• वि.सं २०८१ असोज २१ सोमबार
  • Monday, 07 October, 2024
राजु स्याङ्तान
२०८१ असोज ५ शनिबार १०:५५:००
रिपाेर्ट

उनीहरूले लखेटिरहे, चेपाङहरू बसाइँ सरिरहे

२०८१ असोज ५ शनिबार १०:५५:००
राजु स्याङ्तान

 

त्यसदिन चितवन माडीको शिवद्वार होमस्टेमा नाचगान चलिरहेको थियो । आगन्तुक झुमिरहेका थिए । तर, नाचगान चलिरहेको ठाउँबाट पाँच किलोमिटर माथि कुसुमखोलामा चेपाङहरू भोकै खुला आकाशमुनि बसिरहेका थिए । निकुञ्जले जलाएको खण्डहर घरको डिलमा बसी काजीमान चेपाङ भन्दै थिए, ‘अस्ति आर्मीले घर जलायो । यो ठाउँ छाडेर जा भन्छ । कहाँ जाने ? जाने ठाउँ कतै छैन ।’

 

गीत घन्किरहेको एक किलोमिटरनजिकै परवीखोलामा ७१ वर्षीय कृष्णलाल चेपाङ भन्दै थिए, ‘कति भाग्नु, कति बसाइँ सर्नु, मेरो पुर्खा पनि भागेकोभाग्यै, म पनि भागेकोभाग्यै । कहिले पहिरोले लखेट्छ, कहिले बाढीले, कहिले गाउँलेले लखेट्छ, कहिले निकुञ्जले । अब यो खोलाकिनारबाट पनि कहिले लखेट्ने हो था छैन ।’

 

समाजको धाँजा गहिरिएर हेर्दा दुइटा नेपाल देखिन्छ । एउटा नेपाल पुस्तौँपुस्ता भागिरहन्छ, अर्को नेपाल पुस्तौँपुस्ता भगाइरहन्छ । उता एउटा नेपाल सौराहामा निर्दोष हात्तीको टाउकोमा फलामको रडले ठुँगेर हात्तीमाथि विराजमान भई जंगल घुम्दाघुम्दै थाक्छ । यता चेपाङबस्तीमा अर्को नेपाल दिनभरि आर्मीको डर बोकी जंगलमा खाने कुरा खोज्दाखोज्दै थाक्छ ।

 

दुइटा नेपाल कसरी ? कृष्णलाल चेपाङको बसाइँसराइको इतिहास मात्रै हेरौँ ।

 

    ०००                                    ००० 

 

अघिल्लो वर्षको चैत महिनाको एक साँझ । आकाश गर्जिरहेको थियो । बाढी आउने याम नभए पनि घर चुहिने तनाव थियो । गाउँभन्दा निकै पर, निर्जन परवीखोलाको किनारामा ५० घरको चेपाङ बस्ती । खरले छाएका ससाना घर । माथि जंगल, अलि पर स्थानीयको गाउँ । चेपाङका अगुवा कृष्णलाल प्रजालाई खोज्दै जाँदा उनी घरभित्र बिरामी श्रीमती जालीमाया चेपाङसँग गुनगुन गफ गरिरहेका थिए ।

 

कृष्णलाल चेपाङ

 

कृष्णलाल टोपी लगाउँदै बाहिर निस्किए । घरभित्र अध्याँरो थियो । ४ भाइ छोरामध्ये जेठो काश्मिरतिर मजदुरी गर्न गएका थिए । बाँकी ३ भाइ छोरा र ३ बहिनी छोरी गाउँतिरै थिए । ‘श्रीमती बिरामी छ । खै के भो के भो,’ ढोडले बनेका पिर्का दिँदै उनले भने, ‘हाम्रो त यस्तै छ हजुर बसाइ ।’

 

कति भाग्नु, कति बसाइँ सर्नु, मेरो पुर्खा पनि भागेकोभाग्यै, म पनि भागेकोभाग्यै । कहिले पहिरोले लखेट्छ, कहिले बाढीले, कहिले गाउँलेले लखेट्छन्, कहिले निकुञ्जले । अब यो खोलाकिनारबाट पनि कहिले लखेट्ने हो थाहा छैन ।

 

आकाश फेरि गर्जिन थाल्यो । पानीको छिटा पर्न लाग्यो । हावाको वेग बढ्दै गयो । दुई नातिनातिना कृष्णलालको काखतिर घुस्रिन आइपुगे । घरको दलानमा बसी कृष्णलालले अतीतका दिन सम्झिन थाले । ‘मैले सम्झिँदा आठपटक हामी बसाईं सरिसकेछौँ,’ कृष्णलालले आफ्नो बसाइँसराइको कथा सुरु गरे ।

 

खैराङबाट काल्द्राङगढी

 

चेपाङलाई पहिला च्योबाङ भनिन्थ्यो । मानवशास्त्री डोरबहादुर विष्टले ‘सबै जातको फूलबारी’मा चेपाङहरू दोलखाको सुनाथलीबाट मकवानपुर र चितवनको महाभारत रेन्जमा आई बसेको बताएका छन् । ती भेगमा हजारौँ वर्षदेखि चेपाङहरू बस्दै आएको विष्टले उल्लेख गरेका छन् । यति मात्रै नभई चेपाङहरूका चारजना राजा (पोनी राजा, गिल राजा, रिनी राजा र राजी राजा) थिए भनेका छन् । उनले लेखेका छन्, ‘एक दिन पाटनका मल्ल राजाका फौजले यी चारै चेपाङ राजालाई हटाएर यो क्षेत्र आफ्नो अधीनमा लिए ।’

 

कृष्णलाल चेपाङ परवी खोलाकिनारमा रहेको आफ्नो घर अगाडि

 

सम्भवतः त्यही क्षेत्रमा रहँदा चेपाङहरूको न्वाँगी पर्व सुरु भयो । किनकि त्यसवेला प्रशस्त जमिन थियो । मल्लकालमा चेपाङहरूको थातथलो लुटिएपछि उनीहरू तितरबितर भए । चेपाङको किपट केही समय रहे पनि शाह र राणाहरूको बर्बरता अघि उनीहरूको केही लागेन । कृष्णलालको पुर्खा मकवानपुर मनहरि खोलाको शिर खैराङमा पुगे । त्यहाँ कहाँबाट आएर बसे कृष्णलालको स्मृतिमा छैन । सम्भवतः मल्ल राजाबाट लखेटिएका चेपाङका एक सन्तान हुन् कृष्णलाल । पुर्खाले भनिराखेको दुःखका दिन कृष्णलालले भुलेका छैनन् । उनको पुर्खा खैराङबाट लोथर खोलाको शिर काल्द्राङगढीमा आएर बस्यो । त्यहाँ उनीहरूको ६२ जनाको ठुलो परिवार बन्यो । महाभारतको चिसो लेक । कुहिरोले हतपत नछाड्ने । कोदो र मकै मात्रै उब्जनी हुने । माघमा रोपेको मकै भदौमा पाक्ने । ठोरीबाट नुन बोकेर ल्याउनुपर्ने । जिजुहजुरआमाले कोदोको ढिँडो बनाउँथिन् । सबैजना भोगटेको पात टिपेर लाइन लाग्थे । थप्न नपाइने । त्यहाँ जीवन गुजार्न धौधौ भएपछि कृष्णलालको एक पुर्खा धादिङ मलेखुछेउ ऐराङ भन्ने डाँडामा बसाइँ सर्‍यो ।

 

काल्द्राङगढीबाट ऐराङ

 

कुसुम खोलामा निकुन्जले घर जलाएपछि चेपाङहरुले बनाएको टहरा

 

धादिङ बसाइँ सर्ने कृष्णलालको पुर्खालाई ‘अनि बुढा’ भन्थे । कुरा गर्नुअघि ‘अनि’ भन्ने थेगोका कारण उनको नामै ‘अनि’ बस्यो । वास्तविक नामै हरायो । अनिको छोरा सुर्जभान चेपाङ र रजभान चेपाङ । रजभान चेपाङका नाति कृष्णलाल । कृष्णलालका बुबा धादिङमै जन्मे । अनि बाजे त्यहीँ बिते ।

 

ऐराङमा बाहुन–क्षेत्रीको ठुलो बस्ती । उनीहरूका बच्चा स्कुल जान्थे । जंगबहादुर राणाले वि.सं. १९१० मै मासिन्या मतवाली बनाएका चेपाङलाई पढ्न वर्जित थियो । बाहुन–क्षेत्रीले साह्रै हेप्थे । तर, सबै बाहुन–क्षेत्री कहाँ हेपाहा थिए र ! २०१० सालमा जन्मिएका कृष्णलाल पाँच–६ वर्षका थिए । एकजना कृष्णबहादुर क्षेत्री भन्ने मास्टर उनलाई लुकी–लुकी पढाउन आउँथे । कृष्णलाल सम्झिन्छन्, ‘कोदो काटेको ठाउँमा खनेर सम्म पारेँ । अनि औँलाले क, ख लेखेँ । तीन दिनमै मैले क ख जानेँ नि ! तर, चेपाङलाई किन पढाको भनेर किस्ने मास्टरलाई पुलिसले पक्रेर लग्यो । ६ महिना जेल हाल्यो ।’ पढ्न नपाउने । क्षेत्री–बाहुनले हेप्ने । आफन्तहरू खासै नभएको । खान पनि पेट पनि नपाइने, त्यो ठाउँ छाडेर उनीहरू फेरि धादिङकै रोराङमा बसाइँ सरे ।

 

ऐराङबाट रोराङ

 

 

कृष्णलालको बाल्यकाल र युवावय रोराङमै बित्यो । ०२२ सालमा रोड खन्न पोखरातिर गए, बालख कृष्ण र उनका बुबा । बाउछोराले १५ सय कमाएर ३२ रोपनी खेतबारी जोडे । त्यो जमिनमा केही मकै र ६० मुरी धान फल्ने । सयौँ खुकुरा, दर्जनौँ बाख्रा । पाँचवटा भैँसी । माथि घर । बेंसीमा २२ हालको खोल्मा (गोठ) । बिहानको खाना उनीहरू खोल्मामै खान्थे । खान–लगाउन दुःख थिएन । बच्चाबच्ची हृस्टपुष्ट । टोलछिमेकमा बेग्लै सान । वर्षौंदेखि धीत मर्ने गरी मान्न नपाएको न्वाँगी त्यही मनाए । कृष्णलाल भन्छन्, ‘न्वाँगीमा १५ जना झाँक्रीले १५ वटै ढ्यांग्रो बजाउँथे । हजारौँ मान्छे हेर्न आउँथे ।’ कृष्णलालको परिवारको सुनौला दिन थिए ती । तर, समय सधैँ एकनासको रहेन ।

 

०३९ सालको एउटा बर्खे रात । रातको १ बजेपछि लगातार दर्केपानी परिरह्यो । बिजुली चम्किन थाल्यो । तल गोठमा भैँसी लगातार कराउन थाल्यो । उनीहरू त्यहाँ जान सकेनन् । रातभरि छट्पटिँदा–छट्पटिँदै बिहान भयो । बिहान हेर्दाहैर्दै चोराङ्दी र मोराङ्दी खोलाले २२ हाते खोल्मा सिनित्तै बगायो । कृष्णलाल त्यो दर्दनाक दृश्य सम्झिँदै भन्छन्, ‘बाढीले बगाउँदै गर्दा भैँसी बाँ–बाँ कराउँदै थियो । हामीले केही गर्न सकेनौँ ।’ बाढीले भैँसीसँगै बाख्रा, कुखुरा अन्न सबै लगेर नारायणीमा मिसायो । दुई खोलाको बिचमा रहेको उनीहरूको सुन्दर संसार एक बिहानमै ध्वस्त भयो । राज्यबाट न कुनै क्षतिपूर्ति, न कुनै सान्त्वना ।

 

घरमा बचेको अन्नले केही दिन छाक टारे । बारीको उब्जनीले एकछेउ पनि पुगेन । अब गरिबीको भुमरी घरभित्र फेरि मडारिन थाल्यो । उनीहरूले जंगलबाट गिठ्ठाभ्याकुर खोजेर ल्याउन थाले । अनिकालले किलकिलेमा दाबेका वेला एउटा घटना भयो । त्यो घटना कृष्णलालको मनमा अझै गडेर बसेको छ । 

 

भोकले रन्थनिएको एक दिन कृष्णलाल र उनका ससुरा डोको बोकेर जंगल गए । जेठको महिना थियो । जंगलमा पातहरू सबै सुकेका थिए । डढेलो लागेको थियो, ठाउँठाउँमा । ज्वाइँ–ससुराले दिनभरि गिट्ठाभ्याकुर खोजे । तर, कहीँ कतै पाएनन् । दुवै भोकले, थकानले लखतरान भए । उनीहरू एउटा खोल्सी वारि–पारि पुगे । माथि थुम्कोमा गिट्ठाको एउटा लहरा देखे । त्यसपछि झम्टिँदै खोल्सीपारिबाट सुसुरा दौडिए, वारिबाट ज्वाइँ । भोकविरुद्धको त्यो महासंग्राममा जवान ज्वाइँले सुसुरालाई उछिने । सुसुरा दौडिन सकेनन् वा दौडको गति कम गर्दै सायद सोचे, ‘म बुढो त भोकै बसुँला बरु । मेरा छोरीज्वाइँ र नाति–नातिनाले भोक टारून् ।’ कृष्णलाल लामो सास तान्दै भन्छन्, ‘सुसुरा नियाउरो अनुहार लिएर घरतिर जानुभो । मलाई पनि साह्रै नरमाइलो लाग्यो । त्यो दिन कहिल्यै बिर्सिन सक्दिनँ ।’

 

 

उता अर्को देशमा पञ्चायत बिदा भएर बहुदल आयो । यता अर्को देशमा कृष्णलालको परिवार अन्न मुखमा नपरेर झन्–झन् दुब्लो हुँदै थियो । ‘खान नपाएर हामी चुइयाँ (गिठाभ्याकुर)जस्तै सुकेर बटारिन थाल्यौँ । त्यसपछि लौ हुँदैन भनेर यो एकमुठी प्राण नगएको हुँदा त्यहाँबाट पनि हामी २०४७ सालमा बसाइँ सर्‍यौँ,’ काखमा निदाइरहेकी नातिनीलाई घरभित्र लग्दै कृष्णलालले भने ।

 

बाँकी रहेका थाल, बटुका, कराही, केही लुगाफाटो, बन्चरो अनि हँसिया लिएर कृष्णलालको १६ जनाको परिवार अब दक्षिण दिशातिर हिँड्यो । काखमा दुधेबच्चा, कोक्रोमा अर्को बच्चा । टुकुटुकु हिँडिरहेका किशोर–कोशोरी र बालबालिका । पछिपछि बुढाबुढी । कृष्णलालसहित १० परिवार एउटा अनिश्चित गन्तव्यका लागि हिँडिरह्यो । साथमा न खाने अन्न, न चिनजानको मान्छे । न पुग्ने गन्तव्य, न बस्ने ठेगान । उता अर्को देशमा भर्खरै बहुदल आएर सिंहदरबार छिर्ने नेताहरूको लाम लागेको थियो । यता कृष्णलालको परिवार गाँस र बास खोज्दै भिरपहराको बाटो दक्षिणतिर हिँडिरहेको थियो । कृष्णलाल सुनाउँछन्, ‘एकातिर भोक, अर्कोतिर तिर्खा, चिनेको मान्छे कोही छैन । पुग्ने कहाँ हो पनि था छैन । धँयरो(स्याउला)को मुन्टा चपाउँदै–चपाउँदै हामी हिँडिरह्यौँ ।’

 

हिँड्दाहिँड्दै उनीहरू राप्तीनदीको किनारामा पुगे । त्यहाँ सुने, आर्मीले भेट्यो भने कुट्छ, समाएर लैजान्छ, आएकैतिर फर्काइदिन्छ । कृष्णलालको समूह डराइडराइ आर्मीको अघि पुगे । ‘बाँदरझुला घर हो उतै हिँडेको हजुर,’ कृष्णलालले ढाँटे । त्यसपछि आर्मीले नदीपारि जान दिए । 

 

बास खोज्दै हिँडेको यो लस्करलाई साँझ एकजना वृद्धा बाहुन महिलाले मही खुवाइन् । कृष्णलाल खुसी हुँदै भन्छन्, ‘बरा ! त्यो बाहुनी बुढीले मही बनाएर दिइन् । खाना पकाएर दिइन्, ओड्ने ओछ्याउने दिइन् । धेरै वर्षपछि हामीले पेटभरि खान पायौँ ।’ भोलिपल्ट बिहान फेरि सुरु भयो कृष्णलालहरूको अनिश्चित यात्रा । हिँड्ने वेला ती वृद्धाले डिब्बामा मही दिएर बिदा गरिन् ।

 

रोराङबाट कोटटारी

 

 

उनीहरूको यात्रा चितवनको कोटटारीमा पुगेर रोकियो । त्यहाँ सुने, जमिन दिन्छ रे । बास खोज्दै हिँडेका उनीहरूलाई जमिन फाँड्न दिए । झाडी फाँडेर बस्ती बसाए । मिहिनेती कृष्णलालहरूले जमिन उर्वर बनाउन सुरु गरे । दिनरात नभनी मिहिनेत गरे । बस्ती झन्–झन् बढ्दै गयो । सुरुसुरुमा आउनेहरू उनीहरूजस्तै दुःखले खेदेर दुखै भोग्न आइपुगेका चेपाङ र केही तामाङ थिए । तर, पछिपछि फरक भावभंगी र वेशभूषाका मानिस देखिन थाले । हेर्दाहैर्दै उनीहरू बसेको ठाउँमा १६ सय धुरी घर बन्यो । चेपाङ र तामाङको सय घर मात्रै । बाँकी जम्मै जमिन हड्प्न आएका लोभी स्थानीय साहुहरू । उनीहरूकै स्वर ठुलो, उनीहरूकै धाकधक्कु ठुलो ।

 

बाँकी रहेका थाल, बटुका, कराही, केही लुगाफाटो, बन्चरो अनि हँसिया लिएर कृष्णलालको १६ जनाको परिवार अब दक्षिण दिशातिर बसाइँ सर्न थाल्यो । काखमा दुधेबच्चा, कोक्रोमा अर्को बच्चा । पछिपछि बुढाबुढी । कृष्णलालसहित १० परिवार एउटा अनिश्चित गन्तव्यका लागि हिँडिरह्यो । साथमा न खाने अन्न, न चिनजानको मान्छे । न पुग्ने गन्तव्य, न बस्ने ठेगान ।

 

तर, एकदिन त्यहाँको दुःखको पनि अन्त्य भयो । हात्तीमाथि चढेर सरकारी मान्छेहरू आइपुगे र कृष्णलालहरूलाई आदेश दिए, ‘यहाँ सुकुम्बासीको नाममा हुकुम्बासी छिर्‍यो । तुरुन्तै यो जमिन खाली गर ।’

 

आदेश आएको भोलिपल्ट कृष्णलालहरू फेरि कुम्लोकुटुरो बोकेर हिँडे । बसाइँ हिँड्नेको लस्करमा अघिअघि थिए कृष्णलाल । उनको पछिपछि थिए सय घर चेपाङ, केही तामाङ । कृष्णलाल आफ्नो समुदायका अगुवा भइसकेका थिए । उनीहरूले बास कतै पाएनन् । निकुञ्जका तत्कालीन वार्डेनको ‘ग्रिन सिग्नल’ पाएपछि उनीहरू जंगलतिरको यात्रामा निस्किए । प्रकृतिमै रमाएका उनीहरू फेरि पुगे प्रकृतिकै काखमा । जंगलैजंगल हिँड्दै कुसुमखोलाको माथि पुगे । त्यहाँ एउटा सुन्दर उपत्यका देखे । 

 

कोटटारीबाट कुसुमखोला

 

कुसुम खोला, जहाँको किनार वरपर चेपाङ बस्ती थियो ।

 

चुरेको ससाना खोल्सीहरू रसाइरहेको, वनकेरा झाँगिएका, कुसुम र अमला फलिरहेको, चराचुरुंगीको आवाजले गुल्जार, बाढीपहिरो नआउने, मुख्य कुरा सरकारले नदेख्ने त्यो ठाउँमा पुगेपछि कृष्णलालले एक मुठी माटो उठाएर छामे, सुँघे । उनको परम्परागत ज्ञानले भन्यो, ‘यो ठाउँमा उब्जनी हुन्छ ।’ त्यसपछि आफ्नाहरूलाई भने, ‘अब हामी यहीँ बस्ने ।’ 

 

कृष्णलालहरूले टहरा बनाएर बस्न थाले । खोलाछेउमा धानखेत, माथि मकैबारी, खोलामा माछा मार्ने, जंगलमा च्याउ खोज्ने । उनीहरूको प्राकृतिक जिन्दगी फेरि सुरु भयो । उनीहरूले कुसुमखोलालाई अझै हराभरा बनाउन थाले । कृष्णलाल सम्झिन्छन्, ‘पहिलो साल अलि दुःख भयो । त्यसपछि त के, मकै त कति फल्यो कति । धान त कति कति । आफूले खाइनसकेर कतिले त बजारमा लगेर बेचे ।’ गिट्ठाको लहराजस्तो सुक्दै गएका उनीहरू हृष्टपुष्ट हुँदै गए । वर्षौंपछि उनीहरूले न्वाँगी (अन्न भित्र्याउने वेला पितृ सम्झने सांस्कृतिक कर्म) त्यहीँ राम्रोसँग मनाए । ढ्यांग्रो बजाए, गीत गाए, बितिगएका पुर्खाको नाम लिँदै आशीर्वाद मागे ।

 

खोल्माभरि मकै, गोठभरि गाईभैँसी र बाख्रा । हाँसखेल गर्ने, गीत गाउने, बालबालिकाहरू पाँच किलोमिटर तल गाउँमा धाउँदै स्कुल पढ्ने । आश्चर्यलाग्दो के छ भने २७ वर्ष उनीहरू त्यहाँ बस्दा एउटा पनि जनावर उनीहरूले मारेनन्, र एउटा पनि जनावरले चेपाङहरूलाई आक्रमण गरेनन् । कृष्णलाल भन्छन्, ‘गाईबाख्रा त्यत्तिकै बारीमै बाध्थ्यौँ । जंगली जनावरले खोइ केही गरेको थाहै छैन । हामीले पनि जंगली जनावर मारेनौँ । जंगली जनावारले पनि यत्रो वर्ष हामीलाई केही गरेको थाहै छैन ।’ 

 

त्यो २०४८ सालको सुरुतिरको महिना थियो । उता अर्को नेपालमा श्री ५ महाराजधिराज वीरेन्द्रको निगाहबाट गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री चुनिए । यता अर्को नेपालमा कृष्णलाललाई गाउँलेहरूले बसोवासको अध्यक्ष, जंगल सुरक्षाको अध्यक्ष, स्कुलको अध्यक्ष र सामुदायिक स्वास्थ्य क्लिनिकको समेत अध्यक्ष बनाए । उताको नेपालमा नवउदारवादलाई रातो कार्पेट ओछ्याउने तयारी भइरहँदा यताको नेपालमा नियम बन्यो, ‘माछा मारेर खान पाइने तर खोलामा विषालु चिज फिटिक्कै हाल्न नपाइने । खोलाकिनारमा खेतीपाती गर्न पाइने, तर खोलालाई थुनेर जथाभावी फर्काउन नपाइने, जंगल गएर फलफूल खोजेर खान पाइने तर जंगली जनावर मार्न नपाइने ।’ उनीहरूको उहिले गुमेको सुनौलो दिन फेरि फर्कियो । तर, उनीहरूले हेक्कै राखेनन्, जसरी उनीहरू प्रायसँग घडी थिएन, त्यसैगरी घडीभित्र दौडिने समय पनि उनीहरूको पक्षमा थिएन ।

 

एक दिन कृष्णलालको बारीमा सात हल गोरु नारिएको थियो । १८० घरधुरी भएको त्यो सुन्दर उपत्यकामा हलीहरूले ह ह भनेको आवाज वारिपारि ठोकिन्थ्यो । अचानक उपत्यकामा खैलाबैला मच्चियो । चराहरू आत्तिँदै उडे । गाईबाख्रा कराउन थाले । कुकुरहरू जोडजोडले भुक्न थाले । खोलाको डिलमा आएर हेरे, चितवन राष्ट्रिय निकुञ्जका आर्मीहरू आइरहेको देखे । अघि–अघि हात्तीमाथि सवार थिए, कृष्णलालहरूकै भोटले चुनाव जितेको जनप्रतिनिधि । उनीहरूले भकाभक घर भत्काउन थाले, आगो लगाउन थाले । सुन्दर उपत्यका घर जलेको धुवाँको मुस्लोले ढाक्यो । त्यो मुस्लोमा चेपाङहरूको क्रन्दन र आक्रोश मिसिएको थियो । त्यो २०५५ सालको घटना थियो ।

 

कुसुम खोलामा निकुन्जले जलाएको एक घर

 

अब त्यो सुन्दर गाउँको लय अवरुद्ध हुन थाल्यो । प्राकृतिक विपत्ति र गरिबीसँग जुधिरहेका उनीहरूको लडाइँ अब सीधा बन्दुकधारी राज्यसँग हुन थाल्यो । देशमा जनयुद्ध चर्किरहेको हुँदा वेला न कुवेला आर्मी आएर दुःख दिन थाले । १२ बुँदे सम्झौतापछि राजतन्त्रविरुद्ध निर्णायक आन्दोलन थाल्ने तयारी भइरहँदा फेरि कुसुमखोलामा आर्मी पुगे, हात्ती लगेर घर भत्काइदिए । आक्रोशित चेपाङलाई निर्घात कुटपिट गरे । र पनि कृष्णलाल झुकेनन् । बन्दुककै अघि नझुकी आफ्नो बस्तीमा बसिरहे । तर, गरिबी र बन्दुकसँग नझुकेका उनीहरूलाई फेरि प्राकृतिक विपत्तिले झुकायो ।

 

त्यो ०७५ सालको वर्षाको मौसम थियो । उनीहरूको बस्तीमा कहिल्यै नपरेको पानी पर्‍यो । बाढीले तीनवटा घर बगायो । मान्छे मुस्किलले बाँचे । कृष्णलालले धादिङको उही कहालीलाग्दो बिहान सम्झिए । तर, पनि कृष्णलालहरू त्यही बस्ने मनस्थितिमा थिए । तीन घर बगाए पनि १७० भन्दा धेरै घरलाई खासै क्षति भएको थिएन । तर, राज्यले निहुँ पायो । माडी नगरपालिकाले भन्यो, ‘राम्रो फाँटमा घर बनाइदिन्छौँ, कुसुमखोला छोड ।’ त्यसपछि उनीहरूलाई माडीकै विभिन्न स्थानमा सारियो । तर, १० घरले भने कुसुमखोला छाड्नै मानेनन् । कृष्णलालको आग्रह उनीहरूले अस्वीकार गरे । आफ्नो थातथलो नछाड्ने ती घरलाई निकुञ्जले फेरि ०७७ को मध्य वर्षामा हात्ती लगाएर भत्काइदियो र आगो लगाइदियो । सर्वोच्च अदालतले रोक भनेपछि राज्यआतंक केही समय रोकियो, तर फेरि अदालतको आदेशविपरीत चैत ०७८ मा चेपाङका घरमा निकुञ्जले आगो लगायो । ०७९ मंसिरमा फेरि त्यहाँका घरमा निकुञ्जले आगो लगायो । यताको देशमा चेपाङका घर पटक–पटक जले । उताका देशमा प्रधानमन्त्री केपी ओलीले चेपाङबस्तीनजिकै अयोध्यापुरीमा सय बिघा क्षेत्रफलमा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति स्थापना गरे ।

 

कुसुमखोलाबाट खरकट्टा

 

घरको भग्नावशेषमा परिवारसँग काजीमान चेपाङ

 

कुसुमखोलाको सुन्दर संसारबाट हटाइएपछि कृष्णलालहरू माडीकै खरकट्टामा आएर बसे । दुःखदेखि दुःखसम्मको अविश्राम यात्रामा हिँडिरहेका आफ्ना साथीहरूलाई उनले भने, ‘दुखं, सुखं सँगै बसुम्, मरे पनि सँगै मरुम् । हामी फुटे अरूले हेप्छन् । हामी नफुट्ने, कोही कतै नजाने ।’ तर, अगुवाको कुरा अस्वीकार गर्न बाध्य भए । केही फेरि फर्किए कुसुमखोला, जहाँ उनीहरूको हराभरा रस्तीबस्ती थियो, पसिना बगाएर बनाएको सुन्दर संसार थियो । त्यसरी फर्किनेमध्ये थिए काजीमान चेपाङ । पुरानै वासस्थान छाड्न नचाहने उनलाई भदौ ३ गते रिउखोलाले बगायो ।

 

खरकट्टामा दुई वर्ष बसे । त्यहाँका छिमेकी उनीहरूले निकै मनकारी पाए । कृष्णलाल सम्झिन्छन्, ‘त्यहाँका मान्छे असाध्यै मनकारी । नुन, तेल, चामल हामीलाई दिने ।’ त्यही बसिरहँदा कृष्णलालको बस्तीमा अर्को समाचार फैलियो– राप्ती नगरपालिकामा निकुञ्जभित्र घुँगी टिप्न गएका चेपाङ युवालाई आर्मीले कुटिकुटी मार्‍यो । कृष्णलालको बस्तीमा क्रोध र डर एकसाथ मडारियो । खबर सुनेको कैयन् रात कृष्णलाल निदाउन सकेनन् । अनिँदै रात बितिरहेका वेला कृष्णलालले सुने, यहाँबाट पनि फेरि लखेटिँदै छ । एक बिहान फेरि कृष्णलालले कुम्लोकुटुरो कसे ।

 

खरकट्टाबाट परवीखोला

 

परवी खोलाकिनारमा रहेको चेपाङ बस्ती

 

उनीहरू माडी नगरपालिका–७ देवेन्द्रपुरस्थित परवीखोलाको किनारामा आइपुगे । ६० घरको एउटा बस्ती बन्यो । निर्जन खोलाको किनारामा अहिले कृष्णलालहरू बसिरहेका छन् । तर, त्यहाँ गाउँलेहरूको बाटोमा हिँड्न निषेध छ । उनीहरूको खेतमा टेक्न मनाही छ । खेतको माटोले घर लिप्नसमेत वर्जित छ ।

 

तीन वर्षअघि बाढीले फेरि परवीखोला किनाराको बस्ती बगायो । उनीहरू बाढीबाट ज्यान जोगाउन गाउँलेका खेततिर भागे । तर, कथित उपल्लो जातका गाउँलेले खेतमा नटेक् भन्दै फेरि लखेटे । एकातिर बाढीले उठीबास लगाउने, अर्कोतिर गाउँलेले लखेट्ने । उनीहरू बालबाल बचे र फेरि त्यहीँ घर बनाए । परवीखोलाको किनारामा निकुञ्जभित्र पर्ने सिसौका घारी थिए । रातारात वरपरका गाउँलेले सिसौ काट्दै बेचे । अन्तिममा चेपाङहरूले सिसौ बेचेर खाए भन्दै उल्टै मुद्दा लगाए । चेपाङ बस्तीमा तनावका तला थपिए । तर, तत्कालीन माडी नगरका मेयर ठाकुरप्रसाद ढकालले चेपाङहरूमाथि लागेको मुद्दा जिम्मा लिए । अन्ततः मुद्दा जिते । चेपाङहरूलाई बस्ने ठाउँको जोहो उनैले गरिदिए, जस्तापाता ल्याइदिए । ढकाल भन्छन्, ‘अब यहाँबाट अन्त बसाइँ सर्न नपरोस् भनेर जग्गा भाडामा लिई खेती गर्ने योजना छ । प्रदेश सरकारमा पनि पहल गरिरहेका छौँ ।’

 

माडी नगरपालिकाको वार्षिक योजनामा भनिएको छ, ‘...आर्थिक रूपमा विपन्न दलित चेपाङ र लक्षित वर्गका लागि सुरक्षित नागरिक आवास निर्माण कार्यलाई निरन्तरता दिइनेछ ।’ माडीमै अध्ययन गर्ने बुहारी, प्राविधिक शिक्षार्थी र चेपाङ, बोटे, दरै, कुमाल तथा माझीलगायत अति विपन्न जातिका विद्यार्थीलाई स्नातकसम्म निःशुल्क पढाउने पनि नगरले भनेको छ । ‘सबै चेपाङको स्वास्थ्य बिमा गरिएको छ । नगरपालिकाले सञ्चालन गरेको बगौडा अस्पतालमा हुन सक्नेजति निःशुल्क उपचार गरिरहेका छौँ,’ माडी नगर प्रमुख ताराकुमारी काजी महतो भन्छिन्, ‘आवास सबैलाई पुग्ने गरी भएको छैन, सक्दो कोसिस गरिरहेका छौँ । खानेपानी पुर्‍याउने पहल गरिरहेका छौँ । शिक्षा र स्वास्थ्यमा विशेष जोड दिइरहेका छौँ ।’

 

तर, बाढीको उच्च जोखिममा रहेको कृष्णलालहरूको बस्तीलाई स्थानीय र निकुञ्जले पटक–पटक हटाउने कोसिस गरिरहेको छ । अनिश्चित दिन बिताइरहेका उनीहरू अत्यन्त न्यून ज्यालामा काम गरेर जीविका चलाइरहेका छन् । दिनको एक छाक मात्रै खाएर दिन बिताइरहेका छन् । वृद्धवृद्धा, सुत्केरी र बालबालिकाले समेत दुई छाक मुस्किलले खान पाउँछन् । स्थानीय युवा कमल चेपाङ भन्छन्, ‘जनता आवासबाट तीन घर बनेका छन् । तर, रोजगारी केही छैन, जागिर खाऊँ पढाइ छैन । बिहान खाए बेलुकी खाने हुँदैन । ६–७ वटा धारा छ, पानी आउँदैन । शौचालय छैन ।’ बस्तीमा एकतिहाइ महिलासँग नागरिकता छैन । कतिपय पुरुषसँग पनि नागरिकता छैन । वृद्धवृद्धाहरू भत्ता लिन जान्छन्, नागरिकता ले भन्छ । नागरिकता बनाउन जान्छन्, बसाइँसराइको कागज ले भन्छ । बसाइँसराइको कागज बनाउन जान्छन्, तपाईं को हो ? भनिदिन्छन् । ‘केवल बसाइँसराइको कागज बनाउन नै ठुलो लडाइँ जितेसरह भइरहेको छ,’ नेपाल चेपाङ संघका अध्यक्ष गोविन्दराम प्रजा भन्छन् । 

 

ऐनमा के छ ?

 

 

आदिवासी जनजाति अधिकारसम्बन्धी संयुक्त राष्ट्र संघीय घोषणापत्रको धारा ८को (ग) मा कुनै प्रकारको बलपूर्वक गरिने सामूहिक बसाइँसराइ आदिवासीको अधिकार हनन भएको बुझिने र राज्यले रोकथाम तथा न्यायिक क्षतिपूर्तिका लागि प्रभावकारी संयन्त्र उपलब्ध गराउनुपर्ने भनिएको छ । धारा १० मा भनिएको छ, ‘आदिवासी जनजातिलाई उनीहरूको भूमि वा क्षेत्रबाट बलपूर्वक हटाइनेछैन । सम्बन्धित आदिवासी जातिको स्वतन्त्र, पूर्व तथा सूचित मञ्जुरीविना तथा न्यायिक एवं उचित क्षतिपूर्ति दिने सहमति र सम्भव भएमा फिर्ता हुने विकल्प नभई कुनै पुनस्र्थापना कार्य गरिनेछैन ।’ नेपाल सरकारले यो महासन्धिमा हस्ताक्षर गरेको छ । तर, कार्यान्वयन गरेको छैन । कृष्णलालहरूजस्ता पुस्तौँपुस्ता बसाइँ सरिरहनुपर्ने अति सीमान्तकृत आदिवासी जनजातिबारे अधिकारकर्मी, अभियन्ता र सरोकारवालाहरूको संगठित आवाज सुनिन्न । 

 

०२९ सालमा बनेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनलाई २०७३ मा पाँचौँ संशोधन गरी ५. (ख र ग)मा भनिएको छ, ‘जुनसुकै पदार्थको घर, छाप्रो, आश्रय वा अरू आकार बनाउन वा भोग गर्न पाइनेछैन । कुनै भूभाग कब्जा गर्न, सफा गर्न, आवादी गर्न, खेती गर्न वा कुनै बाली उब्जाउन वा काट्न पाइनेछैन । तर, ३. खको (२)मा भनिएको छ, ‘वातावरणलाई प्रतिकूल असर नपुग्ने र वन्यजन्तुलाई हानि–नोक्सानी नपुग्ने गरी मध्यवर्ती क्षेत्रमा तोकिएबमोजिम उद्योगधन्दा, होटेल, लज, सार्वजनिक वा यस्तै किसिमका अन्य सेवा तथा सुविधा सञ्चालन गर्न सकिनेछ ।’ यसबाट राज्यको नियत प्रस्ट देखिन्छ ।

 

०७८ को जनगणनाअनुसार चेपाङको जनसंख्या देशैभरि ८४ हजार तीन सय ६४ छ र बागमती प्रदेशमा मात्रै ७७ हजार नौ सय १४ छ । चितवनमा २५ हजार ६ सय ३७ जना छन्, मकवानपुरमा २३ हजार ६ सय ५० र धादिङमा १७ हजार एक सय ६० छन् । गोरखामा चार हजार दुई सय ६८ र काठमाडौंमा समेत एक हजार ५३ जना छन् । 

 

चेपाङहरू अधिकारका लागि निकै अघिदेखि लडिरहेका छन् । ०३४ असारमा जुगेडीमा भएको सामन्तको ढुकुटी फोरेर किसानलाई बाँड्ने किसान विद्रोहमा चेपाङहरूको सक्रिय सहभागिता थियो । विद्रोहमा दशरथ चेपाङ, सन्तबहादुर चेपाङ र नन्दलाल चेपाङ सहिद भएका थिए । बाँदरझुला, कुसुमखोलामा निकुञ्जको ज्यादतीविरुद्ध चेपाङहरू आन्दोलित थिए । आफ्नो अधिकारका लागि संघर्ष सधैँ जारी रहने संघका अध्यक्ष गोविन्दराम प्रजा भन्छन् । ‘२६ सूत्रीय माग राखेर गिरिजाप्रसाद कोइरालाको पालादेखि नै लडिरहेका छौँ,’ उनी भन्छन्, ‘मौलिक हकमा जे–जे व्यवस्था छ, त्यो विनासर्त देऊ भनिरहेका छौँ । तर, राज्यले सुन्दै सुन्दैन । अधिकारका लागि हामी निरन्तर लडिरहनेछौँ ।’

 

काजीमान चेपाङ

देश गणतन्त्र हुँदै समाजवादतिर जाने भनिरहँदा चेपाङहरूलाई चाहिँ क्रमशः पञ्चायत, राणाशासन हुँदै दास युगतिर फर्काइरहेको महसुस हुन्छ । बसाइँ सरिरहनुपर्ने बाध्यता हेर्दा यस्तो लाग्छ, चेपाङलाई घुमन्ते युगतर्फ धकेलिँदै छ । करिब तीन सय वर्षअघि अर्थात् मल्लकालदेखि लखेटिएका चेपाङहरू गणतन्त्रकालसम्म पनि लखेटिएकै छन् । लोकतन्त्र आएकै हो भने एकजना पनि नागरिक भोकै बस्न हुन्न । एकजना पनि नागरिकले ‘मैले खान पाइनँ, मैले छाना पाइनँ’ भन्यो भने त्यो लोकतन्त्रको असफलता मानिन्छ । अर्थशास्त्री अमत्र्य सेन राज्यले नागरिकको आधारभूत आवश्यकतासमेत पूरा गर्न नसक्नुलाई लोकतन्त्रको असफलता मान्छन् ।

 

‘मासिन्या’ बनाउँदा पनि नमासिएका यी आदिवासी प्रकृतिपूजक चेपाङहरूलाई जेनोसाइट नै गर्न पुस्तौँपुस्ता लखेटिरहँदा पनि आममानिसले टुलुटुलु हेरिरहन कसरी सकेको ? चेपाङहरूलाई ओत लाग्ने एक चपरी माटो दिन नसक्ने सरकारले अदृश्य ‘भगवान्’को नाममा एक सय बिघा जमिन दिँदा यो लोकतन्त्रले किन केही नबोलेको ?

 

उहिले–उहिले महाराजाहरूले चेपाङहरूलाई विदेशी पाहुनाका लागि जंगली जनावर झोर्न अह्राउँथे । ज्यान हत्केलामा राखेर जंगली जनावर झोरेर राजा र राजकुमारहरूका बन्दुकको नालअघि जनावरलाई उभ्याउँथे । अहिले गणतन्त्र आएको छ । समय बदलियो नि ! त्यसरी जनावर झोर्न कहाँ पाइन्छ ? कत्रा–कत्रा ‘पर्यावरणविद’हरू, देशमा स्याउँस्याउँती छन् । सरकारलाई बाघ, भालु, बँदेल, हात्ती बढाउन कत्रो सास्ती छ । त्यसैले हिजोआज चेपाङ, थारू र तामाङहरूले जंगली जनावर झोर्नुपर्दैन । बहुराष्ट्रिय कम्पनीका ठेकेदारहरू सिकार खेल्दै गाउँगाउँमा पुग्छन् । उनीहरूसँगै हुन्छन् गणतन्त्रका नेताहरू । र, उनीहरूको अगाडि जनावर होइन, हिजोआज बास खोज्दै हिँडेका भोका चेपाङहरू उभ्याइन्छन्, खेत खनिरहेका थारूहरू, डुंगा पर्खिरहेका माझीहरू र भारी बोकिरहेका तामाङहरू उभ्याइन्छन् ।

 

किन बचाउने चेपाङ ?

 

 

चेपाङहरू घुमन्ते अवस्थामा छैनन्, भूमिबाट लेखेटेपछि घुमिरहनुपरेको हो । थातथलो लुटेर भगाउने अनि घुमन्ते अवस्था छन् भन्ने घृणित भाष्य अन्त्य गरिनुपर्छ । कृष्णलाललाई बसाइँ सरिरहनबाट अब रोक्नुपर्छ । बसाइँ सरिरहन बाध्य पार्‍यौँ भने चिउरीको बोट उनीहरूबाट छुट्छ । चिउरीसँगै संसारबाटै एउटा सुन्दर संस्कृति छुट्छ । 

 

पत्रकार प्रताव विष्टले ‘छेलिएका अनुहार’मा लेखेका छन्, ‘मकवानपुर भार्ताका ९९ वर्षीय जयपति चेपाङले राजा(सरकार)लाई ऋण लागेको छ, मर्ने वेला वृद्धभत्ता लिनुहुँदैन भने ।’ उनका अनुसार कालिकाटारकी ८६ वर्षीया दमीमाया चेपाङले पनि नागरिकता बनाइन् । तर, वृद्धभत्ता लिइनन् । वृद्धभत्ता घरमै पुर्‍याउन पुगेका गाविस सचिवलाई भनिन्, ‘सरकारको ऋण खाएर मर्‍यो भने सन्तानले दुःख पाउँछन् ।’ कृष्णलाललाई बसाइँ सरिरहन बाध्य बनाइयो भने समाजले मानवताको एउटा गहकिलो उदाहरण गुमाउँछ । कृष्णलालहरू हराउँदा चिउरी, गिठ्ठा, भ्याकुर, चमेरा, सिस्नोको अग्र्यानिक विश्वविद्यालय हराउँछ । मातृप्रधान समाजको अवशेष पनि हराउँछ । 

 

‘छेलिएका अनुहार’का अनुसार चेपाङ महिलासँग बिहे गरेपछि गैरचेपाङहरू चेपाङ हुन्छन् । पुस्तकमा भनिएको छ, ‘५१ वर्षीय सोमलाल चेपाङ यथार्थमा चेपाङ होइनन् । ३५ वर्षअघि सुनमाया चेपाङसँग विवाह गरेकाले उनी चेपाङ भएका हुन् । विवाहअघि उनी मुक्तान हुन् ।’ यसलाई मातृप्रधान समाजको अवशेष मान्न सकिन्छ ।

 

चेपाङ हरायो भने खोरिया खेती प्रणाली हराउँछ । अध्येता कुमार यात्रु ‘परम्परागत आदिवासी ज्ञान’मा लेख्छन्, ‘खोरिया खेती प्रणालीले जमिनको उर्वरा शक्ति बढ्ने, शत्रुकिराको नाश हुने र बालीमा रासायनिक मलको प्रयोग गर्न नपर्ने यसको विशेषता हो ।’ उनी चेपाङको यो ज्ञानलाई देशको महŒवपूर्ण सम्पदा र विश्व समाजका लागि फलदायी ज्ञान मान्छन् ।

 

निर्सना र वसन्त 

 

निर्सना चेपाङ

 

रात निकै छिप्पिसकेको थियो । बस्ती सुनसान हुँदै थियो । कृष्णलालकी श्रीमती अँध्यारोमा घरभित्र खोकिरहेकी थिइन् । गर्जिएको बादल पानी छिटाएर बिदा भइसकेको थियो । कृष्णलालको बसाइँसराइको वृत्तान्त सुनेपछि मनमा लाग्यो, अब ७१ टेकेको बुढो शरीरले बसाइँ सर्न सायद सक्दैन । अनि उनीपछिको पुस्ता ? के बसाइँसराइको शृंखला कृष्णलालपछि रोकिन्छ ?

 

कृष्णलालको घरनजिकै एउटा घरमा बच्चा रोएको सुनियो । किशोरकाल भर्खरै नाघेजस्तो देखिने एक युवतीले बच्चालाई दुध चुसाउँदै थिइन् । निर्सना चेपाङले सुरुमै भनेकी थिइन्, ‘चेपाङ जहाँ पुग्छ, निकुञ्ज किन त्यहीँ पुगेको होला ?’

 

निर्सनाको माइती चितवनको शक्तिखोर । कक्षा ५ पढ्दापढ्दै फेसबुकमार्फत वसन्त चेपाङसँग चिनजान भयो । चिनजान प्रेममा बदलियो । दुई वर्षपछि उनीहरूले भेटे । 

 

पहिलो भेटमै वसन्तले भने, ‘म त तिमीलाई लिन आको ।’ निर्सनाले ठट्टा सम्झिन् र भेटपछि घरतिर लागिन् । वसन्त भने दोबाटोमा कुरिरहेका थिए । अलि माथि पुगेर हेर्दा पनि वसन्त त्यहीँ देखेपछि निर्सनाले ठट्टा होइन भन्ने बुझिन् । त्यसपछि उनीहरू भाग्दै परवीखोला किनारामा आइपुगे । 

 

 

खोलाकिनारामा लहरै बसेको ससना झुपडी देखेर निर्सनाले सोचिन्, यो त गोठ होला । कुनै–कुनै त अझै सानो झुपडी । निर्सनाले फेरि सोचिन्, यो त पक्कै चर्पी होला । वसन्त एउटा नबन्दै भग्नावशेषजस्तो देखिने झुपडीअघि पुगेर रोकिए । न भित्ता, न छाना, न झ्याल, न ढोका । सिर्फ बांगोटिंगो काठले मुस्किलले ठडिएको सानो झुपडी । वसन्तले निर्सनाको आँखामा नहेरी सुस्तरी भने, ‘यही हो हाम्रो घर ।’

 

निर्सना खंग्रङ्ग भइन् । उनको हातखुट्टा गल्यो । तत्काल केही बोलिनन् । थचक्क बसिन् । आँखा छोपिन् ।

 

निर्सनाले रातभरि ओछ्यानबाटै आकाशका तारा हेरिरहिन्, तर गनिनन् । तारा गन्ने त अघाउनेहरूले हो । भोकाहरूका लागि तारा गनिरहने जाँगर हुँदैन र आवश्यक पनि ठान्दैनन् । रातभरि के–के सोचिरहिन् । परपर बगरमा हुटिट्याउँ कराएको रातभरि कानमा ठोक्किरह्यो । पल्लोघरमा कृष्णलालकी श्रीमती रातभरि खोकेको निर्सनाको कानमा परिरह्यो । मध्यराततिर निर्सनाले वसन्तको कानमा खुसुक्क भनिन्, ‘यस्तो घरमा त म बस्दिनँ । भोलि नै जान्छु ।’ वसन्तले केही बेरपछि भने, ‘तिमीलाई अन्तै सुख मिल्छ भने जाऊ । म त यस्तै गरिब भएँ ।’ वसन्तको आँखामा निर्सनाले छामिन् । वसन्त आँसु झारिरहेका थिए । निर्सनाले धकेल्दै भनिन्, ‘कस्तो पिन्चे, जादिनँ हौ लाटा । त्यत्तिकै झुटो बोलेको । नरोऊ न । हामी सँगै दुःख गर्छौंं । एक दिन त कसो हाम्रो जीवनमा पनि खुसी नआउला ।’

 

भोलिपल्ट बिहानै उठेर दुईजनाले घर टालटुल पारे । केही समयपछि वसन्त बुटबलतिर ज्यामी काम गर्न गए । बडेमानका ढुंगा बोक्दै टिकटक बनाएर निर्सनालाई पठाउन थाले ।

 

             ०००                                ००० 

 

कृष्णलालकी श्रीमती खोकिरहेकी थिइन् । निर्सनाको बच्चा फेरि रुन थाल्यो । नि:शब्द निरुत्तरित त्यहाँबाट बिदा भएर परवीखोलाको बगरैबगर हिँडिरहेँ । छुट्टिने वेला निर्सनाले भनेकी थिइन्, ‘हाम्रो सुखको दिन त कहिले आउँदैन होला है ?’