकमा समसामयिक अन्तर्राष्ट्रिय राजनीतिमा प्रयोग हुने गलत सूचना, प्रोपोगान्डा र यसले भविष्यमा निम्त्याउन सक्ने चुनौतीको गहकिलो विश्लेषण गरिएको छ ।
अन्य पुस्तकहरू
रन्जित रेको पुस्तक ‘काठमाडौं डेलिमा : री सेटिङ इन्डिया–नेपाल टाइज’ नेपाल–भारत सम्बन्ध बुझ्नका लागि महत्वपूर्ण पुस्तक हो । त्यसैगरी, पत्रकार सुधीर शर्माले आफ्नो पुस्तक ‘प्रयोगशाला’मा वर्तमान नेपाली राजनीति र नेपाली परराष्ट्र नीतिका विभिन्न पहलुबारे राम्रो संश्लेषण गरेका छन् । द्वारिकानाथ ढुंगेल र मदन दाहालद्वारा सम्पादित ‘नेपाल : अ कन्ट्री इन ट्रान्सिजन’ पनि उत्तिकै महत्वपूर्ण छ ।
मिसेल निकोलसनले लेखेको ‘इन्टरनेसनल रिलेसन्स’ पुस्तकले अन्तर्राष्ट्रिय सम्बन्धको मूलभूत अवधारणा बुझ्न सहयोग गर्छ । रमेशनाथ पाण्डेको ‘कूटनीति र राजनीति’ पुस्तक पढ्दा आधुनिक नेपाली परराष्ट्र नीति निर्माण र सञ्चालनको भित्री गुदी बुझ्न मद्दत मिल्छ । प्राध्यापक जयराज आचार्यको ‘नेपाल्स फरेन पोलिसी अ रिफ्लेक्सन’ पुस्तक पनि अन्तर्राष्ट्रिय सम्बन्ध बुझ्न चाहनेहरूले पढ्न जरुरी छ । अर्को महत्वपूर्ण पुस्तक शम्भुराम सिंखडाको ‘ह्युमन राइट्स एन्ड ह्युमन रङ्स’ पनि हो ।