• वि.सं २०८१ असोज २१ सोमबार
  • Monday, 07 October, 2024
अन्वेषण अधिकारी
२०८१ असोज १२ शनिबार १०:३९:००
समाज

राजनीतिबारे के सोच्छ नयाँ पुस्ता ?

२०८१ असोज १२ शनिबार १०:३९:००
अन्वेषण अधिकारी

 

डिजिटल युगमा हुर्किएको अहिलेको पुस्ताले विश्वव्यापी परिघटना र अवस्थाबारे सहजै बुझ्न पायो

 

सन् १९९० को अन्त्यदेखि २०१० को दशकमा जन्मिएको पुस्ता : जसलाई ‘जेनेरेसन जेड’ भनिन्छ । यो पुस्ताले प्रविधिमा अहिलेसम्मकै ठुलो क्रान्ति देख्यो । डिजिटल युगमा हुर्किएकाले यस पुस्ताले विश्वव्यापी परिघटना र अवस्थाबारे सहज रूपमा बुझ्न पायो ।

 

सानैदेखि इन्टरनेट र सामाजिक सञ्जालमा सहज पहुँच पाएकाले यस पुस्तालाई कतिपयले ‘डिजिटल पुस्ता’ पनि भन्छन् । प्रविधिमा देखिएको यो परिवर्तनले उनीहरूको सोचाइमा पनि भिन्नता ल्याइदिएको छ । यो पुस्ता वयस्क हुँदै गर्दा नेपालको राजनीतिमा उनीहरूले पार्न सक्ने प्रभावलाई पनि महत्वका साथ हेरिएको छ । यो पुस्ताका अधिकांशले राजनीतिमा युवाको बलियो हस्तक्षेप देखेनन् । उही पुरानै व्यक्ति प्रधानमन्त्री, मन्त्री र पार्टी नेतृत्वमा दोहोरिरहेको देखे । उनीहरू राजनीतिमा युवाको उपस्थिति देख्न चाहन्छन् । मानव अधिकार, वातावरण संरक्षण, बेरोजगारी अन्त्य, अनुसन्धान र प्रविधिको विकास (डिजिटल प्रविधि र एआई), भ्रष्टाचार न्यूनीकरण, अपराध नियन्त्रण, स्वास्थ्य र शिक्षामा राज्यको लगानी, उद्योगको स्थापना, नप्रवर्तनलगायत वैश्विक मुद्दाहरूलाई प्राथमिकता दिइनुपर्ने यी युवाहरूको माग छ ।

 

रिलायन्स इन्टरनेसनल एकेडेमीमा कक्षा १२ मा विज्ञान संकायमा अध्ययनरत संस्कार कुँइकेल भन्छन्, ‘पुराना दलको लामो समयको राजनीति हेर्दाहेर्दै धेरै पुस्ता बित्यो, तर ढाँचा उस्तै छ । एकैजना व्यक्ति धेरैचोटी प्रधानमन्त्री भए, तर देश र जनताले के पायो ? कतिपटक प्रधानमन्त्री हुँदा कतिवटा उद्योग खुले ? भएका पनि खत्तम भए । अब, वैकल्पिक शक्तिको उदय जरुरी छ ।’

 

वर्तमान प्रणालीमै परिवर्तन जरुरी रहेको उनको बुझाइ छ । ‘प्रत्यक्ष निर्वाचन प्रणाली हुनुपर्छ । देशको कार्यकारी प्रत्यक्ष चुनिनुपर्छ । अहिले प्रतिनिधिसभा र स्थानीय तहले राम्रो काम गरेका छन् । प्रदेश सभा र समानुपातिक निर्वाचन प्रणाली बेतुके देखिन्छ । प्रतिनिधित्वका नाममा अनावश्यक खर्च गरेर काम छैन ।’

 

प्युठानको स्वर्गद्वारी आश्रमबाट १२ कक्षाको जाँच दिएर बसेका अनुभव सापकोटा भन्छन्, ‘युवा नेताहरूले राजनीतिलाई परिवर्तनको साधनको रूपमा हेर्ने गर्छन् । उनीहरूले पुराना ढाँचाहरूमा सुधार ल्याउन, पारदर्शिता बढाउन, र जनताका आवश्यकताअनुसार काम गर्न चाहन्छन् । उनीहरू उदार विचारधारा, प्रगतिशील सोच, र नवीनतम् प्रविधिको उपयोगतर्फ आकर्षित छन् । युवा नेताहरूले राजनीतिक नेतृत्वमा वैकल्पिक शक्तिको आवश्यकता महसुस गर्छन् ।’

 

काठमाडौंको एम्बिसन कलेजमा १२ मा अध्ययनरत नुवाकोटका दिपेन तामाङले भविष्यमा चिकित्सक बनेर गाउँ गएर सेवा गर्ने सोच बनाएका छन् । देशको स्वास्थ्य प्रणालीमा सुधार आवश्यक रहेको उनले बताए । उनी भन्छन्, ‘अपराध बढेकाले हामीलाई डर लाग्छ । कसैले कसैको डर मान्नु नपर्ने समाज बनाउन ध्यान दिन जरुरी छ । स्वास्थ्यउपचार गाउँ–गाउँमा बिस्तार हुन जरुरी छ । सहरकेन्द्रित भएर हुँदैन । गरिबहरूले पनि उपचार पाउनुपर्‍यो । सरकारले अहिले सबैलाई समान अवसर उपलब्ध गराउन सकेको छैन ।’ दिपेनका सहपाठी अनिश सन्जेल विश्वविद्यालय सुधारमा सरकारले ध्यान दिनुपर्ने बताउँछन् । 

 

काठमाडौंको जनप्रेमी वल्र्ड स्कुलमा कक्षा १२ मा कानुन पढिरहेका पृथक गुरागाईं भन्छन्, ‘केही अनुभवी नेताहरूको छवि युवाहरूमा सकारात्मक छैन । नियमित रूपमा उनीहरूले मात्रै अवसर पाउने र सदुपयोग नगर्ने भएकाले युवाहरू वास्तवमै निराश छन् । युवाहरूले पनि सफलता दिलाउँछन् भन्ने ग्यारेन्टी छैन । तर, उनीहरूमा आशाको किरण छ ।’

 

पृथक थप्छन्, ‘देशको विकासमा शासनशैली सबैभन्दा महत्वपूर्ण हुन्छ । यो पारदर्शी र समावेशी हुनुपर्छ, जसकारण जनताको मन जित्न सकियोस् र नागरिकको सक्रिय सहभागिता सुनिश्चित होस् । युवाहरूको राजनीतिमा सहभागिता आवश्यक छ । तर, सबैले आफ्नो भविष्य सोचेका हुन्छन् र एउटा युवाका रूपमा हेर्दा राजनीतिमा लागेर भविष्य सुनिश्चित हुँदैन । यदि कोही विनास्वार्थले लाग्छ भने यो सराहनीय छ ।’

 

काठमाडौं मोडेल सेकेन्डरी स्कुलमा कक्षा ११ मा पढ्ने सुप्रिया श्रेष्ठ भन्छिन्, ‘युवाहरूलाई अवसर प्रदान गर्नुपर्छ । यसले युवाहरूलाई देशमा बसेर आफ्नो प्रतिभा र कौशल विकास गर्नका लागि प्रेरित गर्छ । भविष्यमा मेरो योजना देशमै बसी विदेशी मुद्रा कमाउने हो । यहाँको पर्यटन र नेपाली उत्पादनलाई प्रवर्द्धन गरेर विदेशी बजारसम्म लैजान सके, नेपालमै बसेर पैसा कमाउन सकिन्छ । देशको आर्थिक स्थितिमा यसले सुधार ल्याउन सक्छ भन्ने मेरो बु्झाइ छ ।’

 

त्यसैगरी, ललितपुरको डिएभी कलेजमा कक्षा ११ मा अध्ययनरत शुभांशु ढकाल भन्छन् ,‘अहिलेका अधिकांश शासकहरूमा असीमित लोभ देखियो । उनीहरूले समाजलाई झुठ बाँडेका छन् । साँच्चैको विकास नभएर मतदाता रिझाउन केन्द्रित देखिन्छन् । तर, युवाहरूको प्रेरणा बनेर बालेन साहजस्ता नेता यही समय उदाइरहेका छन् । उनीहरूले आगामी पुस्ता र नयाँ वैकल्पिक दलहरूमा सकारात्मक प्रभाव पर्न सक्छ ।’

 

ललितपुरको श्री महांकाल माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत रोजिना घिमिरे भन्छिन्– ‘६–६ महिनामा देशमा सरकार फेरिइरहने अवस्था भयो । देशमा अस्थिरता र भ्रष्टाचार छ । युवाहरू अवसर नपाएर बिदेसिइरहेका छन् । तर, यो अवस्थालाई परिवर्तन गर्न पनि राजनीतिमा जोडिनु वा यससँग जुध्नुको विकल्प छैन ।’

सामाजिक न्यायको आवाज

 

पहिलेको पुस्ता परम्परागत मिडिया र भाषणको भरमा थियो । त्यसैले उनीहरू नेताहरूको आश्वासनमै बाँचे । तर, अहिलेको पुस्ताले हरेक कुरा भेरिफाई गर्ने र तर्कसंगत प्रश्न उठाउने क्षमता राख्छ । टिकटक, इन्स्टाग्राम र ट्विटरजस्ता सामाजिक सञ्जालले उनीहरूको दृष्टिकोण निर्माणमा भूमिका खेल्न थालेका छन् । राजनीतिमा युवाको प्रतिनिधित्व, भ्रष्टाचार नियन्त्रण, जलवायु परिवर्तन, समान अधिकार र अवसरलगायत मुद्दाहरू भविष्यमा पेचिलो बनेर जाने संकेत अहिलेको पुस्ताले गरेको छ । भ्रष्टाचार नियन्त्रण, पारदर्शिता, जवाफदेहिता र प्रगतिशील विचारधारा यस पुस्ताको मुख्य माग हो । प्रविधि, विश्वव्यापी सचेतना, सामाजिक न्यायलाई यस पुस्ताले जोडदार रूपमा उठाएको छ । 

 

‘नेपालका लोकतन्त्र र संघीयता फस्टाउँदो छ । यसले जनताको पहुँच र अधिकार बढाएको छ । तर, बारम्बारको अस्थिरता, भ्रष्टाचार र दलगत स्वार्थले जनतामा निराशा पनि फैलाएको छ । भविष्यमा उपलब्धि र चुनौती दुवै छन्,’ काठमाडौंको ब्रिजवाटर इन्टरनेसनल कलेजमा व्यवस्थापन संकायमा ११ कक्षामा अध्ययनरत प्रितिला गौतम भन्छिन्–‘भविष्यमा नेपालको स्थिरता, विकास र सामाजिक न्यायका लागि सक्रिय सहभागिता जनाउने मेरो योजना छ । युवाको प्रतिनिधित्व बढाउन, उनीहरूलाई राजनीति र नेतृत्वमा अवसर दिनुपर्छ । पारदर्शिता, जवाफदेहिता र समावेशिता बढाएर मात्रै समग्र राजनीतिमा सुधार ल्याउन सकिन्छ । युवाको नवीन विचार र ऊर्जाले देश बदल्न ठूलो भूमिका खेल्छ ।’

 

यो पुस्ता विशेष गरी आफ्नो दैनिक जीवनमा परिआउने घटना र भविष्यबारे चिन्तित छ । स्वास्थ्य, शिक्षा, रोजगारी र सामाजिक न्यायलाई यसले मुख्य रूपमा हेरेको छ । 

 

काठमाडौंको रिलायन्स इन्टरनेसनल एकेडेमीमा कक्षा १२ मा विज्ञान पढ्ने प्राप्ति लम्साल भन्छिन्,‘शिक्षा क्षेत्रलाई सर्वसुलभ र उन्नत बनाउनुपर्छ । राजनीतिक संगठनमा पक्षपात, नातावाद बन्द हुनुपर्छ । सकेसम्म धेरैभन्दा धेरै बेरोजगारलाई रोजगारी सिर्जना गर्नुपर्छ । दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्छ ।’ 

 

एम्बिसन कलेजमा १२ कक्षामा अध्ययनरत पाँचथर फिदिम– १ की समीक्षा श्री न्यौपाने भन्छिन्, ‘समान अधिकार अहिलेको मुख्य मुद्दा हो । महिला, बालबालिका, एलजिबिटिक्युलगायत सबैले सुरक्षित र सम्मानजनक रूपमा बाँच्न पाउनुपर्‍यो, अपराध नियन्त्रण हुनुपर्‍यो, वातावरण संरक्षण, रोजगारीको व्यवस्था, अनुसन्धान प्रविधिको विकास गर्न जरुरी छ । भौतिक पूर्वाधार मात्रै विकास होइन । यसमा मतदाता पनि सचेत हुन जरुरी देख्छु, पहिले भोट बिक्री गर्छन्, त्यसपछि सरकारले गरेन भन्छन् । सरकारले सबैभन्दा धेरै कर धूम्रपान र मद्यपानबाट उठाउँछ । यी त प्रतिबन्ध लगाउनुपर्ने विषय होइनन् र ? योभन्दा लाजमर्दो के होला ।’

 

 

सीपमूलक शिक्षा र उद्यमशीलतामा जोड

 

अधिकांश युवाहरू उद्योगधन्दाको विकास, सीप र प्रविधिमा सरकारको ध्यान जानुपर्ने बताउँछन् । काठमाडौंको बागबजारस्थित केएमसी कलेजमा कक्षा १२ मा पढ्ने, बैतडी, दशरथचन्द नगरपालिकाका किशोर भट्ट मातृभूमिमै सेवा गर्ने इच्छा भएर पनि रोजगारीको व्यवस्था नहुँदा धेरै युवा बिदेसिएको बताउँछन् । ‘नेपालबाट बर्सेनि लाखौँ युवा बिदेसिएका छन् । थोरै मात्र उच्च शिक्षा पढ्न विदेश जान्छन् । ठुलो जमात विभिन्न जोखिम सहेर असुरक्षित काम गर्न गइरहेका छन्,’ उनले भने, ‘युवाहरूको अभावमा उर्वर भूमि बाँझो हुँदै गएको छ । गाउँ खाली हुँदै गइरहेको छ । जता हेर्‍यो, बुढाबुढी मात्रै देखिन्छन् । सबैतिर आर्थिक मन्दी मात्रै देखिन्छ । युवाहरूलाई देशमै रोजगारीको व्यवस्था गर्न जरुरी छ । देशमा शान्ति–सुरक्षाको वातावरण सिर्जना गर्नु, वैदेशिक लगानीलाई आकर्षित गर्नु, उद्योगधन्दा फस्टाउने वातावरण बनाउनु, कृषिलाई आधुनिकीकरण गर्नु, भ्रष्टाचार नियन्त्रणमा जोड दिनु आवश्यक छ ।’ 

 

काठमाडौंको टेक्सास इन्टरनेसनल कलेजमा कानुन संकायमा कक्षा १२ मा अध्ययनरत नन्दिता सुवर्णकार भन्छिन्, ‘पहिले त, देशमै बस्ने सोच युवापुस्तामा हुनुपर्छ । आफूलाई रोजगारी चाहिएको छ भने आफैँ लड्नुपर्छ । युवाहरू नै विदेश जाने सोच्छन् भने सरकारले मात्रै गरेर केही हुँदैन । युवाले देशमै बसेर केही गर्छु भन्ने सोच राखेपछि सरकारमाथि पनि दबाब पर्छ । रोजगार र सुरक्षाको व्यवस्था सरकारले गर्नुपर्छ ।’ काठमाडौं महानगरपालिकामा बालेन साहले गरेका कामबाट आफू प्रभावित भएको उनले बताइन् । ‘युवाले अवसर पाए काम गर्न सक्छन् भन्ने उदाहरण बालेन साहले काठमाडौंमा प्रस्तुत गर्नुभएको छ,’ उनले भनिन् । 

 

बाफलस्थित ज्ञानोदय सेकेन्डरी स्कुलमा १२ कक्षामा अध्ययनरत उदिता खड्का भन्छिन्, ‘नेपालमा कलकारखाना सञ्चालन गर्नुपर्‍यो । विभिन्न सीप र तालिमको व्यवस्था हुनुपर्‍यो । युवाहरूलाई स्वरोजगार गराउन जरुरी छ । यही अवस्थामा धेरै युवा बिदेसिनेछन् ।’ 

 

नुवाकोटस्थित आदर्श बहुमुखी क्याम्पसमा कक्षा १२ मा अध्ययनरत एन्जल पुडासैनी भन्छिन्,‘प्रविधिमैत्री उद्योगहरू नेपालमा खुल्नुपर्छ, जहाँ धेरैलाई रोजगारी दिन सकियोस् । यहाँ उत्पादित सामग्रीहरू बेचेर विदेशी मुद्रा भित्र्याउने वातावरण बनाउनुपर्छ ।’

 

दूरदर्शी नेताको खाँचो 

 

सान इन्टरनेसनल कलेजमा कक्षा १२ मा अध्ययनरत सन्देश बैजू भन्छन्, ‘राम्रो भिजन भएका नेता सत्तामा नआएसम्म राजनीतिक परिवर्तन हुनेवाला छैन । स्वरोजगार सिर्जना गर्नका लागि सरकारले युवाहरूको नवीन विचारलाई समर्थन दिएर सहज र सुलभ ऋणको व्यवस्था गरिदिनुपर्छ । सत्ता सञ्चालनको शैली अझै पनि पारदर्शी र जवाफदेही हुनसकेको छैन । पुराना नेताहरूले आफ्नो अनुभवलाई प्रयोग गरेर देशलाई सही मार्गमा लैजानुपर्नेमा उल्टै राजनीतिक संकट र अस्थिरता निम्त्याएको देखिन्छ । राजनीतिमा युवाहरूको प्रतिनिधित्व बढ्दै गएको भए पनि पुराना नेताहरूले मुख्य निर्णय प्रक्रियामा उनीहरूलाई स्थान दिन अप्ठ्यारो मानेको देखिन्छ । वा काम गर्नै नदिने अवस्था सिर्जना गरेको देखिन्छ ।’

 

लिटिल एन्जल्स कलेजमा कक्षा ११ मा अध्ययनरत अनुस्मा राजोपाध्याय भन्छिन्, ‘हाम्रा वृद्ध नेताहरूले आफ्नो कुर्सी त्याग्न नसकेकाले देश हितका लागि काम गर्न सकेनन् । यसकारण युवाहरूमा निराशा छायो र विदेश पलायन भइरहेका छन् । विद्यार्थी र युवा राष्ट्रका कर्णधार हुन् । त्यसकारण उनीहरूको आवश्यकता पूरा गर्नका निम्ति राजनीतिमा सिर्जनशील सोचसहितको हस्तक्षेप जरुरी छ । 

 

एम्बिसन कलेजमा १२ कक्षामा अध्ययनरत सुमित थारू युवाहरूको मनोभावलाई ध्यानमा राखेर सरकार अघि बढ्नुपर्ने बताउँछन् । ‘मानव अधिकारको ख्याल गर्नुपर्‍यो । दुर्घटना प्रतिरोधी पूर्वाधार बनाउनुपर्छ । अल्पसंख्यकहरूको अधिकारप्रति सरकार सचेत भएको देखिँदैन । यसमा ध्यान जान जरुरी छ ।’ उनका सहपाठीहरू स्वस्तिका पौडेल, समृद्धि सुवेदी, प्रविज्ञा नेपाल र राम ठटाल अनुसन्धान, प्रविधिको विकास, सीपमूलक शिक्षामा लगानीलगायत आशा जगाउने खालका काममा सरकारले ध्यान दिनुपर्ने बताउँछन् । ‘युवाहरूको ज्ञान, ऊर्जा र वरिष्ठ नेताहरूको अनुभव दुवै देशका लागि काममा आउँछ । यसलाई सँगसँगै लैजानुपर्छ । प्राविधिक रूपमा अन्य राष्ट्र धेरै अघि बढिसके । हामीले समयअनुसार अघि बढ्नेबारे सोच्नुपर्छ,’ ठटालले भने । धादिङको श्री महांकालेश्वरी माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने विशाल सुवेदी भन्छन्, ‘राजनीतिमा युवा नेताहरूको भूमिका बढ्दै गएको छ । युवासँग नवीन विचार हुन्छ । उनीहरू प्रविधिमैत्री हुन्छन् । उनीहरूले नयाँ पुस्ताको भावनालाई प्रतिनिधित्व गर्छन् ।’

 

ट्रिनिटी कलेजमा कक्षा १२ मा अध्ययनरत आदित्यकुमार पञ्जियार भन्छन्, ‘वैकल्पिक शक्तिले देश परिवर्तन गर्न सक्छन् । किनकि, त्यहाँ युवाहरूको संख्या ठुलो छ । नेपालका परम्परागत दलहरू पारदर्शी र जवाफदेही कम देखिन्छन् । त्यहाँ युवाको प्रतिनिधित्व कम छ । यसलाई बढाउन जरुरी देखिन्छ ।’

 

सान इन्टरनेसनल कलेजमा कक्षा १२ मा अध्ययनरत भावना न्यौपाने भन्छिन्, ‘युवा नेता र पुराना नेताको बुझाइ फरक–फरक देखिन्छ । युवा नेताहरूले नयाँ सोच, प्रविधिको उपयोग र दिगो विकासको लक्ष्य राखेको देखिन्छ भने पुराना नेताहरू पुरानै संरचनामा अडिग देखिन्छन् । वैकल्पिक शक्तिहरूको कामलाई पनि जनताले राम्रोसँग नियालिरहेका छन् । उनीहरू पनि जनविश्वास जित्ने गरी लाग्नुपर्छ ।’ सीप विकास, स्टार्टअपलाई प्रोत्साहन, शैक्षिक सुधार, कृषि र पर्यटन प्रवर्द्धनमा सरकारको ध्यान दिन जरुरी रहेको उनले बताइन् । 

 

ललितपुरको लगनखेलस्थित मोलिस कलेजमा कक्षा ११ मा अध्ययनरत नवीन केसी भन्छन्, ‘नेताका भाषणले दिक्क लाग्छ । काम गर्ने मानिसले खुरुखुरु काम गर्नुपर्ने हो । बूढाहरूले मात्रै देश चलाइरहेको जस्तो लाग्छ । युवाहरूको आइडिया उनीहरूले सुनेजस्तो लाग्दैन ।’

 

टेक्सास इन्टरनेसनल कलेजमा मानविकी संकायमा कक्षा १२ मा अध्ययनरत गोकुल नेपाली भन्छन्, ‘राजनीतिक प्रणालीमा युवाहरूको प्रतिनिधित्व कम भएकाले पनि होला केही विकास भएजस्तो देखिन्न । नेताहरूले केही गर्न खोजेजस्तो देखिँदैन । कृषिमा लगानी बढाउनुपर्‍यो । प्लम्बर, इलेक्ट्रिसियनलगायत प्राविधिक सीपलाई पनि सम्मान गरेर तलब बढाउनुपर्‍यो । सबै क्षेत्रमा दक्ष जनशक्ति निर्माण गर्न जोड दिनुपर्‍यो ।’ 

 

काष्ठमण्डप ए लेभेल एकेडमीमा अध्ययनरत विपिन तिमल्सिना राजनीतिमा व्यक्तिगत र दलीय स्वार्थ हाबी भएकाले अहिलेको अवस्था निम्तिएको बताउँछन् । ‘युवा भनिएका नेताहरूमा पनि पुरातनवादी सोच नै हाबी देखिन्छ । उनीहरू आफ्नो पार्टीको नेताको सत्ताका लागि भर्‍याङ बनिरहेका छन् । उनीहरूले भ्रष्ट नेता र पार्टीको झोला बोक्न छाड्नुपर्छ । गुण र दोषका आधारमा चेतना निर्माण गर्नुपर्छ,’ उनले भने, ‘नेपालजस्तो अल्पविकसित मुलुकमा युवालाई स्वरोजगार बनाउन प्राविधिक शिक्षामा लगानी गर्नुपर्छ । समय सुहाउँदो दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ । कृषि र पर्यटनमा राज्यले ध्यान दिनुपर्छ ।’