अधिकांश युवा कडा मिहिनेतले छोटै समयमा राष्ट्रप्रमुख बनेका छन्, केही वंश परम्पराबाट र केही सैन्य कुमार्फत पनि बनेका छन् । एकजना ट्याक्सी–चालकका छोरासमेत राष्ट्रप्रमुख बनेर देश हाँकिरहेका छन् ।
अमेरिकी राष्ट्रपतीय चुनावअघि देशका दुई प्रमुख दलका उम्मेदवारबिच जुन २७ मा डिबेट आयोजना गरिएको थियो । डेमोक्रेटिक पार्टीका उम्मेदवारका रूपमा ८१ वर्षीय वर्तमान राष्ट्रपति जो बाइडेन र रिपब्लिकन पार्टीबाट ७८ वर्षीय पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प डिबेटमा उत्रिएका थिए । डिबेट हुनुअघि नै बाइडेनको उमेरको चर्चा भइरहेको थियो । राजनीतिज्ञ, विश्लेषक, डेमोक्रेटिक पार्टीका समर्थक उनको उम्मेदवारीको पक्ष–विपक्षमा बाँडिएका थिए । तर, डेमोक्रेटिक पार्टीले भने डिबेटअघि अन्तिम समयसम्म बाइडेनको प्रतिरक्षा गर्दै उनमा उमेरजन्य केही शारीरिक कमजोरी भए पनि उनको दिमाग ताजा भएको दाबी गरिरह्यो । तर, डिबेटमा उक्त दाबी एकैपटकमा चकनाचुर भयो । बाइडेन आफ्ना कुरा राख्दा लर्बराउने, एक्लै गुनगुनाएझैँ गर्ने र सोधेकोभन्दा फरक उत्तर दिने गरिरहेका थिए । केही मुद्दामा उनले विरोधाभाषी तर्कसमेत गरेको देखियो । डिबेटले डेमोक्रेटिक पार्टीभित्र तरंग सिर्जना गर्यो र उनले उम्मेदवारी नै त्याग्नुपर्यो । अहिले उनको सरकारकी उपराष्ट्रपतिले उनको उम्मेदवारीलाई प्रतिस्थापन गरेकी छिन् । उसो त बाइडेनसँग डिबेटमा उत्रिएका नेता डोनाल्ड ट्रम्प पनि उनीभन्दा तीन वर्ष मात्र कान्छा हुन् । यस प्रकरणले अमेरिकी राजनीतिमा वयोवृद्ध नेताहरूको प्रभुत्वको बहस चलायो ।
अमेरिकामा ढिलै भए पनि यो विषयमा बहस चलेको छ । तर, अरू धेरै देशमा लामो समयदेखि वयोवृद्ध नेताको हालीमुहाली छ । अहिलेका विश्वका प्रमुख शक्ति चीन (सी जिनपिङ, ७१), रुस (भ्लादिमिर पुटिन, ७१), भारत (नरेन्द्र मोदी, ७३), ब्राजिल (लुइस लुला द सिल्भा, ७८), दक्षिण अफ्रिका (सिरिल रामाफोसा, ७१) का नेता ७० वर्षभन्दा माथिका छन् । अरू देशमा मात्र होइन, नेपालमा पनि आलोपालो सरकारको नेतृत्व गरिरहेका प्रचण्ड (६९ वर्ष), केपी ओली (७२) र शेरबहादुर देउवा (७८) पनि वृद्ध नै हुन् ।
धेरै देश राजनीतिक नेतृत्वमा कसरी युवालाई ल्याउने बहसमा लागेका वेला केही देशले भने व्यवहारमै कार्यान्वयन गरिसकेका छन् । यहाँ कार्यकारी पद सम्हालिरहेका केही युवा नेताको चर्चा गरिएको छ ।
डेनियल नोबोआ (३६ वर्ष) राष्ट्रपति, इक्वेडर
डेनियल नोबोआ इक्वेडरको राष्ट्रपति बन्दा उनले आफ्ना पिताको देशको राष्ट्रपति बन्ने दशकौँको सपना पूरा गरेका थिए । रोजगार सिर्जना र आपराधिक समूहलाई नियन्त्रणमा राख्ने वाचासहित चुनाव जितेका नोबोआका पिताले विगतमा पाँचपटक राष्ट्रपति उम्मेदवारी दिएका थिए । तर, पाँचैपटक उनी पराजित भए । अहिले पिताको सपना छोराले पूरा गरिदिएका छन् ।
पूर्वराष्ट्रपति गुलेरमो लासाले सम्भावित महाभियोगको सामना गर्नबाट बच्न अकस्मात चुनावको घोषणा गरेपछि भएको चुनावमा नोबोआले चुनाव जितेका थिए । उनी अब लास्सोको बाँकी कार्यकालको १८ महिना मात्र सत्तामा रहनेछन् । कुनै समय दक्षिण अमेरिकाको सबैभन्दा सुरक्षित देश मानिने इक्वेडर पछिल्लो समय लागुऔषध कारोबारी समूहबिचको प्रतिद्वन्द्विताको कारण हिंसाको भुमरीमा पर्दै गएको छ । हिंसाको स्तर कतिसम्म बढेको रहेछ भने राष्ट्रपति निर्वाचनमा उठेका एक उम्मेदवार फरनान्डो भिलाभिसेन्सियोसमेत मारिए । बन्दरगाह नगर गुयाक्विल नोबोआमा जन्मिएका नोबोआका अर्बपति अल्भारोका छोरा हुन् । उनको अमेरिकाका तीन विश्वविद्यालय हारवार्ड, नर्थ वेस्टर्न र जर्ज वासिंटन विश्वविद्यालयबाट तीन स्नातकोत्तर डिग्री हासिल गरेका छन् ।
सन् २०२१ मा राष्ट्रि सभामा उठ्ने वेला उनले पारिवारिक व्यापारबाट हात झिकेका थिए । त्यति वेला उनले वामपन्थी उम्मेदवार लुइसा गोन्जालेजलाई पहिलो चरणमै हराएका थिए । इक्वेडरको अर्थतन्त्र कोरोना भाइरसले निम्त्याएको महामारीपछि उठ्न अझै संघर्षरत गरिरहेको र देशमा संगठित अपराधको हिंसा बढेको समयमा युवाहरूको आशाका उम्मेदवार भएर चुनाव जितेका नोबोआको आगामी दिन कठिन छ ।
मिलोज्को स्पाजिक (३६ वर्ष) प्रधानमन्त्री, मोन्टेनेग्रो
सन् २०२१ जुनमा युरोपको सानो देश मोन्टेनेग्रोमा सम्पन्न संसदीय निर्वाचनमा कुनै दलले बहुमत हासिल गर्न सकेनन् । त्यसपछि लामो समय गठबन्धन निर्माणको प्रयास भयो । झन्डै पाँच महिनाको छलफलपछि ३५ वर्षीय मिलोज्को स्पाजिकले आफ्नो पक्षमा बहुमत सांसद जुटाउन सफल भए । संसद्को कुल ८१ सिटका लागि भएको चुनावमा मिलोज्कोको दल ‘युरोप नाउ’ २४ सिटसहित सबैभन्दा ठुलो दल बनेको थियो । चुनाव हुनुभन्दा एक वर्षअघि मात्र गठन भएको ‘युरोप नाउ’ले सन् २००६ मा सर्बियाबाट स्वतन्त्र भएदेखि देशमा सधैँ सरकार बनाउँदै आएको डेमोक्रेटिक पार्टी अफ सोसलिस्ट (डिपिएस)लाई दोस्रो स्थानमा धकेलिदिएको थियो । तथापि उसले बहुमतका लागि आवश्यक ४१ सिट भने पाउन सकेन । त्यसले सत्ता गठबन्धन निर्माणको लामो रस्साकस्सी निम्त्यायो । अन्ततः सबैभन्दा ठुला दलको नेता मिलोज्कोले आफ्नो पक्षमा बहुमत पुर्याए र सरकारको नेतृत्व गरे ।
सन् १९८७ सेप्टेम्बरमा तत्कालीन युगोस्लाभियाको मोन्टेनेग्रोमा जन्मिएका स्पाजिक विद्यालयका उत्कृष्ट विद्यार्थी थिए । मोन्टेनेग्रोमा माध्यमिक अध्ययन पूरा गरेर उच्च शिक्षाका लागि जापान गए । छात्रवृत्तिमा जापानका साइतामा विश्वविद्यालय र ओसाका विश्वविद्यालय पढेको स्पाजिकले विद्यार्थी सम्पर्क कार्यक्रमअन्तर्गत चीन र फ्रान्सेली विश्वविद्यालयमा पनि केही समय बिताएका थिए । अध्ययनका क्रममा आफूलाई विभिन्न अन्तर्राष्ट्रिय अनुभवले खारेका स्पाजिक मातृभाषाका अतिरिक्त अंग्रेजी, जापानी, चिनियाँ, रुसी र फ्रेन्च भाषा पनि बोल्न सक्छन् । अध्ययनलगत्तै उनले विश्वव्यापी वित्त संस्था गोल्डम्यान स्याक्समा काम गरे । सो संस्थामा कार्यरत रहँदा उनले अमेरिका, फ्रान्स र जापानदेखि सिंगापुरसम्म रहेर काम गरे । उनको राजनीतिक करिअर पूर्ववर्ती प्रधानमन्त्री द्राभ्को क्रिभोकाभिकको सम्पर्कमा आएपछि सुरु भयो । सन् २०२० को संसदीय चुनावको समयमा क्रिभोकाभिकले उनलाई आफ्नो सहयोगी समूहमा रहेर काम गर्न आग्रह गरेका थिए । पछि क्रिभोकाभिक प्रधानमन्त्री भएपछि उनलाई वित्त मन्त्रालय सम्हाल्न प्रस्ताव गरियो, जसलाई उनले सहर्ष स्विकारे । सोही सरकारमा रहँदारहँदै सन् २०२२ मा अर्थमन्त्री ज्याकोभ मिलाटोभिचसँग मिलेर नयाँ राजनीतिक दल ‘युरोप नाउ’ खोले । दुई युवा मिलेर खोलेको सो पार्टीले देशको सुस्त अर्थतन्त्रलाई ऊर्जावान बनाउने र सर्वत्र व्याप्त भ्रष्टाचारको जालो च्यात्ने नाराका साथ चुनावमा ओर्लिए । तिनको नाराले मतदातालाई आकर्षित गर्दा उनीहरू सबैभन्दा ठुलो दल बन्न सफल भए ।
सिमोन ह्यारिस (उमेर ३७) प्रधानमन्त्री, आयरल्यान्ड
ट्याक्सी ड्राइभर पिता र अशक्तहरू हेर्ने अस्पतालमा काम गर्ने आमाका तीन सन्तानमध्ये जेठा सन्तान हुन्, ह्यारिस । उनका दुवै अभिभावक राजनीतिमा सक्रिय थिएनन् । तर, उनलाई भने सानैदेखि राजनीतिमा रस बस्यो । उनी १५ वर्षको उमेरदेखि नै एक स्थानीय सांसदको चुनावी प्रचारमा संलग्न भएर राजनीतिमा सक्रिय भए । १६ वर्षकै उमेरमा आयरल्यान्डको फिन गेलको सदस्यता लिए । उनलाई नजिकबाट चिन्ने मानिस राजनीतिप्रतिको चाखकै कारण उनले कलेज अध्ययनसमेत बिचैमा छाडेको बताउँछन् ।
उनै सिमोन ३७ वर्षको उमेरमा आयरल्यान्डको सबैभन्दा कम उमेरका कार्यकारी प्रमुख (जसलाई टिसक सम्बोधन गरिन्छ) चुनिएका छन् । पूर्ववर्ती लियो भाराड्करले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिने बताएपछि देशको सर्वोच्च पदमा पुग्ने बाटो खुलेको थियो । उनको मात्र उम्मेदवारी परेपछि उनी टिसक हुने पक्का बनेको थियो । टिसक हुनुअघि ह्यारिस अघिल्लो सरकारमा उच्च शिक्षामन्त्री थिए । फिन गायलको सिनेटर फ्रान्स फिटगेराल्डको संसदीय सहयोगी बन्ने अवसर पाएपछि उनले उच्च शिक्षाको पढाइ बिचमै छाडेका थिए । उच्च शिक्षा बिचमै त्यागे पनि उनी आयरल्यान्डको शीर्ष राजनीतिक नेतृत्व पद सम्हाल्न पुगेका छन् ।
फिटजेराल्ड फिन गेल पार्टीको तर्फबाट आयरल्यान्डको उच्च सदनकी सिनेट नेता हुँदा ह्यारिस उनका सहयोगी बनेका थिए । त्यहाँबाट सन् २००९ मा उनी आफैँ नगर सभामा उठे । त्यसको दुई वर्षपछि उनी आयरल्यान्डको तल्लो सदनमा चुनिए । त्यतिवेला उनी २४ वर्षका मात्र थिए । पार्टीभित्र छिटोछिटो पदोन्नति गरेका ह्यारिस सन् २०१४ मा उनको पार्टी सरकारमा सहभागी हुँदा वित्त मन्त्रालयको राज्यमन्त्री बनेका थिए ।
‘मेरो करिअर धेरै हिसाबमा केही फरक रह्यो । म २२ वर्षको उमेरमा नगर सभाको सदस्य बनेँ, २४ वर्षमा सांसद र २७ वर्षमा कनिष्ठ मन्त्री । २९ वर्ष हुँदा म स्वास्थ्यमन्त्री भइसकेको थिएँ । जीवनमा धेरै कुरा मैले सोचेभन्दा छिटो भयो,’ उनले भने । ह्यारिसले स्वास्थ्य मन्त्रालयमा साढे तीन वर्ष बिताए । सोही समय विश्वव्यापी कोभिड महामारीले विश्वलाई गाँज्यो । आयरल्यान्डले महामारीको तयारीस्वरूप छिटै सावधानी अपनायो । विद्यालय र कलेज अरू देशमा भन्दा पहिले नै बन्द गरिएका थिए । साढे तीन वर्षपछि सरकारभित्रका मन्त्री फेरिँदा उनले उच्च शिक्षा मन्त्रालय पाए । त्यसपछि उनी अहिले देशकै शीर्ष पदमा पुगेका छन् ।
गेब्रियल बोरिक (३८ वर्ष) राष्ट्रपति, चिली
विद्यार्थी राजनीतिबाट उदाएका बोरिक सन् २०२१ डिसेम्बरमा देशका राष्ट्रपति चुनिँदा ३५ वर्षका मात्र थिए । त्यस क्रममा उनले देशको सबैभन्दा कान्छो राष्ट्रपतिको रेकर्ड बनाएका थिए । बोरिक उग्र दक्षिणपन्थी उम्मेदवार होसे एन्टोनियो कास्टलाई हराएर देशको सर्वोच्च पदमा पुगेका थिए । वामपन्थी झुकाव राख्ने बोरिकले चुनावी अभियानमा चिलीको अर्थतन्त्रलाई थप समानतामुखी ‘कल्याणकारी राज्य’ बनाउने वाचा गरेका थिए । अगोस्टो पिनेचोको पालामा बनेको संविधान उल्ट्याएर संविधानसभाबाट नयाँ संविधान बनाउने प्रयास जनमतसंग्रहबाट उल्टिएपछि उनको प्रयासमा केही धक्का लागेको छ ।
सन् २०११ मा चिलीमा विश्वविद्यालय शिक्षा सुधारको माग गर्दै देशव्यापी विद्यार्थी आन्दोलन उठेको थियो । शिक्षामा व्यापक निजीकरण हुँदा त्यो आमनागरिकको पहुँचबाहिर गएको र राज्यले लगानी बढाएर यसलाई सस्तो बनाउनुपर्ने प्रमुख माग राखिएको आन्दोलनबाट केही विद्यार्थी नेता उदाए । तीमध्ये एक थिए, त्यो समय युनिभर्सिटी अफ चिलीमा कानुन पढिरहेका बोरिक । उनले देशव्यापी विश्वविद्यालयका विद्यार्थी संगठनको महासंघको अध्यक्षको रूपमा आन्दोलनको नेतृत्व गरेका थिए । उक्त आन्दोलन सेलाएपछि उनी आन्दोलनमा बनाएको पहिचान प्रयोग गर्दै मूलधारको राजनीतिमा प्रवेश गरे । सन् २०१३ र २०१७ मा भएको निर्वाचनबाट निर्वाचित भएर तल्लो सदनमा पुगे । पहिलोपटक उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए भने दोस्रोपटक वामपन्थी दलहरूको बृहत्तर गठबन्धनबाट उम्मेदवार दिएका थिए । सन् २०२१ डिसेम्बरमा सम्पन्न राष्ट्रपतीय चुनावमा उनलाई सोही गठबन्धनले उम्मेदवार बनायो । उनले दोस्रो चरणको चुनावमा ५५.९ प्रतिशत मत ल्याएर कास्टलाई हराए ।
पेटोङटार्र्न सिनावात्रा (३८ वर्ष) प्रधानमन्त्री, थाइल्यान्ड
श्रेथा थाभिसिन १६ वर्षभित्र अपदस्थ हुने चौथो प्रधानमन्त्री भएपछि पेटोङटार्न सिनावात्रा थाइल्यान्डकी ३१औँ प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो । संवैधानिक अदालतले एकजना भ्रष्टाचार मुद्दा लागेका व्यक्तिलाई मन्त्री बनाएको आरोप लगाउँदै श्रेथालाई अपदस्थ गरेको थियो । श्रेथाजस्तै पेटोङटार्न फेउ थाई पार्टीकी नेता हुन्, जसको तल्लो सदनमा १४१ सांसद छन् । पार्टीले १० विभिन्न रुढिवादी दलहरूको गठबन्धनको नेतृत्व गरिरहेको छ, जोसँग संसद्मा कुल ४३९ सिटमध्ये ३१४ सिट छन् । १६ अगस्टमा संसद्मा नयाँ प्रधानमन्त्री चुन्न भएको मतदानका क्रममा पेटोङटार्नले ३१९ मत हासिल गरिन् । विपक्षमा १४५ सिट खस्दा २७ सांसद निर्वाचन प्रक्रियामा अनुपस्थित थिए ।
पेटोङटार्न थाइल्यान्डको प्रतिष्ठित सिनावात्रा परिवारकी सदस्य हुन् । उनी देशका दुईपटकका प्रधानमन्त्री थाक्सिन सिनावात्राकी सबैभन्दा कान्छी सन्तान हुन् । उनकी फुपू यिनलङ सिनावात्रा सन् २०११ देखि २०१४ बिच प्रधानमन्त्री थिइन् । तर, दुवैको प्रधानमन्त्रीकाल सेनाको कुबाट समयअगावै टुंगिएको थियो । यिनलङपछि पेटोङटार्न थाइल्यान्डको इतिहासकी दोस्री महिला प्रधानमन्त्री पनि हुन् । सन् २००६ मा उनका पिता थाक्सिन कुमार्फत अपदस्थ भएपछि उनीमाथि कैयौँ मुद्दा चलाइयो । त्यसबाट बच्न उनी स्वनिर्वासनमा गए । त्यसपछि पेटोङटार्न र उनका दाइदिदी थाइल्यान्डमै रहेर पिताका व्यवसाय सञ्चालन गर्न थाले । राजनीतिज्ञका अलावा थाक्सिनले गल्फ कोर्सदेखि घरजग्गा कारोबार, होटेल व्यवसायदेखि दूरसञ्चार क्षेत्रसम्मका व्यापारमा हात हालेका थिए । पेटोङटार्नले अध्ययन सकेपछि लगत्तै पिताकै व्यवसायमा दाइदिदीहरूलाई सघाउन थालेकी थिइन् ।
सन् २०२१ मा पेटोङटार्न उनको पिताले स्थापना गरेको फेउ थाई पार्टीमार्फत राजनीतिमा प्रवेश गरिन् । उनलाई पार्टीको नवप्रवर्तन र समावेशिता समितिको अध्यक्ष बनाइको थियो । दुई वर्षपछि देश संसदीय चुनावमा होमिँदा पार्टीले उनलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेर चुनाव प्रचार गरेको थियो । त्यति वेला उनी गर्भवती थिइन्, तर उनी र श्रेथाले चुनावी अभियानको नेतृत्व गर्दै देशभर पार्टीका लागि मत मागे । सन् २०१९ मा विवाह भएको पेटोङटार्नका हाल दुई सन्तान छन् ।
चुनावमा पार्टीले दोस्रो धेरै सिट जित्न सफल भयो । तथापि सबैभन्दा धेरै सिट जित्न सफल भएको मुभ फरवार्ड पार्टीले बहुमत हासिल गर्न नसकेपछि सत्ता नेतृत्वको अवसर थाई फेउ पार्टीले नै पायो । तर, खासै राजनीतिक अनुभव नभएका कारण गठबन्धन सत्ता नेतृत्वको जिम्मेवारी पेटोङटार्नको साटो अनुभवी व्यवसायी श्रेथालाई दिइयो । तर, ११ महिनामै संवैधानिक अदालतको निर्णयबाट श्रेथाको सरकार अपदस्थ भएपछि पेटोङटार्र्न प्रधानमन्त्री बनेकी छिन् ।
वंश परम्परामार्फत सत्तामा पुगेका युवा किम जोङ उन (४० वर्ष) राष्ट्रपति, उत्तर कोरिया
राजतन्त्र भएका वा वंशानुगत रूपमा नेतृत्व हस्तान्तरण हुने केही देशमा पनि युवा नेताले नेतृत्व चलाइरहेका छन् । यसमा सबैभन्दा बढी चर्चामा छन्, उत्तर कोरियाली नेता किम जोङ उन । दोस्रो विश्वयुद्धमा जापानको हार भएपछि उसको उपनिवेश रहेको कोरियाली प्रायद्वीप कम्युनिस्ट र पुँजीवादी सत्तामा विभाजित भयो । त्यसमध्ये उत्तरतर्फ रहेको कम्युनिस्ट राज्य किम इल सुङले नेतृत्व गरेका थिए । सुङ लामो समय सत्तामा रहेर सन् १९९४ मा बिते । त्यसपछि उनका छोरा किम जोङ इल कोरियाका सर्वोच्च नेता रहे । सन् २०११ मा इलको निधन भएपछि उनका २९ वर्षीय छोरा किम जोङ उनले सत्ताको कमान सम्हाले । हाल उनी ४० वर्षका भए । उनी अमेरिका तथा पश्चिमको विरोधका बाबजुद विभिन्न क्षमताका आणविक अस्त्र निर्माण गरेर विश्व राजनीतिमा चर्चामा आइरहन्छन् ।
मोहम्मद बिन सलमान (३९ वर्ष) प्रधानमन्त्री, साउदी अरब
वंशानुगत परम्पराबाट सत्तामा आएकामध्ये अर्का प्रभावशाली नेता हुन्, साउदी अरबका युवराज मोहम्मद बिन सलमान । ८८ वर्षको उमेरमा अस्वस्थताका कारण राजा सलमान बिन अब्दुल अजिजले राजकाजको मामिला हेर्न नसक्ने भएकाले साउदी अरबको वास्तविक शक्ति प्रधानमन्त्री पदसमेत सम्हालिरहेका बिन सलमानको हातमा दिइएको छ । उनी शक्तिमा आएपछि आक्रामक नीति अवलम्बन गरिरहेका छन् । सुरुमा चलचित्र प्रदर्शनमाथिको नियन्त्रण हटाउँदा, महिलामाथिको कठोर नियन्त्रण केही खुकुलो बनाउँदा अन्तर्राष्ट्रिय मिडियाले उनलाई सुधारवादी शासकका रूपमा प्रस्तुत गर्न थालेका थिए । तर, समयक्रममा उनले यमनमाथिको ठुलो स्तरको आक्रमणको नेतृत्व गरे र कतारमाथिको नाकाबन्दीजस्ता उग्र विदेश नीति लिए । उनको पुनः मूल्यांकन हुन थालेकै समयमा सन् २०१८ मा टर्कीस्थित साउदी दूतावासमा साउदी राजाका आलोचक जमाल खसोग्गीको क्रूरतापूर्वक हत्या भएपछि उनको व्यापक आलोचना हुन थाल्यो । साउदी अरबबाट उनको छवि सुधारको लामो प्रयासका बाबजुद उनी अझै पनि पश्चिमबाट पूर्ण स्विकारिएका छैनन् ।
कुमार्फत सत्तामा पुगेका युवा राष्ट्रप्रमुख महमत डेबी (३७ वर्ष) राष्ट्रपति, चाड
त्यसपछि चाडमा पनि उस्तै सैन्य कुपछि संक्रमणीय सैन्य परिषद्को गठन भयो, जसको नेतृत्व ३७ वर्षका महमत डेबीले गरिरहेका छन् । हाल उनी ४० वर्षका भए ।
इब्राहिम ट्राआर (३४ वर्ष) राष्ट्रपति, बुर्किनाफासो
उता एक वर्षपछि बुर्किना फासोमा भएको कुको नेतृत्व ३४ वर्षका सेनाका क्याप्नेट इब्राहिम ट्राआरले गरे । कुपछि आफूलाई राष्ट्रपति घोषणा गर्दा ट्राआर त्यस समयका विश्वकै सबैभन्दा कान्छा कार्यकारी प्रमुख बनेका थिए ।
(एजेन्सीहरूको सहयोगमा)