• वि.सं २०८१ कार्तिक २४ शनिबार
  • Saturday, 09 November, 2024
सुमन कट्टेल
२०८१ कार्तिक ३ शनिबार ०९:०६:००
सम्झना

जसले शिक्षाको जगमा इँटा थपे

२०८१ कार्तिक ३ शनिबार ०९:०६:००
सुमन कट्टेल

 

नेपालमा शिक्षाको धार एउटा त्रिचन्द्र कलेज र अर्को संस्कृत छात्रावास थियो । घरघरमा गुरुहरूले पढाएर धानिँदै आएको संस्कृत शिक्षालाई संस्थागत बनाउने प्रयास भइरहेकै वेला बाल ब्रह्मचारी षडानन्दले मन्दिर स्थापना गरी संस्कृत पाठशाला स्थापना गरेका थिए । उनले सामाजिक सुधारका धेरै काम गरेका थिए । यही पाठशालाको जगमा इँटा थप्नेमध्ये एक गुरु हुन्, भीमप्रसाद गौतम । गौतमको महाप्रयाणको ३८ वर्षपछि उनका चेलाचपेटा, नातागोताले उनको योगदान खोजेर प्रकाशमा ल्याएका छन् ‘भीमप्रसाद गौतम व्यक्ति एक दृष्टि अनेक’ कृतिका रूपमा । व्यक्तिको अवसान हुन्छ, तर उससँगै उसको कथाव्यथा, सफलता र योगदान अन्त हुनुहुँदैन । विगतकै जगमा वर्तमान उभिने हुँदा विगतमा आफूलाई उकास्नेहरूले कहिल्यै बिर्सिंदैनन्, बिर्सनु पनि हुँदैन ।

 

षडानन्दले स्थापना गरेको पाठशालाले दिङ्लामा मात्र नभई सिंगो मुलुक र भारतीय भूभागको समेत शैक्षिक विकासमा विशिष्टतम भूमिका निर्वाह गरेको थियो । यहाँ विभिन्न जातजातिका विद्यार्थी पढ्ने गर्थे, जहाँ व्याकरण, काव्य, कोष, वेद, साहित्य आदि पढाइ हुने गथ्र्यो । त्यति वेला यो पूर्वी नेपालको शैक्षिक केन्द्र नै थियो । यही केन्द्रमा अध्यापक भएर भीम गुरुले अनेकौँ विद्यार्थीलाई पढाए । त्यसपछि उनले धरानस्थित तत्कालीन चन्द्र साङ्ग वेद विद्यालय (हालको चन्द्र संस्कृत माध्यमिक विद्यालय) मा अध्यापन गरे । यी दुवै विद्यालयमा उनले पढाएका सयौँ विद्यार्थी अहिले विभिन्न क्षेत्रमा कार्यरत छन् । तिनकै जोडबलमा यो स्मारिका प्रकाशन भएको देखिन्छ । 

 

भीम गुरुलाई आचार्य तेस्रो वर्ष उत्तीर्ण नगरेकै आधारमा प्रधानाध्यापक बन्न नदिने राजनीतिक चक्रव्यूह बनेपछि वनारस गए । त्यहाँ वेदमा आचार्य मात्र गरेनन्, सर्वोत्कृष्ट भएर कुलपति पदकसमेत पाए । उनको यो कीर्ति गाउँमा अनेक किंवदन्ती बनेर अझै बाँचिरहेको छ । त्यसलाई पुस्तकमा समेट्न सके भावी पुस्ताले मानिस कसरी किंवदन्ती बन्छ भनेर थाहा पाउने थिए । 

 

गुरुको व्यक्तिवृत्तलाई जीवनी खण्डमा समेटिएको छ, जुन खण्डमा पाँच आलेख समेटिएका छन् । यसमा अत्रि गोत्रीय गौतम वंशवृक्षको सानोतिनो परिचय नै उत्थापन गरिएको छ । गोतामकोटबाट फैलिएका अत्रि गोत्रीय गौतमहरू नेपालभरि छरिएर रहेका छन् । प्रत्येक भूगोलमा हुर्कंदै गएका गौतम कुलको अनेक कथाउपकथा प्रचलित पाइन्छन् । सेनवंशीय राजाले गौतमका पुस्तालाई दिएको बिर्तामध्ये भोजपुरको दिङ्लामा एउटा हाँगो बसेको र त्यही हाँगाको एउटा पुस्ता भीमप्रसाद गौतम भएको वंशावलीले देखाउँछ । भीम गौतमका प्रपितामह शिवनिधि दिङ्लाका पर्याय बनेका बाल ब्रह्मचारी षडानन्दका समकालीन देखिन्छन् भने नाताले भिनाजु पर्दछन् । भीम गुरुले षडानन्द पाठशालामा २०१३ देखि २०२८ सम्म अध्यापन गरेको देखिन्छ । षडानन्द पाठशालालाई महाविद्यालय बनाउने प्रयासमा पनि भीम गुरुको संलग्नता देखिन्छ । यद्यपि यो प्रयास सफल भएन । विद्यालयलाई र अनेक राजनीतिक तानातानका कारण आफूलाई प्रधानाध्यापक बन्न नदिएपछि धरानमा रहेको चन्द्र साङ्ग वेद विद्यालयमा आएको देखिन्छ । त्यहीँ सेवारत रहँदारहँदै ६० वर्षको उमेर उनी शिवमा लीन भए ।

 

कुनै पनि व्यक्तिलाई उनको शेषपछिको कृतिले सम्पूर्णतामा चित्रण गर्न सक्दैन । कतिपय तथ्य नै सही फेला पर्दैनन् । भावातिरेकमा कसैले देवत्वकरण गर्छन् भने मन नपर्नेले राक्षसीकरण गर्न पनि बाँकी राख्दैनन् । तर पनि समाजमा केही काम गरेको मान्छेलाई समाजले नै सम्झँदो रहेछ । गुन तिर्ने नेपाली संस्कार अझै जीवित छ भन्ने कुरा भीम गुको सम्झनामा प्रकाशित संस्मरणात्मक कृतिले पुनर्पुष्टि गरेको छ । 

 

‘भीमप्रसाद गौतम व्यक्त एक दृष्ट अनेक’ पुस्तकलाई जीवनीखण्ड, संस्मरण खण्ड, कविता खण्ड र परिशिष्ट गरी विभिन्न भागमा बाँडिएको छ । यस्तो संस्मरणात्मक कृतिको संयोजन निकै चुनौतीपूर्ण हुन्छ । खासगरी महत्वपूर्ण कुरा छुट्ने, आवश्यक व्यक्तिको लेख संकलन गर्न गाह्रो पर्ने, लेखमा पुनरावृत्तिको समस्या हुनेजस्ता समस्या हुन्छन् । यस्ता कृतिको सम्पादकले प्रशंसाभन्दा ज्यादा गाली नै खाने गरेको पाइन्छ । यसमा त्यस्तो कम भएको छ कि भन्ने देखिन्छ । यद्यपि छुटेका संस्मरण र तथ्यलाई थपिँदै जाने दृढता प्रकाशक र आफन्तले दिएका छन् । 

 

यो स्मृतिग्रन्थ भएकाले यसमा वंशावली र गौतमसँग सम्बन्धित चित्र पनि समावेश गरिएका छन् । आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानद्वारा प्रकाशित ३५४ पृष्ठको यो स्मृतिग्रन्थ दिङ्ला र भोजपुरको सेरोफेरोमा इतिहास, गौतम वंशावली र भोजपुरमा शिक्षाको प्रसार तथा पूर्वी नेपालमा संस्कृत भाषाको इतिहास वर्तमानबारे जानकारी राख्न चाहने जोकोहीका लागि पठनीय देखिन्छ । विद्या शरीरसँगै बिलाएर जान्छ, तर जसले विद्यावंश विस्तार गरेको छ, ऊ धर्तीमा विलीन हुँदा पनि मानिसहरूका मनमा बााँचिरहन्छ । यस्ता इतिहास पुरुषलाई कालकवलित हुन नदिन पुस्तक लेख्नुपर्छ, लेखाइनुपर्छ । एकातिर यसले भाषालाई जोगाउँछ, अर्कातिर व्यक्तिलाई मर्न दिँदैन । यो प्रयास स्तूत्य छ ।