• वि.सं २०८१ असोज २१ सोमबार
  • Monday, 07 October, 2024
कुन्साङ
२०८१ असोज १२ शनिबार ०९:४६:००
फिल्म

‘साम्बाला’को अनौठो राजनीति

२०८१ असोज १२ शनिबार ०९:४६:००
कुन्साङ

महिलाले यो धर्तीमा आफ्नो शरीरमाथिको हक जताउँदै दुनियाँका कुरा बेवास्ता गरेर बाँच्न पाउँदिनन् ? कि त ऊ मर्नुपर्‍यो, कि त ऊ कल्पनाको स्वर्गमा विलीन हुनुपर्‍यो ?

 

कुन्साङ

 

केही समयअघि एकजना साथीलाई सोधेको थिएँ, ‘हिमाल भन्नासाथ तिम्रो आँखामा कस्तो नक्सा आउँछ ?’ अचानकको प्रश्नले ऊ एकछिन सोचमग्न भयो, तर केही बोलेन । अहिले उसलाई यही प्रश्न सोध्ने हो भने सीधा जवाफ आउनेछ, ‘साम्बाला हेरिनस् ?’ मेरो साथीलाई मात्रै होइन, धेरैलाई यस्तै लाग्दो हो । हिमाल भन्नासाथ हिउँले ढाकेको सेतो अग्लो हिमाल, निलो आकाश र कुलुलु बग्ने सङ्लो पानी, यस्तैयस्तै नक्सा दिमागमा आउँदो हो । ‘साम्बाला’मा देखाएका दृश्य ठिक त्यस्तै छन् । सुन्दर कवितामा प्रयोग गरिएको बिम्ब जस्तो छ– हिमाल । प्रेमिल जोडीले लेखेको प्रेमपत्रजस्तो पनि लाग्छ । कुनै चित्रकारको सुन्दर चित्रजस्तो पनि देखिन्छ । जसरी पेमाको यात्रासँगै उसको संघर्ष बढिरहन्छ, त्यसरी नै दर्शकको उत्सकुता पनि सँगसँगै बढ्छ ।

 

तीन श्रीमान्की एक श्रीमती पेमाको गर्भमा हुर्किरहेको बच्चा परपुरुषको पो हो कि भन्ने शंका–उपशंकाबाटै रफ्तार लिन्छ, फिल्मले । ल्हासा व्यापार गर्न गएको जेठो श्रीमान् टासी समाजको लाजले फर्किन्न । यता घरमा कान्छो श्रीमान् उमेरले लगभग १२–१३ वर्षको मात्र देखिन्छ, ऊ शंकाको नजरले पेमालाई प्रश्न गर्छ, हिजो राति घरमा के भएको थियो ?  माहिलो श्रीमान् जो भिक्षु पनि हुन्, टासीको खोजीमा उनी पनि पेमासँगै निस्कन्छन् । उनको महावाणी यतिखेर समीक्षाको हाइलाइट बनेको छ, ‘कसको बच्चा हो भन्दा पनि बच्चा जन्माउने प्रक्रिया महान् हो ।’ तर, उनी पेमाको प्रश्नमा मौन भइदिन्छन् । पेमा उनलाई सोध्छिन्, ‘मेरो बच्चा तिमी स्विकार्छौ ?’ पात्रहरूको जीवनमा आएको आरोह–अवरोहसँगै फेरिन्छ– पृष्ठभूमिको सुन्दर दृश्य ।  ठुलो पर्दामा पहिलोपटक आफूले बोल्दै, सुन्दै आएको भाषामा फिल्म हेर्न पाउनु मेरा लागि रमाइलो अनुभव रह्यो ।

 

साम्बालाले निर्माण गर्न खोजेको भाष्य

 

हरेक फिल्मले समाजमा एउटा सामाजिक, राजनीतिक सन्देश प्रवाह गर्छ । फिल्म एउटा राजनीतिक अभिव्यक्ति पनि हो, त्यसैले यसले समाजमा कस्तो भाष्य स्थापित गर्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । कुनै पनि फिल्मले उठाएको विषयले उक्त समाजप्रति बन्ने बाहिरी दृष्टिकोण, निर्माण गर्ने भाष्य र त्यो भाष्यले समाजमा पारेको प्रभावले खास अर्थ राख्छ । यसरी एउटा फिल्मले पनि राजनीति गरिरहेको हुन्छ । 

 

अब एकछिन ‘साम्बाला’ले निर्माण गर्ने सामाजिक, आर्थिक, लैंगिक र राजनीतिक पाटोलाई हेरौँ । माथिल्लो पंक्तिमा चर्चा गरेको सुन्दर दृश्यहरूको छायामा ‘साम्बाला’ले अनौठो राजनीति गरिरहेको छ । तर फरक यत्ति हो, त्यो भूगोलको सुन्दरतामा मग्न हामी फिल्मले गरेको  राजनीतिबारे अनभिज्ञ भइदिन्छौँ । जसका बारेमा बहस हुँदैन । जसरी हिमाली भूगोल, हिमाली जनजीवन धेरैका लागि रहस्यमय भनेको छ, त्यसरी नै हिमालका कथा रहस्यमय लाग्नु स्वाभाविक पनि हो।

 

दाबाको हातमा घडी वेलावेलामा टल्किन्छ । राज्यको कुनै उपस्थिति देखिँदैन । फिल्म कुन समयको भन्ने विषयमा मौन बसेर त्यही मौनताको आडमा  ‘साम्बाला’ले चलाखीपूर्ण राजनीति गरेको प्रस्ट देखिन्छ । यहाँ बहस त्यो संस्कार ठिक थियो कि थिएन भन्ने होइन । तर, कस्तो भाष्य निर्माण गर्‍यो भन्ने कुराले महत्व राख्छ । निश्चित समुदायको निश्चित संस्कृतिमा आधारित फिल्म बनाइरहँदा यसले त्यो समाजको चित्रण कसरी गरिएको छ भन्ने सवाल महत्वपूर्ण भएर आउँछ । फिल्म हेरिरहँदा लाग्छ, यही हो त त्यहाँका मानिसले बाँचिरहेको जीवनशैली ? किन आज रित्तिँदो छ हिमाली गाउँ ? जीविकोपार्जनका लागि ज्यान जोखिममा राखेर यार्चागुन्बु र अरू जडीबुटीको पछि लाग्न मानिस किन बाध्य छन् ? किन राजनीतिमा हिमाली महिलाको प्रतिनिधित्व शून्य छ ? के यस्ता फिल्मले कहिल्यै त्यहाँका मानिसले भोगिरहेको सामाजिक, आर्थिक र राजनीतिक बहिष्करणविरुद्ध आवाज उठाउलान् ?

 

६ महिना हिउँ जम्ने ठाउँमा हिउँ र मानिसको सम्बन्ध कस्तो हुन्छ ? न हिउँसँगको कष्टकर जीवन देखिन्छ, न हिउँले दिने खुसी नै । बरु हिउँलाई रोमान्टिसाइज गरेर सुन्दरताको बिम्बका रूपमा मात्रै प्रयोग गरिएको छ । जसरी पेमा हिउँमाथि सजिलै शोन्बा (ढोचा) लगाएर हिँड्छिन्, त्यसरी नै बाक्लो हिउँमा घोडा मजाले हिँड्छ । हिउँको बाटोमा पेमा घोडा पनि चढ्छिन् । दृश्यलाई सुन्दर बनाउन हिउँलाई केवल रोमान्टिसाइज गरिएको छ ।

 

उसो त ‘साम्बाला’ले देखाएको दृश्यले यही भूगोल हो भनेर छुट्याउन गाह्रो हुन्छ । ०७८ को जनगणनाअनुसार डोल्पाको आठ स्थानीय तहमध्ये डोल्पोबुद्ध, से फोक्सुन्डो र छार्का ताङसोङ गाउँपालिकामा क्रमशः ३७.३ प्रतिशत, ४०.३ प्रतिशत र ४१.८ प्रतिशत महिला साक्षरता दर रहेको छ, जुन अरू स्थानीय तहको तुलनामा कमजोर हो । यसले दुई चित्र देखाउँछ । बहुपति प्रथा रहेको समाजमा कमाएको पैसा एक ठाउँमा जम्मा हुने भए पनि सम्पत्तिमाथिको नियन्त्रण र पहुँच पुरुषहरूकै थियो भन्ने संकेत गर्छ, भने अर्कोतिर राज्यले गरेको शैक्षिक, आर्थिक, भौगोलिक उपेक्षा पनि देखिन्छ  । 

 

हिमालको कथा र परिवेशमा बनेका अरू फिल्मले जस्तै ‘साम्बाला’ले पनि हिमाली भूगोलको सुन्दरता देखाएर त्यहाँको इतिहास, संस्कारमाथि गलत भाष्य निर्माण गरिदिएको छ । जुन समुदाय, जुन भूगोलको कथा टिपेर नाम, दाम कमाउँछन्, त्यो समुदायप्रति न त जिम्मेवारी महसुस गर्छन्, न त बदनाम गर्न नै हिच्किचाउँछन् । ‘साम्बाला’ फिल्मकी नायिका थिन्ले ल्हामो गर्वका साथ भन्छिन्, ‘पेमाजस्तै देखिन तीन महिना नुहाइनँ । कपाल कोरिनँ । ब्रस पनि गरेको थिइनँ ।’ के हिमालका मान्छेहरू यत्ति फोहोरी हुन्छन् ? तीन–तीन महिनासम्म ननुहाउने, कपाल नकोर्ने, ब्रस नगर्ने हुन्छन् त ? थिन्ले ल्हामोको यो भनाइबाट त्यो समाजलाई हेर्ने उनको सोचाइ संकीर्ण र विभेदपूर्ण छ भन्ने देखिन्छ । आफूलाई मिहिनेती र महान् देखाउन एउटा सिंगो समुदायलाई ढुंगेयुगमा छन्, निरीह, फोहोरी र घिनलाग्दा हुन्छन् भन्ने देखाउन कसरी मिल्छ ?

 

केही समयअघि त्यही भूगोल, त्यही कथावस्तुमा  ‘टुल्की’ फिल्म निर्माण भएको थियो । जहाँ गैरआदिवासी महिलाको सहारा लिएर सिंगो हिमाली समाजलाई नै अपराधीकरण गर्ने भाष्य निर्माण गर्न खोजिएको थियो । यसको एउटा उदाहरण हो, ‘साम्बाला’मा दाबाका साथीहरूले उनलाई गरेको व्यवहार । दुइटा दृश्यमा दाबाका साथीहरूले उनलाई पेमासँग जोडेर जिस्क्याइरहेका देखाइन्छ । जुन कुरा दाबालाई पटक्कै मन पर्दैन । साथीहरूसँग झगडा पनि पर्छ । जबकि दाबाका साथीहरू त्यही समुदायकै हुन् भन्ने कुरा उनीहरूले बोल्ने भाषा र लगाएको लुगाबाटै  प्रस्ट हुन्छ । एउटै समुदायमा हुर्केबढेको मानिसहरूको संस्कार पनि उस्तै नै हुन्छ । त्यो प्रक्रिया बाँचिरहेका मान्छेमध्ये एकलाई  फिल्ममा जसरी अस्वाभाविक मानेको देखाएको छ, त्यो दृश्य निकै नै हास्यास्पद लाग्छ । त्यही भूगोलमा बाँचेकाहरू नमिलेको देखेर रमाइलो मानेर हाँस्छन्, भूगोल बाहिरकाहरू निर्देशकको बेबकुफी सम्झेर हाँस्छन् । कुनै समुदायको इतिहास, समाज, संस्कृतिमाथि भद्दा मजाक गरेर कस्तो भाष्य निर्माण गर्न खोजिएको हो ? एकछिन सोच्नुस् त ! त्यो दृश्यले त्यो समाजलाई हेरिने कस्तो दृष्टिकोण निर्माण गर्छ ? के त्यही यथार्थ हो ? फिल्म हेरेपछि दाबाजत्रै मेरो भाइले प्रश्न गर्‍यो, ‘हाम्रो गाउँतिर पनि सानो बच्चाको बिहे आफूभन्दा ठुलो केटीसँग गरिदिन्छ हो ?’ ऊ फेरि थप्छ, ‘अनि लाज लाग्दैन त ?’  यस्तो भाइबहिनीलाई कसरी सम्झाउने इतिहास ? कसरी बुझाउने संस्कृति ?  जसलाई आफ्नो गाउँ फिल्ममा देखाएको भूगोलजस्तै कुनै ठाउँमा हो भन्नेसम्म थाहा छ । 

 

बहुपति प्रथा हिमाली गाउँको पनि निश्चित समुदायमा मात्रै हुन्छ भन्ने कुरा एक दशकअघि एसएलसी सकेर काठमाडौं आउँदासम्म पनि मलाई थाहा थिएन । मलाई लाग्थ्यो, सबैतिर यस्तै त हुँदो हो । र, हामीलाई यो कुरा कहिल्यै अनौठो लागेन । न गाउँमा, न स्कुलमा, यो विषयलाई कसैले अनौठो रूपमा लिए । न एक–अर्कालाई नै जिस्काउँथे । जबसम्म कुनै कुरा नौलो लाग्दैन, तबसम्म त्यो कुरा अनौठो पनि लाग्दैन र प्रश्न पनि उठ्दैन । जस्तो अरू समुदायले बहुपति प्रथा हुनुलाई अनौठो रूपमा लिइरहेका छन्, अरूले अनौठो मान्नु नै हाम्रा लागि अनौठो विषय थियो, केही वर्षअघिसम्म । जब साथीहरू बहुपति प्रथाको विषयमा जान्न खोज्थे म उनीहरूलाई सोध्थेँ, ‘तिमीहरूको गाउँमा यस्तो हुँदैन र ?’ हुँदैन भन्ने उत्तरले म छक्क पर्थें । त्यहीँको भूगोलमा हुर्केका दाबाका साथीहरूले जसरी दाबालाई गिज्याउँछन्, त्यो दृश्यले ‘साम्बाला’ले ब्राह्मणवादी राजनीति गरेको प्रस्ट हुन्छ । 

 

रिम्पोचे बितेपछि कर्माले स्याक्पा (पछुतो) मान्दै फेरि यस्तो नहोस् भन्ने भावमा कपाल काट्छन् । तर, फिल्ममा त्यो समुदायको मृत्यु संस्कार जसरी देखाइएको छ आम दर्शकले त्यो कुरा सजिलै बुझ्न सक्दैनन् र मृत्यु संस्कारमाथि भ्रम सिर्जना हुन्छ । सामाजिक अभियन्ता तथा पूर्वमन्त्री छक्कबहादुर लामा भन्छन्, ‘मीनबहादुर भामले एउटा परिवारमा महिलाको भूमिका राम्रै देखाउन खोजेका छन्, तर केही दृश्य छन्, जसले त्यो समाजको प्रतिनिधित्व गर्दैन । यसको उहारण हो, रिम्पोचे बितेपछि कर्माले कपाल खौरिएको दृश्य । बौद्ध धर्म मान्नेहरूले कपाल खौरिएको पाइँदैन, यो हिन्दु धर्म मान्नेहरूले गर्छन् ।’

 

बोन–बुद्धिस्ट अध्येता  छेवाङ लामा भन्छन्, ‘हाम्रो समाजले रियल बुद्धिजम बुझेकै छैन । बुद्धिस्ट लामा भन्नेबित्तिकै शान्त, रातो लुगा लगाएर गुम्बामा बस्ने, शुद्ध शाकाहारी हुन्छ भन्ने भाष्य निर्माण भएको छ, तर बुद्धिजम त्यत्ति मात्रै होइन, हामीले रियल बुद्धिजम त बुझेकै छैनौँ । अहिलेको  यो भाष्य राजनीतिक प्रभावले निर्माण भएको हो । तिब्बतमा एक समय यस्तो प्रकृतिको बुद्धिजम धेरै फैलियो, जसलाई त्यहाँको तत्कालीन राज्यले पनि सपोर्ट गर्‍यो ।’ रिम्पोचे बितेपछि कर्माले कपाल खौरिएको दृश्य, दाबा र टासीले मासु खाँदा कर्माले शाकाहारी खाना खाएको दृश्यले हिन्दु धर्मको प्रभाव मात्रै होइन, बौद्ध दर्शनको पनि सतही ज्ञान देखिन्छ । 

 

बालक दाबा जसरी छ्याङ खाएर म लोग्ने हुँ भन्दै हक जताउन खोज्छ, जसरी शंकालु नजरले बारबार पेमालाई प्रश्न गर्छ, त्यो निश्चित समुदायप्रति गरिएको भद्दा मजाक हो । अधिकांश फिल्मले आदिवासी जनजाति समुदायका पात्रलाई निरीह, लाचार, घिनलाग्दो देखाएर आफ्नो इतिहासलाई नै घृणा गर्ने बनाउन राजनीति गरेका छन्, ‘साम्बाला’ पनि पृथक् भएन ।  यो सबैभन्दा डरलाग्दो राजनीति हो । अर्कोतिर इतिहासको गलत व्याख्याले समाजका अरू संस्कार, संस्कृतिलाई पनि प्रभाव पारिरहेको हुन्छ । यसको अर्को पाटो हिमाली भूगोलको सुन्दरताको मात्रै चर्चा गरिरहँदा विविधतापूर्ण हिमाल र हिमालीको मुद्दा खुम्चिन जान्छ । बहुपति प्रथाको चर्चा संक्षिप्तमा अर्को खण्डमा गर्ने नै छौँ । तर, फिल्ममा जसरी एउटा बच्चालाई लोग्ने हुनुको गरुंगो भारी बोकाएको देखाइन्छ, यसले बहुपति प्रथाको इतिहासको गलत व्याख्या मात्रै गर्दैन, निर्देशकको पुरुषवादी सोच पनि हाबी देखिन्छ । यसको उदाहरण हो, दाबाले छ्याङ खाएर म लोग्ने हुँ भन्दै पेमासँग गरेको व्यवहार । एउटा सानो बच्चामाथि पनि पुरुषत्वको भारी बोकाएर निर्देशकले आफ्नो पुरुषवादी राजनीतिलाई मलजल गरेका छन् । ०२६ सालमा डोल्पो पुगेका मानवशास्त्री जनकलाल शर्मा आफ्नो पुस्तक ‘कौतुकमय डोल्पो’मा लेख्छन्, ‘बहुपति प्रथामा एउटा नयाँ सुधार आएको छ । त्यो हो भाउजूले देवरलाई अपनाउने अनुमति ।’ यसले भन्छ, हिमाली महिला निरीह थिएनन्, लाचार थिएनन् । आफ्नो निर्णय आफैँलिन सक्थे । बहुपति प्रथामा जत्ति दाजुभाइकी श्रीमती भए पनि जेठोबाहेक सबैले भाउजू नै भन्छन् । र, बच्चा जसको भए पनि आपा जेठो दाइ नै हुन्छ । कर्मा र दाबाले भाउजू नभनी पेमाको नाम लिएर बोलाउनु निर्देशकले आफ्नो संस्कृति जबर्जस्ती थोपरेको हो । 

 

बहुपति प्रथाको इतिहास र महिलाको भूमिका

 

बहुपति प्रथा हिमाली आदिवासीको सीमित स्रोतसाधनमा जीवन जिउने एक रणनीति र ज्ञान थियो । हिमाली भूगोल र जीविकोपार्जनको चर्चा नगर्दासम्म बहुपति प्रथाको इतिहास बुझ्न सकिँदैन । हिमालमा उत्पादन हुने भूमि सीमित र जीविकोपार्जनको अन्य माध्यम पनि थिएन । जसले गर्दा मानिस काम विभाजन गरेर सामूहिकताको बलमा बाँचिरहेका थिए । एउटा घरमा तीन भाइ छन् भने कोही घरमा बसेर खेतीपातीको काम गर्थे, कोही भेडाबाख्रासँग जान्थे । जसले गर्दा भूमिको विभाजन हुँदैनथ्यो  र वनजंगल कम मासिन्थ्यो ।

 

बहुपति प्रथाको इतिहासको गलत व्याख्या त्यतिवेलादेखि सुरु भयो, जतिवेलादेखि बहुपति प्रथालाई मात्र यौनसँग जोडेर हेर्न थालियो । यसको सम्बन्ध यौनसँग नभई भूमिसँग जोडिएको छ । जसलाई बुझ्न धेरै पर जानुपर्दैन । जब ०५२ सालमा सामुदायिक वन उपभोक्ता महासंघ स्थापनासँगै त्यसले राष्ट्रव्यापी अभियानको रूप लियो, जसको  सीधा प्रभाव भेडाबाख्रा पालनमा पर्न गयो । चरण क्षेत्र नरहेपछि भेडाबाख्रा पालन पनि कम हुँदै गयो । भेडाबाख्रा पालन लोप हुनुमा यत्ति मात्रै होइन, अन्तर्राष्ट्रिय प्रभाव पनि देखिन्छ । सन् १९५९ मा चीनले तिब्बतलाई पूर्ण अधीनस्थ बनाएपछि सीमा क्षेत्रमा त्यसको प्रभाव पर्‍यो । उनीहरू सजिलै ओहोरदोहोर गर्न पाएनन् । त्योभन्दा पहिले नेपाल–तिब्बतको सिमाना खुला थियो । सीमा वारपार व्यापार हुन्थ्यो । हुम्लाको हिल्सा नाका हुँदै तिब्बती व्यापारी व्यापार गर्न हालको नाम्खा गाउँपालिकाको थाङुमुचेसम्म आउँथे । त्यहाँ महिनौँ हाट लाग्थ्यो । पैसाभन्दा धेरै वस्तु विनिमय हुन्थ्यो ।  तिब्बत नाका बन्द हुँदै गएपछि चरण क्षेत्रको अभावमा भेडाबाख्रा पालन पनि खुम्चियो  । जीविकोपार्जनमा आएको परिवर्तनको प्रभाव बहुपति प्रथामा पनि पर्‍यो । त्यसमा बदलिँदो विश्व परिवेशले पनि ठुलो भूमिका खेल्यो । समाज पुँजीवादतिर सर्दै जाँदा सम्बन्धमा पनि ठुलो फेरबदल आयो । यसको उदाहरणको रूपमा लिन सकिन्छ, सन् १९८८ मा भेडामा खाद्यान्न ओसारपोसार गर्न व्यापारीले हवाईजहाजविरुद्ध उठाएको आवाज ।

 

बहुपति प्रथा प्रचलनमा रहेको समाजमा महिलाको भूमिका अहं हुन्थ्यो । यसको सुरुवाती कालमा सम्पूर्ण आर्थिक जिम्मेवारी महिलाकै हातमा हुन्थ्यो । पुरुषहरूले बाहिरबाट कमाएर ल्याएको सम्पत्तिको व्यवस्थापन महिलाले गर्थे । महिलाहरू आफैँपनि भेडाबाख्रा चराउन जान्थे । त्यो समाजमा महिलाको भूमिका कहिल्यै पनि सहायक थिएन । आज पनि त्यहाँको कृषि कर्म महिलाले नै धानिराखेका छन् ।

 

यस फिल्मको निर्देशकले एउटा अन्तर्वार्तामा भनेका छन्, ‘सोसियल रियलिज्म नपक्रीकन संसारको कुन फिल्म माथि पुगेको छ ?’  कुनै पनि समाजमा रहेका सामाजिक, आर्थिक, लैंगिक र राजनीतिक असमानतालाई प्रश्न गर्दै उक्त समाजको इतिहास, संस्कारप्रति समानुभूति राख्दै समाजलाई नजिकबाट बुझेर सुधारको बाटो तयार गर्नु ‘सोसियल रियलिज्म’का सामान्य अवधारणा हुन् । तर, ‘साम्बाला’मा समानुभूतिभन्दा सहानुभूति धेरै देखिन्छ । काल्पनिकै भए पनि एउटा समुदायको इतिहासमा आधारित फिल्म बनाइरहँदा सोसियल रियलिज्म कत्ति देखाइयो भन्ने कुरा  महत्वपूर्ण हुन्छ, जुन साम्बालामा देखिँदैन । साम्बालाका पात्रहरूले सामाजिक व्यवस्थामाथि न आलोचनात्मक चेत राख्छन्, न कुनै प्रश्न गर्छन्, न उनीहरूको दैनिकीका समस्या के–कस्ता छन् ? त्यसको विश्लेषण गरिएको छ । ‘साम्बाला’ बहुपति प्रथामा आधारित फिल्म भनिए पनि यसमा त्यहाँको वास्तविक समाज देखिँदैन ।  

 

आत्मसमर्पणको कथा

 

‘साम्बाला’ महिलाको आत्मसमर्पणको कथा हो भन्दा अत्युक्ति नहोला । यसकारण भन्दै छु, पेमा र कर्मा टासी खोज्दै जाँदा कुनै गाउँमा एकजना महिला आफू निर्दोष भएको सावित गर्न तीर हानिरहेकी हुन्छे । तर, उसको तीर सही ठाउँमा लाग्दैन, ऊ दोषी करार हुन्छे । अन्तमा उसले आत्महत्या गर्छे । के महिलाले हरेक ठाउँमा आफू निर्दोष भएको सावित गर्दै हिँड्नुपर्ने हो ? यदि दोषी करार भयो भने त्यो महिलालाई बाँच्ने अधिकार छैन ? के उसले आत्महत्या नै गर्नुपर्छ ? पेमा र राम सर नजिकिएको कुरा जब गाउँलेले टासीलाई सुनाउँछन्, समाजमा कसरी अनुहार देखाउनु भनेर टासी बिच बाटोबाटै हराउँछ । जहाँबाट पेमाको संघर्षको कथा सुरु हुन्छ । पेमाले गरेको संघर्षपूर्ण यात्रा र उसले चालेका हरेक पाइला आफूलाई सावित गर्न गरेका संघर्ष हुन् । हिमाली महिलाको पूरै जिन्दगी पुरुषको इज्जत, मान मर्यादा, लाजमा अडिएको हुन्छ भनेर देखाइएको छ, जुन पुरुषवादी समाजले निर्माण गरेको भाष्य हो । पेमा आफ्नो र गर्भमा हुर्किँदै गरेको बच्चाको ज्यान जोखिममा राखेर आफू निर्दोष भएको सावित गर्न कठिन यात्रामा निस्किन्छे । गाउँलेहरूले पनि उसको कुरा काटिरहेका हुन्छन् । संस्कारजन्य लोग्ने भएको नाताले नाबालक दाबाले समेत निर्धक्क पटक–पटक पेमाको चरित्रमाथि प्रश्न उठाउँछ । तुलात्मक रूपमा स्वतन्त्र मानिने हिमाली समाजका महिला यत्ति लाचार छन् त ? लाञ्छना लगाउने समाजको अगाडि आफ्नो शुद्धताको अग्नि परीक्षा दिँदै हिँड्छन् ? हिमाली पुरुषहरूभन्दा कमजोर छैनन् हिमाली महिला । चाहे त्यो उहिले पुरुषहरू भेडाबाख्रा लिएर व्यापार गर्न औल जाँदा होस् या यार्चागुन्बु र जडीबुटी खोज्न लेक जाँदा होस् । मूलधारको राजनीति र शैक्षिक क्षेत्रमा महिलाको सहभागिता न्यून छन्, तर हिमाली महिला आत्मसम्मानका लागि लड्दै आएका छन् । हिमाली महिलाले तीन–चार श्रीमान्की श्रीमती भएर परिवार चलाएका पनि छन्, त्यो सम्बन्ध स्वीकार छैन भनेर लत्याएर हिँडेका उदाहरण पनि कत्ति छन् कत्ति । तर, सत्यताको परीक्षा दिँदै आजसम्म कुनै पनि महिला हिँडेका छैनन् । हिमाली भूगोलको सुन्दरता, बौद्ध दर्शन र बहुपति प्रथाको नाममा तारिफ बटुलेको फिल्मले त्यसको ठिक उल्टो  हिमाली महिलालाई दास, लाचार र एकदमै निरीह देखाएको छ ।

 

‘साम्बाला’ प्रचार गरिएजस्तो बहुपति प्रथामाथि बनेको फिल्म होइन । एउटा श्रीमतीका तीनजना श्रीमान् छन् भनेर देखाउँदैमा यो बहुपति प्रथामा आधारित फिल्म भइहाल्दैन । त्यस संस्कारको कुनै पनि पाटोलाई केलाइएको छैन । ‘साम्बाला’ बहुपति प्रथा शब्दमाथि राजनीति गरेर नाम र दाम कमाउन निर्माण गरिएको काल्पनिक फिल्म हो ।

 

पेमाको यात्रा झन्–झन् कठिन हुँदै जान्छ, जब बिच बाटोबाट कर्मा फर्किन्छ, घोडा मर्छ । जसरी पात्रको यात्रासँगै उसको संघर्ष बढिरहन्छ, त्यसरी नै दर्शकको उत्सुकता पनि सँगसँगै बढ्छ । र, यहीँबाट कथाले अर्को मोड पनि लिन्छ । पेमा घर फर्किन्छिन् । टासी पनि घर फर्किसकेको देखाइन्छ । टासीले पेमालाई सोध्छ, ‘बच्चा कसको हो ? यदि बच्चा मेरो होइन भने बच्चालाई फालिदिऊँ, केही ढिलो भएको छैन ।’ पेमा फेरि आफू निर्दोष भएको सावित गर्न तयार हुन्छिन् । जहाँ सम्पूर्ण गाउँलेको अगाडि पेमा तीर हातमा समातेर आफ्नो शुद्धताको परीक्षा दिइरहेकी हुन्छिन् । तीर सही ठाउँमा लाग्छ, लाग्दैन भन्ने प्रस्ट देखाइएको छैन । यहीँबाटै पेमाको साम्बाला यात्रातिर गएको संकेत गर्छ । जीवनभर स्वतन्त्र भएर बाँच्न नपाएकी एक महिला जो मरेपछि स्वतन्त्र महसुस गर्छिन् । जसले मुक्तिको लागि बाटो परिवर्तन गर्छिन्, अर्थात् यो लोक छाडेर साम्बालातिर लाग्छिन् । अर्थात् महिलाले यो धर्तीमा आफ्नो शरीरमाथिको हक जताउँदै दुनियाँका कुरा बेवास्ता गरेर बाँच्न पाउँदिनन् ? कि त ऊ मर्नुपर्‍यो, कि त ऊ त्यस्तै कसैले नदेखेको कल्पनाको स्वर्गमा विलीन हुनुपर्‍यो ? यो पेमाको शान्त विद्रोह होइन, यो शून्यवादी चिन्तनबाट एउटा महिलाले गरेको आत्मसमर्पणको कथा हो ।