
सहरका मान्छेले हामीलाई हेरिरहन्थे, उनीहरू सुटेडबुटेड हुन्थे, पहाडबाट आएकालाई अर्कै नजरले हेर्थे
विसं २००५ मा दोलखाको पुरानो बजारमा जन्मिएँ, हुर्किएँ । त्यो नेवार समुदायको बाहुल्य भएको ठाउँ हो । त्यतिखेर पनि बजार नै भनिन्थ्यो, जहाँ भीमेश्वर मन्दिर पनि छ । यहाँ नेवार समुदायमा हुने सबैजसो जात्रा हुन्थे । इन्द्रजात्रा, खड्ग जात्रा, कुमारी जात्रा, लाखेलगायत सबै जात्राहरू हुन्थे । पुरानो बजारमा धुलिखेल, भक्तपुर र पाटनबाट मान्छे व्यापार गर्न पुग्थे ।
म घरमा मेलापात, घासपात, गाईबस्तु र बाख्रा चराउन जान्थेँ । मेरो मामाको गाईबस्तु हुन्थे । मामाको घरमा जाँदा गाईगोठमा पनि जान्थेँ । बर्खामा लेकमा गाईगोठ लगिन्थ्यो । हिउँदमा बेँसीमा गोठ झारिन्थ्यो । म गाईगोठमा धेरैपटक सुतेको छु । गोठ बस्दा कोदोको ढिँडो, मकैको ढिँडो तातो दुधसँग खाइन्थ्यो । लेक–बेँसीको गोठमा धेरैपटक सुतेको छु ।
त्यसवेला स्कुल जाने चलन थिएन । घरमा काठको पाटी बनाएर खरीले लेखेर पढिन्थ्यो । मेरो बाल्यकाल गाउँमा रमाइलैसँग बित्यो । मेरो बुबा काठमाडौंमा सरकारी जागिरे हुनुहुन्थ्यो । अर्थ मन्त्रालयको टक्सार विभागअन्तर्गत सुब्बाको जागिर थियो । त्यसवेला काठमाडौं पक्नाजोलमा बुबाको डेरा थियो ।
मैले तीन कक्षासम्म पढेँ । त्यसपछि काठमाडौं पढ्न आमा र मामासँग आएँ । त्यसवेला म १४–१५ वर्षको थिएँ । मेरा दाजुहरू पनि काठमाडौंमा हुनुहुन्थ्यो । सहर भन्ने कस्तो हुन्छ होला भन्ने लाग्थ्यो । दरबार हाई स्कुलमा चार कक्षामा भर्ना भएँ । त्यसवेला गोविन्दराज जोशी, कनकराम भण्डारी, कान्छाकुमार कर्माचार्य, (केके)लगायत मेरो सहपाठी थिए । दरबार हाई स्कुलमा सात कक्षासम्म पढेँ ।
त्यसवेला काठमाडौं जानुलाई नेपाल जाने भनिन्थ्यो । नेपाल जाने भनेर दुई महिनाअघि तयारी गरिन्थ्यो । नेपाल जानका लागि चामल कुटेर चिउरा बनाइन्थ्यो । बाटोमा खानाका लागि चिउरा भुटेर एक सातालाई पुग्ने गरी बोक्नु पर्थ्यो । सात–आठजना भरिया लिएर आउनुपर्थ्यो । सात–आठ दिनसम्म पुग्ने सातुसामल बोकेर हिँड्नुपर्थ्यो । चिउरा, दालचामल, पिठो, सातु बोकेर ल्याइन्थ्यो । सातुसामल बोक्नै छुट्टै भरिया थिए । ओड्ने, ओछ्याउने लुगा बोक्ने बेग्लै भरिया हुन्थे । त्यसवेला पकाएर खाने भाँडाकुँडाचाहिँ बोक्नुपर्दैनथ्यो । काठमाडौं आउँदा आफन्तलाई कोसेली पनि ल्याइदिनुपर्थ्यो ।
सात–आठजना भरियाको लाइन लागेर काठमाडौं आइन्थ्यो । काठमाडौं आउन पनि साइत जुराएर यात्रा गर्ने चलन थियो । घरबाट (दोलखा बजार) पाख्रेतीनजिक एउटा पाटी थियो । त्यसलाई तुथ्रुवती पाटी भनिन्थ्यो । ठुलो जंगल पनि थियो । अघिल्लो रात त्यो पाटीमा गएर रात बस्नुपर्थ्यो ।
पाख्रेती, तुथ्रोती हुँदै चरिकोट आइपुगिन्थ्यो । चरिकोटबाट चोथाङ भन्ने ठाउँमा आइपुगिन्थ्यो । चोथाङ हुँदै मकैबारी पुगिन्थ्यो । मकैबारीबाट ओरालो झर्नुपर्थ्यो । ताँडीको उकालो भनिन्थ्यो । ओरालो झरेपछि सेराबेँसी भन्ने ठाउँ पुगिन्छ । त्यहाँ कोसी नदीमा झोलुंगे पुल थियो । सेराबेँसीमा त्यो वेला इँटाले बनाएका पाटी हुन्थे । बटुवालाई सुत्नका लागि बनाइएको पाटी हुन्थे । वास बस्न सजिलो हुन्थ्यो ।
त्यसवेला दोलखाबाट काठमाडौं आउन सात दिन लाग्थ्यो । हिँडेर आउनुपर्थ्यो । मलाई अझै याद छ । बाटोमा भरिया भेटिन्थे । नेपालबाट गाउँ आएका मान्छेहरू फर्किरहेका हुन्थे । जंगलको बाटो हिँड्नुपर्थ्यो । धेरै ठाउँमा झोलुंगे पुल हुँदैनथ्यो । बाटोमा भारी बोकेर विभिन्न ठाउँमा वास बस्दै आउनुपर्थ्यो । सेराबेँसी हुँदै मुढेबाट झर्दै दोलालघाट आइपुगिन्थ्यो । जंगलको बाटो छिचोल्दै पाँचखाल आइन्थ्यो । त्यसवेला पाँचखाल गाउँ नै थियो । त्यहाँ झिँगटी र इँटाका छाएका घरहरू थिए । पाँचखाल आएपछि नेपाल आयो नेपाल आयो भनिन्थ्यो ।
पाँचखालबाट पनि पैदल हिँड्नुपर्थ्यो । रवि, होपी डाँडा हुँदै भक्तपुर आइपुगिन्थ्यो । बनेपाको चण्डेश्वरी पुगिन्थ्यो । बनेपा आइपुगेपछि फाट्टफुट्ट गाडी देखिन्थे । बनेपाबाट भक्तपुर आउँदा बिचबाटोमा कार्की पाटी भन्ने ठाउँ थियो । त्यहाँ दरबारजस्तो पाटी थियो । ढुंगेधारा पनि थियो । त्यसलाई कार्की पाटी भनिन्थ्यो । वास बस्ने, बिहान खान पकाएर खाने ठाउँमा बनेपाबाट भक्तपुर आइपुगिन्थ्यो ।
भक्तपुरबाट काठमाडौं पुर्याउने लहरी बस हुन्थे । त्यही बस चढेर रत्नपार्क आइपुगिन्थ्यो । बसपछाडिपट्टि बस्ने खुला ठाउँ हुन्थ्यो । मैले भक्तपुरमा आएपछि पहिलोपटक बस देखेँ । रानीपोखरीको पछाडिपट्टि एउटा ठुलो पाटी थियो । त्यो पाटीमा भरियाहरूले खाना पकाएर खाने, वास बस्ने गर्थे । त्यो लहरी बसले त्यहाँ रोक्थ्यो । त्यहाँबाट हामी डेरातर्फ लाग्थ्यौँ । पैदल हिँडेर रत्नपार्कबाट पक्नाजोल पुगिन्थ्यो । घरमा बुबाले हराइन्छ, जथाभावी नहिँड्नु भन्नुहुन्थ्यो । मलाई यो सब कथाजस्तो लाग्छ ।
बिस्तारै सहरको वातावरणसँग घुलमिल हुँदै गयो । सहरको रहनसहनसँग सजिलो हुँदै आयो । पक्नाजोलबाट क्षेत्रपाटी, नगल, असन, ठैटी हुँदै दरबार हाई स्कुल आइपुगिन्थ्यो । त्यसवेला सहरका मान्छेले हामीलाई हेरिरहन्थे । सहरको मान्छे सुटेडबुटेड हुन्थे । हामी पहाडबाट आएका मान्छेलाई अर्कै नजरले हेर्थे । पहाडबाट आएकालाई पाखे भन्थे ।
मेरो ठुलो दाइले सिनेमा हेर्न हिँड भन्नुहुन्थ्यो । नयाँ सडक हुँदै जनसेवा सिनेमा हलसम्म आइन्थ्यो । त्यहाँ ठुल्ठुला हिन्दी सिनेमाका पोस्टर हुन्थे । पोस्टर देखाएपछि दाइले यही हो सिनेमा भनेर घर फर्काउनुहुन्थ्यो । हलभित्र सिनेमा हेर्न पाइएन । त्योवेला न्युरोडमा आधुनिक पसलहरू हुन्थे । त्यो देख्दा मलाई अचम्म लाग्थ्यो । अर्कै संसार आएजस्तो महसुस हुन्थ्यो ।
मलाई सधैँ एउटा कुराले खुल्दुली लागिरह्यो । सहरमा बत्ती बलिरहेको देख्थेँ । बत्ती कसरी बलिरहेको छ ? भन्ने प्रश्न मनमा खेल्थ्यो । गाउँमा तोरीको तेलमा दियो बालिन्थ्यो । बिजुलीबत्ती देखेको थिइनँ । सहर आएपछि बत्ती देखियो । डेरामा पनि बत्ती थियो । त्यसवेला बत्ती बन्द गर्ने स्विच हुँदैनथ्यो । राति सुत्ने वेला र नचाहिने वेला चिम झिक्ने चलन थियो । दाइलाई बत्ती कसरी बल्छ भनेर पनि सोधेँ । दाइले तारबाट तेल आउँछ, अनि बत्ती बल्छ भन्नुभयो । मलाई अचम्म लाग्यो । चिम निकालेर हेर्न मन लाग्यो । एक दिन भान्सा कोठामा गएर चिम निकालेर औँला छिराएको मात्रै थिएँ, झड्का हानेर भुइँमा पछारिएँ । मलाई करेन्ट लागेको रहेछ ।
विसं २०१५/०१६ सालतिर दाउरामा खाना पकाइन्थ्यो । काठमाडौंबाहिरबाट दाउराका भारी लिएर आउँथे । दाउराको भारी हेरेर मूल्य हुन्थ्यो । एक रुपैयाँदेखि ६ रुपैयाँसम्म किन्न पाइन्थ्यो । हामीले विसं २०२१/२२ सालसम्म पनि दाउरामा खाना पकाएर खाएका छौँ । कसैकसैको घरमा स्टोब हुन्थ्यो ।
विसं २०१७ सालमा पक्नाजोलबाट ढोका टोलमा डेरा सरियो । त्यसवेला राम्रा घरमा चर्पी हुन्थे । तर, हामी सामान्य घरमा डेरा सरेका थियौँ । त्योवेला छिडीमा टिनको ढ्वाङमा चर्पी बनाएको हुन्थ्यो । त्यो ढ्वाङ भरिएपछि किसानले खेतबारीमा हाल्न लैजान्थे ।
भद्रकाली, सिंहदरबारअगाडि र प्रज्ञाप्रतिष्ठानको छेउतिर मुला, बकुल्लाजस्ता तरकारी हुन्थे । काठमाडौं सहर घुलमिल हुन निकै समय लाग्यो । यहाँका मान्छेहरूले हामीलाई पाखे भन्थे । पाखे भन्दा मन चसक्क हुन्थ्यो । यहाँका मान्छेलाई घर दोलखा भनेर सुनाउँदा अर्कै देशजस्तो सोच्थे । सहरका मान्छेलाई पनि काठमाडौंबाहेक अरू ठाउँ थाहा हुँदैनथ्यो ।
वसन्तपुरमा तरकारी पसल हुन्थे । यहाँका किसानहरू खर्पनमा तरकारी बेच्न ल्याउँथे । म पनि तरकारी किन्न जान्थेँ । बुबाले तरकारी किन्न पठाउनुहुन्थ्यो । त्यसवेला एक मोहर पैसा दिएर पठाउनुहुन्थ्यो । एक मोहरमा काउली, धनियाँ र राँगाको मासु किनेर पनि फिर्ता आउँथ्यो । १० पैसाको मासु एक छाक मज्जाले पुग्थ्यो । यो विसं २०१६ साल तिरको कुरा हो ।
सबै यहाँका नेवार तरकारी बेच्न आउँथे । हामी पहाडबाट आएको भनेर चिनिहाल्थे । खस भाषा बोल्नेलाई तरकारी महँगो गर्थे । अनुहार हेरेर तरकारी भाउ बढाइदिन्थे । बिस्तारै यहाँको नेवारी भाषा बोल्न थालेँ । तरकारी किन्न जाँदा नेवारी भाषामै बोल्थेँ । त्यसपछि सस्तोमा तरकारी पाइन्थ्यो ।
हामी पहाडी परिवेशमा हुर्किएको मान्छे । त्यसवेला सहर आउँदा बख्खु/लुकुनी लगाएर आएको थिएँ । भेडाको ऊनले बनाएको हुन्थ्यो । बनेपा आएपछि सहर देखिन्थ्यो । बनेपालाई नेपाल हो कि जस्तो लाथ्यो ।
प्रस्तुति : पवन बराइली