हिजो गाउँबस्तीका मेलापात र चियापसलमा प्रकट हुने देश विकासको चिन्ता आज युट्युब, फेसबुकलगायत सामाजिक सञ्जालमा पलपल व्यक्त हुने गरेको छ । यो चिन्ता व्यक्त गराइको प्रवृत्ति फरक–फरक देखिन्छ । चिन्ता व्यक्त गर्ने चाहे राजनीतिक दल होस् वा व्यक्ति विकास नहुनुमा आफूबाहेक अरूलाई मात्र दोषी देख्छ, तर आफूलाई नियाल्दैन । त्यति मात्र होइन, विकासको पहल आफैँबाट गर्नुपर्छ भन्ने विवेकशील कुनै व्यक्ति वा संस्थाले सुरुवात गर्न खोजे सतीको सराप परेको भनेर हतोत्साहित र खिसिट्युरी गर्नसम्म पुग्छ ।
विकासको चिन्ता व्यक्त गरे मात्रै विकासप्रेमी भइन्छ भन्ने मनोवृत्ति पनि भेटिन्छ यहाँ । यी गलत प्रवृत्तिले देशलाई पतनोन्मुख दिशामा धकेलेको छ । ऋषि ऊर्जाले सिञ्चित तपोभूमि नेपालमा विश्व–समुदायलाई सुख, शान्ति, समृद्धितर्फ डोर्याउने खजाना हुँदाहुँदै सबै मिलेर त्यसको सदुपयोग नगरेकाले आफ्नै अस्तित्व जोखिममा परेको छ । साँच्चै देश विकासको चिन्तन गर्नेहरू मिलेर अभियानको रूपमा अग्रसर भए अस्तित्व रक्षा मात्र होइन, अघोषित विश्वयुद्धको समाधानसमेत दिन सक्ने अवस्थामा हाम्रो देश नेपाललाई उभ्याउन सम्भव छ । त्यसैले विभिन्न राजनीतिक दल वा स्वतन्त्र रूपमा रहनुभएका सम्पूर्ण देशभक्त नेपाली बुबाआमा, दाजुभाइ, दिदी–बहिनीको साथ पाउने आशा र विश्वासका साथ स्वउत्थान अभियानको प्रस्तावना प्रस्तुत गरेको छु ।
यो एक प्रारम्भिक बहसको थालनीका लागि प्रस्तुत गरिएको हुँदा विज्ञ र अनुभवी व्यक्तित्वहरूको सुझावले पूर्णता प्राप्त गरी स्वउत्थान जनअभियान सुरु भई सफल हुनेमा पूर्ण विश्वस्त छु । स्वउत्थान अभियानको प्रस्तावना यस प्रकार छ ।
प्रस्तावना : योगका आदिगुरु भगवान् शिव, वेद र भागवत गीताका रचयिता वेदव्यासलगायत महर्षि, भगवान् बुद्धलगायत विभूति जन्माउने अलौकिक ऊर्जा र अपार प्राकृतिक सम्पदाको सुन्दरताले भरिएको नेपालमा छिमेकी देश चीन र भारतको भन्दा तीव्र गतिमा विकास हुनुपर्नेमा पुर्खाले आर्जेको हिरामोतीतुल्य आध्यात्मिक विरासतलाई उपेक्षा गर्दै पश्चिमा संस्कृतिको अन्धानुसरणलाई विकासको मूल आधार बनाइँदा विश्व–समुदायलाई सुख, शान्ति, समृद्धिको बाटोमा डोर्याउने ज्ञान र स्रोत–साधन भएको देश नेपालको हरेक क्षेत्र पतनको दिशामा उन्मुख हुँदै भयावह अवस्थामा पुगेकाले आध्यात्मिक विरासतमा मलजल गर्दै व्यक्ति आफैँले आफूमा भएको क्षमताको पहिचान र विकास गर्न आफैँ क्रियाशील हुने स्वउत्थान अभियान सञ्चालन गरी व्यक्ति, समाज र राष्ट्रलाई समृद्ध बनाउन, धर्म र अधर्मबिचको महायुद्धमा धर्मको पक्षमा युद्ध गर्ने अर्जुनको सारथी बनी लडाइँको मैदानमा उत्रिएर निर्णायक भूमिका खेलेका श्रीकृष्णको ज्ञानको चर्चा गर्ने आध्यात्मिक संस्था, गुरु, साधक एवं समर्थकलाई स्वउत्थान जनअभियानमा सरिक भई सिंगो देशलाई योगध्यानको अन्तर्राष्ट्रिय धामका रूपमा विकसित गर्न श्रीकृष्णले झैँ फिल्डमा झरी आध्यात्मिक पर्यटनमार्फत नेपाली समृद्धिको सारथी बन्न आह्वान र उत्प्रेरित गर्न, सन् १७८९ को फ्रेन्च रिभोलुसनका वेला त्यहाँको राजसभाको बैठकमा राजा र आन्दोलनको समर्थन गर्नेको विभाजन गर्न आधार बनाइएको राजाको दायाँबायाँ बसाइलाई पछि राजनीतिक दललाई विभाजन गर्न प्रयोग गरेको र कुनै पनि दल वा व्यक्ति हरदम वाम र दक्षिणपन्थी हुन नसक्ने वास्तविक यथार्थ उजागर गर्दै सबै दलमा रहेका देशको हरक्षेत्र खस्किएकोबाट चिन्तित र उकास्ने चाहना भएका सबैलाई स्वउत्थान अभियानमा समेटेर देशको अवस्था बदल्न, अहिलेको आधुनिक युग अन्योल र द्विविधाग्रस्त भएकाले मानिसले आफूभित्र रहेको क्षमता, प्रतिभा र खुसी चिन्न नसकेर अरूतिर त्वं शरणं गर्न पुग्दा उसको अज्ञानताबाट नाजायज फाइदा उठाउँदै अरू रातारात मालामाल हुने मिहिनेत गर्ने ऊ सदा अभावको कष्टकर जीवन बिताउन बाध्य हुने अवस्थाको अन्त्य गर्दै श्रम गर्नेलाई समृद्ध बनाउन, मानिसले जन्मसँगै सत्व, रज र तम गुण लिएर आएको हुन्छ ।
यी तीन गुणको सन्तुलनले नै मानवजीवन सार्थक र सफल बन्छ । यी गुण नै भगवान् हुन् । तिनको सन्तुलन मिलाउन दिव्य नव व्रत सत्यता, स्वाध्याय, निरहंकारिता, क्षमाशीलता, सर्वकल्याण भाव, सेवाभाव, मधुर वाणी, लक्ष्यसँग एकाकार र मुमुक्षाको पालना गर्नुपर्छ । अर्थात्, मानिसको शरीर मन्दिर, आत्मा ईश्वर हो, मनलाई तिनको सेवामा समर्पित गरेर मानव जीवनको एक मात्र ठुलो र अन्तिम लक्ष्य आनन्द प्राप्त हुन्छ भन्ने ज्ञान सर्वत्र फैलाउँदै व्यक्ति, समाज र राष्ट्रमा सुख, शान्ति र समृद्धि ल्याउन, पूजाआजा र दानदक्षिणा मात्र धर्म होइन ।
धर्मको वास्तविक अर्थ वस्तुको वस्तुत्व सिद्ध गर्ने जस्तो कि अग्निको वस्तुत्व तातो हुनुमा भएजस्तै आनन्दित रहनु मानवको धर्म हो । धर्मको प्रयोजन सांसारिक दुःखहरूबाट निवृत्ति पाउनका लागि हो । धर्मबाट असल संस्कार र असल संस्कारबाट संस्कृति निर्माण हुन्छ । बीजमा वृक्ष देखिँदैन, तर जमिनमा रोपी मलजल दिएपछि वृक्ष बन्दै फल दिएझैँ मानिसमा आत्मा र गुण देखिँदैनन्, तर मलजलरुपी दिव्य नव व्रतको पालना गर्दा आत्माले मनलाई आनन्द आउने कर्म गर्न लगाउँछ र आनन्दको फल प्राप्त हुन्छ भन्ने प्रमाणित गर्न, विद्यालय र युनिभर्सिटीबाट प्राप्त हुने शिक्षा सूचना मात्र हुन् ।
आत्मज्ञानले ती सूचनाको सदुपयोग गर्ने बुद्धि विवेक विकसित गर्छ । आत्मज्ञानको स्रोत अध्यात्म हो । अध्यात्मभित्र योग प्राणायाम र ध्यान पनि पर्छन् । योगले शरीर स्वस्थ राख्छ । प्राणायामबाट मन संयमित हुन्छ । ध्यानले आत्मज्ञान र बुद्धिमत्ता बढाउँछ । आत्मज्ञान र बुद्धिमत्ताले दिव्य नव व्रत पालना गराउँदै जीवनलाई सही दिशामा हिँडाइ सुख, शान्ति र समृद्धि ल्याउँछ । त्यसैले आध्यात्मिक ज्ञानको प्रकाश छर्दै योग, प्राणायाम र ध्यानको साधना गर्न गराउन, हिमाल पहाड तराई नदी, झरना, तालजस्ता मनोरम प्राकृतिक सम्पदायुक्त भएकाले सर्वज्ञानी ऋषिमुनि भगवान् बुद्ध र सीता जन्मिएको तपोभूमि नेपालमा जस्तो ऊर्जा विश्वमै अन्यत्र पाइँदैन । त्यसैले बाहिर जन्मेका शिवपुरी र खप्तड बाबा नेपालमै आएर साधना गरे । यस्तो अलौकिक ऊर्जाले भरिपूर्ण ऋषिहरूले तपोभूमि बनाएको र बुद्धले शान्ति उत्खनन गरी विश्वमा फैलाएर खडा गरेको विरासत अहिलेको पिँढीले भरथेग नगरेकाले युवा र पुँजी विदेश पलायन हुन पुगी शून्य उत्पादनउन्मुख र पराधीन अवस्थामा पुगेको नेपाललाई मेडिटेसनको अन्तर्राष्ट्रिय प्रमुख गन्तव्यको रूपमा विकसित गरी आत्मनिर्भर हुँदै समृद्ध बनाउन युवा र राष्ट्रिय पुँजी स्वदेशमा परिचालन हुने वातावरण सिर्जना गर्न, व्यक्ति, समाज, राष्ट्र र विश्वलाई सही दिशामा डोर्याउने मूल नीति नै राजनीति हो ।
राजनीतिको स्रोत विचार र विचारको स्रोत सोच हो । सोच सकारात्मक र नकारात्मक दुई प्रकारको हुन्छ । सकारात्मक सोच राखी गरिनुपर्ने राजनीति सबैले गर्ने विषय होइन र सम्भव पनि हुँदैन । तर, सबैले राजनीति के हो ? कस्तो भइरहेको छ ? हुनुपर्ने कस्तो हो ? भन्ने बुझ्न सचेत हुनैपर्छ । किनभने राजनीति सकारात्मक भए मानवजीवन सार्थक र नकारात्मक भए निरर्थक हुन्छ । राजनीति सकारात्मक छ कि नकारात्मक भन्ने मूल्यांकन गरी सकारात्मक भए समर्थन नकारात्मक भए विरोध गर्नु मानवीय धर्म हो ।
त्यसैले राजनीतिलाई सकारात्मक दिशामा डोर्याउन, वनस्पतिले फालेको अक्सिजनले मानिस र मानिसले फालेको कार्बनडाइअक्साइडले वनस्पतिको जीवन बचाएर प्रकृतिले एकत्वमा मात्र जीवन सम्भव छ भन्ने शिक्षा दिएको छ । त्यो एकत्वको शिक्षा अनुसरण नगरी जात, धर्म, महिला पुरुष, धनी, गरिब र अध्यात्म र भौतिकका नाममा विभाजित र परस्परमा अनावश्यक प्रतिस्पर्धा गर्न पुग्दा द्वन्द्व र अशान्ति निम्तायौँ । प्रकृतिको इको–सिस्टमलाई आत्मसात् गर्दै अध्यात्म र भौतिक दुवै विज्ञानलाई संयोजन गर्दै हामी सबै मानिस जो, जहाँ, जे गर्दै छाैँ, सो गर्दै सोही ठाउँदेखि तन, मन र धनमध्ये सबै वा कुनै एकको माध्यमबाट सहकार्य गर्न–गराउन स्वउत्थान अभियानको परिकल्पना गरी देशैभरि सहकार्यको वातावरण सिर्जना गर्न नीति र कार्ययोजनासमेत समावेश गरी यो स्वउत्थान पुस्तक लेखी अग्रसर भइएको हो ।
यो पुस्तक बिक्री गरी हुने आम्दानी लेखकको मात्र नबनाई अभियानका सबै सदस्यको लगानी हुने गरी सदुपयोग गरिने प्रतिबद्धता सार्वजनिक रूपमा गर्दै सहभागिताका लागि हार्दिक अपिल गर्छु ।