• वि.सं २०८२ असार ११ मंगलबार
  • Tuesday, 24 June, 2025
गगन अयडी
२०८१ असोज १९ शनिबार ०९:१७:००
संगीत

देउडा जोगाउन गाइरहेका गायक

२०८१ असोज १९ शनिबार ०९:१७:००
गगन अयडी

 

देउडाका नाममा अनेक प्रकारका गीत गाउन अफर आउँछ । तर, म देउडाको आत्मा मर्ने गीतमा स्वर भर्न चाहन्न ।

 

जुन लाग्यो जुनेली रात तारा मधुराई छन्
परेवा उडेर बाइगै इच्छा अधुराई छन् ।। 

 

देउडाप्रेमी दर्शक–श्रोताले पछिल्लो चार महिनादेखि धेरै रुचाएको गीत हो यो । राजेन्द्र शाह बिपीको शब्द रहेको गीतमा स्वर र संगीत प्रकाश थापाको रहेको छ । देउडा संगीतमा दुई दशकदेखि अनवरत प्रकाशको स्वर सुनिँदै आएको छ । पछिल्लो समय युट्युबमा उनले गाएका गीत धेरै रुचाइएका छन् ।

 

९ महिनाअघि उनले गाएको गीत ‘रेलगाडी लेट भयो’ युट्युबमा ६६  लाखपटक हेरिएको छ । दुइ महिनाअघि रिलिज भएको प्रकाशले गाएको अर्को गीत ‘हितकी परानी’ पनि रुचाइएको छ । यी गीतमा मौलिक देउडा भाका समेटिएका छन् । 

 

देउडा गीतलाई यसरी लाखौँले मन पराउनुलाई खुसीको रूपमा लिन्छन् संगीतकर्मी । दुई दर्जन बढी देउडा गीत लेखेका गीतकार डिबी खड्का भन्छन्, ‘देउडा गीतको भ्युज १० लाख कटेपछि सुपर हिट मान्नुपर्छ । हाम्रा लागि यो करोड पुगे बराबर हो ।’ खड्काको शब्द र लयमा रेकर्ड भएको पहिलो देउडा गीत ‘सुहायाको चोली–२०६४’ मा प्रकाशले नै गाएका थिए । 

 

अघिल्लो वर्ष रिलिज भएको प्रकाशले गाएको अर्को गीत ‘बास मैना मरेली’ले पनि राम्रो चर्चा पाएको थियो । वर्षमा कम्तीमा तीन–चारवटा मौलिक गीत बाहिर ल्याइरहने प्रकाशले दुई दशकमा नौ सयभन्दा बढी गीत गाएको बताउँछन् । उनले गाएका प्रायः गीत देउडा पारखीले रुचाउँछन् । 

 

गायनमै सक्रिय प्रकाश १५ वर्षदेखि शिक्षण पेसामा संलग्न छन् । उनी प्रावि तहका स्थायी शिक्षक हुन् । हरेक दिन साना नानीबाबुलाई कखरा सिकाइरहेका भेटिन्छन् । फुर्सदमा उनी गायन र वाद्यवादनसमेत सिकाउँछन् । स्वर मात्रै होइन, वाद्ययन्त्रसमेत बजाउन सिपालु उनलाई धेरैले पूर्णकालीन संगीतमा सक्रिय हुन सुझाए । तर, उनले शिक्षण पेसा र संगीतकर्मलाई सँगैसँगै अघि बढाइरहेका छन् । 

 

कक्षा ९ मा पढ्दै गर्दा पहिलो एल्बम ‘मालिका पाटन’ बजारमा ल्याएका प्रकाशले एसएलएसी पास गरेपछि अध्यापन सुरु गरे । केही दिनअघि सदरमुकामस्थित मालिका माविमा पढाइरहेका वेला भेट हुँदा उनलाई गीतले दिइरहेको चर्चा र उनको रुचिबारे जान्न चाहेको बतायौँ । त्यसक्रममा पहिलो प्रश्न थियो– पूर्णकालीन रूपमा संगीत किन नरोजेको ?

 

प्रकाशको सहज उत्तर थियो, ‘त्योभन्दा पर कहाँ पुगेको छु र ? वर्षमा कम्तीमा पाँच–सातवटा गीत रेकर्ड भएकै छन् । यहाँ विद्यार्थीसँग संगीत साधना गरिरहेकै छु ।’

 

त्यसपछि प्रकाश नोस्टाल्जिक भए । पहिलो गीत ‘मालिका पाटन’ हिट भएपछि उनको स्वरमा गीत रेकर्ड गराउन चाहनेको संख्या बढेको थियो । उनले धनगढी र काठमाडौं पुगेर लगातार गीत पनि गाए । ‘क्यासेटको समयको अन्त्य र डिजिटल समय सुरु हुँदै गर्दा समय थियो त्यो,’ उनले सम्झिए, ‘तीन–चारवटा क्यासेट निकालियो । अरूका क्यासेटमा पनि गाउन थालियो । राम्रै भइरहेको थियो । एक्कासि डिजिटल युग सुरु भयो । यही क्षेत्रमा लागेर मात्रै जीवन चलाउन सहज हुँदैन भन्ने लाग्न थाल्यो र शिक्षण पेसा थालेँ ।’

 

सुरुमा आर्थिक सुनिश्चितताका लागि शिक्षण पेसा अँगाले पनि पछि त्यसमा एक प्रकारको लत बसेको प्रकाश बताउँछन् ।  ‘विद्यार्थीलाई सिकाउने, सिक्ने र रमाउने बानीजस्तो भयो । संगीतको अनिकालमा यतातिर लागेको म संगीतको सहकाल सुरु हुँदा पनि चटक्कै छाडेर जान सकिनँ,’ उनले थपे । 

 

प्रकाश शिक्षणमै सक्रिय भए पनि उनको स्वरमा गीत रेकर्ड गराउन चाहने र स्वर सुन्न चाहनेले उनलाई टाढा जान दिएनन् । उनलाई पनि दुवै क्षेत्रलाई ब्यालेन्स गर्नुपर्छ भन्ने लाग्यो र स्कुलको छुट्टीमा काठमाडौं र धनगढी पुगेर गीत रेकर्ड गराउन थाले । त्यो क्रम अझै चलिरहेको छ । 

 

‘देउडाको आत्मा मर्न दिन्नँ’

 

कलाकारहरूले बजारको मागअनुसार आफूलाई बदल्दै लगेको प्रशस्तै देखिन्छ । भाइरल हुनका लागि अनेकौँ तिकडम गर्ने गरेको पाइन्छ । तर, प्रकाशले देउडाको आत्मा मर्ने गीतलाई सधैँ नकारे । देउडाको मौलिकतालाई जोगाउन उनले आफ्नो तर्फबाट सक्दो कोसिस गरिरहेका छन् । भन्छन्, ‘देउडाका नाममा अनेक प्रकारका गीत आएका छन् । हिट पनि भएका छन् । मलाई पनि कहिलेकाहीँ त्यस्ता गीत गाउन अफर आउँछ । तर, देउडाको आत्मा मर्ने गीतमा स्वर भर्न चाहन्न ।’

 

एक समय यस्तो आयो, नयाँ प्रविधि पुरानो पुस्ताको पहुँचमा भएन । नयाँ पुस्ताले परम्परागत गीत सुन्न चाहेन । देउडाको मौलिकता जोगाउन संवेदनशील हुनुपर्छ भन्ने प्रकाशलाई लाग्यो । भन्छन्, ‘मैले शिक्षण पेसा रोजेको लाभ त्यही वेला भयो । आफू बाँच्नकै लागि देउडाका नाममा अन्टसन्ट गाउनुपरेन । त्यो वेला हामीले वर्षमा एउटा दुईटा मात्रै गीत ल्याएर भए पनि मौलिक गीतमा श्रोताको मन राखिरह्यौँ ।’

 

देउडाको संक्रमणकाल छोटो रह्यो । बरु नेपाली संगीत पनि नयाँपन खोज्दै सुदूरकर्णालीतिर लाग्न थाल्यो । मौलिक संगीतमै रमाइरहेका प्रकाशजस्ता कलाकारका गीत फेरि चर्चित हुन थाले । प्रविधिमा पुरानो पुस्ताको पहुँच पनि बढ्न थाल्यो ।

 

‘गाउँमै रमाएका प्रतिभा’

 

देउडा गीत लेखक राजेन्द्र शाह बिपीको पहिलो रोजाइ नै हुन् प्रकाश । शाहले लेखेका अधिकांश गीतमा प्रकाशको स्वर सुन्न पाइन्छ । गीतकार शाहले सयौँ गीत लेखेका छन् । तीमध्ये प्रकाशले गाएका अधिकांश गीत हिट भएको शाह बताउँछन् । 

 

प्रकाशको स्वरका प्रशंसक रहेका शाह प्रकाशलाई गाउँमै रमाएका गजबको प्रतिभाको संज्ञा दिन्छन् । उनी आफैँले पनि शिक्षण छाडेर सहरकेन्द्रित हुन प्रकाशलाई वेलाबखत सुझाएका हुन् । शाहको कुरा काट्न नसक्ने प्रकाशले उनको सुझावलाई कहिल्यै नकारेनन्, तर कार्यान्वयन पनि गरेनन् ।

 

‘अछामी बड्डो’का रूपमा पहिचान बनाएका सुदूरपश्चिमका अर्का चर्चित गायक लालबहादुर धामी प्रकाशले देउडाको मौलिक संगीतमा दिएको योगदानको प्रशंसा गर्छन् । प्रकाशको सुमधुर स्वरको उनी पनि प्रशंसक हुन् । नयाँ पुस्तालाई पुरानै मौलिक गीत सुनाउने अभियानमा आफू र प्रकाश सँगै रहेको उनी सुनाउँछन् । भन्छन्, ‘हामी देउडाको मौलिकता जोगाएर अघि बढ्नुपर्छ भन्ने मान्यता राख्छौँ । प्रकाशजीले सधैँ यही मान्यतामा आफूलाई उभ्याइरहनुभएको छ ।’

 

प्रकाशका धेरै गीतको संगीत संयोजन विनोद बाजुरालीले गरेका छन् । उनी प्रकाशको आवाजमा गीत रेकर्ड हुने कुराले छुट्टै उत्साह दिने बताउँछन् । भन्छन्, ‘हामीलाई देउडाको टिपिकल मेलोडी दुरुस्तै आओस् भन्ने इच्छा हुन्छ । प्रकाशले अपेक्षाअनुसार संगीतलाई न्याय गर्छन् ।’