यस वर्षको दसैँ बिदाको छेकोमा गोसाइँकुण्डको रमाइलो यात्रा गर्ने अवसर जुर्यो । काठमाडौंदेखि करिब पाँच घण्टा लामो सडक यात्रापछि पुगियो रसुवाको सदरमुकाम धुन्चे । २००० मिटर उचाइको धुन्चेबाटै सुरु हुँदोरहेछ गोसाइँकुण्ड जाने पदयात्रीको ताँती ।
धुन्चेबाट झन्डै एक घण्टाजति केही तेर्सो र केही ओरालो हिँडेपछि पुगिने १९६० मिटरमा अवस्थित घट्टेखोलाबाट त्रिशूली नदीको सुसाहटसँगै सुरु हुँदोरहेछ गोसाइँकुण्डको वास्तविक पदयात्रा । यहाँबाट करिब दुई घण्टाजति हिँडेपछि पुगिने २३०० मिटरको उचाइमा रहेको खेन्दीमा पनि खाने, बस्ने राम्रो सुविधासहितका होटेल उपलब्ध रहेछन् ।
घट्टेखोलादेखि उकालिँदै गर्दा दायाँबायाँ देखिने विभिन्न जंगली फूलका ताँतीले पदयात्रीलाई गोसाइँकुण्डसम्मै पछ्याउँछन् । हेर्दै टप्पटप्प टिपेर पर्याकपुरुक पारेर ढिँडोको सितन बनाइहालौँजस्तो लाग्ने कलकलाउँदा सिस्नोको मुन्टा देख्दा त्यतै बसेर सिस्नोको तरकारी र फापरको ढिँडो खाइदिऊँजस्तो त पाइलैपाइलामा लागिरह्यो । बाटाको दायाँबायाँ यत्रतत्र फैलिएका अल्लोको झाडी देख्दा आजभोलि बजारमा अल्लोका कपडाको माग बढ्दै गएको सम्झना आयो ।
२५०० मिटर उचाइमा अवस्थित देउराली पुग्दासम्म लगाएका लुगासमेत भारी हुन थालिसकेका थिए भने बोकेका झोला पनि त्यतै फालेर हिँडौँ कि जस्तो हुन थालिसकेको थियो । देउरालीमै बसौँ भने पनि होटेलको राम्रो सुविधा रहेछ । तर, लक्ष्य चन्दनबारीसम्म पुग्ने भएकाले हामी केहीबेर आराम गरेर फेरि उकालियौँ । गोसाइँकुण्ड पुगेर फर्किएका हँसिला अनुहार तलैदेखि बारम्बार भेटिन्थे । सायद उकालिँदै गरेका हाम्रा थकित अनुहार देखेर होला उनीहरू एक झल्को फिस्स हाँस्थे र ओरालो लाग्थे । उकालिँदै गरेका हाम्रो टोलीका ११ जनाबाहेक पनि बाटामा कोही अगाडि त कोही पछाडि ठसठस कन्दै उकालो लाग्ने पदयात्री कति भेटिन्थे कति !
देउरालीबाट उकालिँदै गएपछि भने दिनले पनि साथ छाड्यो । बिस्तारै अँध्यारो बढ्दै गयो । अँध्यारोसँगै शरीरको थकान चर्किँदै थियो । खुट्टाले त्यतै कतै बसौँजस्तो गर्न थालिसकेका थिए । गन्तव्य चन्दनबारी कति टाढा छ, अत्तोपत्तो थिएन । जति हामी उकालिँदै थियौँ, स्याँस्याँ बढ्दै थियो, पाइलाहरू छोटिँदै थिए । जसोतसो घिस्रिँदै जाँदा पुगियो, २९०० मिटर उचाइमा रहेको डिम्सा । यहाँ पनि केही होटेलहरू आन्तरिक र बाह्य पर्यटक पर्खेर बसेका रहेछन् । ११ जनाको टोलीका आठजनालाई चन्दनबारीतिर पठाएर हामी हिँड्ने शक्ति सकिएका तीनजनाचाहिँ यहीँको डिम्सा लामा होटेलको शरणमा पुग्यौँ । आठ सय रुपैयाँमा गाँस र बास पाइँदोरहेछ । तात्तातो खाना खाएर गुँडुल्कियौँ काठैकाठले बनेको कोठामा ।
बिहान साढे चार बजेतिर उठ्दा हिजोको थकान छुमन्तर भइसकेको थियो । करिब पाँच बजेतिर हामी उकालियौँ चन्दनबारीतिर । जहाँ हामीले भेट्नु थियो हिजो छुट्टिएका टोलीका साथीहरूलाई । अँध्यारामा मोबाइल बालेर उकालो चढ्दै जाँदा करिब ४० मिनेटमा हामी पुग्यौँ ३२५० मिटर उचाइमा रहेको चन्दनबारीको होटेल याक एन्ड नाकमा । ब्रेकफास्टपछि दोस्रो दिनको यात्रा सुरु भयो ।
होटेलबाट निस्किएर थोरै माथि उक्लिनासाथ नजिकै मुस्कुराइरहेका गणेश, मनास्लु, लाङटाङलगायत हिमालले हामीलाई स्वागत गरे । कतै अग्ला पहाड, कतै हिमाल त कतै वनजंगल र पातला बस्तीले हामीलाई उकालिन हौसला थपिरहे ।
झन्डै दुई घण्टापछि पुगियो ३५५० मिटर उचाइमा रहेको मनोरम चोलाङपाटी । यहाँबाट उत्तरतिर हेर्दा देखिने हिमालको मोहनीले हिँडाइको थकान मेटिदियो । यही चोलाङपाटीबाटै सुरु हुँदोरहेछ लौरीविनाको उकालो । उकालो जति चढ्दै गयो, चारैतिरको मनोरम दृश्यको मोहनी पनि बढ्दै थियो । एकातिर बाक्लो हुस्सुले लुकामारी खेलिरहेको थियो भने अर्कातिर ३९०० मिटरको उकालोले सातो लिइरहेको थियो । नचिनिएका मसिना लेकाली फूलको कडा बास्नाले नाकमा आक्रमण गरिरहेको थियो । एक–दुई पाइला सार्नासाथ सासै रोकिएलाजस्तो हुन्थ्यो । एकछिन रोकियो, एक–दुई पाइला सार्यो । उकालो चढ्ने सबै पदयात्रीको हालत यस्तै थियो । गोसाइँकुण्ड पुगेर झर्ने पदयात्री भने ओरालोमा मुस्कुराउँदै हामीलाई ‘टिप्स’ दिइरहेका थिए । सित्तैँमा पाइने टिप्स थाप्दै हामी उकालो चढिरह्यौँ ।
लौरीविनामा पनि केही होटेल अतिथि सत्कारमा तल्लीन थिए । उकालिने कतिपय पदयात्री यतै खाना खाँदै थिए भने कतिपयचाहिँ गोसाइँकुण्डै पुगेर खाने अठोटसाथ उकालिइरहेका थिए । हाम्रो टोली पनि दुई खेमामा बाँडियो । आधाउधीले लौरीविनामै खाना खाए भने आधाउधीचाहिँ भोकै पेट जिद्दी गरेर उकालियौँ ।
४१५० मिटरको उचाइमा रहेको बुद्ध मन्दिर पुगेपछि ठाडो र चुनौतीपूर्ण लौरीविनाको उकालो सकिँदोरहेछ । यहाँबाट हिँड्न सक्नेलाई करिब एक घण्टा टाढा रहेछ, गोसाइँकुण्ड । तर, हिँड्न नसक्नेलाई भने दुई घण्टाभन्दा बढी नै लाग्दो रहेछ ।
करिब १:४५ तिर हामी ४३८० मिटर उचाइमा अवस्थित गोसाइँकुण्ड पुग्यौँ । पौराणिक कथनअनुसार समुद्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरेपछि विषको पीडा शमन गर्न शीतल ठाउँको खोजीमा भौँतारिएका भगवान् शिव अहिले गोसाइँकुण्ड रहेको स्थानमा पुग्दा पानीसमेत पिउन पाएनन् । प्यासले रन्थनिएका शिवले नजिकैको ढुंगामा त्रिशूल घोप्दा त्यहाँबाट तीन धारामा पानी निस्कियो र नजिकैको गहिरो स्थानमा जमेर अहिलेको कुण्ड बन्यो । त्यही त्रिशूल धाराबाट निस्केको पानी पिएर नजिकै बनेको कुण्डमा सुतेर शिवले विषको पीडा शमन गरे भन्ने कथा सुनिन्छ । कुण्डमा सुतेर शिवले विषको पीडा शमन गरे कि गरेनन्, थाहा भएन । तर, लगातारको हिँडाइबाट उत्पन्न हाम्रो थकान भने त्रिशूली नदीको उद्गमस्थल गोसाइँकुण्ड र नजिकैको भैरवकण्ड देखेपछि त्यत्तिकै कता बिलायो, कता !
यो पदयात्रा एकातिर धार्मिक आस्थाका कारण महत्वपूर्ण छ भने अर्कातिर प्राकृतिक सुन्दरता र अनौठो विकट भूगोलका कारण पनि रोमाञ्चक छ । तसर्थ, धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको संगम नै हो गोसाइँकुण्ड यात्रा भन्दा अत्युक्ति नहोला ।
पहिले–पहिले दशहरा र जनैपूर्णिमामा मात्र भिडभाड हुने गोसाइँकुण्ड पदयात्रामा हिजोआज पुस, माघ र फागुन महिनाबाहेक प्रायः पदयात्रीको चाप उस्तै हुन्छ । काठमाडौंदेखि धुन्चेसम्म जान नुवाकोटको सदरमुकाम विदुर हुँदै जानुपर्छ । विदुरसम्म पुग्न तीनवटा सडक चल्तीमा छन् । काठमाडौंको बालाजुदेखि ककनी, रानीपौवा हुँदै जाने सडक सबैभन्दा पुरानो हो । तर, हाल यो सडक त्यति चल्तीमा छैन र अन्य सडकभन्दा अलि लामो पनि छ । काठमाडौंबाट धादिङको गल्छी पुगेर त्यहाँबाट देवीघाट हुँदै विदुर जोडिने यो सडक चल्तीमा छ । कतिपय पदयात्रीले यही सडक प्रयोग गर्छन् । अहिले सबैभन्दा बढी चलेको सडकचाहिँ काठमाडौंको टोखाबाट शिवपुरी राष्ट्रिय निकुञ्जको गुर्जेभन्ज्याङ, नुवाकोटको छहरे, ढिकुरे हुँदै जाने सडक हो । जब रसुवाको सदरमुकाम धुन्चे नजिकिँदै जान्छ, तब यो सडकको दुरावस्था सुरु हुन्छ । दैनिक हजारौँ स्वदेशी तथा विदेशी पर्यटकले यात्रा गर्ने सकडको यो कन्तबिजोगबारे स्थानीय, प्रदेश र संघ तीनै तहका सरकार र जनप्रतिनिधिहरू बेखबर देखिन्छन् । चीनसित हुने आयात–निर्यात यही नाकाबाट हुने भएकाले पनि यो सडकको मर्मत तत्काल गर्नुपर्ने खाँचो देखिन्छ ।
होटेलको अवस्था
गोसाइँकुण्डसम्मको पदयात्रामा ठिकठिक दूरीमा होटेल तथा लज सञ्चालित छन् । घट्टेखोला, खेन्दी, देउराली, डिम्सा, चन्दनबारी, चोलाङपाटी, लौरीविना र गोसाइँकुण्ड गरी फरक–फरक १० स्थानमा सुविधासम्पन्न होटेलहरू छन् । जसले गर्दा खाना र वासको कुनै चिन्ता छैन । जतिजति उकालो बढ्दै जान्छ, होटेलको खाना र वासको मूल्य पनि त्यति नै बढ्दै जाँदो रहेछ । पदयात्राका क्रममा पुगिने हरेक होटेलमा लगभग एकैप्रकारको खानाको ‘मेनु’ भेटियो । खानामा कुनै भेराइटी छैन । जहाँ खाँदा पनि एउटै होटेलमा खाइरहेजस्तो लाग्छ । खानाका सबै सामान धुन्चेबाट खच्चडले ओसार्नुपर्ने रहेछ । तर, स्थानीय वन तथा करेसामा लहलहाइरहेको सिस्नु, स्थानीय बारीमा खेती हुन सक्ने फापर आदिको प्रवद्र्धनतर्फ चाहिँ कसैको पनि ध्यान गएको देखिएन । सिस्नु र फापरको ढिँडोको स्वाद चखाउन पाए एकातिर स्थानीय उत्पादनको बजार प्रवद्र्धन पनि हुने र अर्कातिर पदयात्रीले फरक अर्गानिक खानाको स्वाद लिन पनि पाउने थिए । यसतर्फ होटेल सञ्चालक, रैथाने किसान तथा स्थानीय सरकारले पहल गर्नुपर्ने देखिन्छ ।
फोहोरको समस्या
पदमार्गमा पदयात्रीको चाप जतिजति बढ्दो छ, यो मनोरम प्राकृतिक भूभागमा फोहोरको मात्रा पनि त्यति नै बढ्दो क्रममा छ । यहाँ पनि ठाउँ–ठाउँमा फोहोर फाल्ने ठाउँ बनाइदिएको भए पनि जथाभावी फोहोर फालेको पाइन्छ । जताततै चकलेट, चाउचाउ आदि जंकफुडको प्याकेट, मिनरल वाटरका बोतल, रेडबुलका क्यान आदि फ्याँकिएको भेटिन्छ । पदमार्ग सफा राख्न सघाउनु आफ्नो पनि दायित्व हो भन्ने पदयात्रीले भुसुक्कै बिर्सँदा यो समस्या आएकोमा शंका छैन । होटेलमा बाहेक अन्यत्र सार्वजनिक शौचालयको पनि अभाव रहेछ । फोहोरको समस्या पदमार्गसँगै पवित्र गोसाइँकुण्डमै पनि उत्तिकै रहेछ ।