• वि.सं २०८१ मङ्सिर ६ बिहीबार
  • Thursday, 21 November, 2024
ची मेङ तान
२०८१ कार्तिक ३ शनिबार ०७:३९:००
अनुवाद

आगामी अमेरिकी राष्ट्रपतिबाट के चाहन्छ चीन ?

२०८१ कार्तिक ३ शनिबार ०७:३९:००
ची मेङ तान

 

चीनले आक्रमण गर्‍यो भने ट्रम्प ताइबानको सहायताका लागि उभिएलान् ?

 

ताइबानको राष्ट्रिय दिवसका दिन अक्टोबर १० को भाषणका क्रममा ताइबानका राष्ट्रपति लाई चिङ तेले ‘चीनलाई ताइबानको प्रतिनिधित्व गर्ने कुनै अधिकार नभएको’ र ताइबानको सार्वभौमसत्ताको रक्षार्थ ताइपेई ‘कब्जा र अतिक्रमण’विरुद्ध प्रतिबद्ध रहेको कुरामा जोड दिए ।

 

चीनले तत्कालै प्रतिक्रिया जनायो । चिङ तेले उत्तेजक भाषण दिएको एक हप्ता पनि नबित्दै चिनियाँ सैन्य अभ्यासको बहानामा कीर्तिमानी संख्यामा १५३ चिनियाँ लडाकु विमानले ताइबानलाई घेरा हाले । बेइजिङको उद्देश्य स्पष्ट थियो– जुन कुरालाई चीन ‘पृथकतावादी कार्य’ ठान्छ, त्यसविरुद्ध ताइपेईलाई ‘कडा चेतावनी’ दिने ।

 

बेइजिङ यो प्रायद्वीपलाई मुख्य भूमि चीनमा हरहालमा फर्काउनुपर्ने ‘अभिन्न र अविभाज्य भूभाग’का रूपमा हेर्छ । ताइबानी राष्ट्रपतिको दृष्टिकोण भने फरक छ । अहिले, यस स्वशासित प्रायद्वीपमा एउटा छुट्टै राजनीतिक प्रणाली छ, थोरै ताइबानी मात्र चीनसँग एकीकरणको पक्षमा छन् ।

 

वासिंटनको ताइपेईसँग औपचारिक कूटनीतिक सम्बन्ध नभए पनि ‘ब्याक च्यानल’मार्फत नियमित संवाद गर्छ र उनीहरूबिच सघन आर्थिक सम्बन्ध छ । ताइबान अमेरिकाको एउटा महत्वपूर्ण व्यापारिक साझेदार र ‘सेमीकन्डक्टर’को प्रमुख आपूर्तिकर्ता हो, जुन कम्प्युटर र अन्य उन्नत–प्रविधिका उत्पादनका लागि एकदमै महत्वपूर्ण छ । अमेरिका ताइबानलाई हतियार पनि बेच्ने गर्छ, तर बाइडेनको कार्यकालमा यो उल्लेखनीय रूपमा घटेको छ ।

 

ताइबानलाई बलपूर्वक आफूमा मिलाउने सम्भावनालाई चीनले नकारेको छैन । यदि उसले त्यसो गर्‍यो भने वासिंटन विगतमा संकेत गरेझैँ ताइबानको प्रतिरक्षामा खडा हुन सक्छ ।

 

तर, सी सन् २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचनले ताइबानप्रति फरक दृष्टिकोण राख्ने र चीनलाई आर्थिक संकटको समाधानमा मद्दतगार हुने व्यक्ति नेतृत्वमा आउन पनि सक्ने आशामा छन् । त्यसो भए खरा डोनाल्ड ट्रम्प र उनकैजस्तो स्वभावकी कमला ह्यारिसबिच बेइजिङलाई को मनपर्ने व्यक्ति हुन् त ? के यीमध्ये कुनैैले सीसामु नयाँ प्रस्ताव ल्याउलान् ?

 

ताइबान र सीको वैधता

 

जनवादी गणतन्त्र चीनका संस्थापक माओत्सेतुङबाहेक सी एक मात्र यस्ता पदासीन चिनियाँ राष्ट्र प्रमुख हुन्, जसको कार्यकालको कुनै सीमा छैन । जसको राजनीतिक विचारधारा चिनियाँ संविधानमा अभिलिखित भएको छ ।

 

चीनको आर्थिक संकट समाधान गरेर सीले इतिहास बनाउन सक्छन् । तर, युक्रेन युद्धमा रुसको समर्थनका कारण बेइजिङ पश्चिमबाट बढ्दो रूपले एक्लिँदै गएको परिप्रेक्षमा यो कार्य थप कठिन बनेको छ । 

 

ताइबानसम्बन्धी बेइजिङको जुनसुकै एजेन्डालाई मन परोस् वा नपरोस् सीले बढावा दिनुपर्ने हुन सक्छ । उनले एकीकरणको दिशामा उल्लेख्य प्रगति हासिल गर्न सके भने उनको चिनियाँ कम्युनिस्ट पार्टीका महान् व्यक्तिमध्ये एकको रूपमा जयजयकार हुन सक्छ, जसले मुलुकको आर्थिक संकटबाट ध्यान मोड्दै पार्टीभित्र उनलाई थप बलियो बनाउनेछ । 

 

गठबन्धन र साझेदारीलाई गम्भीरतापूर्वक लिने ह्यारिसको विपरीत ट्रम्प अमेरिकानिर्मित गठबन्धनबाट अमेरिकालाई के फाइदा छ भनेर प्रश्न उठाउँछन् । उनले ताइबानबारे जतिपटक बोले, सबैमा उनी ताइबानले कसरी अमेरिकाको सेमी–कन्डक्टर व्यवसाय छिन्यो र आफ्नो रक्षाका लागि उसले अमेरिकालाई थप भुक्तानी गर्नुपर्छ भन्ने कुरामा नै केन्द्रित थिए ।

 

त्यसो भए चीनले ताइबानमा आक्रमण गर्‍यो भने के ट्रम्प ताइबानको सहायतामा आउलान् त ? इलेक्ट्रोनिक्स र एआईमा सेमी–कन्डक्टरको महत्वलाई मध्यनजर गर्दै उनी आउन सक्छन् । तर ट्रम्प ‘प्रधान डिलमेकर’का रूपमा पनि चिनिन्छन् । उनले बेइजिङसँग ‘डिल’ गर्न सक्छन्, जसले ताइबानको स्वतन्त्रता समाप्त पार्नेछ । यही कुराले ताइपेईलाई चिन्तित बनाएको देखिन्छ ।

 

रुसी द्विविधा

 

रुसको ‘नो लिमिट्स पार्टनर’का रूपमा युक्रेनविरुद्धको रुसी युद्धलाई इन्धन भर्ने गरी चीनले रुसलाई प्रविधि उपलब्ध गराउँदै आएको छ । यसले चीन र पश्चिमको सम्बन्धलाई तनावपूर्ण बनाएको छ भने बेइजिङमाथिको व्यापार प्रतिबन्धलाई बढावा दिएको छ, जसले चीनको आर्थिक पुनरुत्थानमा बाधा पुर्‍याइरहेको छ ।

 

चीनले पश्चिमाहरूको निगरानीबाट बच्न रुसलाई दिँदै आएको सहयोग रोक्न त सक्छ, तर त्यसो हुने सम्भावना भने छैन । बेइजिङलाई अमेरिकी नेतृत्वको विश्व व्यवस्थाविरुद्धको लडाइँमा एउटा गतिलो सहयोगी चाहिन्छ र बलियो रुस मात्रै त्यस्तो मित्र हुन सक्छ । युक्रेन युद्धमा यदि रुस असफल भयो भने पश्चिमाको ध्यान आफूतर्फ केन्द्रित हुने भएकाले पनि रुसलाई बलवान बनाइराख्नुपर्ने आवश्यकता उसलाई छ । 

 

ह्यारिस किभको समर्थन गर्छिन् र यो युद्धलाई एउटा रणनीतिक तथा नैतिक मुद्दाका रूपमा हेर्छिन्, जबकि ट्रम्पले युक्रेनलाई अमेरिकी सहयोगको आलोचना गरेका छन् । उनी पुटिनले सन् २०२२ को फेब्रुअरीमा सुरु गरेको युद्ध अन्त्यका लागि किभले रुसलाई सहुलियत दिनुपर्ने धारणा राख्छन् ।

 

भावी ट्रम्प प्रशासनले युक्रेनलाई दिइरहेको सहयोगबाट हात झिक्नुका साथै रुसमाथिको प्रतिबन्ध हटाएर रुसलाई बलियो बनाउन सक्छ । थप बलियो रुस बेइजिङका लागि सुखद खबर हुनेछ ।

 

अमेरिकाको व्यापार युद्ध

 

त्यसैले झट्ट हेर्दा ट्रम्प र ह्यारिसको चीनप्रतिको दृष्टिकोण फरक देखिन्छ । ह्वाइट हाउसमा ट्रम्पको पुनरागमनले सन् २०१८ मा सुरु भएको व्यापार युद्धलाई चर्काउन सक्छ । चिनियाँ वस्तुमाथिको महसुल ६० प्रतिशतसम्म पुग्न सक्छ, जसले अमेरिका र चीनबिचको आर्थिक सम्बन्धविच्छेदलाई थप तीव्रता दिन सक्छ ।

 

अर्कातर्फ ह्यारिस चीनलाई ‘डि–रिस्क’ गर्न चाहन्छिन् । उनको दृष्टिकोणले यस पूर्वी एसियाली आर्थिक महाशक्तिसँग वार्तामा संलग्न भएर अमेरिकाको विश्वव्यापी हितलाई कायम राख्न खोज्छ । यस्तो अवस्थामा बेइजिङ वार्ताका लागि ठाउँ राखिराख्ने ह्यारिसलाई राष्ट्रपतिमा रुचाउनेछ । 

 

यद्यपि, तुलनात्मक रूपमा ह्यारिससँग विदेश नीतिको अनुभव कम छ । उनले बाइडेनकै विरासतलाई निरन्तरता दिने अपेक्षा गरिएको छ । अर्थात्, बाइडेन प्रशासनअन्तर्गत चीनले सामना गर्नुपरेको महसुल तथा प्रतिबन्धहरू उनको कार्यकालमा पनि कायमै रहन सक्छन् ।

 

अर्काे फ्याक्टर टेस्लाका संस्थापक एलन मस्क हुन्, जो ट्रम्पका कट्टर समर्थक हुन् । उनले ट्रम्प प्रशासनमा उच्च पद पाउन सक्छन् । यी खर्बपतिको ट्रम्पमा कत्तिको प्रभाव छ भन्ने निश्चित छैन । तर, के कुरा ध्यानमा राख्नु उल्लेखनीय हुन्छ भने मस्कको चीनमा ठुलो व्यापार छ । बाइडेनका नीतिले टेस्लाको हितलाई हानि पुर्‍याएकाले उनी ट्रम्पतर्फ झुकेका पनि हुन सक्छन् । यीमध्ये धेरै कुरा अहिले अस्पष्ट नै छन् । यस परिप्रेक्षमा बेइजिङ वार्ताका माध्यमबाट दुई देशबिचको सम्बन्धलाई न्यानो बनाउन सकिने र ताइबानको रक्षाको साटो आर्थिक विजयमा चासो बढी राख्ने व्यक्ति अमेरिकाको नेतृत्वमा आइदिओस् भन्ने चाहन्छ । 

 

(मेङ तान नेटिंघम विश्वविद्यालयका ‘बिजनेस इकोनोमिक्स’का उप–प्राध्यापक हुन् ।)

 

– द कन्भर्सेसनबाट नारायण शिवाकोटीको अनुवाद