यही नेपालको भूमिमा जन्मेर हुर्केका हामी अनागरिक ठहरियौँ । नेपाल सरकारबाटै प्रदान गरिएको नागरिकताको प्रमाणपत्र रद्दीको टोकरीमा फ्याँक्न बाध्य तुल्याइयो । किन ? उवेलाको सरकार अवैधानिक थियो ? बुझ्न सकिएन । उवेला प्रदान गरिएको नागरिकताको प्रमाणपत्रले सरकारी सेवामा प्रवेश पाइएको थियो । त्यही नागरिकता प्रमाणपत्रको आधारमा सरकारी सेवाको पदभार वहन गरी अनेक प्रकारका कठिनाइसँग जुझ्दै सेवा निवृत्त भई निवृत्तिभरणकोे पत्रबाट प्राप्त हुने रकमबाट मैले यही २०८१, असार महिनासम्म जीवन निर्वाह गर्दै आएकी थिएँ । तर, साउन महिनाको मासिक पेन्सन लिन जाँदा बैंकको कर्मचारीले ठाडो जवाफ दिए, ‘जबसम्म राष्ट्रिय परिचय पत्र बनाएर आउनुहुन्न, हामीलाई पेन्सन दिने आदेश छैन ।’ म अचम्मित भएँ । वर्षौंंसम्म सरकारी जागिर खाई अवकाश प्राप्त भयो । त्यसैका आधारमा निवृत्तिभरण थाप्दै आएकी थिएँ । के अब म अनागरिक ठहरिएँ ? वर्षौंसम्म थाप्दै आएको पेन्सनको अहिले म गाईजात्राको हास्यव्यंग्यमा भूमिका निभाउने कलाकार मात्र भएछु ।
यसरी राष्ट्रिय परिचय पत्र बनाउन बाध्य बनाइयो । देशको संविधान र नियम कानुन उल्लंघन गर्ने यस सरकारको शासन भोग्न परिहाल्यो । परिचय पत्र बनाउन ट्याक्सीमा जाँदा ६४० रुपैयाँ खर्च भयो । हिँडेर लामो दूरी पार गर्ने क्षमता अब रहेन । जिल्ला कार्यालयका यो कोठा र त्यो कोठा चहार्दाचहार्दा अधमरो भइयो । त्यसपश्चात् लाममा बसेर पालो पर्खने क्रममा नम्बर २१४ को टोकन भिडाइयो । थकित भएर चारैतिर अवलोकन गरेँ । मभन्दा अशक्त, लठ्ठी टेकेर हिँड्न पनि गाह्रो हुने चाउरिएका अनुहारको जमात देख्दा कहाली लागेर आयो । हामी कुन अपराधको दण्ड भोगिरहेका छौँ भन्ने प्रश्न उठ्यो । लाचार थिएँ, तथापि आँट गरेर मेरो नम्बर २१४ आउनलाई कति बेर कुर्नुपर्ला भन्ने जिज्ञासा पोखेँ । उताबाट ओठे जवाफ आयो, ‘भर्खर नम्बर १४ को पालो आयो, तपाईंको त कहिले हो कहिले, ६ बजेसम्म पनि आइपुग्दैन होला ।’ त्यस्तो जवाफले हिम्मत हारेँ । पुनः ट्याक्सीलाई ६०० रुपैयाँ बुझाएर घरतिर हानिएँ ।
पर्खाइको अवधिमा मैले विशेष के तथ्य फेला पारेँ भने परिचय पत्रको पर्खाइमा लाम लाग्नेमध्ये ज्येष्ठ नागरिकको संख्या ठुलो थियो । सरकारले तोकेको सामाजिक सुरक्षा भत्ता चार हजार लिन टाढा–टाढाबाट आएका होलान् । पेन्सन र सामाजिक सुरक्षा भत्ताको रकममा आकाश–जमिनको फरक छ । मृत्युको मुखसम्म पुग्न लागेका ती ज्येष्ठ नागरिकले केवल चार हजार मासिक भत्ताका निमित्त यत्रो कष्ट उठाउनुपर्ने ?
भोलिपल्ट पुनः ट्याक्सी लिएर जिल्ला कार्यालयमा हाजिर भएँ । लाममा बस्दा भदौरे पानीले हानेर आधाजति शरीर निथ्रुक्क भिज्यो । घामपानी छेक्ने टहरासम्म थिएन । कुन अपराधको सजाय भोग्नुपरेको होला जस्तो लाग्यो । प्रशासन कार्यालयको प्रशासक आफू त घुम्ने मेचमा बस्न पाएकै छ क्यारे, यी अनागरिक हुन पुगेका झ्याउरे जनताको के मतलब ?
दिनभरि कुरिसकेपछि बल्ल नम्बर २१४ अर्थात् मेरो पालो आयो । अब त मुक्त हुन्छु, निश्चय नै भनेर ढुक्क भएँ । अर्को अड्चन, फोटो खिच्ने मेसिन बिग्रियो भनी कर्मचारी हात बाँधेर बस्न थाले । ‘आज काम हुँदैन त ?’ मैले सोधेँँ । ‘सम्भव छैन,’ जवाफ आयो । म निराश भएर पुनः घर फर्केँ ।
पर्सिपल्ट पुनः जिल्ला कार्यालय पुगी फोटो खिच्ने काम सम्पन्न भयो । छोरो साथमा नभएकाले नाता प्रमाणितको कागज देखाएँँ । अब अर्को फसाद । उताबाट जवाफ आयो, ‘छोरासँगको नाता प्रमाणित पत्रले मात्र पुग्दैन, बाबुको फोटोसहित नाता प्रमाणित पत्र चाहिन्छ । मरेको बाँचेको केही थाहा नभएको बाबुको महत्वले म आमा अपमानित भएको महसुस गरेँ । सरकारी नियम–कानुनको अघि लाचार थिएँ । घर गई फोटो लिएर वडा कार्यालय गएँ । त्यहाँ पनि झमेला आइलाग्यो । बिन्ती गरेर नाता प्रमाणितको कागज बनाइयो । जिल्ला कार्यालय जान सम्भव भएन । त्यो दिन यसै खेर गयो ।
कृष्ण जन्मअष्टमीको दिन पनि जिल्ला कार्यालय खुला रहन्छ भन्ने थाहा पाएपश्चात् सकी–नसकी हाजिर भएँ । बल्ल राष्ट्रिय प्रमाण पत्र हात लाग्यो । सर्वोच्च अदालतका कुनचाहिँ विद्वान् न्यायाधीश मित्रले कुनै पनि ज्येष्ठ नागरिकलाई उनीहरूले पाउने विशेष सहुलियतबाट हाललाई नरोक्नू भन्ने आदेश भएको थियो । आदेशको पालना भयो–भएन जाँच गर्नलाई बैंकमा पेन्सनको रकम लिन जाँदा राष्ट्रिय परिचय पत्र नदेखाई पैसा नदिने आदेश आयो । सर्वोच्चको आदेश पनि निरर्थक नै भएछ । केही नलागेर परिचय पत्र देखाएँ । पत्रको फोटोकपी राखेर रकम लिन दुई दिनपछि आउनू भनेकाले खाली हात फर्किएँ ।
दुई दिनपछि पनि पाउने आस मारेर चार दिनपछि गएर रकम लिएँ । घरमा आएर त्यस महत्वपूर्ण परिचय पत्रलाई निहालेँ । हरेँ, फोटोमा त मेरो दाहिने आँखा टेढो पो रहेछ, जबकि मेरो आँखा टेढो छैन । यसरी त मेरो दुईवटा परिचय भयो, एउटा सद्दे म र अर्को टेडो म । अब मैले के गर्नुपर्ला ? झमेला नआउला भन्न सकिँदैन । विद्वान् पाठकको सल्लाहको अपेक्षा राख्दै यो पीडानुभूति यहीँ टुंग्याउँछु ।