किसानले नेतृत्व गरेको दुग्ध सहकारीले बहुराष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा गरिरहेको छ
चितवनस्थित भरतपुर–७, कृष्णपुरका रवीन्द्रसिंह ठकुरीले यसपटकको गर्मीमा पेयपदार्थका रूपमा मोही मात्र प्रयोग गरे । विगतका गर्मीमा बहुराष्ट्रिय कम्पनीका पेयपदार्थले उनको घरको फ्रिज भरिन्थे, तर यसपटक त्यसो भएन । ‘मोही नभए खानै खान मन नलाग्ने बानी बस्यो,’ रवीन्द्रसिंह भन्छन्, ‘स्वाद, स्वास्थ्य र नेपाली उत्पादन भएकाले मोहीको प्रयोग सपरिवारले गर्यौँ ।’
सौराहाका किराना पसल व्यवसायी रामजी महतोले यसपटक कोक, फ्यान्टाभन्दा बढी मोही बेचे । ‘स्वास्थ्यका लागि राम्रो छ । चिसो माग्नेलाई मोही दिन थालेँ,’ रामजी भन्छन्, ‘अहिले सबैले मोही नै माग्छन् ।’
भरतपुर–२२ मा रहेको गंगानगर दुग्ध उत्पादक सहकारी संस्थाले यो वर्ष मोही बजारमा ल्याएको थियो । गंगानगर दुग्ध उत्पादक सहकारी संस्थाका व्यवस्थापक गणेश साखीका अनुसार यसै वर्षदेखि सहकारी दिवसमा संस्थाले शुद्ध दुधबाट दही बनाई मोही बजारमा पठाउन थालेको हो । सहकारीले एक लिटर र आधी लिटरको मही उत्पादन गरेर बोतलमा प्याक गरी हातहातमै पुर्याउन सुरु गरेपछि मानिसले मन पराउन थाले । चितवनको उखरमाउलो गर्मीमा मोहीले प्यास मात्रै मेटेन, नेपालीको परम्परागत उत्पादनलाई प्रवर्द्धन गर्यो । पछि अन्नपूर्ण दुग्ध उत्पादक सहकारीसहित निजी डेरीहरूले पनि मोही र दहीको बोतल बजारमा पुर्याउन थाले । जसले अरू पेयपदार्थको व्यापार घटायो र नेपाली उत्पादनको बजार बढ्यो । जिल्ला दुग्ध उत्पादक सकारी संस्थाका अध्यक्ष किशोर बगालेका अनुसार जिल्लामा झन्डै एक करोड रुपैयाँबराबरको मोहीको कारोबार भएको छ ।
भरतपुरको पूर्वतिर गोद्राङमा बहुराष्ट्रिय कम्पनी कोकोकोला उद्योग छ । पश्चिमतिर ठिमुरामा दुध प्रशोधन गर्ने निजी उद्योग ‘चितवन मिल्क’ छ । यी दुई उद्योगका पेयपदार्थ प्रतिस्पर्धा भइरहने चितवनमा यसपटक भने फरक दृश्य देखियो । किसानले नेतृत्व गरेको दुग्ध सहकारीले बहुराष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा गरिरहेको छ ।
मिल्क होलिडेको अन्त्यका लागि ०६८ सालमा ठिमुरामा स्थापना भएको उद्योग ०७२ को भूकम्पले क्षति पुर्याएपछि चार वर्ष बन्द भयो । कोरोना भाइरस संक्रमण जोखिमको समयमा उद्योगले विभिन्न बहाना देखाएर नियमित सञ्चालन नगरिदिँदा किसानले दुध पोख्न पर्यो । मुलुकको कुल गार्हस्थ उत्पादनमा ६ प्रतिशत दुग्ध क्षेत्रको योगदान रहेको छ । दुधमा आत्मनिर्भर जिल्ला चितवनको भरतपुरमा दैनिक ९५ हजारदेखि एक लाख लिटर दुध उत्पादन हुन्छ । बागमती प्रदेश, कृषि मन्त्रालयको तथ्यांकअनुसार ०७९/८० चितवनमा ९३ हजार तीन सय ६७ गाई र ७३ हजार एक सय ४५ भैँसी छन् । भरतपुर महानगरपालिका वडा नम्बर ६, केशरवागमा रहेको अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्था जिल्लाको पहिलो दुग्ध संकलन केन्द्र एवं नेपालकै संगठित रूपमा दुध संकलन, प्रशोधन तथा बजारीकरण गर्ने पुरानो संस्था हो । यसै सहकारी र केशरवागबाट नेपालमा उन्नत जातको पशुपालनको सुरुवात नेपालभर भएको थियो । जसले व्यावसायिक दुध उत्पादन, रोजगारीलगायत क्षेत्रमा ठुलो योगदान दिएको छ । सहरको पुँजी गाउँमा ल्याएको छ ।
उन्नत गाई भित्र्याउने ‘गाई गाउँ’
तत्कालीन गीतानगर गाउँ पञ्चायतको वडा नम्बर ६, केशरवाग प्रवेश गर्ने मुख्य प्रवेशद्वार हाकिमचोकमा केशरवागलाई चिनाउन ‘गाई गाउँ जाने बाटो’ अर्थात् गीतानगर केशरवाग गाईपालन क्षेत्र भनेर ठुलो बोर्ड राखिएको थियो । अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाका संस्थापक उपाध्यक्ष एवं पूर्वअध्यक्षसमेत रहेका ७५ वर्षीय स्थानीय भीमलाल चापागाईंका अनुसार ०४२ सालतिरै तत्कालीन सरकारमार्फत नेपालको एक मात्र उन्नत गाई क्षेत्र भनेर घोषणा भएको थियो ।
एक पाइकरी (किसानको दुध संकलन गरेर बजार लगी बेच्ने)ले यहाँ उत्पादन भएको दुध तीन मोहर रुपैयाँमा खरिद गरेर बजार लगेर बेच्थ्यो । उसले ५०/६० लिटरभन्दा बढी लैजाँदैनथ्यो । यो ०३५ सालदेखि ०४१ सालसम्मको कुरा हो । चापागाईंका अनुसार ०४१ सालमा दुग्ध विकास संस्थानको सहयोगमा यहाँ दुग्ध संकलन केन्द्रको सुरुवात भयो । अन्नपूर्ण कृषक समूहबाट सञ्चालित यो संकलन केन्द्र जिल्लाकै पहिलो डेरी बन्यो ।
चितवनमा ५० जना सदस्यबाट दैनिक १३० लिटर दुध संकलन गरी चोकबजारबाट व्यावसायिक रूपमा दुध बिक्रीको सुरुवात भएपछि यहाँका किसानले व्यावसायिक रूपमा दुध उत्पादन सुरु गरे । पछि अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्था बन्यो । सहकारी खुलेसँगै त्यसवेलाका मिहिनेती र पौरखी कृषकको पहलमा भारतको गुहाटी आसामबाट यहाँ चापागाईं परिवारमार्फत जर्सी गाई र पन्जाबबाट होलिस्टेन गाई नेपाल भित्र्याई नेपालमा उन्नत जातको गाईपालन थालिएको थियो ।
चितवनमा उन्नत जातका गाई भित्र्याउनुमा अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाको संस्थापक अध्यक्ष हुँदै अध्यक्षको जिम्मेवारीमा २२ वर्ष बिताएका स्व. शोभाखर चापागाईं र उनका दाजुभाइको योगदान कसैले भुल्न सक्दैनन् । शोभाखरका भाइ पूर्ण चापागाईंले भारतको गुहाटीमा पालेको तीनवटा गाई ०३५ सालमा यहाँ लिएर आए । पहाडिया र लोकल गाईको तुलनामा ती गाईको दुध धेरै देखेपछि ०३८ सालमा एकैपटक १४ वटा गाई भारतबाट नेपाल ल्याइयो ।
यो समयभन्दा अघि चितवनमा अधिकांश मानिसले आफ्नो घरमा उत्पादन भएको दुध पाडापाडी र घरपरिवारमै उपयोग गर्दा ठिक्क हुन्थ्यो । त्यसमाथि पनि भैँसीको संख्या धेरै हुन्थ्यो । गाई कराउँदा मानिसहरू झर्को मान्थे । तिनै मानिसहरू कसैले भैँसी दिएर गाई साट्न थाले । कसैले पैसा तिरेर गाई किन्न थाले । उनका अनुसार त्यतिखेर तीन हजारदेखि १० हजार रुपैयाँसम्ममा गाई खरिद गर्न सकिन्थ्यो । गाईपालन पछि दुध बिक्रीबाट फाइदा हुने देखेपछि मानिसहरूले आफैँ बाच्छी हुर्काउन थाले ।
कृषि विकास बैंकले पहिलोपटक नेपालमै यो ठाउँमा गाई खरिद गर्ने किसानलाई ऋण लगानी गर्न थालेको थियो । जसले गर्दा भैँसीलाई विस्थापित गरेर उन्नत जातका गाईलाई यहाँका किसानले रोज्न थाले । १८ देखि २२ महिनामा बाली जानु, भैंसीको तुलनामा धेरै समयसम्म उत्पादन दिइरहनु र उत्पादन पनि धेरै दिनु नै गाईप्रति आकर्षित हुनुको मुख्य कारण थियो । सामान्यतया भैँसी तीन वर्षपछि मात्र बाली जाने गर्छ । त्यसमा पनि भैँसीले सात महिनाभन्दा बढी दुध दिँदैन ।
गाईपालनले बदल्यो जीविकोपार्जन
त्यसवेला चितवनको गीतानगर क्षेत्रमा रोजगारी केही थिएन, जमिन पनि सुक्खा थियो । खेती हुँदैनथ्यो । अर्को गाउँमा गएर अर्काको बारीमा काम गर्नुपथ्र्यो । दुध राम्रो मूल्यमा सहजै बिक्री हुन थालेपछि बालबालिका पढाउन, घरको गुजारा चलाउन धेरै नै सहज भयो । सहकारीले दुध बिक्रीको पैसा हरेक पन्ध्र दिनमा दिन्थ्यो । उधारोमा पनि दाना चोकर लैजान पाउने व्यवस्था थियो । गाईपालनपछि गाईको गोबरबाट खेतीपाती पनि राम्रो हुँदै गयो । केशरवागको गाईबाट सफलता मिल्दै गएको चर्चा देशभर हुन थाल्यो ।
दोलखा, स्याङ्जा, मकवानपुर, कालिकोट, पोखरा, गोरखालगायत जिल्लाबाट उन्नत जातका गाई किन्न किसान यहाँ आउन थाले । यो सहकारी संस्थामा हाल सात सयबढी कृषक परिवार आबद्ध छन् । दैनिक आठ हजार ५०० लिटर दुध संकलन हुँदै आएको छ । यो क्षेत्रमा मात्र करिब २२ सयभन्दा बढी गाई छन् भने भैँसीको संख्या दुई सय हारहारीमा रहेको संस्थाका अध्यक्ष प्रदीप तिमल्सेना बताउँछन् । एकीकृत कृषि तथा पशु सेवा केन्द्र गीतानगरका अनुसार केशरवागका प्रायः घरमा अहिले पनि गाई छ । यो गाउँमा मात्र १४ सय गाई र ७० बढी भैँसी छन् ।
अन्नपूर्ण दुग्ध उद्योगलाई आज यो अवस्थामा ल्याउन पूर्वअध्यक्ष भगीरथ तिमल्सेनाको अर्को महत्वपूर्ण भूमिका छ । उनले ०६४ देखि १३ वर्ष अध्यक्ष रहेर यो संस्थाको नेतृत्व गरे । उनी ०५२ सालमा यही सहकारीमा सदस्य हुँदा पन्जाब हरियाणा कृषि भ्रमणमा पुगेका थिए । किसानले उत्पादन गरेको दुधलाई प्रशोधन र विविधीकरण गरेर बजार लगेको देखे । नेपालमा पनि त्यसलाई अनुसरण गर्ने योजना बनाए । तर, यता नेपाल बन्द, हडतालका कारण दुध नियमित बिक्री नहुने समस्या थियो । मिल्क होलिडे अन्त्यका लागि नेपालमै पहिलोपटक सहकारीमार्फत दुध विविधीकरण सुरु भयो । ०६८ सालमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई आएर अन्नपूर्ण सहकारीको नमुना गाई स्रोतकेन्द्रको उद्घाटन गरेपछि यसको चर्चा पुन देशभरि फैलियो ।
०६४ सालमा चिलिङ सेन्टरको सुरुवात गरेको अन्नपूर्णले ०६९ सालदेखि दुध, दही, पनिर, नौनी, घिउ आफैँ उत्पादन गरेर देशका विभिन्न सहरमा पुर्याउन थाल्यो । यसअघि ०६१ मै संस्थाले दाना उद्योग सुरु गरिसकेको थियो । ०६७ मा बचत तथा ऋण सहकारी सुरु गरेको संस्थाले अहिले पशुआहार साइलेज पनि उत्पादन गर्दै आएको छ । संस्थाको आफ्नै १५ कट्ठा जमिन छ । ०६४ सालमा अन्नपूर्ण दुग्ध सहकारी राज्यबाटै नमुना दुग्ध उत्पादक सहकारीका रूपमा सम्मानित पनि भएको थियो । यहाँका उत्पादन देशका विभिन्न जिल्लामा नियमित पुग्छन् । चितवनमा आफ्नै पाँच बिक्री केन्द्र छन् भने तीन ठाउँबाट सहकारीले दुध संकलन गर्छ । देशका प्रायः मुख्य सहरमा आफ्नो उत्पादन पुर्याइसकेको सहकारीले सीधै काठमाडौंमा दुध बिक्रीका लागि अध्ययन गरिरहेको छ ।
अहिले चितवनमा एउटै फार्ममा सयभन्दा धेरै गाई पालेको देख्न पाइन्छ । १० भन्दा धेरै गाई पाल्ने व्यावसायिक फार्म सयौँ छन् । किसानहरू व्यावसायिक बन्दै छन् । हिजो किसान भनेपछि नकारात्मक बिम्ब समाजमा व्याप्त थियो । तर, चितवनका मिहिनेती किसानले देखाइदिएका छन्– किसानले पनि रोजगारी दिन सक्छन् । किसानका पनि ठुला घर हुन्छन् । किसानहरू आफ्नै गाडीमा दुध बेच्न जान्छन् ।
भरतपुर महानगरपालिकाले दुधमा उत्पादनको आधारमा दिन सुरु गरेको अनुदान अहिले देशभर नै सिकाइको विषय बनेको छ । अन्य स्थानीय तह र प्रदेश सरकारले पनि यसैको सिकाइबाट दुधमा प्रतिलिटरको आधारमा दुधको अनुदान व्यवस्था गरेको छ । २५ पैसा हुँदै भरतपुर महानगरपालिकाले सुरु गरेको दुधको अनुदान अहिले प्रतिलिटर तीन रुपैयाँ पुगेको छ । चितवनको अन्य स्थानीय तह माडी नगरपालिकाले चार रुपैयाँ, कालिका नगरपालिकाले एक रुपैयाँ र राप्ती नगरपालिकाले ५० पैसा उत्पादनको आधारमा प्रतिलिटर दुधमा अनुदान दिँदै आएको छ ।
किसानको प्रतिस्पर्धा भारतीय कम्पनीसँग
भारतको अमुल कम्पनीका दुधजन्य पदार्थका उत्पादन नेपाली ठुला मार्केटमा प्रशस्त छन् । कारण उनीहरूले चक्लेटदेखि पाउन्डसम्मका दुग्धजन्य खाद्ययवस्तु बनाएका छन् । अमुलको उत्पादन दुई रुपैयाँको चक्लेटदेखि आवश्यक परिणाममा जति चाहिन्छ, त्यति नै खरिद गर्न सकिन्छ । तर, नेपालमा खुलेका उद्योग भारतीय उत्पादन अमुलसँग प्रतिस्पर्धा गर्न सक्दैन । नेपालमा खुलेका उद्योग प्रायः एकै किसिमका छन् । थोरै–थोरै लगानी र धेरै ठाउँको लगानीले समस्या सिर्जना हुँदै आएको छ । यहाँका स्थानीय सहकारी दही, दुध, पनिरलगायत उत्पादन तथा बिक्री वितरणमा अस्वस्थ प्रतिस्पर्धा गरिरहेका छन्, जसले कसैलाई फाइदा गर्दैन । अहिले भएका उद्योगलाई थप परिमार्जित गर्न आवश्यक छ ।
‘महानगरमा भएका सबै सहकारीका उद्योगलाई एकीकृत गरेर ठुलो परिमाणमा उत्पादन गर्ने हो कि,’ अन्नपूर्णका अध्यक्ष प्रदीप तिमिल्सिनाको धारणा छ । ठुलो संख्यामा अनुत्पादक पशु हुनु तथा उन्नत जातका पशु नहुनु र तथ्यांक नहुनु पनि अर्को समस्या हो । पशुपालन व्यवसाय व्यावसायिक नहुनुका साथै दुध उत्पादन, संकलन तथा प्रशोधन प्रक्रियालाई यान्त्रीकरण गर्न नसक्नुजस्ता कारणले भरतपुरको दुग्ध व्यवसायले अझै पनि सोचेजस्तो फड्को मार्न नसकेको व्यवसायी तथा किसानको ठहर छ ।
अहिले भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष मनाइरहेको छ । किसानको प्रश्न छ– देशकै एक मात्र कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर र राष्ट्रिय गाई अनुसन्धान केन्द्र यही महानगरपालिकामा पर्छ । तर, किसानका गोठ हेर्न पर्यटक आउने वातावरण बनाउन हाम्रो स्थानीय सरकारले किन सकेको छैन ?