
समयसँगै नेपाली विश्वभर फैलिए, हाम्रा चाडपर्व पनि फैलिए, पहिले दसैँ मान्न नेपाली स्वदेश फर्किन्थे, अहिले कतिपय विदेश जान्छन्
गायक रामकृष्ण ढकालको दसैँ पछिल्ला केही वर्षदेखि विदेशमै बितिरहेको छ । यसपटक उनी कार्यक्रमको सिलसिलामा अस्ट्रेलियामा छन् । विगत चार वर्ष अमेरिकामा थिए । विदेशमा नेपाली समुदायको उपस्थिति बाक्लो हुँदै गएपछि तिज, दसैँ, तिहार, छठ, ल्होछारलगायत पर्वको रौनक पनि उतै बढी हुने गरेको छ । नेपाली मौलिक पोसाकमा सजिएर त्यहाँका मानिस विभिन्न सांस्कृतिक कार्यक्रम हेर्न आउँछन् ।
समयसँगै नेपाली विश्वभर फैलिए, हाम्रा चाडपर्व पनि फैलिए । पहिले दसैं मान्न नेपाली स्वदेश फर्किन्थे, अहिले कतिपय विदेश जान्छन् । ‘आजकल नेपालमा जसरी नै विदेशमा पनि कार्यक्रम भइरहेका हुन्छन् । हामी कलाकारको माग पनि उतै छ । दसैँमा प्रायः विदेशमै सांगीतिक कार्यक्रम हुने भएकाले पछिल्ला केही वर्ष मैले नेपालमा दसैँ मनाउन पाएको छैन,’ अस्ट्रेलिया जानुअघि गायक ढकालले भने, ‘पहिले मानिसहरू दसैँ मनाउन घर आउँथे । लाहुरबाट आयो भन्ने हुन्थ्यो । हामीले बाल्यकालमा रोटेपिङ, लिंगे पिङ, लंगुर बुर्जा खेलेर रमाइलो गथ्र्याैं, अहिले पनि दसैँ आउँदा यी सम्झना ताजा हुन्छन् । म गायनमा स्थापित भएपछि कहिले देशभित्र त कहिले बाहिर दसैँ विशेष कार्यक्रममा प्रस्तुति दिन गएँ । आजभन्दा १५–२० वर्षअघिसम्म नेपालमा बेग्लै माहोल थियो । युवाहरूको ठुलो जमघट देखिन्थ्यो । आजकल सांस्कृतिक कार्यक्रम यहाँ कम र विदेशमा धेरै हुन्छन् ।’
रोजगारी वा अध्ययनका लागि बिदेसिने र विदेशमै स्थायी बसोवास गर्नेहरूको संख्या बढ्न थालेकाले उतै दसैँ मनाउने लहर सुरु भएको छ । प्रविधिको विकास र बसाइँसराइको बढ्दो क्रमले पनि नेपालका चाडपर्वलाई फैलाउन अप्रत्यक्ष भूमिका खेलेको छ । ‘विगतमा थोरै कलाकार मात्रै जाने गरेका थियौँ । विदेशमा नेपाली समुदाय पनि सानो संख्यामै थियो । उनीहरूले देशलाई धेरै मिस गरेका हुन्थे । कलाकार पुग्नेबित्तिकै देशको प्रतिनिधित्व गरेर आएजस्तो ठान्थे । अहिले नेपालसँग डायस्पोराका नेपालीको सम्पर्क बढेको छ ।’
प्रविधिको विकासले यस्तो अवस्था सिर्जना भएको ढकाल बताउँछन् । ‘विगतमा इन्टरनेट थिएन, फोनमा दैनिक कुराकानी गर्न खर्चिलो थियो । अहिले बिहान–बेलुकी भिडियो कल गर्न मिल्ने सुविधा छ । दैनिक यहाँका राजनीतिक, गीत–संगीत, सिनेमालगायत समाचारबारे अपडेट भइरहने भएकाले पनि उनीहरूले देशलाई कम मिस गर्छन्,’ ढकालले भने, ‘पहिले हामी विदेश जाँदा आफैँ एल्बम बोकेर जान्थ्यौँ । अहिले त युट्युबमा गीत सार्वजनिक गरेपछि नेपालभन्दा धेरै विदेशमा हेरिन्छ । रियालिटी सोहरूको भ्युज पनि नेपालबाहिरबाट धेरै आउँछ ।’ त्यसो त पछिल्ला वर्षमा विदेशबाट भिडियो कल गरेर भर्चुअल रूपमै दसैँ मनाउने चलन पनि सुरु भएको छ । विशेषगरी, नेपाल आउन नसक्नेहरूले टाढै बसेर यसरी परिवार तथा आफन्तबाट आशीर्वाद ग्रहण गर्ने गर्छन् ।
लाहुरे र दसैँ
लाहुरबाट दसैँ मनाउन फर्किनेहरूको संख्या अहिले पनि ठुलो छ । सहरबाट गाउँ जानेको संख्या पनि बाक्लै देखिन्छ । दसैँ सुरु हुनुभन्दा १५–२० दिनअघि नै सार्वजनिक बसले टिकट खुलाइसकेका हुन्छन् । घर आउन नसक्नेले फेसबुक र टिकटकजस्ता सामाजिक सञ्जालमा विरहका गीत हालिरहेका हुन्छन् । बाँकी दुनियाँबाट आइसोलेटेड रहेको विगतको नेपाली ग्रामीण जनजीवनमा लाहुरेको जुन सान र मान थियो, त्यो भने अहिले समयको विकासक्रमसँगै घटेको छ ।
कास्की मादी गाउँपालिका याङ्जाकोट घर भएका संस्कृतिविद् जगमान गुरुङ आफ्नो बाल्यकालबारे भन्छन्, ‘विगतमा लाहुरे आएपछि गाउँ नै गुल्जार हुन्थ्यो । उनीहरू भरियालाई भारी बोकाएर रेडियो घन्काउँदै आउँथे । त्यस्ता रेडियोको आकार पनि निकै ठुलो थियो ।’
उनले भने, ‘२०१२ सालताका हुनुपर्छ । मेरो मावलीतिर एकजना लाहुरेले रेडियो ल्याएका रहेछन् । गाउँभर त्यसको चर्चा थियो । त्यसपछि मेरा काकाले त्यो रेडियो किन्नुभयो । केही समयपछि बुबाले पनि अर्का लाहुरेसँग त्यस्तै रेडियो किन्नुभयो । साँझको समय हामी गाउँभरिका मानिस रेडियोमा एन्टेना जोडेर रेडियो नेपाल र अल–इन्डिया रेडियो सुन्थ्यौँ ।’
गुरुङले थपे, ‘प्रायः दसैँ मनाउनकै लागि लाहुरेहरू आउँथे । गाउँमा चिया खाने चलन थिएन, उनीहरूले नै लिएर आएका हुन् । चुरोट पनि उनीहरूले नै ल्याउँथे । लाहुरेसँग चुरोट मागेर सल्काउन पाउँदा गाउँका युवा र बुढापाका दंग हुन्थे ।’
नयाँ लुगा
विगतमा दसैँ नयाँ कपडा लगाउने चाड पनि थियो । प्रा.डा. माधव भट्टराईको बाल्यकाल खोटाङको लामीडाँडामा बितेको थियो । मुखियाको परिवार भएकाले उनीहरूको मधेशमा पनि खेत थियो । मधेशमा खेती गर्न जाँदा जाडोको समयमै बुबाले थानका थान कपडा किनेर ल्याउँथे । ‘ती कपडा घरको भण्डारमा राखिएको हुन्थ्यो । फूलपातीका दिन बल्ल हामीले लगाउन पाउँथ्यो । नयाँ कपडा लगाउन पाउँदाको खुसी नै बेग्लै थियो । सानोमा हामीले दसैँ भन्नासाथ मिठो खाने र नयाँ कपडा लगाउने चाडका रूपमा बुझ्थ्यौँ,’ भट्टराईले भने, ‘यतिवेला धुलिखेलका व्यापारीले भरियालाई भारी बोकाएर कपडा बेच्न ल्याउँथे । इलामसम्म नै उनीहरूले कपडा बेच्न लग्थे । धुलिखेले आयो... भनेपछि गाउँमा दसैँ लागेजस्तो हुन्थ्यो । ओखलढुंगा बजार र दुधकोरीछेउको स्थानीय बजारमा पनि कपडा किन्नेको भिड हुन्थ्यो । ऋण काढेरै भए पनि दसैँमा नयाँ लुगा लगाउने र मिठो खाने चलन थियो ।’
समय धेरै बदलियो । धुलिखेलदेखि इलामसम्म भारी बोकाएर हिँड्नुपर्ने बाध्यता हट्यो । व्यापार तथा यात्राका लागि नयाँ रुट खुले । नयाँ सम्पर्क सूत्र बने । प्रविधिको उच्चतम् विकाससँगै मानिसको जीवनबाट थाहै नपाई एउटा महत्वपूर्ण भाव हराउँदै गयो, आश्चर्यबोधको भाव । पहिले–पहिले थाहा नपाएका कुरा धेरै हुन्थे, अपरिचित परिस्थितिले मानिसलाई अचम्ममा पार्थे । मानिसको मस्तिष्कलाई नयाँ सोच्न र बुझ्न प्रेरित गथ्र्याे । अनौठो अनुभवले मनमा गहिरो तरंग पैदा गथ्र्यो । नयाँ कुरा देख्दा मानिसहरू छक्क पर्ने, घोत्लिने वा अलमलमा पर्ने गर्थे । यो प्राकृतिक भाव आजकल हराउँदै गएको छ ।
डा. जगमान गुरुङ भन्छन्, ‘पहिले नयाँ कपडाको बास्नाले पनि बेग्लै आनन्द दिन्थ्यो । कहिले दसैँ आउँछ भनेर दिन गनेर बस्ने चलन थियो । अहिले त मानिसले चाहेकै समयमा कपडा किन्न पाउने भए । चाहेकै समयमा मिठो खाना अर्डर गर्न पाउने भए । पसलसम्म पनि जानुपरेन, अनलाइनमा अर्डर गर्दा घरमै आइपुग्छ, त्यसकारण आजकल दसैँको महत्व केही घटेको छ ।’
चंगा
गायक नवीन के भट्टराई यस मौसममा आकाश खुल्नासाथ चंगा उडाउन थाल्छन् । उडिरहेको चंगाले उनलाई बाल्यकाल सम्झाउँछ । संगीतपछिको उनको मोह चंगा उडाउनमै छ । उनले ५–६ वर्षकै उमेरदेखि चंगा उडाउन थालेका थिए । ‘दसैँ आउनभन्दा १ महिनाअघिदेखि नै चंगा उडाउन थाल्थ्यौँ । दसैँमा आकाश चंगाले रंगिन्थ्यो । अहिले चंगा उडाउनेहरूको संख्या निकै कम छ,’ उनले भने, ‘हामी सानो छँदा रेडियामा मौसमसम्बन्धी जानकारी सुन्थ्यौँ । काठमाडौंको आकाश सफा हुन्छ भनेपछि चंगा उडाउन पाइने भयो भनेर दंग हुन्थ्यौैँ । स्कुलमा पनि चंगाकै कुरा हुन्थ्यो । बंगाली र लखनउका उस्तादले बनाएका चंगा एक सुकादेखि एक रुपैयाँसम्मका हुन्थे । पसलमा बालबालिकाको भिड रहन्थ्यो ।’ अहिलेको पुस्ता पब्जीलगायत अनलाइन खेलमा रमाएको उनले बताए । ‘दसैँमा केटाकेटीले नयाँ लुगाभन्दा पहिले चंगा खोज्थे । तर, अहिलेको पुस्तालाई चंगा उडाउन त्यति रहर देखिँदैन । काठमाडौंमा पहिलेजस्तो खुला ठाउँ पनि छैन । त्यसमाथि अहिलेको पुस्ता मोबाइलमा गेम खेल्न व्यस्त छ,’ उनले भने ।
त्यसो त चंगा काठमाडौंको पुरानो संस्कृति हो । काठमाडौं मात्रै नभएर तराई तथा अन्य सहरमा पनि यस मौसममा ठुलो संख्यामा चंगा उडाइन्थ्यो । अहिले कम भएर गएको छ । ९२ वर्षका नृत्य सम्राट् भैरवबहादुर थापा भन्छन्, ‘हामी सानो छँदा प्रहरीले काठमाडौंका मुख्य चोकमा चंगा नउडाउनू भनेर सूचना निकालेको हुन्थ्यो । किनकि, तारहरू नांगा हुन्थे । त्यसमा चंगाको धागो बेरिएर सर्ट हुन सक्ने भय उनीहरूलाई हुन्थ्यो,’ उनले सम्झिए, ‘तर युवाहरू अलि परका बस्तीमा गएर पनि उडाउँथे । चंगा उडाउन केही निश्चित ठाउँ पनि तोकिएका थिए । ठुलो गौचरण (अहिलेको त्रिभुवन विमानस्थल), टुँडीखेल, अहिले रंगशाला भएको ठाउँ, अहिले आर्मी अफिसर्स क्लब भएको ठाउँ र सानो गौचरणमा चंगा उडाउन पाइन्थ्यो । त्यहाँ चंगामा बाजी पनि लाग्थ्यो । एक–अर्कालाई चेट गर्न बसेका हुन्थे ।’
पिङ
गाउँमा लिंगेपिङ अझै पनि छन् । तर, पहिलेजस्तो युवाहरूको चहल–पहल नभएकाले पिङको संख्या कम हुन्छ । ‘पहिले दसैँ आउनुभन्दा धेरैअघि नै ठुल्ठुला खाँबाहरू ल्याएर युवाहरूले पिङ हाल्थे । अहिले गाउँमा युवाहरूको संख्या कम छ । त्यहीकारण पिङ हाल्ने र खेल्नेहरू पनि कम छन्,’ प्रा.डा भट्टराईले भने ।प्रा.डा. जगमान गुरुङ भन्छन्, ‘पिङ हाम्रो संस्कृति हो । वर्षमा एक दिन भुइँ छोडनुपर्छ भनिन्थ्यो ।’
फूलपाती र बढाइँ
फूलपातीको दिन दरबारमा राजाले पानी समाउने र मूल पुरोहितले संकल्प वाक्य भनेर दसैँको पूजा गर्ने चलन थियो । ‘राजा नभएका कोट, गढी, गौँडामा राज्याधिकारीको प्रतिनिधि भएर कोटका मीर–उमरा, गढीका द्वारे, गाउँघरका मुखिया–तालुकदारले पानी समाउने, अनि धर्माधिकारीको प्रतिनिधि भएर ब्राह्मण पुरोहितले संकल्प वाक्य बनेर कोटको मौलो पूजा गर्ने चलन थियो,’ प्रा.डा. गुरुङले भने । इतिहासमा नवरात्रको समय रण–अभ्यासको रूपमा प्रयोग गर्ने गरिएको उनले बताए ।
काठमाडौंमा हुने गरेको फूलपाती र बढाइँको पनि विशेष महत्व छ । इतिहासमा कुनै समय त्यस्तो पनि थियो, जतिवेला तोपको आवाज सुनेपछि काठमाडौं आसपासका मानिसले दरबारमा फूलपाती भिœयाउन लागिएको थाहा पाउँथे । ‘गोरखा जिल्लाबाट ल्याइएको फूलपाती हनुमानढोका दरबारको दसैँ घरमा भिœयाउनुअघि टुँडीखेलमा तोप पड्काउने चलन छ । काठमाडौं आसपासका जनताले त्यही तोपको आवाज सुनेर फूलपातीको साइतको सूचना पाउँथे । अनि, त्यसपछि आ–आफ्नो फुलपाती भित्र्याउँथे । टुँडिखेलको आवाज चारै डाँडा र त्यसवरपरका गाउँमा पनि सुनिन्थ्यो । अहिलेजस्तो हर्न र कोलाहल थिएन,’ प्रा.डा. गुरुङले भने, ‘काठमाडौंदेखि टाढाका गाउँमा मौलो पूजा गरिएको जानकारी कट्वालले दिन्थे । हाम्रो गाउँमा अझैसम्म पनि कुनै सूचना दिनुपरे कटवालले गएर कराउने चलन छ । तर, अहिले यसको सान्दर्भिकता घटेको छ । केवल इतिहासको निरन्तरता मात्रै हो ।’
प्रविधिको विकाससँगै टीकाको साइतबारे नेपाल पञ्चांग निर्णायक विकास समितिले गरेको निर्णय रेडियोले जनताको घर–घरमा पुर्याउन थाल्यो । अहिले विभिन्न देशमा अलग–अलग समयमा टीका लगाउने गरिएको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले विभिन्न देशमा टीका लगाउन उत्तम साइत सार्वजनिक गर्छ । ‘हाम्रोभन्दा पहिले जापानमा घाम पहिले उदाउने भएकाले अब जापानमा पहिले टीका लगाइन्छ । समयसँगै नेपालीहरू विश्वभर फैलिए, हाम्रा चाडपर्व पनि फैलिए,’ प्रा.डा. गुरुङले भने ।
घट्दै छ सामूहिकता
नेपाली समाज सामूहिकतामा विश्वास राख्छ । दसैँ–तिहारजस्ता पर्वलाई सद्भाव र एकताको पर्व पनि भनिन्छ । किनकि, समाजमा घट्दै गएको सामूहिकताको भावनालाई मजबुत बनाउन यस्ता चाडहरूले भूमिका खेलेका हुन्छन् । ‘गाउँघरमा हुरी, पर्मको चलन अझै छ । हुरी भन्नाले युवा–युवती एकजुट भएर विकासका काम गर्ने हो । एउटाको घरमा काम हुँदा अर्कोले आएर पर्म सघाउने चलन पनि छ । तर, विगतको दाँजोमा निकै कम हुँदै गइरहेको छ । पैसाको प्रयोग कम हुँदा यसको महत्व जति थियो, त्यो अहिले घटेर गएको छ,’ प्रा.डा. गुरुङले भने ।
प्रा.डा. भट्टराई भन्छन्, ‘हामी सानो छँदा घोडेटो र गोरेटो बाटो बनाउने काम दसैँमै हुन्थ्यो । यसकारण दसैँले विकास ल्याउँथ्यो । मानिसहरू जनश्रमदानमा विश्वास राख्थे । दसैँको समय मौसम सफा हुने भएकाले पनि विकासका काम गर्ने राम्रो अवसर थियो । यसले सामूहिकता ल्याउँथ्यो । अहिले एक–दुई किलोमिटर बाटो खन्न पनि लाखौँ खर्च हुने अवस्था आयो । तर, त्यसमा पनि मानिसले अपनत्व महसुस गर्दैनन् ।’
साधना पक्ष
प्रा.डा. भट्टराई भन्छन्, ‘मानिस नौ दिनसम्म चण्डी पाठ गरेर कडा ध्यान गर्थे । साधनाको यो पक्ष अहिले कमजोर भएको छ । तर, शक्तिको उपासना गर्ने काम जारी छ । शक्तिको आराधना गरेर अध्यात्मिक ऊर्जाको विकास गर्ने, शरीरमा स्फूर्ति पैदा गर्ने मान्यता अझै पनि छ ।’
वर्षमा चारवटा नवरात्र छन् । त्यसमध्ये शरदीय दुर्गापूजा बडादसैँ हो । यस समय उपासना गर्दा देवी विशेष खुसी हुने विश्वास रहिआएको प्रा.डा. गुरुङ बताउँछन् । दुर्गाको उपासना गरेर आफूभित्रको मोह, तमस, कामवासना, आसक्तिलगायतलाई जितेपछि दशमीको दिन विजय उत्सव मनाइने उनले बताए । ‘प्रतिपदादेखि नवमीसम्मको नवरात्रको उपासना बुझ्नलाई हामीले यसको महत्वबारे बुझ्नुपर्छ । रात्र भनेको अन्धकार हो । अन्धकार भनेको मोह, तमस, कामवासना वा आसक्ति हो । हाम्रो शरीरका नौवटा छिद्रले ग्रहण गर्ने आसक्ति हटाउन हामी नवरात्रिको पूजा गर्छौँ । हामीभित्रको आसक्तिलाई हटाउनुको अर्थ छिद्रहरूलाई थप सबल बनाउनु हो,’ गुरुङले भने, ‘आँखाले त पाप चिताएको हुन सक्छ, मनमा कुविचार पलाएको हुन सक्छ, अन्याय–अत्याचारको कुरा आउला । नौ दिनसम्म लगातार उपासना गरेर यस्ता मोह र आसक्तिमाथि विजयी हासिल गरेपछि ती छिद्र थप सबल बन्छन् र सफा हुन्छन्, त्यसैको खुसीमा दशमीको दिन उत्सव मनाउने भनेको हो ।’