गुल्मीको विचित्र गुफा प्राकृतिक रूपमा पनि विचित्रको छ । यो गुफामा सदरमुकाम तम्घासबाट ३० मिनेट र मदन भण्डारी राजमार्ग छोडेपछि पाँच मिनेटमा पुगिन्छ । सानो जंगल, नजिकै छल्दीखोला र पहाडको खोँचमा यो गुफा छ । वरपरको वातावरण निकै मनमोहक देखिन्छ । प्राकृतिक सुन्दरताभित्र अवस्थित भएकैले यसलाई स्थानीयले विचित्र गुफा नामकरण गरेका हुन् । त्यहाँ पुग्ने जोकोहीले यसलाई विचित्रको गुफा भन्छन् ।
गुफामा कुनै कृत्रिमता छैन । जंगल र पहाडको खोँचमा करिब दुई सय मिटर लामो गुफाभित्र धार्मिक दृष्टिकोणले हेर्दा दर्जनाैँ आकृति देखिन्छन् । पुग्ने आन्तरिक तथा बाह्य पर्यटक आश्चर्यमा पर्छन् । धुर्कोट गाउँपालिका–५ मा रहेको विचित्र गुफा पत्ता लागेको तीन दशकभन्दा बढी भइसकेको छ । तर, संरक्षण र उचित विकास समयमै हुन सकेन । संरक्षण नहुँदा गुफाको धेरै संरचनामा क्षति पुगेको छ । शान्ति प्रक्रियापछि गुफा संरक्षणका केही काम भए पनि पर्याप्त भएनन् ।
गुफाका धेरै तह छन् । तर, अहिलेसम्म गुफाको खास अनुसन्धान पनि भएको छैन । यो गुफा नेपालकै ठुलो हुन सक्ने स्थानीयवासी दाबी गर्छन् । गुफाका धेरै विशेषता लुकेरै बसेका छन् । अहिलेसम्म दुई तलासम्म पुगेर अवलोकन गरिएको छ । अध्ययन गर्न सके गुफाका अरू तला पनि हुन सक्ने धुर्कोट गाउँपालिका–५ का वडाध्यक्ष केशव भण्डारीले बताए । गुफाभित्र फेला परेका संरचनालाई स्थानीयले सभाहल, रामजानकी आश्रम, शिवालय, स्वर्ग जाने बाटोलगायत नामकरण गरेका छन् ।
गुफाको मुख्य प्रवेशद्वारबाट झन्डै एक सय ५० मिटर भित्र पुगेपछि अत्यन्तै ठुलो सभाहलजस्तो स्थानमा पुगिन्छ । त्यहाँ दुई सय मानिस सजिलै अट्ने ठाउँ छ । नजिकै रहेका शिवलिंगसहितको मन्दिर, राम र कृष्णको प्रतीक, विभिन्न नागको आकृति, गोपीकृष्ण, जटायुलगायत आकृतिले पर्यटकलाई आकर्षण गर्ने गुफा संरक्षक तथा स्थानीय लालमणि भण्डारीले बताए । सभाहलमाथिको सिलिङ विभिन्न आकृतिका कलात्मक बुट्टाले भरिएको छ । बुट्टाहरूको बिचमा रातोमाटोले पोतेर सफा गरेको मण्डपसमेत छ । गुफामा फेला परेका आकृतिलाई नरसिंहावतार, कच्छ्यावतार, गोपीकृष्ण, जटायु, शिवलिंगलगायत नामकरण गरिएको र सोहीअनुसार प्रचार गरिएको भण्डारीले बताए ।
०६२/०६३ सम्म फड्के तरेर जोखिमपूर्ण यात्रापछि गुफामा पुग्नुपर्थ्यो । पर्यटन तथा संस्कृति मन्त्रालय र रुरु रेसुंगा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिलगायतबाट गुफा संरक्षणका केही काम भएका थिए । तीनै तहका सरकारबाट विचित्र गुफाको पूर्वाधार विकास, संरक्षण एवं प्रवर्द्धनका लागि काम भइरहेका छन् । धुर्कोट गाउँपालिकाले गुफासहितका धार्मिक तथा पर्यटकीय क्षेत्रको एकीकृत विकास योजना बनाएको छ । जसका लागि गुरुयोजनामार्फत विचित्र गुफा, ऐतिहासिक धुर्कोटको कोट, सहिदपार्क, धुर्कोटवाललगायत पुराना धार्मिक तथा ऐतिहासिक स्थलको विकास गर्न पूर्वाधार निर्माणका काम भइरहेको धुर्कोट गाउँपालिका प्रमुख भूपाल पोखरेलले जानकारी दिए ।
पछिल्ला वर्षमा गुफामा विदेशी नागरिकको समेत आकर्षण बढ्न थालेको छ । गत वर्ष जर्मन र फ्रान्सेली पर्यटक दुई टोलीले गुफाको भ्रमण गरेको गाउँपालिकाले जनाएको छ । प्रकृतिका अनुपम स्थानमा बढी रमाउने विदेशी पर्यटकका लागि विचित्र गुफा लोभलाग्दो छ । फ्रान्सेली नागरिक ८२ वर्षीया मार्गोले नेपाली मान्छे र नेपालको प्रकृति निकै आनन्ददायक रहेको प्रतिक्रिया दिइन् । ‘उमेरका कारणले पूरै गुफाभित्र पुग्न सकिनँ । जहाँसम्म पुगेँ र जे देखेँ, निकै सुन्दर तथा मनमोहक लाग्यो,’ उनले भनिन्, ‘साधनाका लागि पनि गुफाको बाहिरी वातावरण उपयुक्त रहेछ ।’
धुर्कोटको विचित्र गुफानजिकै मदानेको अरविन्द आश्रम छ । आश्रममा योग र साधनका लागि बर्सेनि सयौँ विदेशी पर्यटक आउने गर्छन् । उनीहरूलाई आश्रमसँगै नजिकका पर्यटकीय स्थलमा जोड्ने प्रयास भइरहेको अरविन्द आश्रमका स्वामी रामचन्द्र दासले बताए । दोभाषेको कामसमेत गरेका दासले गुफाको प्राकृतिक विचित्रताले फ्रान्सेली नागरिक निकै खुसी भएको प्रतिक्रिया दिए ।
गुफाको विकास गाउँपालिकाकै समृद्धिको आधार बन्न सक्छ । तर, अझै धेरै काम गर्न बाँकी छ । पछिल्लो समय गुफाको प्रचारप्रसार र विकासका लागि सूचना केन्द्र स्थापना गरिएको छ । प्राकृतिक रूपमै विचित्र रहेको गुफा प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । त्यसलाई थप व्यवस्थित गरेर प्रचारप्रसार गर्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारको ५० लाखको लागतमा सूचना केन्द्र निर्माण गरिएको छ । सूचना केन्द्रमा विचित्र गुफाका विषयसँगै धुर्कोटका पर्यटकीय क्षेत्रको जानकारीसहितको वृत्तचित्र प्रदर्शन गरिनेछ । अहिले भवनसहित पर्यटकलाई व्यवस्थित गर्न आश्रयस्थल निर्माणको काम भएको विचित्र गुफा व्यवस्थापन समितिका पूर्वअध्यक्ष युवराज भण्डारीले बताए ।
विचित्र गुफालाई थप आकर्षित गर्न झोलुंगे पुल निर्माण गरिएको छ । धुर्कोट गाउँपालिका–५ वस्तु र इस्मा गाउँपालिका–६ अमरपुर जोड्न तीन सय ७० मिटर लामो पुल निर्माण गरिएको छ । पुलले दुई पालिका जोड्नुका साथै विचित्र गुफालाई नजिक बनाएको छ । लामो पुल निर्माण भएपछि पुल घुम्ने र फोटो खिच्नेको संख्या बढ्दै गएको छ । नेपाल सरकार सहरी विकास मन्त्रालयको एक करोड ८९ लाखको लागतमा पुल निर्माण भएको हो । निलगिरि निर्माण सेवा प्रालिले निर्माण गरेको पुलमा करिब आठ सयजना एकपटकमा आउजाउ गर्न सक्छन् । पुलले पर्यटक मात्रै नभएर विद्यार्थी, किसान र सर्वसाधारणलाई समेत आवतजावतमा फाइदा गरेको स्थानीय व्यावसायी हुमकान्त भण्डारीले बताए ।