• वि.सं २०८१ असोज २१ सोमबार
  • Monday, 07 October, 2024
शिल्पा कर्ण
२०८१ असोज १२ शनिबार १०:२०:००
रिपाेर्ट

संघर्षले  दिलाएको सफलता र स्वीकार्यता

२०८१ असोज १२ शनिबार १०:२०:००
शिल्पा कर्ण

 

यौनिक तथा लैंगिक अल्पसंख्यक यी तीन प्रतिनिधि पात्र विभेदमा झुकेनन्, बरु निरन्तर अघि बढिरहे 

 

समाज विविधताले भरिपूर्ण छ । साँच्चै कलरफुल छ समाज । तर, केही रंगहरूको मात्रै हेजोमोनी हुँदा अन्य रंग समाजमा दबिएका छन् । ती रंगलाई पछाडि पार्दा समाजमा केही रंगको मात्रै हालिमुहाली चलिरहेको छ । उपेक्षा, घृणा, अपहेलना सहेर पनि त्यो रंगले समाजमा आफ्नो जबर्जस्त उपस्थिति देखाएका छन् । समाजका तिनै रंग अर्थात् यौनिक तथा लैंगिक अल्पसंख्यकमध्ये केही व्यक्तिले संघर्षद्वारा आफू र आफ्नो समुदायको नाम उचो राखेका छन् । यी तीन प्रतिनिधि पात्र विभेदमा झुकेनन्, बरु निरन्तर अघि बढिरहे । 

 

स्वीकार्यताका लागि परिवार र आर्थिक सबलता : डा. रिशिका कार्की 

 

पारलिंगीहरूलाई न जागिर न व्यवसायमा सहजता छ । अझ शिक्षाबाट वञ्चित र आर्थिक रूपमा सबल नभएका परिवार र तिनका लैंगिक अल्पसंख्यक सन्तानलाई सर्भाइभ गर्नै गाह्रो छ । त्यसैले स्वीकार्यताका लागि आर्थिक रूपमा सबल हुनु जरुरी देख्छिन् आफूलाई क्वयर भनी चिनाउने डा. रिशिका कार्की । 

 

काठमाडौंमै जन्मे–हुर्केकी उनले पढाइमा सधैँ राम्रो अंक ल्याउँथिन् । त्यसैले उनलाई घरबाट सामान्यतया हरेक कुरामा समर्थन नै थियो । लैंगिकताजस्ता विषयमा ध्यान जाने कुरै थिएन । जहिले पढाइ र क्रिकेटमा उनको ध्यान हुन्थ्यो । तर, बिस्तारै खेल छुट्दै गए । 

 

कक्षा २ मा पढ्दा छात्राहरूका लागि स्कुल युनिफर्म थियो सर्ट र डिभाइडर स्कर्ट । तर, त्यस्तो भारी घाँघर लगाएर क्रिकेट खेल्न उनलाई अप्ठ्यारो हुन्थ्यो । उनले बुवालाई गुनासो गरिन् । बुबाले खेल्न सजिलो होस् भनी उनका लागि हाफपाइन्ट किनेर ल्याइदिए । 

 

‘केटाहरूले स्कुलमा लाउनेजस्तो हाफ पाइन्ट किनेर ल्याइदिनुभयो । म एकदम खुसी भएँ, तर, स्कुल जाँदा टिचरहरूले खेल्नै दिनुभएन,’ उनी सम्झिन्छिन्, ‘साथीभाइ, घरमा कसैले केही नभन्ने, तर स्कुलले खेल्न दिएन । यस्तै ससानो प्याटर्नले बिस्तारै खेल छुट्दै गयो ।’

 

अहिलेसम्मको अवस्थामा आइपुग्न विशेष गरी परिवार र आर्थिक अवस्थाले आफूलाई सहज बनाएको उनको निष्कर्ष छ । २० वर्ष कटेपछि मात्र उनले आफ्नो यौनिक आकर्षणबारे थाहा पाइन् । ‘म बच्चा हुँदैदेखि बुबाको इच्छा थियो डाक्टर बनाउने । पढाइमा म राम्रै थिएँ,’ उनी चिकित्सा क्षेत्रमा लाग्नुको कारण भन्छिन्,‘मलाई इन्जिनियरिङतिर जान मन थिएन । यस्तोमा अब एमबिबिएस नै गर्ने भएर गरेकी हुँ ।’ उनी आफ्नो पेसामा रमाइरहेकै छिन् । डेढ वर्ष उनले एक अस्पतालको इमर्जेन्सीमा काम गरिन् । बाँकी डेढ वर्ष भने रिसर्चमा बिताइन् । सन् २०२० मा उनले एमबिबिएस पूरा गरेकी हुन् । अहिले एमडीको इन्ट्रान्स परीक्षाको तयारी गरिरहेको बताइन् । 

 

परिवारले आर्थिक र मानसिक रूपमा पनि साथ दिएमा समाज र विद्यालय वा साथीभाइको व्यवहारले खासै अप्ठ्यारो नहुने कार्कीको भनाइ छ । उनी भन्छिन्,‘समलिंगीका लागि लैंगिकता सोधिने वा जवाफ दिइरहनुनपर्ने खालको विषय हो । तर, पारलिंगीको हकमा त्यस्तो हुँदैन । उहाँहरूले पाइला–पाइलामा आफ्नो लैंगिकता, आफ्नो लैंगिक झुकाव भनिरहनुपर्ने भएपछि त्यसले छुट्टै खालको ट्रमा सिर्जना गरिदिएको हुन्छ । अनि उहाँहरूलाई जीवनमा अगाडि बढ्न, राम्रोसँग पेसा व्यवसाय गरेर जीवनयापन गर्न कठिनाइ हुन्छ ।’

 

पारलिंगीको हकमा शल्यक्रिया, हर्मोन थेरापीजस्ता कुरा पनि निकै महँगो पर्न जान्छन् । त्यसैमाथि पहुँच भएको सहरिया र सहरभन्दा टाढाका लैंगिक अल्पसंख्यकका कथामा ठुलो भिन्नता हुने उनी बताउँछिन् । ‘हाम्रो यहाँ छुट्टै संसार छ । क्वयरहरूको कार्यक्रम राम्रो रेस्टुरेन्टमा हुन्छ, होस्टिङदेखि पोयम, म्युजिक सबै अंगे्रजीमा हुन्छ । एउटा कुनै बाहिरको वा अंग्रेजीको त्यस्तो गहिरो ज्ञान नहुने लैंगिक अल्पसंख्यक यी सबै कुराहरूबाट टाढा हुन्छ, भइरहन्छ,’ उनी भन्छिन् ।

 

नाम मात्रैले पनि जिस्काएझैँ  लाग्छ : रुबिना तामाङ

 

क्वयरभित्र थुप्रै यस्ता व्यक्ति छन् जो पारिवारिक, सामाजिक र शैक्षिक वातावरणसमेत राम्रो नपाउँदा पढाइ बिचैमा छाड्न बाध्य भए । तर, त्यो धुम्म बादल चिरेर पुनः शिक्षालाई निरन्तरता दिनेहरू पनि छन् । यसैमध्येकी एक हुन् २८ वर्षीया रुबिना तामाङ । २० वर्ष हुँदा छाडेको औपचारिक शिक्षालाई उनले ६ वर्षपछि निरन्तरता दिँदै छिन् । विद्यालय अध्ययन सकेकी उनले अहिले उच्च शिक्षा अध्ययन गर्दै छिन् । 

 

कक्षा ८ मा पढ्दा आफूलाई जिस्क्याइरहने एकजना केटालाई उनले गरेको प्रतिवादले ती सहपाठीले उनलाई फेरि त्यस्तो व्यवहार कहिल्यै गरेनन् । ‘गणित विषय पढाइ हुँदै थियो । मलाई त्यो केटाले जहिल्यै नराम्रो शब्दले बोलाउँथ्यो, जिस्काउँथ्यो, जथाभावी छुने गथ्र्यो । अनि त्यो दिन मैले कम्पासले त्यसको हत्केलामा घोचिदिएँ । धेरै रगत आयो, ठुलै घाउ हुने गरी । तर, त्यसपछि फेरि त्यसले मलाई कहिल्यै जिस्काएन,’ उनले सुनाइन् ।

 

त्यो घटनापछि स्कुलमा त त्यस्तो ठुलो घटना कुनै भएनन् । तर, सिन्धुपाल्चोकबाट एसएलसी दिएर पढ्न भनी राजधानी आएपछि पनि उनले बुलिइङ र नराम्रो व्यवहारको सामना भने गरिरहिन् । घरको आर्थिक अवस्था राम्रो थिएन, अर्काको घरमा काम गरेर उनले चाबहिलस्थित पशुपति क्याम्पसबाट प्लस टु सकाइन् ।

 

शिक्षकहरूबाट स्कुले जीवनमा रुबिनाले कहिल्यै नराम्रो सुन्नुपरेन । तर, सहपाठी र गाउँसमाजकै मान्छेको व्यवहारले दिक्क बनाउँथ्यो । प्लस टु सकाएर उनी स्नातक पढ्न थालेपछि भने कामले गर्दा पढाइमा समय दिन सकिनन् । त्यहि बेला उनी लैंगिक अल्पसंख्यकको क्षेत्रमा काम गर्ने संस्थामा ‘पार्ट टाइमर’का रूपमा जोडिइन् । शिक्षालाई निरन्तरता दिइन् । २६ वर्षको उमेरमा उनी अहिले पुनः सामाजिक सेवा विषयमा स्नातक पढ्दै छिन् । कक्षामा हुने विभिन्न क्रियाकलापमा पनि अब्बल छिन् भने प्राध्यापकदेखि सहपाठीसम्मले राम्रो व्यवहार गरेका छन् । 

 

तर, अब पढेर गर्ने के त भन्ने उनीसँग ठोस योजना छैनन् । रोजगारीको क्षेत्र नै सामाजिक सेवा हो, तर गैरसरकारी संस्थाहरूले लैंगिक अल्पसंख्यकलाई राख्न रुचाउँदैनन् । लैंगिक अल्पसंख्यकका क्षेत्रमा काम गर्ने संस्थामा मात्र आफ्नो पढाइको उपयोग देख्छिन् उनी । 

 

मान्छेलाई प्रिय लाग्ने कुरामा सुरुमै आउला आफ्नो नाम । तर, ट्रान्स–व्यक्तिलाई भने फरक लाग्न सक्छ । पुरानो नामले बोलाउँदा पनि हिंसा गरेझैँ लाग्छ । यस्तै अनुभूति छ, रुबिनाको । कहिलेकाहीँ कलेजकै कसैले उनलाई पुरानो नामले बोलाइदिए रिस उठ्छ । आफ्नो ‘प्रिफर्ड नेम’ जान्दाजान्दै पनि कतिपयले जानीजानी जिस्काउने हिसाबमा पुरानो नाम लिइदिन्छन् । 

 

‘मामाहरूले भान्जी भन्नुहुन्छ, मामाका छोराछोरीले सोल्टिनी भन्छन् । मैले रोजेको नाम सबैलाई थाहा छ, तर कलेजमै पनि यस्ता मान्छे छन्, जसले मेरो पुरानै नामले बोलाइदिन्छन्,’ रुबिना भन्छिन् । आफ्नो लैंगिकता आफैँ पहिचान गरी लामो बाटो तय गर्दा पनि अझैसम्म पनि पुरानै नामले कसैले बोलाइदिँदा उनी अपमानित महसुस गर्छिन् । 

 

लैंगिकताभित्र पनि वर्ग, जात, समुदाय छ : डा. समुद्र गुरुङ

 

डा. समुद्र गुरुङ काठमाडौंमै जन्मिए हुर्किए । बच्चैदेखि उनलाई विज्ञान र कलामा रुचि थियो । ‘विज्ञानले प्रश्नहरूको उत्तर दिन्छ भने कलाले उत्तरहरूलाई प्रश्न गर्न सिकाउँछ,’ २६ वर्षे जीवनको अनुभव उनले एक वाक्यमा सुनाए । 

 

०७२ मा भूकम्प आउँदा उनी ११ कक्षा पढ्दै थिए । घरका सबै सदस्यसहित उनको वास पनि पालमुनि थियो । त्यसैवेला जनशक्ति कम भएकाले ट्रमा सेन्टरले केही स्वयंसेवी माग्यो । उनी र उनका साथीहरूले पनि जाने निर्णय गरे । केही दिन त्यहाँ काम गर्दा उनीहरूले बिरामीको कामका लागि विभिन्न कोठामा लैजाने–ल्याउने, औषधि ल्याइदिने, स्वास्थ्यकर्मीले भनेको वेलामा औषधि खुवाइदिने, रिपोर्ट ल्याइदिने, आफन्त वा कुरुवा नभएकाहरूलाई आवश्यक सहयोग गर्ने, रजिस्टर व्यवस्थापनजस्ता काम गर्थे । 

 

एक दिन उनले सहयोग गरेका, तर आफूले बिर्सिसकेको बिरामीले उनलाई चिने र सहयोग गरेकोमा खुसी व्यक्त गरे । ‘मैले त कुनै ठुलो सहयोग गरेको होइन, तर मैले सानो भनेको कामले मात्र पनि कति खुसी हुने रहेछन् मान्छेहरू, मलाई चिन्ने रहेछन् । त्यसपछि मैले मेडिकल साइन्स पढ्ने निर्णय गरेँ,’ उनी हर्षित मुद्रामा सुनाउँछन् । उनले तयारी कक्षापछि नेपाली सेना अस्पतालमा एमबिबिएस कार्यक्रममा नाम निकाले । 

 

उनले केही समय महाराजगन्जस्थित मेट्रो अस्पतालमा काम गरे । त्यसपछि अहिले अमेरिकी एम्बेसीको युथ काउन्सिलबाट छानिएको एउटा प्रोजेक्टमा व्यस्त छन् । ‘हाम्रो एमबिबिएसको पाठ्यक्रममा पनि सेक्सुआलिटी र जेन्डरको विषय समावेश छैन । हामीलाई दुई वर्षसम्म पढाइ हुने कम्युनिटी मेडिसिन विषयमा अपांगता र लैंगिकता समावेश गर्नुपर्ने देख्छु म,’ उनले भने । उनले काम गरिरहेको परियोजनामा काठमाडौं र धरानका स्वास्थ्यकर्मीलाई यिनै विषयमा तालिम दिइनेछ । 

 

आफ्नै जीवनलाई फर्केर नियाल्दा उनी भन्छन्, ‘लैंगिकताको सवालमा म धेरै प्रिभिलेज्ड छु ।’ उनी समलिंगी पुरुष हुन् । इन्टरनेटको पहुँचमै भएकाले लैंगिकताबारे बुझ्न पाएँ । खान–लाउन गाह्रो हुने परिवार थिएन, शिक्षादेखि जीवनमा अन्य अवसर पनि उनले तुलनात्मक रूपले सहजै पाए । 

 

‘म ट्रान्सम्यान वा उमन भएको भए मेरो कथा बेग्लै हुन्थ्यो । मैले मेरो आकर्षणको कुरा अरूलाई नभनेसम्म थाहा हुँदैन । त्यतिन्जेल मैले त्यही भूमिकामा त्यसैअनुसारको व्यवहार र सम्मान पाउँछु । पेसाको कारणले पनि यस्तो हो,’ उनले एकै सासमा सुनाए । 

 

समाजमा लैंगिकताको आधारमा हुने विभेदको मुख्य कारण पितृसत्तात्मक समाज हो, जहाँ निश्चित भूमिका र शक्तिको सम्बन्ध हुन्छ । यस्तो समाजमा रंग, स्वाद, शारीरिक बनावट, हिँडाइ, बोलाइ, भावना सबैमा लैंगिकता जोडेका छन् । 

 

हरेक कुरामा लैंगिकता त्यसमा पनि महिला र पुरुष गरी दुई लैंगिकता मात्र हुन्छ । जस्तो स्वादमा अमिलो पीरो महिलालाई मन पर्छ, रातो–गुलाफिजस्ता रंग महिलाले लगाउँछन्, महिलाको शरीरमा कम रौँ हुन्छ वा भए पनि हटाउनुपर्छ आदि । ‘बोल्दा, हिँड्दा, स्वाद, रंग, भावना, पहिरन, सबै महिला र पुरुषमा विभक्त हुने गरेको अनुभव उनको छ । यी र यस्तै कुरालाई उनी पेन्टिङमा उतार्छन् । यसबाहेक फोटोग्राफी र मिक्स मिडिया आर्ट तथा लेखनमा उनको रुचि छ । 

 

उनको अनुभवमा क्वयर समुदायभित्र पनि विविधता छ र विभेद पनि । उनी भन्छन्, ‘क्वेरभित्र लैंगिकता मात्र होइन, जात, वर्ग र समुदाय छ ।’ आफूलाई ‘नन्बायनरी’ र क्वयर भनेर चिनाउनेहरूमा जातीय र वर्गीय हिसाबले तल परेकाहरू झन् पीडित र अपहेलित छन् । मूल कुरा परिवारको सहयोग, शिक्षा र स्वास्थ्यमा नै पहुँच नभएपछि जागिर र आर्थिक उपार्जनको राम्रो स्रोतको त कुरै आउँदैन । यसैकारण पनि कतिपय अवस्थामा लैंगिक अल्पसंख्यकले सम्मानपूर्वक बाँच्न पाएका छैनन् । 

 

शिक्षा राम्रैसँग सकेर केही समय जागिर खाएर हाल स्वास्थ्य क्षेत्रमै अनुसन्धान गरिरहेका छन् । हालसम्म उनले बुझेको समाजमा महिलाले लैंगिक अल्पसंख्यकलाई सजिलै स्विकारेको पाउँछन् । ‘सायद महिलाहरू पनि समाजबाट हेपिनुको पीडा बुझ्छन्, आफूलाई स्वीकार्य बनाउन गर्नुपर्ने मेहनत थाहा हुन्छ, आफू भिजिबल नहुँदा, आफ्नो कुरा नसुनिदिँदा, सेफ स्पेस नहुँदा, आफू निश्चित घेरामा फिट हुन गर्नुपर्ने संघर्ष र समस्या उनीहरूलाई राम्रोसँग थाहा हुन्छ,’ उनको भनाइ छ ।