• वि.सं २०८१ पौष १५ सोमबार
  • Monday, 30 December, 2024
कुमारी लामा 
२०८१ असोज ५ शनिबार ०९:३१:००
साहित्य

हरियो पर्दा

२०८१ असोज ५ शनिबार ०९:३१:००
कुमारी लामा 

 

जस्तो कि,

 

ऊ बतासले बोकेको एक पात थियो । हराएको एक अनुहार थियो ।

 

ऊ बताससँगै बेगिएको एक (अ) विश्वासिलो समय थियो ।

 

नरोकिनुपर्ने यति चाँडै यद्यपि भर्खरै रोकियो उसको लय । 

 

कसैलाई अभर नपारी, बाधा नपारी ऊ बिदा भयो । रातको चकमन्नतामा बिलायो । 

 

त्यसलगत्तै उसले अन्तिम श्वास फेरेको कोठाभरि रित्तोपन फैलिएको छ । 

 

एक्लो र जर्जर जीवन घिसारिरहेथ्यो । उदासी, अभाव अनि एक्लोपनले सराबर थियो, ऊ त्यस कोठा छिर्नुअघि । आँट गरेरै एक दिन ऊ ढोकामा उभिन पुग्यो र लगत्तै भित्र छिर्ने मौन स्वीकृति पायो । त्यसै क्षणबाट उसको जीवनको लय फेरियो । केही हिउँद, बर्खा र वसन्त त्यहीँ काट्यो । आज, विगतमा झैँ अँध्यारोमै ऊ गायब भयो । कहिल्यै नफर्किने गरी ऊ बिलायो । झिनो कायायुक्त वय लतारिरहेको एक प्राणी अनायासै सकियो । उसको भौतिक शरीर ब्रह्माण्डीय ऊर्जामा समाहित भयो । 

 

सफल भन्न नसकिने जीवनको कर्ता थियो ऊ । केहीबेरको जलाइपछि नै मिलिगयो, एक मुट्ठी अस्तु बनी पुनः यस धर्तीमा । त्यसपछि ऊ पूर्णतः विलीन भयो आफूले पाएको एकबारको जीवनबाट । केही सम्झना भने अझै टाँसिएकै छ, त्यस कोठाको भित्ता, झ्याल र भाँडाकुँडामा । नहुन पनि सक्छ त्यस्तो । यद्यपि, पक्का सम्झँदै होला डेराछेवैको मदिरा अड्डाको ढोकामा तुर्लुंग झुन्डिरहेको हरियो पर्दाले, नहुन पनि सक्छ । जहाँ ऊ प्रत्येक दिन छिर्ने गर्थ्यो । बेपर्वाह पसिदिन्थ्यो दिनदहाडै । फेरि साँझ ढल्नु नपाउँदै ऊ नियमै त्यहीँ पुग्थ्यो । 

 

सम्झेका होलान्, उही पर्दावाल भट्टीका सञ्चालकले जोसँग उधारोको विषयमा घरीघरी घच्याकघुचुक परिरहन्थ्यो । उसको जिद्दीपना व्यहोर्न नसकी आँखा तर्दै एक गिलास थचारिदिएको पनि सम्झना जिउँदो भएको होला, साहुनीको मनमा, ‘कस्तो रड्डी मन्छे यो दाइ त, पैसा तिर्नु छैन ।’ आफ्नै बोली एकपटक टिन्न ठोकियो पनि कि मस्तिष्कमा ! ज्या ! अनि फेरि झुलुक्क आएको त्यही कलेटी ओठको फिस्स हाँसोले एकछिन भरंग पनि भयो कि उसको मन ! 

 

आज साह्रै बतासिएको छ हरियो पर्दा । 

 

अडिनै मुस्किल छ । 

 

कतिन्जेल हल्लिरहनु ? कतिन्जेल झुन्डिरहनु यसरी ? 

 

झुन्ड्याइ एक उदासी । अथवा एक उमंग या उत्साह । सायद जम्मै । वा केही पनि होइन कि ? फरक छन् झुन्ड्याइहरू । मानिस झुन्डिएरै पनि पार लाउन खोज्छ आफूलाई । अनेक मर्काबाट । गर्छ हरप्रयास, जिउनुको खातिर । लड्छ, उठ्छ अनि फेरि लड्छ । धर्मरिँदै उठ्न खोज्छ फेरि पनि अर्को किस्ताको झुन्ड्याइका लागि । सायद हरेकपटक ऊ उठ्न सक्दैन, जसरी ऊ उठेथ्यो । र, एक दिन ऊ गायब हुन्छ । जसरी आज त्यो हात गायब भएको छ । 

 

मलाई सरक्क पन्छाएर भित्र छिर्ने गर्थ्यो ऊ । दिनको कम्तीमा तीनपटक । आज उसको हातको स्पर्श छैन । किन होला ? नरम थिए ती हात । झिना, मसिना थिए औँलाहरू । त्यही औँलाको चेपमा पुतपुताइरहेको हुन्थ्यो चुरोट । लाग्दैनथ्यो भारी काम गर्छ उसका ती हातहरूले । काम त ऊ गिटी सिमेन्टीकै गर्थ्यो रे । तर, कसरी रह्यो होला त्यति नरम ? 

 

अनेक हातहरूको छुवाइ याद छ मलाई । नरम, कडा, कठोर, रिसाहा अनि हल्का खुसीसहितको छुवाइ । उसको स्पर्श फरक थियो । बिलकुल बेग्लै । मायालु पाराको । यसरी सरक्क उठाँउथ्यो, मानौँ मैले पनि चाल नपाऊँ । अथवा भारी नपरोस् मलाई । ऊसँगै पस्थ्यो नयाँ गन्ध । अमिलो–पसिनाको गन्ध । खरो–चुरोटको गन्ध । निस्कने वेला मिसिएको हुन्थ्यो, रक्सीको कडा हरक पनि । ओठमा च्यापिरहने धुवाँदार ठुटो पुतपुताइरहन्थ्यो, अन्तिम सर्कोसम्म । निस्कन्थ्यो थोरै लर्बरिँदै साँझमा । निस्कँदा अझ बढी मुलायम र सतर्क महसुस हुन्थ्यो, उसको छुवाइ । त्यो स्पर्श आज गायब छ ।

 

शान्त देख्छु, साहुजीको अनुहार । या अलिक उदास पो हुन् कि ! सुनिएको छैन सदाजस्तो ठाकठुक, ठासठुस र चर्चरे बोली कसैको पनि । बिस्तारै–बिस्तारै भरिँदै छ कुर्सी टेबल । 

 

खैलाबैला बेगरको, फरक माहोल छ आज । एक–दुईजना पिउँदै फुसफुसाएको सुन्छु, ‘राति दुई बजेतिर एकछिन घ्यारघ्यार गरेपछि हलचल गरेन रे । सजिलो मरण रैछ ।’ 

 

गम्भीर मुद्रामा थिए बोल्ने मान्छे । साथी होलान् । अरूले सुन्दै थिए । एकछिनमा फेरि थपे एक–एक गिलास, उसको नाउँमा । सदाजस्तो ‘चियर्स’ नभनीकन सबैले एकैपटक स्वाट्ट पारे । हाऽऽऽ गर्दै गिलास थचारे । अनि साइँसुत्त बाहिरिए । हतार भएजस्तो गरी । 

 

कस्तो अनौठो माहोल आजको ! कसैले पनि सदाजस्तो लम्बेतान गफ गरेनन् । राजनीतिको कुरा गरेनन् । कसैलाई सरापेनन् । कुनै तरुनीको बयान पनि गरेनन् । हेरेनन् साहुनीतिर, सदाजस्तो कर्के आँखाले पनि । पिएपछिको लर्बर बोलीहरू पनि सुनिएन । साहुनीको झिझ्याटिलो चिट्चिटे बोली त झन् पूरा भासिएको छ आज । 

 

ऊ साँझ ६ बजेतिर पस्थ्यो । सरासर पुग्थ्यो, आफ्नो कुनो आसनमा । अनि माग्थ्यो एक गिलास र साथमा साँधेको भटमास । भटमाससँगै चपाई निलिदिन्थ्यो दिनभरको थकान, तनाव । ऊ निकै टाढाको साइटमा दिनभर काम गरेर फर्केको हुन्थ्यो । थकित/गलित । आलिसान महलको भित्ता ठड्याउने काममा पोख्त रहेछन् उनका हातहरू । कारिगरीयुक्त नरम हात । सिमेन्टी, माटो र पसिनाले लतपत भएर पनि मुलायम । 

 

उसले यस सहरमा ठड्याएका अनगिन्ती घरका भित्ताहरूलाई थाहा होला, उसको छुवाइ । त्यो कोमलता, जसरी म महसुस गर्दै छु, उसको अनुपस्थितिमा पनि । सहरमा ऊ बिलकुलै भित्ताबाहिरको मानिस । या कित्ताबाहिरको श्रमिक । भित्ताबाहिर हुनु धेरै कुराबाट बाहेक हुनु हो । उसले धेरैका लागि सुन्दर र सुरक्षित घर बनायो । आफू भने सधैँ रह्यो भित्ताबाहिर । सुरक्षा, न्यानो र निश्चितताबाट टाढा ।

 

एउटा खोरसरहको टहरोमा निर्वाह गरिरहेथ्यो जीवन । घिसारिरहेथ्यो समय । हिउँद, बर्खा र घाम उनीहरूकै भागमा पथ्र्याे प्रायः । खैर, उसले कहिल्यै गुनासो गरेन । गुनासो गर्ने पनि त कसलाई ? यही देशको एक नागरिक ऊ । तथापि ऊ लगभग राज्यविहीन नै गयो । राज्य, समाज, परिवार, सबैबाट टाढा भएको मानिस । राज्यले उसलाई खोजेन, सायद एकाधपटक चुनावमा खोज्यो होला । समाजले वास्ता गरेन । गर्नु नै किन ? केवल उसको सीप चल्छ यहाँ, त्यसबाहेक अहँ केही चल्दैन । 

 

अग्लो कम्पाउन्डभित्रको आलिसान बंगला र ऊबिच माइलौँको दूरी छ । कहिले नपुरिने खाडल छ । सबभन्दा बढी वर्गीय दरार छ । त्यो कहिल्यै पुरिन्न । गाउँ, घर र नातागोता त ऊ आफैँले छाडेको हो । यतिवेला सम्भवतः गाउँ भने नियास्रिएको हुन सक्छ, थोरबहुत । त्यही माटोमा हुर्किएको एउटा बिरुवा आज अस्तु भई बग्यो । लर्बरिँदै वेलाबखत गाउँ छिर्ने झिनो काया हरायो । अलिकति अँधेरो पसेको हुन सक्छ माथ्लो गाउँमा ।

 

    ०००                                ०००

 

यति चाँडै गइजाला भन्ने त लागेको थिएन । तर गयो, सजिलै गयो । मलाई अभर नपारी गयो । जुँगाको रेखी बस्नै बाँकी भएको छोरालाई अप्ठ्यारो पारेन । घरगाउँलेलाई पनि केही दुःख असुबिस्ता दिएन । यतिखेर भने म यही कोठामा छु, जहाँ ऊसँगका केही अन्तिम वर्षहरू बिताएको थिएँ । लगभग तीन वर्ष ऊ थिरले बस्यो । ऊ अडिएसँगै उसको केही थान कपडा झुन्डिन थालेको हो, भित्ताको काँटीमा । ऊ प्रत्येक साँझ लर्बरिँदै यही कोठा आइपुग्न थालेदेखि नै राखिदिने गरेको हो, उसका लागि साँझको भात ।

 

जुन दिनदेखि नबोली नै आत्मसमर्पण गर्‍यो र छिरेर ढोका चेपमा टुक्रुक्क बसेको थियो, त्यसै दिनबाट एउटा कुनामा बनेको थियो उसको ओछ्यान । त्यसै दिन छोराले स्वर ठूलो गरेको थियो । अलिकति अस्पट मानेको थियो । र, रिसिँदै जंगिएको थियो आफ्नो खाट छाड्नु परेकोमा । त्यही दिनबाट बिस्तारै उसको नाम छरछिमेकले सम्झन थालेको थियो । र, सायद त्यही दिनबाट अरूको नजरमा मेरो परिवारले पूर्णता पाएको थियो— आमा, बा र छोराको सानो परिवार । 

 

उसले कहिल्यै मन खोलेन । मैले पनि सोधिनँ । ऊ किन त्यसरी तर्किंदै गयो, बिस्तारै बिस्तारै मेरो जीवनबाट ? दूधेनानीको किन माया गरेन ? अनि फेरि किन घुस्रिन फर्किआयो ऊ यही कोठामा ? यो पनि म जान्दिनँ, उसले किन टाढैबाट मलाई निगरानी गर्थ्यो ? तोडेसरहको सम्बन्धमा पनि ऊ किन आफ्नो अधिकार जताइरहन्थ्यो वेलाबखत । टोलकै होटेलमा बसेर ठर्रा निल्दै दिन्थ्यो रे गफ, ‘बाघजस्तो छ मेरो बुढी ।’ बुढी भनी किन त्यसरी दाबा गर्थ्यो ऊ ? माया गर्थ्यो र मलाई?

 

         ०००                        ०००

 

१२ वर्षपछि फर्केको खोलासरह ऊ पस्यो कुलकुलाउँदै एक दिन, फेरि मेरो जीवनमा । उसलाई लखेट्ने हजार कारण थिए, तर सकिनँ । एउटै कारण काफी भयो उसलाई स्विकार्न । ऊ मेरो छोराको बाउ थियो । त्यस दिन ऊ दयालाग्दो अनुहार लिएर पसेको थियो कोठामा । ऊ एकदमै टिठलाग्दो ज्यान र अनुहारसहित मेरोसामु उभिएको थियो । कसरी लात हानी लखेट्नु ? मुखले आऊ भित्र नभने पनि गइहाल पनि भन्न सकिनँ । मेरो मौनता उसले स्वीकार ठान्यो । केहीबेर ढोकामा उभिएपछि भित्र पस्यो । कोठाभित्र त पस्यो तर मनभित्र भने ...

 

हावाले उडाएको पातझैँ त्यो मानिस कतातिर उड्यो, भौँतारियो । गनिसाध्ये छैन । खोजेको के थियो होला उसले ? खोजेको वा रोजेको चिज भेट्यो कि भेटेन होला?

 

प्रश्नैप्रश्नको पहिरोले पुरिए तापनि शरण परेकोलाई मैले मरण गर्न सकिनँ । ऊ फेरि मेरो जीवनमा आयो । उसको प्रवेशसँगै छोराले बाउ पायो । समाजको आँखामा मैले लोग्ने पाएँ । मेरो ज्यानभरि ठोक्किने नजर बिस्तारै टाढा हुँदै गए । अचम्म, आधा ज्यानको थियो ऊ मभन्दा । तर, त्यही फुकिढलको अस्तित्वसँग कत्ति जब्बर टाँसिएको रहेछ मेरो परिचय । ऊ आउनेबित्तिकै म भाउजूमा कायान्तरित भइगएँ ।

 

तिनै मानिस हुन्, जसको बोली नै बेग्लै थियो हिजोसम्म । कसले वास्ता गर्‍यो खोइ मेरो एक दशकको पौरख ? एक्लै छोरा हुर्काउँदाको सास्ती खोइ कसले बुझ्यो ? तर, एकाएक उसको आगमनले मेरो अर्कै परिचय स्थापित गरिदियो । देखावटी नै सही । 

 

पाखण्डी छ दुनियाँ । पूरा खोक्रो, मुखौटासहितको । चिनेको छु सा...हरू सबैलाई । कसरी हेर्ने गर्थ्यो मेरो सुत्केरी ज्यान त्यो मिस्त्रीले ? त्यो ठेकेदारले त धेरैपटक आँखाले निलेकै हो मलाई । मेरो सुत्केरी ज्यान र दुध भरिएको पोटिलो छातीलाई लोभिएर हेथ्र्यो । मलाई त्यसको नराम्रो नजरको ख्याल थियो । तर के गर्नु ? इँटा नबोके, बालुवा नचाले कसरी पेट भर्नु ? सहारा कोही थिएन । त्यसैले सकेको पन्सिन्थे । फका’को पनि हो कतिले त । एकजनालाई झाप्पु लाएपछि भने अरू पनि हच्किए । 

 

एक दशक कसैको भरबेगर बाँचेको एक्लो जीवन । सजिलो थिएन । तर, बित्यो । खोलाजस्तै बग्यो उँधैउँधो । खोइ उक्लियो कि उँभोउँभो, छोराको उमेर भएर । जे भयो, बितिगयो । सबै गाह्रो पार गरेपछि ऊ आयो । गइहाल भन्न सकिनँ । खोइ किन सकिनँ ?

 

माया त होइन । त्यतिखेर त दया नै गरेकी हो मैले । ख्वाक्ख्वाक् गर्दै फोक्सोभरि टिबी बोकेर पसेकोरहेछ । स्याहार्नु कर लाग्यो । स्याहारेँ । पछि त माया पनि बढ्यो फेरि । जाबो काटिखाने खसीबाख्राको त माया लाग्छ, राख्दाभन्दा । ऊ त मान्छे, अझ लोग्ने । मुला मन पनि... । के रिस गर्नु यो सक्किसकेको मान्छेलाई पनि भन्ने भयो । दया गर्दै जाँदा माया पनि पलायो । 

 

उसले त झन् बढी नै माया देखाउँथ्यो । मायाभन्दा बढी मलाई सम्मान दियो । झगडाबेगरै सरक्क मबाट पन्सिगएको मानिस आफैँ फर्किआयो । बिरामी भएर आयो । मनको बिमारले उसलाई लगेको थियो कि कताकता ? अहिलेचाहिँ ज्यानकै बिमार बोकी आ’कोथ्यो । स्याहारेर मेरो धर्म पूरा गरेँ । बताससरि उडेको मान्छे मेरै काखमा आई खस्यो । अनि फेरि हिँड्यो आफ्नो एक्लो यात्रामा । दुःख नदिई गयो । खोइ किन आज मेरो मन भने हलुंगो भा’को छ, दह्रो भा’को छ । 

 

०००                     ०००

 

उनी मूल खाँबो हुन् त्यस घरको । अथवा हुन् दलिन, निदाल या धुरी पनि । एकै ठाउँ अडिएको जुग भयो । तर, लाहा जमेकी छैनन् उनी । हिजोआज त उनी मनभरि भर्भराउँदो आगो बोकेकी हिमाल भएकी छिन् । 

 

शान्त छिन् उनी । बिलकुल शान्त । आँसुको तलाउ देखिन्न आँखामा । शुष्क र नीरस छैन बोली । सबै लगभग उस्तै छ त्यस कोठामा । किचन र्‍याकमाथि चुपचाप बसेको छ एउटा चुलो । छेउमै ठडिएको छ ग्यास सिलिन्डर । केही थान थाल बटुको, पानीको बाल्टिन, छोराको किताब राख्ने टेबल सबै छन्, पहिलेकै ठाउँमा । कोठाको एउटा कुनामा खुट्टे खाट छ, चकमन्न र उदास । भित्ताको किलामा अझै झुन्डिरहेको छ, एउटा फुस्रो कमिज । त्यो कमिज यसरी अड्किएको छ, जसरी अड्की बस्छ मुटुभित्र कसैको सम्झना । 

 

यसो उनीतिर हेर्छु– उनका मौन आँखा भने झ्यालका डन्डीहरू पार गर्दै दौडिरहेझैँ लाग्छन् छिमेक घरमा, जहाँ सदाझैँ हल्लिरहेको छ, हरियो पर्दा ।