• वि.सं २०८१ असोज २१ सोमबार
  • Monday, 07 October, 2024
जसुवा रोथम्यान
२०८१ असोज ५ शनिबार ०७:३९:००
अनुवाद

हामी कत्तिको प्राकृतिक छौँ ?

२०८१ असोज ५ शनिबार ०७:३९:००
जसुवा रोथम्यान

 

अर्बौँ वर्ष पहिले अस्तित्वमा रहेको जीवनबाट हामीलाई धेरै कुराले अलग बनाएको छ । हामी वरपर टहलौँ (वा पौडी खेलौँ), गफ गरौँ, भोजभतेर मनाऔँ, योजना बनाऔँ, लुटपाट गरौँ जे गरे पनि हामीले हाम्रो वातावरणलाई आमूल र कतिपय अवस्थामा विनाशकारी तरिकाले परिवर्तन गर्छाैँ ।

 

मेरोे घरनजिकै रहेको नुनिलो पानीको खाडी (क्रिक) एक किनारादेखि अर्काे किनारासम्म दुई सय गज विस्तारित छ । घाँसे थुम्कोबाट ओर्लेर काठे ढोका खोल्दै दुई लेनको बाटो पार गरेर म त्यहाँ पुग्छु । एउटा बेन्च र आराम कुटी (गजेबो) नाघेपछि समुद्री घाँसले मोरिएको सानो गेगरिलो समुद्रीबिच आउँछ । म लङ आइल्यान्डको उत्तरी किनारमा अवस्थित उपनगरमा बस्छु । यो बेन्च, यो गजेबो, यो समुद्री तट र यो नुनौलो खाडी सार्वजनिक सम्पत्ति हुन् । यहाँ पानीमा साना डुंगा छन् । बाटो पल्लोपट्टिको एउटा घाट (साना ढुंगा अड्याउने लंगर)ले दुई दर्जनजतिलाई आतिथ्य दिन सक्छ । मानिसहरू यहाँ टहलिन आउँछन्, पोडकास्ट सुन्दै वा कुकुर घुमाउँदै हिँडडुल गर्छन् । 

 

मध्य सर्दीमा यो खाडी अक्सर जमेको हुन्छ, तर नोभेम्बर वा डिसेम्बरमा थर्माेसुट लगाएर घुम्न सकिन्छ । यहाँको पानी सङ्लो नै छ । छाल नउछालिने शान्त दिनमा यहाँ पौडी खेल्दा आफूलाई आफैँले तान्दै लगेजस्तै लाग्छ । पानीको पिँधमा हिलो र माटोमा जडित चट्टान, शंखेकिरा र सिपीका खोल छर्लंगै देखिन्छन् । मेरा जाँघ मेरो पछाडि फैलिन्छन् र म पूर्वतिर हानिन्छु । यो खाडीको रखबारी गर्ने सहरको फोल्डिङ पुल (ड्रब्रिज)को पछाडिबाट उदाउँदै गरेको कलिलो सूर्यलाई म सबेरै पछ्याँउछु । यहाँको निरव शान्तिमा यस्तो लाग्न सक्छ– यहाँ कुनै पनि जीव बसोवास गर्दैनन् । तट आएपछि म सक्दो छिटो चिसो पानीबाट निस्किन्छु र मक्किएको काठे सिँडी हुँदै नजिकैको सडकतर्फ लम्किन्छु । 

 

वसन्त ऋतुमा क्रिक फराकिँदै जाने हुँदा किनारालाई पछ्याउँदै म अझ अगाडिसम्म जान सक्छु । यतिखेर पानी न्यानो र अलि धमिलो हुन्छ । कीराफट्यांग्राका गुन्जनले छालको तालीलाई दबाउँछ । इन्चभर लम्बाइका माछाको हुल मेरो खुट्टावरिपरि झुम्मिन आउँछन् । वसन्तसँगै पलाएका समुद्री घाँसका पात तरबारझैँ धारिला छन्, जो छाल आउँदा जलमग्न हुन पुग्छन् । यहाँ पौडी खेल्न सजिलो छ । म मेरो छाती, पेट र खुट्टामा लामा कोत्राइ पाउँछु । म उभिन्छु र घाउ जाँच गर्छु । कतिखेर सिक्काको आकारका गंगटाको हुल बालुवाको प्वालबाट निस्कन्छन् र अन्तै लाग्छन् ।

 

गर्मीमा हो यो खाडी साँच्चै परिवर्तन हुन्छ । तातोपानी धुर्मैलो र सुगन्धित भएको हुन्छ । सतहमा, सूक्ष्म जीवहरूको जीवित तह अर्थात् ‘बायोफिल्म’ को परत सहजै देख्न सकिन्छ । पौडिँदै गरेका ठुला माछालाई कावा खाँदै दाउ लगाइरहेका बाजले सिकार गर्छन् । ससाना माछाहरू किरा समात्न पानीबाट फुत्त बाहिर उफ्रन्छन् भने सिकारी चरा माछा समात्न पानीमा ‘गोता’ लगाउँछन् । पौडी खेल्दै गर्दा यी ठाउँमा मानौँ विनाबादल वर्षा भइरहेको हो कि जसरी पानी उच्छिटिँदै माथि पुगेर झरी लाग्दै पुनः खस्न आइपुग्छन् । अनि पानीमा मानिस पनि त छन् । अर्को पौडीबाजले छाल उठाइदिन सक्छ वा कुनै छिमेकी आफ्नो ‘कायाक’ लिएर त्यतै आइदिन सक्छ । कोही सामुन्ने हुँदा बाटोमा हिँड्दाझैँ हामी ‘शुभप्रभात’ भन्छौँ । 

 

अन्तमा पौडी खेल्न नसकिने दिन आउँछ । सामान्यतः यो अगस्टको अन्तमा यस्तो दिन आउँछ, तब यहाँ अनियन्त्रित गतिविधि शिखरमा पुगेको भान हुन्छ । त्यहाँ धेरै हलचल भइरहेको हुन्छ । पानीमा पस्दा काँध र पिठ्युँमा धेरै चिजले टोकेजस्तो लाग्न थाल्छ । 

 

पौडीको मध्यमा पुगेपछि, जब मलाई अब सकिन्न भन्ने लाग्छ, म थोरै चिडचिडाहट र अलिकति निराश महशुस गर्छु । शरद र जाडोयाममा यहाँ पौडिनु मलाई वीरतापूर्ण कार्य लाग्छ; मानौँ म नै यो खाडीलाई जीवन्तता दिने व्यक्ति हुँ । त्यसपछि, वसन्त र गर्मीको सुरुवातमा पौडी सहज हुन्छ । क्रिक जीवनको धुन मेरो लयसँग मिल्छ । जब प्रकृतिको साथ चल्न सकिँदैन तब पौडीको अन्त आउँछ । म एकदमै चिन्तित, एकदमै निराश र हतोत्साही हुन पुग्छु । म जीवनको विरुद्ध उभिन पुगेको छु, मैले आफूलाई प्रकृतिबाट अलग राखेको छु । अनि म सोच्छु, यो क्रिक स्वाभाविक लयमा नफर्केसम्म मैले पौडी खेलिनँ भने त्यसको के अर्थ लाग्छ ? 

 

‘लिभिङ अन अर्थः फरेस्ट्स, कोरल्स, कन्सियसनेस एन्ड द मेकिङ अफ द वर्ल्ड’ पुस्तकमा विज्ञानका दार्शनिक पिटर गडफ्रे–स्मिथले मानिस र प्रकृतिबिचको सम्बन्धबारे प्रश्न गरेका छन् । उनी बृहत् समय रेखामा हाम्रो स्थान कहाँ छ भनेर सुरु गर्छन् । वैज्ञानिकहरू अक्सर हाम्रो ढिलासुस्तीपनमा जोड दिन्छन् । एउटा जीव वैज्ञानिकले आफ्ना हात फैलाउँदै देब्रे हातको माझी औँलाको टुप्पोले यो पृथ्वीको सुरुवातको प्रतिनिधित्व गर्छ भन्न सक्छ । र, त्यसपछि भन्न सक्छ– सम्पूर्ण मानव इतिहास अर्काे हातको औँलाको टुप्पो बराबर छ । मानौँ कि हामीले आफूलाई एकल प्रजातिका रूपमा होइन कि समग्र जीवनका रूपमा नै हेर्छाैँ । ‘पृथ्वी साढे चार अर्ब वर्ष पुरानो छ अनि यहाँ ३.७ अर्ब वर्षदेखि जीवन अस्तित्वमा छ भने हाम्रो ब्रह्माण्ड लगभग चौध अर्ब वर्ष पुरानो छ । यसको अर्थ हामी कुल अवधिको एकचौथाइभन्दा बढी समयदेखि यहाँ छौं,’ गडफ्रे–स्मिथ लेख्छन् । यस दृष्टिकोणमा, हामी नयाँ होइन, पुराना नै हौँ । 

 

अर्बौँ वर्ष पहिले अस्तित्वमा रहेको जीवनबाट हामीलाई धेरै कुराले अलग बनाएको छ । हामी वरपर टहलौँ (वा पौडी खेलौँ), गफ गरौँ, भोजभतेर मनाऔँ, योजना बनाऔँ, लुटपाट गरौँ जे गरे पनि हामीले हाम्रो वातावरणलाई आमूल र कतिपय अवस्थामा विनाशकारी तरिकाले परिवर्तन गर्छाैँ । तर, यस सन्दर्भमा पनि गडफ्रे–स्मिथको तर्क छ– वास्तवमा अन्य जीवित प्राणीहरूसँग हाम्रो धेरै समानता छ । ‘हाम्रो जीवनलाई चित्रण गर्ने ‘कार्यरूप’का संस्करणहरू,’ उनी लेख्छन्, ‘एकल–कोषीय जीवहरूमा पनि देख्न सकिन्छ ।’ धेरै प्रकारका ब्याक्टेरिया तैरिन सक्छन् । वाञ्छनीय रासायनिक स्रोतका पदचाप पछ्याउँदै तिनले ‘एक–अर्कालाई संकेत दिन’ सक्छन् । यद्यपि, यो कार्य शारीरिक गतिको सट्टा रासायनिक रूपले गरिन्छ । केहीले त इन्जिनियरिङको काम पनि गर्न सक्छन् । उदाहरणका लागि साइनो–ब्याक्टेरियालाई नै लिऔँ । यी ब्याक्टेरिया क्रमिक विकासका आधारमा पुराना हुन् । यिनको मेटाबोलिजमको सहउत्पादनका रूपमा बिस्तारै ‘स्ट्रोमेटोलाइट्स’ भनिने गुम्बजजस्ता संरचना निर्मित हुन पुग्छन् । बालुवा वा खनिज पदार्थबाट बन्ने स्ट्रोमेटोलाइट्स पाँच मिटरसम्म अग्ला हुन सक्छन् ।

 

साइनोब्याक्टेरियाले स्ट्रोलाइट्सका ‘ढिस्को’ बनाउनेबाहेक अरू धेरै काम गर्छ । लगभग तीन अर्ब वर्ष पहिले तिनको उद्भव हुँदा, पृथ्वी तुलनात्मक रूपमा अव्यवस्थित ठाउँ थियो । साइनोब्याक्टेरियाले नै पृथ्वीलाई परिवर्तन हुन मद्दत गर्‍यो । यिनले प्रारम्भिक प्रकारको प्रकाश संश्लेषण (फोटोसिन्थेसिस) विकास गरिदिए, जसले अक्सिजन रिजिल गर्न थाल्यौँ । सुरुमा, अक्सिजनले ढुंगामा अवशिष्ट फलामसँग प्रतिक्रिया देखायो र आइरनअक्साइड अथवा खिया बनायो । ‘मरुभूमिका राता परिदृश्य यसरी जीवनले नै रंग्याएको हो, अझै पनि रङरोगन चलिरहेकै छ,’ गडफ्रे–स्मिथ लेख्छन् । पछि, यी ब्याक्टेरियाको प्रसार विस्तार हुँदै जाँदा तिनले यति धेरै अक्सिजन उत्पादन गरे कि यो तह बनेर वायुमण्डलमा नै जम्मा हुन थाल्यो र मौलिक रूपमा नै पृथ्वीको संरचनामा परिवर्तन ल्यायो । हावामा अक्सिजनको अधिक मात्राले बोटबिरुवालाई समुद्रबाट सरेर जमिनमा हुर्किन सक्षम बनायो । ती बोटबिरुवाहरूले पनि अन्ततः अक्सिजन नै उत्पादन गरे अनि अक्सिजनले जीवनलाई इन्धन दिने भएकाले तिनका सन्ततिले जरा, पात र बीउ विकास गर्दै आफूलाई थप जटिल बनाउन सके । 

 

‘जीवन नहुँदो हो त जमिनमाथि बग्ने पानी बढी सपाट रूपमा फैलिने थियो,’ गडफ्रे–स्मिथ लेख्छन् । वनस्पतीको जरा प्रणालीले नदी–किनारलाई स्थिर बनाएर नदीहरूलाई घुमाउरो बनाउन मद्दत गरे । ‘पृथ्वीका नदीमा परिवर्तन भयो, तिनले अधिक बक्रता र मोड प्राप्त गरे,’ गुडफ्रे–स्मिथ लेख्छन्, ‘नदीका किनाराले पानीलाई दिशानिर्देश गर्छन्, पानीले खोँच र पहाडहरूको निर्माण गर्छ । जीवनले नदीहरूलाई आकार दिन्छ भने नदीले भूमिलाई आकार दिन्छन् ।’ तसर्थ, साइनोब्याक्टेरियाले समेत यो ग्रहलाई परिवर्तन गर्न सक्छ । तिनले मेरो यस क्रिकको सिर्जना गर्न मद्दत गरेका छन् ।

 

उनका पुस्तकहरूको त्रयीमा ‘लिभिङ अन अर्थ’ तेस्रो हो । सन् २०१६ को ‘अदर माइन्ड्सः द अक्टोपस, द सी, एन्ड द डिप ओरिजिन्स अफ कन्सियसनेस’ र सन् २०२० को ‘मेटाजोआ : एनिमल लाइफ एन्ड द बर्थ अफ द माइन्ड’ सम्मका पुस्तकमा गडफ्रे–स्मिथले स्पोन्जी, माछा, कोरल, सेफालोपोड्सजस्ता मानिसभन्दा निकै भिन्न जीवहरूमा समेत हाम्रा मानसिक गुणहरू कसरी मिल्दाजुल्दा छन् भनी देखाउने प्रयास गरेका छन् ।

 

एक अनुभवी गोताखोरका रूपमा गडफ्रे–स्मिथले समुद्रमा एलियनजस्ता जीवहरूबिच निकै समय बिताए र उनले ती जीव देखिएजति एलिएन नभएको निष्कर्ष निकालेका छन् । आफ्नो नयाँ पुस्तकमा उनले चराचुरुंगी, अक्टोपस र माछाहरू सबैले कसरी विगतका घटनाले भविष्यलाई अर्थपूर्ण बनाउने ‘सम्पन्न’ जीवन बिताउन सक्छन् भन्नेबारे सुन्दर ढंगमा वर्णन गरेका छन् । उनी सुगाजस्तै देखिने ‘कुक्काटु’का जोडीलाई पछ्याउँछन्, जसले गुँड बनाउँछन्, केही समय त्यसलाई छोड्छन्, र करिब–करिब नोस्टाल्जियाकै स्वरूपमा आफ्नो पुरानो घरको पुनः परिभ्रमण गर्छन् । उनी पानीमुनि बस्ती नै निर्माण गरेका अक्टोपसलाई पनि अवलोकन गर्छन्, जहाँ ती आपसमा घनिष्ठताका साथ बस्छन् । के हाम्रो घरगाउँ योभन्दा साँच्चै फरक छ र ?

 

‘पृथ्वीमा बाँच्नु’ रिचर्ड डकिन्स लिखित जीवभन्दा तिनका कार्यमा केन्द्रित ‘द एन्सेस्टर्स टेल’जस्ता सामान्य इतिहासभन्दा फरक कुरा हो । सामान्यतः जीवनको इतिहासले हामीलाई क्रमबद्ध रूपमा प्राणीहरूसँग परिचय गराउँछ । कसरी समयसँगै पृथ्वीको ‘जीवशाला’मा परिवर्तन भएको छ भनेर देखाउँछ । तर, गडफ्रे–स्मिथको लक्ष्य जीवनका विभिन्न स्वरूपले पृथ्वीलाई कसरी बदल्दै लगेका छन्, कसरी यसलाई भौतिक रूपले नै परिवर्तन गरिरहेका छन् भनेर देखाउनु हो । उनी साइनोब्याक्टेरियाले वायुमण्डलमा अक्सिजन थपिदिएको कुराबाट सुरु हुँदै जलवायु परिवर्तनमा समाप्त हुन्छन् । उनको लक्ष्य हामी बसेको ठाउँको राम्रो समझ विकास गर्नु हो र यससँग हाम्रो लिंक र वर्तमान जिम्मेवारीको बोध गराउनु पनि हो । ‘हरेक प्रकारका प्राणीले यस संसारलाई आ–आफ्नै अद्वितीय तरिकाले हेर्छन्,’ गडफ्रे लेख्छन्, ‘तर हाम्रा गतिविधि एकसाथ यस साझा विश्वमा खनिएका छन् ।’ यो विश्व अर्थात् वर्तमान पारिस्थितिकीय वास्तविकता समयकालदेखि पृथ्वीमा आएका जीवनको दौडारका कार्य वा गतिविधिहरूको योगफल हो ।

 

गडफ्रे केवल संसारलाई हेर्ने यो तरिका सबैको समझमा आओस भन्ने मात्र पनि चाहँदैनन् । उनी हामीले यो कुरालाई महसुस गरौँ र यसभित्र आफूलाई अनुभव गरौँ भन्ने पनि चाहन्छन् । ‘यो दर्शकको रूपमा मूल्यांकन गर्नुभन्दा पनि यसलाई एउटा प्रक्रियासहित पहिचान गर्ने विषय हो,’ उनी लेख्छन् । उनले के भन्न खोजेका हुन मैले ठ्याक्कैचाहिँ थाहा पाइनँ । के उनले यो क्रिकमा मलाई माछाले निल्न खोज्दै गर्दा मैले घरमा मलाई पर्खिरहेको आफ्नै ब्रेकफास्टका बारेमा सोचिरहेको हुन्छु भन्न खोजेका हुन् ?

 

त्यसपछि, एक साँझ खाना खाएपछि म र मेरो ६ वर्षीय छोरा उसको रिमोटकन्ट्रोल डुंगा प्रयोग गर्न समुद्री तटतर्फ लाग्यौँ । सानो कालो प्रोपेलरयुक्त लगभग एक फिट लामो र हरियो प्लास्टिकको यो भाँडो उसले आफ्नो जन्मदिनमा पाएको थियो । उसले आठको आकार बनाउँदै यसलाई चलाउन थालेपछि हामी डकमाथि उभियौँ । उसको डुंगा डकको काठमा ठोक्कियो र उभिन्डियो । डुंगाको प्रोपेलर काम नलाग्ने गरी हावामा घुम्न थालेपछि मेरो छोरोले अनिश्चयको भावसहित मतिर हेर्‍यो । 

 

डुंगा सजिलै झिक्न सकिन्छ भन्ने लागेर मैले पानीबुट लगाएँ र र्‍याम्पबाट खाडीमा उत्रिएँ । तर, मैले छालको गलत अन्दाज लगाएको रहेछु । पानी त केही फिट मात्र गहिरो रहेछ । मसँग क्रिकमा उत्रिएर हिँड्नुबाहेक अरू कुनै विकल्प थिएन । तातो हिलो घुँडासम्म आयो । टुटेफुटेका शंखेकिराका खपडा र सिपीका खोल मेरो खुट्टामुनि वरिपरि थिए । हिलोका छिर्का उछिट्टिए । म उफ्रिएँ र पातलो पानीमा झ्याप्लाङझुप्लुङ पौडिँदै माटोेमाथि उभिने कोसिस गरेँ । म डकमुनि गएँ र डुंगालाई जोइस्टबाट छुट्याउँदै माथि उक्लिन खोजेँ । म लडखडाएर र मेरा हात पुनः पानीतर्फ पुगेँ । पानी मेरो हातमुनिबाट बगेर गयो अनि मलाई अचानक पीडा महसुस भयो । मैले मेरा औँला खपडाका धारिला टुक्राले काटेको पाएँ । म र्‍याम्पमा फर्किएँ, मेरो हिलाम्मे औँलाबाट रगत चुहिरहेको थियो । अब मलाई खाडी जीवन्त मात्र होइन, भौगर्भिकजस्तो पनि देखापर्‍यो । हामी जीवनले निर्माण गरेको र क्रमिक रूपमा विकसित हुँदै गएको एउटा प्राचीन ठाउँमा खेली, पौडिरहेका थियौँ । हामी सबै त्यहाँ एकसाथ थियौँ । एउटै प्रवाहमा थियौँ । जिज्ञासु, जोखिमपूर्ण, तल्लीन, र छुन सकिने गरी नजिक ।

 

(‘द न्युयोर्कर’बाट नारायण शिवाकोटीको अनुवाद)