• वि.सं २०८१ मङ्सिर ६ बिहीबार
  • Thursday, 21 November, 2024
नयाँ पत्रिका
२०८१ कार्तिक ३ शनिबार १०:०५:००
फिल्म

निर्माता रवीन्द्रसिंह बानियाँको प्रश्न, निर्देशक प्रदीप भट्टराईको उत्तर 

तपाईँको प्राथमिकता स्क्रिप्ट कि पैसा ?

२०८१ कार्तिक ३ शनिबार १०:०५:००
नयाँ पत्रिका

 

तपाईंले पाँचवटा फिल्म कमेडी जनराको बनाउनुभयो । अरू जनराका फिल्म बनाउन रुचि नभएर कि नचल्ला जस्तो लागेर ?

 

अहिले जुन जनरामा काम गरिरहेको छु, यसैलाई दर्शकले रुचाइरहेका छन् । तर, रुचाए भनेर यसैमा रमाइराख्नुहुँदैन भन्ने लाग्छ । यसमा म सचेत छु । अर्काे जनरामा काम गर्दा मैले विश्वास दिलाउन सक्नुपर्छ, नत्र फसिन्छ । मेरो पहिलो सिनेमा ‘जात्रा’ सोसियल ड्रामा भए पनि कमेडी फ्लेबर को हो । फ्लेबर कमेडी भएकाले सबैलाई रमाइलो लाग्यो । दर्शकले रुचाए पनि । त्यसपछि मलाई मान्छेहरूले कमेडी फिल्म बनाउँछ भने । त्यसैमा म आफू पनि हौसिएँ । मलाई पैसा आर्जन भइरह्यो । मलाई अरू जनरामा पनि फिल्म बनाउन मन नभएको होइन । म अरू जनराको सिनेमा बनाउनबाट भागेको पनि होइन । बाघसँग भाग्छु भन्नुको मतलब डराएर होइन, सुरक्षित हुन हो । जुनसुकै विषयमा फिल्म बनाउन सजिलो हुँदैन । कथासँग लड्न सक्नुपर्छ । निर्देशकको रूपमा फरक–फरक जनरामा कथामा भन्न सकियो भने गजब हुन्थ्यो । हामी सबै सिक्ने प्रक्रियामा छौँ । 

 

पछिल्लो समय केही नेपाली सिनेमा अन्तर्राष्ट्रिय फिल्म फेस्टिलभलमा पुगिरहेका छन् । तपाईंलाई चाहिँ ती फेस्टिभलमा फिल्म लैजानुपर्छ भन्ने सोच आएन ? 

 

हामी पनि फेस्टिभलकै लागि फिल्म बनाइरहेका छौँ । तर, दसैँतिरको फेस्टिभलको लागि मात्रै । मलाई पनि बाहिरको फिल्म फेस्टिभलमा जाने इच्छा नभएको होइन । विश्वमञ्चमा नेपाली सिनेमाले अझै बलियो उपस्थिति जनाउन सकेको छैन । अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ‘गाउँ आएको बाटो’, ‘साम्बाला’, ‘पूजा सर’लगायत सिनेमाहरू पुगे । यो आफैँमा नेपाली सिनेमा क्षेत्रका लागि ठुलो उपलब्धि हो । अझै हामीले अन्तर्राष्ट्रिय मञ्चमा बलियो उपस्थिति जनाउन सकियोस् भन्ने लाग्छ । मलाई विश्वमञ्चमा पुग्ने सिनेमा बनाउने ‘कन्फिडेन्ट’ नभएको होइन, त्यो मेरो लागि असम्भव पनि छैन । तर, कमजोर भएर नजाऔँ भन्ने लागिरहन्छ । त्यो पनि समय आउला । हामी सिक्ने प्रक्रियामै छौँ । पाँचवटा फिल्म गर्दा धेरै सिकियो । दर्शकको नाडी छामियो । निर्मातालाई कसरी सुरक्षित गर्ने भन्ने पनि सिकियो ।

 

तपाईं सिनेमा लेख्दा कुन पक्षलाई बढी ध्यान दिनुहुन्छ ?

 

निर्देशकले सिंगो सिनेमाको पक्ष हेर्नुपर्छ । फिल्म मेकिङ सिर्जनात्मक प्रक्रिया हो । साथसाथै प्राविधिक प्रक्रिया पनि हो । कहिलेकाहीँ लेख्दै गर्दा ‘हेब्बी’ सिन पनि आउँछन् । तर, ग्राउन्ड रियालिटी बुझ्छु । निर्देशकले भनेको हुनैपर्छ भन्ने लाग्दैन । कतिपय सिन निर्मातालाई भारी हुन्छ । यसमा लाग्ने खर्च उठाउन पनि गाह्रो हुन्छ । कतिपय सिन रियालिटीमा गर्न नसक्ने बन्न सक्छ । लेख्दै गर्दा निर्मातालाई भारी पर्ने सिन आयो भने विकल्प खोजिहाल्छु । मलाई यही चाहिन्छ भन्ने हुँदैन ।

 

कतिपय निर्देशकले आत्मसन्तुष्टिका लागि र कतिपयले दालभातका लागि फिल्म बनाउँछु भनेको सुनिन्छ । तपाईंचाहिँ खास केका लागि सिनेमा बनाउनुहुन्छ ? 

 

गरेको कामले परिवार पनि चल्नुपर्छ । पेटका लागि काम गर्दा पनि बाहिर मुख देखाउन सक्ने हुनुपर्छ । भात खान गरेको कामले प्रश्न आउन हुँदैन । हामी सिनेमा मेकिङ सिक्ने क्रममा छौँ । न हाम्रो साहित्य धनी छ, न संगीत नै । सिनेमा साहित्य र संगीत जोडिएर आउने हो । साहित्य र संगीत जहाँको त्यहीँ भयो भने सिनेमा कतै पुग्दैन ।

 

सिनेमा समाजका लागि पनि हुनुपर्छ । मैले बनाएको सिनेमा चलेका पनि छन् । तर, ती सिनेमा समाजप्रति कति उत्तरदायी बने भन्ने प्रश्न आउने गर्छ । देशको पछिल्लो परिस्थितिसँग हाम्रो सिनेमाको कतै लेनदेन रहेनछ । नेपालका युवाशक्ति विदेश गइरहेका छन् । सबै सुन्दर भविष्यको कल्पना गरेर गएका होलान् । तर, त्यो नेपालमै सम्भव छैन ? प्लस टु पढेर गएकाहरू के सोचेर गए होलान् ? शासकले विकल्प किन दिन नसकेका होलान् ? यस्ता गम्भीर विषयमा हामी मेकर चुकिरहेका छौँ । यस्ता खालको सिनेमा बनाउन पाए हुन्थ्यो ।

 

तपाईंका पाँचवटा फिल्म व्यावसायिक रूपमा सफल भइसकेका छन् । भित्री मनैदेखि बनाउन मन लागेको फिल्म अब बाँकी छ कि छैन ?

 

‘जात्रा’ बनाउँदा धेरै कुरा थाहा थिएन । फिल्म चल्न यस्तो हुनुपर्छ भन्ने ज्ञान थिएन । ‘जात्रा’मा गीत थिएन । कुनै तडकभड थिएन । र, पैसा कमाउँछ भन्ने आशा पनि थिएन । बजारको कुनै दबाब थिएन । आशा नभएपछि मनले काम गरिने रहेछ । ‘जात्रा’ मेरो मनबाट बनेको फिल्म हो । तर, यो फिल्मबाट यति पैसा उठाउनुपर्छ भन्ने भएपछि धेरै कुरा हाबी हुने रहेछ । मैले ‘शत्रुगते’ बजारको लागि बनाएको फिल्म थियो । धेरै चलेका कलाकार राखेर काम गरेँ । जसरी पनि पैसा धेरै कमाउनुपर्छ भन्ने सोच राखेर बनाइएको थियो । पैसा कमाउन सफल पनि भइयो । ‘जात्रा’को दोस्रो सिक्वेल बनाएँ । दर्शकको माग पनि थियो । दोस्रो सिक्वेल इमानदारिता नगुमाई बनाएँ । यो पनि रमाइलो बन्यो । 

 

त्यसपछि चौथो फिल्म ‘महापुरुष’ बनाएँ । व्यावसायिक रूपमा सफल भयो । म आफूलाई निर्देशकको रूपमा हेर्दा ‘ग्रोथ’ भएको देख्छु । बक्स अफिसमा एकपछि अर्काे फिल्मले राम्रो गरिरहेको छ ।

 

नेपाली फिल्म उँभो लागेन, स्क्रिप्ट लेख्ने मान्छे भएन, कलाकार छैन, निर्माताले पैसा हाल्दैन भनेको धेरै सुनिन्छ । केही प्रतिशत दोषी निर्माता पनि देख्छु । यसमा निर्देशकको दोष कति देख्नुहुन्छ ? 

 

सिनेमा बनाएपछि आर्थिक रूपमा रिटर्न हुनुपर्छ । फेस्टिभलमा गएका सिनेमाहरूले पनि फन्ड जति उठ्छ, त्यहीअनुसारको फिल्म बनाइरहेका छन् । सिनेमामा व्यावसायिकतासँगै कलात्मक कुरा थप्ने हो । कतिपय फेस्टिभल गएका सिनेमेकरले सिनेमामा कलात्मकबाहेक अरू हाल्दैनौँ भनेको सुनिन्छ । म इमानदर भएर सिनेमा बनाइरहेको छु । सिनेमाले बजारबाट पैसा उठाउनुपर्छ । साथै बजारमा बेच्दा कलात्मक हुनुपर्छ भनेर बनाउँछु । विदेशी फेस्टिभलमा गएका फिल्मलाई डकुमेन्ट्रीजस्तो भनेको पनि सुनिन्छ । सिनेमामा कम डाइलग हुनुपर्छ, एउटा पनि गीत हुनुहुँदैन भन्ने समीक्षक पनि छन् । यस्तो हुनुको पछाडि हामी आफैँमा समस्या देख्छु । हामीले अन्तर्राष्ट्रिय बजार पनि बनाउनुपर्छ । दुवैलाई सन्तुलन मिलाएर जानुपर्छ भन्ने लाग्छ । फिल्ममेकरले कथालाई न्यायपूर्ण रूपमा उठायो कि उठाएन भन्ने महत्वपूर्ण हो । 

 

तपाईं सिनेमा बनाउँदा कथा, पैसा र टिम कुनलाई प्राथमिकता दिनुहुन्छ ? 

 

मेरो पहिलो र अन्तिम सर्त नै स्क्रिप्ट हुन्छ । त्योबाहेक अरू सर्त हुँदैन । राम्रो स्क्रिप्ट हात पर्‍यो भने कहिले गर्ने ? कति पैसामा गर्ने पछिको कुरा रह्यो । चित्त बुझ्ने स्क्रिप्ट आयो भने दुई महिनामै पनि सुटिङमा जान सक्छु । म एउटा मान्छेले कोठामा बसेर लेखेको स्क्रिप्टले सिनेमा राम्रो बन्दैन भन्नेमा ढुक्क छु । स्क्रिप्ट राम्रो हुन एउटा मजबुत टिम चाहिन्छ । त्यसका लागि पर्याप्त समय दिनैपर्छ । पहिले सिनेमा एकजना निर्देशकले बनाउने हो भन्ने लाथ्यो । काम गर्दै जाँदा टिमले बनाउने रहेछ भन्ने बुझेँ ।

 

अहिले नेपाली सिनेमामा खड्किरहेको विषय के हो ? 

 

अहिले नेपाली सिनेमामा कन्टेन्टको अभाव छ । त्यो भनेको स्क्रिप्टको खडेरी छ । सिनेमा क्षेत्रमा खड्केको नै स्क्रिप्ट हो । हामीसँग धेरै जनशक्ति छ । राम्रो स्क्रिप्ट हात पर्‍यो भने दुई महिनामा टिम तयार गर्न सकिन्छ । अहिले टिम बनाउन सजिलो छ । सिनेमाका लागि कलाकारले समय मिलाउनै मुस्किल हुन्छ भन्नुपरेको छैन । प्रविधिको अभाव छैन । आर्थिक रूपमा पनि अभाव देख्दिनँ । मुख्य कुरा हामीलाई स्क्रिप्टको अभाव छ । राम्रो स्क्रिप्ट लेख्ने मान्छेको खडेरी नै छ । राम्रो स्क्रिप्टलाई ३० लाख दिँदा पनि फरक पर्दैन । आइडिया गजब छ, त्यसलाई अलि ट्रिटमेन्ट गर्‍यो भने राम्रो हुन्छ जस्तो लाग्यो भने पनि १५–२० लाख दिँदा फरक पर्दैन । अहिले स्क्रिप्ट राइटिङमा भविष्य राम्रो देख्छु । नयाँ पुस्ता मिहिनेत गरेर स्क्रिप्ट राइटिङमा लाग्दा हुन्छ ।

 

नेपाली निर्मातालाई तपाईंको सुझाब के छ ? 

 

फिल्म बनाउनुअघि नै निर्माताको नियत क्लियर हुनुपर्छ । समाजका लागि योगदान पनि हुन्छ, पैसा रिटर्नको मतलब छैन भन्ने पनि होलान् । पैसा कमाइयो, अब नाम हुनुपर्छ भन्ने पनि छन् । तर, अन्तिममा पैसा नै हो । सिनेमाले पैसा नउठाउँदा तपाईंले सिंगो क्षेत्रलाई गाली गर्नुपर्छ । सिनेमा नचल्दा नाम होइन, बदनाम हुन्छ । आज रहरले बनाए पनि भोलि खोज्ने रिटर्न नै हो । त्यसैले फिल्म बनाउनुअघि बुझेर आउनुपर्छ । सिनेमा नचल्दा केही रिटर्न हुँदैन । सिनेमामा हात हाल्दा पूर्वजानकारी धेरै राख्नुपर्छ । अन्धाधुन्ध आएर ६ महिनाभित्र काम सक्छु भनेर निर्देशक र कलाकार जम्मा गरी फिल्म बनाउँदा राम्रो बन्दैन ।