• वि.सं २०८१ कार्तिक २४ शनिबार
  • Saturday, 09 November, 2024
अन्वेषण अधिकारी
२०८१ कार्तिक ३ शनिबार ०९:४५:००
साहित्य

कांग्रेस नेता चन्द्र भण्डारीलाई मन परेका पुस्तक

२०८१ कार्तिक ३ शनिबार ०९:४५:००
अन्वेषण अधिकारी

 

पूर्वीय दर्शनका पुस्तकले दर्शन र विज्ञान बुझाउँछन् 

 

मलाई पूर्वीय दर्शनका पुस्तक मन पर्छ । रामायण र महाभारतका प्रसङ्ग अद्भूत छन् । यसमा सारा ब्रह्माण्डको चर्चा छ । दृष्टिकोण, मूल्य–मान्यता, नैतिकता, दायित्व, दूरदर्शिता, विकासको मोडलबारे निकै स्पष्ट गरी लेखिएको छ । वेद,  रामायण, महाभारत, चाणक्यको अर्थशास्त्रलगायत पूर्वीय दर्शनका पुस्तक पढ्न सबैलाई सिफारिस गर्छु । यसले हामीलाई दर्शन र विज्ञान बुझाउँछ ।  दुःख  के हो ? सुख के हो ? सफलताले पनि कसरी वैराग्य ल्याउँछ ? लगायत धेरै विषय समेटिएका छन् । यी पुस्तक हरेकले पढ्नैपर्छ ।

 

देवकोटाका कृतिहरू : महाकवि लक्ष्मीप्रसाद देवकोटाका सबै कृतिहरू विशेष लाग्छन् । उहाँको दृष्टिकोण र लेखन अद्भूत छ । उहाँले कुनै समय ‘कुन मन्दिरमा जान्छौँ यात्री...’ लेख्नुभयो । जीवनको अन्त्यमा ‘रहेछ श्रीकृष्ण एक भनेर...’ पनि लेख्नुभएको छ । ‘मुनामदन’ नेपाली साहित्यमा सबैभन्दा धेरै रुचाइएको कृति हो । उहाँका निबन्धहरू पनि निकै उत्कृष्ट छन् । उहाँ एउटा अद्भूत व्यक्तित्व हुनुहुन्छ । 

 

अ बेटर इन्डिया अ बेटर वर्ल्ड : एनआर नारायण मुर्थीको यो पुस्तकमा कठिन समस्याको समाधान उल्लेख छ । भारतीय संस्कृति, भारतीय समाज, सम्पत्तिको असमान वितरण, धनी र गरिबले पाउने सेवा–सुविधाको खाडललगायत विषय यसमा छ । यो खाडललाई कसरी पुर्न सकिन्छ भन्ने विषयमा चर्चा गरिएको छ । नेपालका हकमा पनि यो पुस्तक निकै सान्दर्भिक हुन्छ भन्ने लाग्छ । पुस्तकले समृद्धिको सपना पूरा गर्ने मौलिक तरिका प्रस्तुत गरिएको छ । 

 

बिपीको आत्मवृत्तान्त : बिपीको आत्मवृत्तान्त निकै मन पर्छ । यसमा उहाँको राजनीतिक–सामाजिक जीवन र संघर्ष छ । उहाँ कसैसँग पनि झुक्नुभएन । विदेशी राष्ट्राध्यक्षहरूसमक्ष पनि आफ्नो अडान र दृष्टिकोण सधैँ स्पष्ट गरी राख्नुभयो । नेपालको राजनीति बुझ्नका लागि यो पुस्तक निकै उपयोगी छ । साहित्यमा पनि बिपीको विशेष योगदान छ । 

 

ब्ल्याक होल्स एन्ड बेबी युनिभर्सेस् एन्ड अदर एस्सेज : भौतिकशास्त्री स्टेफेन हकिङका पुस्तकमध्ये ‘ब्ल्याक होल्स एन्ड बेबी युनिभर्सेस् एन्ड अदर एस्सेज’ निकै मन परेको पुस्तक हो । यो चर्चित पुस्तक उनका लेख–निबन्ध र भाषणको सँगालो हो । उनले ब्ल्याक होल्सको निर्माणबारे यसमा गहन चर्चा गरेका छन् ।

 

अ प्रमिस्ड ल्यान्ड : अमेरिकाका ४४औँ राष्ट्रपति बाराक ओबामाका पुस्तकले धेरै युवालाई सपना देख्न प्रेरित गर्छन् । उनी अमेरिकी समाजलाई परिवर्तन गर्न सक्ने मानिस हुन् । अमेरिकामा अश्वेतहरूको एउटा सपना थियो । श्वेत र अश्वेत सँगसँगै अघि बढ्न पाऊन् । उनीहरूले मिलेर देशको भविष्य निर्माण गरून् । ओबामा त्यो सपनाको प्रतीक हुन् । 

 

विचार विज्ञान : यो पुस्तकमा विचारशक्तिको वर्णन छ । जीवन–दर्शनको कुरा छ । यसले मानिसलाई निकै ऊर्जाशील बनाउँछ र सत्मार्गमा लाग्न प्रेरित गर्छ । खप्तड स्वामीका यस पुस्तकका चारवटै भाग उत्तिकै महŒवपूर्ण भएकाले सबैलाई पढ्न सिफारिस गर्छु । 

 

महात्मा गान्धीको जीवनी : अहिंसात्मक विद्रोहमार्फत भारत स्वतन्त्र गराउन निर्णायक भूमिका खेलेकाले महात्मा गान्धीलाई आदर्श व्यक्तिका रूपमा लिइन्छ । ‘सादा जीवन उच्च विचार’ भन्ने गान्धीको मान्यता प्रसिद्ध छ । तर, कोही पनि मानिस देखेजस्तो आदर्शवादी हुँदैन  । आफ्नो आत्मवृत्तान्तमा आफ्ना कमजोरीबारे पनि खुलेरै लेखेका छन् ।