• वि.सं २०८१ मङ्सिर ६ बिहीबार
  • Thursday, 21 November, 2024
डा. रोशनकुमार झा
२०८१ कार्तिक ३ शनिबार ०७:५३:००
यात्रा

यात्राअघिको तयारी

२०८१ कार्तिक ३ शनिबार ०७:५३:००
डा. रोशनकुमार झा

 

पछिल्लो समय हिमाल र अग्ला पहाडतिर पदयात्रा गर्नेको संख्या बढ्दो छ । यतिवेला गोसाइँकुण्ड, दुधकुण्ड, कालिञ्चोक, पाथीभरा, खप्तडलगायत ठाउँहरूमा तीर्थयात्रा गर्नेहरू धेरै हुन्छन् । अन्नपूर्ण संरक्षण क्षेत्रका कास्की, लमजुङ, मनाङ, म्याग्दी, मुस्ताङलगायत हिमाली भेगका विभिन्न ठाउँमा पदयात्रा गर्ने पनि कम छैनन् । प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता, संस्कृति आदि कारणले देश–विदेशका पर्यटकको रोजाइमा यी स्थान पर्दछन् । तर, यात्राका क्रममा कहिलेकाहीँ स्वास्थ्यमा समस्या पनि आउने गर्छ । हिमाली क्षेत्रको यात्रामा आइपर्ने एउटा प्रमुख कारण स्वास्थ्य समस्या हो अल्टिच्युड सिकनेस अर्थात् लेक लाग्ने रोग । 

 

मानिसको शरीरमा अक्सिजनको मात्रा कमी हुँदा लेक लाग्ने गर्छ । समुद्री सतहबाट उचाइ बढ्दै गएपछि वायुमण्डलमा हावाको चाप र अक्सिजनको मात्रा कम हुँदै जान्छ, जसले गर्दा शरीरलाई त्यो वातावरणमा घुलमिल हुन समय लाग्छ । अग्लो ठाउँको वातावरणमा बानी पार्न शरीरले छिटोछिटो सास लिएर अक्सिजनको मात्रा बढाउने कोसिस गर्दछ । तर, अक्सिजनको मात्रा पुगेन भने लेक लाग्छ । यो व्यक्तिअनुसार फरक–फरक हुने गर्छ । हिमाली क्षेत्रमा बस्ने मानिसलाई लेक कम लाग्छ । किनकि हिमाली भेगका बासिन्दा अक्सिजनको कमीसँग अभ्यस्त हुन्छन् जसले गर्दा उनीहरूलाई अल्टिच्युड सिकनेस हुने सम्भावना निकै कम हुन्छ । तर, तराई र पहाडमा बस्ने मानिस अग्लो ठाउँमा जाँदा लेक लाग्छ ।

 

अर्काे, कतिपय मानिस सकेसम्म यात्रालाई छिटो सकाउन हतारमा यात्रा गर्छन् । होचो ठाउँबाट एकैचोटि अग्लो ठाउँमा पुग्न मानिस हवाईजहाज वा गाडी चढेर पुग्ने गर्छन् । पदयात्री, तीर्थयात्री, पर्यटक, पथप्रदर्शक, भरिया एकैचोटि अग्लो ठाउँमा पुग्दा मानिसहरूलाई यो रोग हुन सक्छ । त्यसमाथि बस्ने ठाउँ र खानपान राम्रो भएन भने पनि रोगले छिट्टै समात्न सक्छ । दुई हजार मिटरभन्दा कम उचाइमा बसेका मानिस एकै दिनमा अग्लो ठाउँमा पुग्न खोज्छन्, जसका कारण वातावरणमा घुलमिल हुन नसकेर बिरामी हुन्छन् । 

 

हिमाली भेगको पदयात्रामा जाँदा विशेष ख्याल गर्नुपर्छ । एकैपटकमा उचाइमा पुग्नुहुँदैन, विश्राम लिँदै जानुपर्छ । कतिपयले चाँडै गएर चाँडै फर्किने योजना बनाएका हुन्छन् । कम उचाइमा बस्ने एकैचोटि अग्लो स्थानमा गयो भने त्यस्ता मान्छेमा लेक लाग्छ । यसलाई एक्लिमिटाइजेसन पनि भनिन्छ ।

 

अक्सिजनको मात्रा कम भएर फोक्सो र गिदीमा पानी रसाउँछ । गिदी वा फोक्सोमा पानी रसाएपछि टाउको दुख्नु, थकाइ र रिंगाटा लाग्नु सुरुका लक्षण हुन् । यो रोग लागेपछि हिँड्न गाह्रो हुन्छ, राति निद्रा लाग्दैन, सुतेपछि असहज हुने, सास रोकिएजस्तो हुन्छ, जोडसँग टाउको दुख्छ, वाकवाक लागिरहन्छ र बान्ता आउन सक्छ । यस्तो वेलामासतर्क भएर रोगबाट बच्ने उपाय र औषधोपचार गरेमा केही दिनमै ठिक हुन्छ । तर, हेल्चेक्र्याइँ गरेर उचाइमै बसिरहेमा वा अझ माथि चढ्ने प्रयास गरेमा ज्यानै पनि जान सक्छ । 

 

गिदी सुन्निन थालेपछि बिरामीलाई जोडले टाउको दुख्छ, बान्ता आउँछ । केही समयपछि बिरामी बेहोस भएर ज्यानसमेत जान सक्छ । फोक्सो सुन्निँदाचाहिँ खोकी लाग्ने, स्वाँस्वाँ हुने, मन्द ज्वरो र खकारमा रगत वा फिँज आउने लक्षण देखिन्छन् । नियमित बान्ता हुँदा चक्कर लागेर बेहोस पनि हुने हुन्छ । यदि फोक्सोमा अचानक पानी रसायो भने यस्तो समस्या देखिन्छ । यो रोग देखिनेबित्तिकै तत्काल बिरामीलाई कम उचाइ भएको ठाउँमा झार्नुपर्छ । अक्सिजन लगाउनुपर्ने हुन्छ । साथै, पिसाब लगाउने औषधि पनि खुवाउनुपर्छ ।

 

बिरामी अझै सिकिस्त भएमा र गिदी तथा फोक्सो सुन्निन सुरु भएको अवस्थामा ‘डायमोक्स’ (एसेटाजोलामाइड)जस्ता औषधि दिइन्छ । तर, चिकित्सकको सल्लाह लिनुपर्छ । अलिअलि लक्षण देखिँदा ‘डायमोक्स’ खाँदा कम हुन्छ । शरीरमा अक्सिजनको मात्रा ९२ प्रतिशतभन्दा माथि नभए तुरुन्तै अक्सिजन दिनुपर्छ । प्रशस्त पानी पिउनुपर्छ । पर्याप्त आराम गर्नुपर्छ ।

 

यात्रामा खानपान 

 

आफ्नो शरीरको रोगसँग लड्ने क्षमता बुझ्नुपर्छ । यात्रा गर्ने स्थानको वातावरण बुझ्नुपर्छ । पथप्रदर्शकको सल्लाहअनुसार यात्रा तय गर्दा राम्रो हुन्छ । कति घण्टा फरकमा यात्रा गर्नेबारे योजना बनाउनुपर्छ । राम्रो योजना बनाएर यात्रामा निस्कियो भने रोग लाग्ने सम्भावना कम हुन्छ । कतिपय मान्छेलाई राति अचानक गाह्रो हुन्छ । त्यस्ता खालका लक्षण देखिनेबित्तिकै गाइडलाई भन्नुपर्छ । स्थानीय मान्छेलाई खबर गर्नुपर्छ । बान्ता भयो र सास फेर्न गाह्रो भयो भने तलतिर झर्नुपर्छ 

 

औषधि खाए पनि रोग फेरि बल्झिँदैन भन्न सकिन्न । त्यसैले सकेसम्म लेक लाग्नै नदिनु उपयुक्त हुन्छ । यसो हुन नदिन पथप्रदर्शकको सल्लाहअनुसार यात्रा गर्नुपर्छ । हिँड्दा पसिना बग्ने र शरीर सुक्खा हुने हुँदा प्रशस्त पानी पिउनुपर्छ । राति आनन्दले सुत्नु पर्दछ । आफूलाई दम फुल्न थाल्यो, खोकी लाग्यो भने सक्छु भनेर जबर्जस्ती यात्रालाई जारी राख्नुहुँदैन । यस्तो वेलामा मृत्यु पनि हुन सक्छ ।

 

कतिपय यात्रुहरू अगाडि जान नपाइएला भनेर रोगका सुरुका लक्षण लुकाउने गर्छन् । लेक लाग्ने रोग कमजोर र बूढाबूढीलाई मात्र लाग्छ भन्ने ठान्दछन् । तर, युवाहरूलाई पनि लेक लाग्छ । 

 

खानपान नमिल्दा पखाला लाग्ने, बान्ता हुने, पेट दुख्ने समस्या देखिन्छ । खानको मात्रा अपुग हुने कहिलेकाहीँ बढी खाने पनि गरिन्छ । त्यसैले लामो यात्रा गर्दा खानपान विशेष ध्यान दिनैपर्छ । कतिपय होटेलमा वासी खानेकुरा पनि हुन सक्छ । त्यस्तो वेला आफूले ध्यान दिनैपर्छ । 

 

यात्रा गर्दा माछामासु नखाएकै राम्रो हुन्छ । माछामासु खाँदा फुड पोइजन हुने सम्भावना बढी हुन्छ । पानी परिरहेको छ भने खानेपानीको मुहानमा पनि ध्यान दिनुपर्छ । धाराको पानी खानुपर्‍यो भने उमालेर सेलाएपछि पिउनुपर्छ । पच्ने खाना मात्रै खानुपर्छ । धेरैजसो मानिस यात्रामा अल्कोहल पिउने र माछामासु खाने गर्छन् । यसले स्वास्थ्यमा असर गर्छ । पानीको मात्रा पर्याप्त हुनुपर्छ । चिया, रक्सी, कफीजस्ता पेय पदार्थले स्वास्थ्यमा असर गर्छ । पिसाब बढी लागेर शरीरमा डिहाइड्रेसन गराउँछ । लामो दूरीको यात्रा गर्दा सबै ठाउँमा होटेल उपलब्ध नहुन पनि सक्छ  । इनर्जी दिने चकलेट, कुकिज, काजु, बदामलगायत ड्राई फ्रुट झोलामा बोक्नु राम्रो हुन्छ ।

 

भौगोलिक अवस्था र वातावरणले गर्दा पनि थकान र स्वास्थ्य समस्या देखिन सक्छ । त्यहीकारण यात्रामा हतार गर्नुहुँदैन । एक दिनमा एक हजार मिटरको उचाइ पार नगर्ने भन्ने नियम नै छ । १३ सय मिटरको उचाइमा बसेको मान्छे एकै दिनमा २५ सय मिटरको उचाइमा जानुहुँदैन । दिनको अधिकतम एक हजार मिटर उचाइ पार गर्ने तरिकाले यात्राको योजना बनाउनुपर्छ । जसले गर्दा स्वास्थ्यमा प्रतिकूल असर पर्दैन ।

 

एकै दिनमा लामो यात्रा गर्न सक्छु भनी हिँड्नु भनेको मूर्खता हो । कति फिट उचाइमा गएपछि आफ्नो शरीरलाई आराम चाहिन्छ भन्ने गाइडले बनाएको हुन्छ । गाइडले भनेअनुसार यात्रा गर्नुपर्छ । आफू खुसी यात्रा गर्दा जोखिम हुन्छ । धेरैजसो युवाहरूले सक्छु भनेर एकैपटक उचाइमा पुग्ने गर्छन् । यस्ता व्यक्तिमा समस्या आउन सक्छ । 

 

उच्च रक्तचाप, मधुमेह र मुटु वा फोक्सोसम्बन्धी कुनै रोग छ भने यात्रा सुरु गर्नुअघि चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ । मुटु, दम, मधुमेहजस्ता दीर्घरोगीहरूले औषधि नियमित नलिँदा पनि समस्या देखिन्छ । दीर्घरोगीले यात्राभन्दा औषधि बोकेर हिँड्नुपर्छ । समय–तालिकाअनुसार औषधि खानुपर्छ । कतिपयले खाना खाएको छैन भन्दै औषधि नखाएको पनि देखिन्छ । त्यसो गर्दा समस्या आउँछ ।  

 

प्रस्तुति : पवन बराइली