संरचनागत असमानता, लैंगिक, जातीय विभेद र रंगभेद संसारभरका महिला राजनीतिज्ञका प्रमुख बाधक हुन्
के अमेरिका एक अश्वेत महिला राष्ट्रपतिका लागि तयार छ ? यो एउटा यक्ष प्रश्न हो, जुन डेमोक्य्राटिक उम्मेदवार कमला ह्यारिसको राष्ट्रपति प्रचार अभियान सुरु भएदेखि नै सर्वत्र उब्जिएको छ । अमेरिकी राजनीतिबारे बोल्दा लगभग हरेकपटक यही प्रश्नले मेरो दिमाग घोच्छ । यो त्यही अनुत्तररित प्रश्न हो, जसबारे राजनीतिका पण्डित, पर्यवेक्षक र विज्ञहरूले सोधिरहन्छन् । यसको जवाफ दिन इतिहास र संस्कृतिको धेरै ज्ञान, निर्णय र अनुमान चाहिन्छ ।
विगतमा अमेरिका अश्वेत महिला राष्ट्रपतिका लागि तयार थिएन । तर, भविष्यमा कुनै समयमा अमेरिका तयार हुन सक्छ भन्ने अनुमान छ । मार्टिन लुथर किंग जुनियरले एकपटक भनेका थिए, ‘नैतिक ब्रह्माण्डको रेखा वक्र छ, तर यो न्यायतर्फ झुक्छ ।’ उनको यो विचारलाई ‘प्रगति’ अपरिहार्य छ भन्ने धारणामा मेल गराइएको छ कि महिला र विभिन्न रंगका मानिसले अन्ततः समान प्रतिनिधित्व पाउनेछन्, जतिवेला समाज बिस्तारै अझ न्यायपूर्ण र सहिष्णु बन्न सिक्छ । ह्यारिस आफैँले भनेझैँ अमेरिका सधैँ आफ्नै आदर्शमा अडेको छैन । समानतासम्बन्धी प्रगति निराशाजनक रूपमा ढिलो भएको छ । यसलाई हिंसा र युद्धले पनि बिगारेको छ । इतिहास अग्रगामी होइन । यसले आदर्शवादको अन्तिम बिन्दुमा ‘प्रगति’ गर्दैन । यो प्रायः झगडा हो ।
महिला नेतृत्वका लागि तयार भएका देश
अन्य धेरै देशले आफ्नो इतिहासका विभिन्न कालखण्डमा महिला नेतृत्वका लागि ‘तयार’ हुन सम्भव छ भनेर देखाइसकेका छन्, केबल फेरि नेतृत्वका लागि फर्किन तयार नहुने अवस्थामा ! विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतले सन् १९६६ मा इन्दिरा गान्धीलाई प्रधानमन्त्री पदमा निर्वाचित गर्यो । गान्धीले सुरुमा एक दशकभन्दा बढी समय र त्यसपछि १९८० देखि १९८४ सम्म सेवा गरिन्, जतिवेला उनको हत्या भयो । त्यसयता राजनीतिक नेतृत्वमा पुरुषकै हलिमुहाली छ ।
त्यस्तै, बेलायतले आफ्नो पहिलो महिला प्रधानमन्त्री मार्गरेट थ्याचरलाई सन् १९७९ मा निर्वाचित गर्यो । थ्याचरले १९९० मा राजीनामा दिएपछि सन् २०१६–२०१९ मा थेरेसा मे र त्यसपछि २०२२ मा लिज ट्रसले नेतृत्व नलिउन्जेल बेलायतमा अर्को महिला नेता थिएन ।
अस्ट्रेलियामा जुलिया गिलार्डले सन् २०१० मा प्रधानमन्त्री बन्नकै लागि चुनाव जितिन् । तर, चार वर्षपछि एक पुरुषसँग हारिन् । त्यहाँ विगत एक दशकयता कुनै पनि ठुला दलको नेतृत्वमा महिला वा अश्वेत महिलालाई अवसर प्रदान गर्ने कुनै छनक देखिन्न । के अस्ट्रेलिया त्यस अवधिमा एक महिला नेताका लागि निश्चित रूपमा ‘तयार’ थियो त ? गिलार्डलाई उनको प्रधानमन्त्रीकालमा कस्तो व्यवहार गरियो ? त्यसको लेखाजोख बेग्लै छ । गिलार्डमाथि पुरुष नेताले नै अश्लील टिप्पणी गरे ।
महिला नेतृत्वका सवालमा न्युजिल्यान्डको रेकर्ड भने बलियो छ । सन् १९९७ मा गठबन्धन सरकारको नेतालाई टक्कर दिएर जेनी सिप पहिलो महिला प्रधानमन्त्री बनिन् । हेलेन क्लार्क सन् १९९९ मा प्रधानमन्त्रीमा निर्वाचित हुने पहिलो महिला थिइन् । त्यसपछि झन्डै दुई दशकपछि सन् २०१७ मा ज्यासिन्डा आर्डेन प्रधानमन्त्री बनिन् ।
बेलायत, न्युजिल्यान्ड र अस्ट्रेलियाको अमेरिकासँग केही राजनीतिक र सांस्कृतिक समानता भए पनि तिनीहरूको राजनीतिक संरचना भने भिन्न छ । अमेरिकाको विपरीत तिनीहरूका नेताहरू प्रत्यक्ष रूपमा निर्वाचित हुँदैनन् । प्रत्यक्ष निर्वाचन भएका अन्य देश पनि कुनै न कुनै रूपमा महिला नेताहरूका लागि ‘तयार’ भएका छन् ।
आइसल्यान्ड प्रत्यक्ष रूपमा महिलालाई राष्ट्रपति पदमा निर्वाचित गर्ने विश्वकै पहिलो राष्ट्र बन्यो । सन् १९८० मा उसले प्रत्यक्ष रूपमा एक महिलालाई राष्ट्रपति पदमा निर्वाचित गर्यो । भिगडिस फिनबोडोटिरले १६ वर्षसम्म सेवा गरिन् । गहिरो रुढिवादी आयरल्यान्ड पनि ३० वर्षपहिले नै महिला नेतृत्वका लागि तयार थियो । उसले प्रत्यक्ष रूपमा आफ्नो पहिलो महिला राष्ट्रपति मेरी रोबिन्सनलाई सन् १९९० मा निर्वाचित गरेको थियो ।
सरकारमा महिला प्रतिनिधित्व न्यून
अधिकांश भागका लागि उपरोक्त महिला विश्वभरको राजनीतिमा अन्तर्निहित संरचनात्मक लैंगिक असमानताका अपवाद हुन्, यद्यपि अमेरिकी अनुभवमा वास्तविकता झन् स्पष्ट रूपमा झल्किएको छ । अमेरिकामा मात्र होइन, धेरै लोकतान्त्रिक देशमा महिलाको असमान प्रतिनिधित्वको मौलिक वास्तविकतालाई प्रतिबिम्बित हुन्छ (विशेषगरी अश्वेत महिला र विभिन्न रंगका महिलाका सन्दर्भमा) । यस वर्षको जुनमा राष्ट्रसंघीय महिलासम्बन्धी निकाय युएन वुमनले हाल २७ देशमा मात्र महिला नेतृत्व रहेको उल्लेख गरेको छ । ‘अहिलेको दरमा शक्तिको सर्वोच्च पदमा लैंगिक समानता अर्को १३० वर्षसम्म पुग्न सक्दैन,’ उक्त निकायले भनेको छ ।
प्रगतिको ‘दर’ को विचारले फेरि एक दिन हाम्रो विश्व महिला नेतृत्वका लागि तयार हुनेछ भनेर अनुमान गर्छ (त्यस दिन एक शताब्दीभन्दा टाढा भए पनि) । अचम्मको कुरा समान संरचनात्मक असमानता नेतृत्वको उच्चतम स्तरमुनि प्रतिबिम्बित छ । राष्ट्रसंघीय महिलासम्बन्धी निकायले १५ देश मात्रै फेला पार्यो, जहाँ कम्तीमा ५० प्रतिशत क्याबिनेट मन्त्री पदमा महिला छन् ।
पछिल्लो अमेरिकी चुनावपछि कांग्रेसमा महिलाहरूको ‘कीर्तिमानी संख्या’ छ । यद्यपि यो अझै २८ प्रतिशत मात्र छ । त्यसैगरी, अस्ट्रेलिया इन्स्टिच्युटले गरेको अनुसन्धानले अस्ट्रेलियाका नौ संसद्मध्ये सातमा महिलाको प्रतिनिधित्व न्यून रहेको देखाएको छ । तथापि, यसले महिला र जातीय मानिसहरूको महत्वपूर्ण उपलब्धिलाई कमजोर पार्नुहुँदैन । किनकि उनीहरूले ठुलो व्यक्तिगत जोखिम मोलेर लामो समयदेखि शक्तिको टेबुलमा आफ्नो प्रतिनिधित्वका लागि लडेका छन् ।
प्यु रिसर्च सेन्टरका अनुसार अमेरिकाको वर्तमान कंग्रेस पनि इतिहासमा सबैभन्दा जातीय र विविधतायुक्त छ । संसद्मा १३३ प्रतिनिधि र सिनेटरले गैरहिस्पानिक गोराबाहेक अन्यको रूपमा आफ्नो जातीय पहिचान बोकेका छन् । सन् २०२१ मा ह्यारिस पहिलो महिला, दक्षिण एसियाली मूलकी पहिलो व्यक्ति र अमेरिकाको उपराष्ट्रपति हुने पहिलो अश्वेत महिला बनिन् । अर्को ऐतिहासिक कोसेढुंगामा राष्ट्रपति जो बाइडेनले पहिलो ‘नेटिभ अमेरिकी’ महिलालाई क्याबिनेट तहमा नियुक्त गरे । यस्तो नियुक्ति पाउने भाग्यमानी व्यक्ति हुन् आन्तरिकमन्त्री डेब हालान्ड । सन् २०२२ मा लिन्डा बर्नी आदिवासी मामिलामन्त्रीको रूपमा सेवा गर्ने पहिलो आदिवासी महिला बनेपछि अस्ट्रेलियामा पनि एक कोसेढुंगा हासिल भयो ।
लिंग र जातिलाई बनाइँदै छ हतियार
त्यहाँ प्रस्ट संकेत छन् कि अमेरिकी मतदाताको ठुलो हिस्सा एक महिलालाई नेतृत्वमा पुर्याउन तयार छैन । अर्थात्, वासिंटन एक अश्वेत महिलालाई शक्तिको सर्वोच्च स्थानमा पुर्याउन तयार छैन । लिंग र जातिप्रति अहिलेका रिपब्लिकन उम्मेदवारको दृष्टिकोणले धेरैको ध्यान केन्द्रित भएको छ । उदाहरणका लागि उपराष्ट्रपति उम्मेदवार जेडी भान्सले महिलाका बारेमा धेरै अभद्र टिप्पणी गरेका छन् । ‘बालबालिकाविहीन बिराली महिलाको’को धेरै शक्ति रहेको उनले बताएका छन् । डोनाल्ड ट्रम्पले पनि बारम्बार महिलालाई यौनवादी टिप्पणीका साथ आक्रमण गरेका छन् । उनले महिलाको शरीरबारे अश्लील टिप्पणी गरेका छन् र यौन दुव्र्यवहारका लागि अदालतमा जवाफदेही बनेका छन् ।
राजनीतिमा महिलाका लागि यस्ता कुरूपतावादी आक्रमण सामान्य अनुभव हुन् । भान्सले भविष्यमा जैविक बच्चाहरू भएका व्यक्तिलाई मात्र उचित ‘अधिकार’ छ भन्ने जिद्दी गर्नुअघि एक अस्ट्रेलियाली लिबरल सिनेटरले पूर्वप्रधानमन्त्री गिलार्ड नेतृत्वका लागि अयोग्य रहेको सुझाब दिए, जबकि गिलार्ड आफैँले योजनाबद्ध रूपमै सन्तान नजन्माउने भनिसकेकी थिइन् ।
एक अश्वेत महिलाको रूपमा ह्यारिसले आफ्नो जात र उनको लिंग दुवैमा आक्रमणको सामना गरेकी छिन् । दक्षिणपन्थी व्यक्तित्वले बारम्बार उनलाई ‘डिइआई’ (विविधता, इक्विटी र समावेशी) उम्मेदवारको रूपमा खारेज गरेका छन् । उनले आफ्नो योग्यताका आधारमा नभई आफ्नो पहिचानका आधारमा र विशेष व्यवहारका कारणले गर्दा मात्र उच्च पदमा पुग्न सम्भव भएको उनीहरूले दाबी गरेका छन् । ट्रम्पले पनि बारम्बार ह्यारिसको उपराष्ट्रपति र जारी राष्ट्रपति निर्वाचनमा उनको उम्मेदवारको वैधतामाथि प्रश्न उठाएका छन् ।
अमेरिका महिला नेतृत्वका लागि तयार छ ?
धेरै मानिसले हिलारी क्लिन्टनले निर्वाचन जित्ने आँकलन गरेका थिए । जब उनले सन् २०१६ मा डेमोक्रेटिकको राष्ट्रिय अधिवेशनमा राष्ट्रपति पदको उम्मेदवारी स्वीकार गरिन्, उनी प्रतीकात्मक रूपमा चर्किएको सिसाको छतमुनि उभिइन् । केही महिनापछि त्यो छत चाँडै नै पुनः निर्माण गरियो । तर, २०१६ मा क्लिन्टनको हारले पनि अमेरिका महिला राष्ट्रपतिका लागि ‘तयार छैन’ भनेर निश्चित रूपमा प्रमाणित गर्न सक्दैन । सन्दर्भ महत्वपूर्ण छ ।
महिला राष्ट्रपतिका लागि ‘तयार’ हुन सक्ने ती मतदाताले पनि कुनै पनि महिलालाई मतदान गर्दैनन् । त्यसैगरी, केही बेलायतीले थ्याचरलाई महिला भएको कारणले भोट दिएका हुन सक्छन्, धेरैले उनको रुढिवादी नीतिका कारण वा सायद उनीहरूका विरोधीलाई बढी अस्वीकार गरेको कारणले पनि उनलाई भोट दिए ।
ह्यारिस इजरायलमा आफ्नो अडान परिमार्जन गर्न आफ्नै पार्टीको एक महत्वपूर्ण वृत्तबाट दबाबमा छिन् । यो एउटा गम्भीर र दबाबपूर्ण नीतिगत मुद्दा हो, जसको उनको जाति वा लिंगसँग कुनै सरोकार छैन । र, यसले नोभेम्बरमा धेरै मतदाताको निर्णयमा प्रभाव पार्नेछ ।
क्लिन्टन २०१६ मा पराजित भइन्, किनभने अमेरिका एक महिलाका लागि ‘तयार थिएन ।’ त्यो परिस्थिति यति धेरै परिवर्तन भएको छ कि देश अब तयार रहेको मान्न सकिन्छ । फरक सन्दर्भमा फरक उम्मेदवार र फरक नीतिका साथ अमेरिका सन् २०१६ मा ‘तयार’ भइसकेको हुन सक्छ । एक फरक महिला (जस्तै मिसेल ओबामा) ट्रम्पलाई हराउन सक्थिन्, अथवा सक्दैनथिन् पनि । हामीसँग जान्नका लागि कुनै तरिका छैन । यदि हामीले विजय गराएका भए पनि हामीले अझै पनि थाहा पाउन सकेनौँ कि अमेरिका निश्चित रूपमा अश्वेत महिलाको नेतृत्व गर्न ‘तयार’ थियो ।
(इतिहासकार सर्टिसको लेख ‘द कन्भर्सेसन’बाट सुभाष शर्माको भावानुवाद)