
स्मार्टफोनको प्रचलन करिब–करिब सर्वव्यापी बनिसकेको छ । यो हाम्रा लागि अपरिहार्य एवं अनिवार्य मात्रै बनेको छैन, बरु तपाईंसँग स्मार्टफोन भएन भनेचाहिँ तपाईं ‘अजिब’ देखिनुहुनेछ । स्मार्टफोनलाई अस्वीकार गर्नुको अर्थ तपाईं ‘गएगुज्रेको’ पछौटे हुनुहुन्छ ।
आफूसँग स्मार्टफोन हुनुका फाइदा र बेफाइदा दुवै छन् । एक समाजको रूपमा हामीले निष्कर्ष निकालिसकेका छौँ– हामीसँग स्मार्टफोन हुनु समग्रमा निकै राम्रो कुरा हो । निःसन्देह, यसमा अथाह राशिको खेलो छ । स्मार्टफोन र ट्याब्लेटको विश्वव्यापी उपभोगमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा कति आर्थिक कारोबार हुन्छ कल्पना गर्नुस् । स्मार्टफोनको विशाल माग त छँदै छ, यसको निर्माणका लागि चाहिने कच्चा पदार्थ, त्यसलाई एसेम्बल गर्ने पूर्वाधार, त्यसको स्तोरन्नतीकरण, संसारभर पठाउने प्रबन्धनका मागका कुरा छन् । त्यसैगरी, ट्रान्समिसन लाइन, मोबाइल फोनका टावर र डाटा नेटवर्कका माग भए । यसैगरी ‘अपरेटिङ सिस्टम’का माग, क्यामेरा सञ्चालन र ब्याट्रीको नियमन गर्ने ‘मिडलवेयर’का माग, तपाईंले डाउनलोड गर्न खोज्ने हजारौँ हजार एप(अनुप्रयोग)का माग । ती अनुप्रयोगमा देखिन आउने अनन्त प्रसार–सामग्रीका साथै करोडौँ स्मार्टफोन तथा ट्याब्लेटका स्क्रिनमा देखिने विज्ञापन र तिनले लिने स्थानका विषय पनि छन् । यीबाहेक, यी सबैलाई कार्यशील बनाउन हामीलाई चाहिने ठुलो परिमाणमा ऊर्जाको मागको कुरो पनि आउँछ । यी उपकरणमा निर्भर नहुने चिज सायदै होलान् । तपाईं स्मार्टफोनविना रहन त सक्नुहोला । तर, निकै कठिन हुनेछ ।
‘ब्रेन–इम्प्लान्टेड चिप्स’ स्मार्टफोनजस्तै आम हुन धेरै समय लाग्नेछैन । दशक होइन कि केही वर्षको कुरा मात्र हो । यसपछि चिप ‘प्याराप्लेजिक्स(शरीरमा पक्षघात भएका)’ लाई स्वनिर्भरता दिन मात्रै प्रत्यारोपित हुनेछैनन्, अहिलेका स्मार्टफोनहरू जस्तै यी (इम्प्लान्टहरू) पनि बजारीकरण भएर सर्वव्यापी बन्नेछन् । अनि तपाईंले आफ्नो मस्तिष्कमा चिप लगाउन अस्वीकार गर्नुभयो भने भन्नेछन्, ‘पाखे’ ।
‘ब्रेन चिप्स (मस्तिष्कमा प्रत्यारोपण गरिने चिप)’का फाइदा आजका बाह्य उपकरणले प्रदान गरिरहेका लाभको तुलनामा कति हो कति हुनेछ । सोचेकै भरमा हामी हाम्रो आँखाले देख्ने कुनै पनि कुराको फोटो लिन, थ्रीडीमा डिट्टो भिडियो लिन सक्षम हुनेछौँ । सोचेकै भरमा साथीभाइलाई सन्देश प्रेषित गर्न समर्थ हुनेछौँ । उनीहरूको जवाफ पनि हाम्रो दिमागमै प्रस्तुत हुन आइपुग्नेछ । हामीले परबाट नबोलीकनै साथीभाइसँग कुराकानी गर्न र यसरी गरिएका कुरा एक–अर्काका आवाजमा मस्तिष्कमै सुन्नेछौँ । कुनै पनि भाषामा हामी जो–कोहीसँग कुरा गर्न सक्षम हुनेछौँ । असीमित जानकारीलाई याद गर्न समर्थ हुनेछौँ अनि मस्तिष्कमा प्रत्यारोपित चिप्सलाई सोधेर कुनै पनि तथ्य वा जानकारी तत्क्षण पुनः प्राप्त गर्न सक्नेछौँ ।
‘वालेट वा फोन’ नबोकीकनै खरिदारीको भुक्तानी गर्न सक्षम हुनेछौँ । चिपका माध्यमबाट मस्तिष्कमा प्रवाहित संगीतलाई हामी आन्तरिक रूपमा नै सुन्न सक्षम हुनेछौँ । यसरी नै चलचित्र हेर्नेछौँ । साथै, ती चलचित्रमा हिस्सा लिन पनि समर्थ हुनेछौँ । यस्तो ‘भर्चुअल नयाँ जगत्’मा हामी पूर्ण रूपमा मनोरञ्जन प्राप्त गर्न समर्थ हुनेछौँ । हामी जतिखेर चाह्यो उतिखेरै सुत्न सक्षम हुनेछौँ । अनि यदि हामीलाई कहिल्यै आत्महत्याको विचार आयो भने तत्कालै मनोपरामर्श प्राप्त गर्नेछौँ ।
हामी विज्ञापन सीधै हाम्रा दिमागमा ठेल्न समर्थ हुनेछौँ । अनि हाम्रा आँखासामुन्ने विज्ञापनका दृश्य छाउनेछन्, जसलाई ‘प्रिमियम सदस्यतामा अपग्रेड’ गर्ने बाहकले बन्द गर्न सक्नेछैनौँ । हाम्रा स्मृतिहरू समाजको सर्वाेपरि हित केन्द्रित भएर विशेषज्ञले निर्माण गरेका नीतिअन्तर्गत ‘कृत्रिम बुद्धिमत्ता(एआई)ले व्यवस्थित गरिदिनेछन् । जसलाई रुसी प्रोपोगान्डा भनिन्छ, त्यस्ता जानकारीमा हाम्रो पहुँच नै हुनेछैन ।
यदि हाम्रो दिमागमा कुनै आपराधिक विचार आयो वा कुनै प्रतिसांस्कृतिक धारणा उब्जिए भने ढिलो हुनुअघि नै ती समुचित अधिकारीसमक्ष सम्प्रेषित भइसक्नेछन् । अर्काे शब्दमा भन्दा यो सम्पूर्ण डिस्टोपियन साइन्स–फिक्सन ड्रामा अर्थात् विज्ञान–कथामाथि निर्मित चलचित्रमा वर्णित हरदुःस्वप्न एकाकार भएर आएसरह हुनेछ ।
यदि भोलि हाम्रो इन्टरनेट अचानक सधैँका लािग बन्द भयो भने हामी कति असहाय हुन्छौँ होला ? कल्पना गर्नुस् त । हाम्रा जीवन, स्मृति र सम्बन्ध हाम्रा निमित्त अनलाइन स्मृतिमा भण्डारण भइसकेको छ । अनि, हामीलाई आफ्नो परम मित्रको समेत फोन नम्बर याद छैन । न हामीलाई कसरी उच्चारण गर्ने नै थाहा छ । किनकि, हामीलाई जरुरत नै पर्दैन ।
तर, प्रविधिको माध्यमबाट सबै मानवीय ‘सीमा’पार गरेको ‘ट्रान्सह्युम्यानिज्म’ तब खतरनाक बन्न पुग्छ, जब मानिस त्यस प्रविधिबाट वञ्चित हुन पुग्छ, त्यो उसका लागि असुविधाजनक मात्र होइन, कुनै कुरा गर्न नसक्ने गरी त्यसबाट ऊ निकम्मा नै बन्न पुग्छ ।
एउटा यस्तो संसारको कल्पना गर्नुस्, जहाँ हाम्रा साथीभाइका फोन नम्बर मात्र होइन, उनीहरूसँगका हाम्रा सम्पूर्ण अनुभवका साथै उनीहरूका नाम र अनुहारसमेत दुरस्थ सर्भहरूले भण्डार गरी हाम्रा लागि सम्झिइदिनेछन्, र हाम्रा लागि जुनकुनै समय उपलब्ध गराउनेछन् । तबसम्म जबसम्म ती रहन्छन् । यी सबै चिप्स बन्द नहुन्जेलसम्म आफ्नो ‘मेमोरी’ प्रयोग गर्नु नपरेका वा आफ्नो तार्किकता प्रयोग नगरेका मानिसको त्यो पुस्तामा के बाँकी रहला, जब यी सबै चिप्स बन्द हुन्छन् ? तब त्यहाँ कुनै ‘मानव’ बाँकी रहला वा मानव नामका ‘रित्ता खोल’ मात्र बाँकी रहला ?
मानव जातिलाई नष्ट गर्न आणविक बम नै चाहिँदैन । अन्य उपाय पनि छन् । यदि तपाईंले ‘ब्रेन चिप’ लगाउन पाउनु वा सक्नुभएन भने आधुनिक संसारमा प्रतिस्पर्धा गर्न मात्रै होइन, अझ बाँच्न नै कठिन हुनेछ । योविना तपाईंले अथाह जानकारी राख्न सक्नुहुनेछैन, तत्काल नयाँ कौशल सिकिहाल्न सक्नुहुनेछैन, जुनसुकै स्थानका जोकसैसँग पनि कुराकानी गर्न सक्नुहुनेछैन । तपाईं म्याद गुज्रिएको, एक अप्रचलित मानिस बन्न पुग्नुहुनेछ । तपाईं एक मात्र रहलपहल मानिस बन्न सक्नुहुन्छ । त्यसैले, तपाईंले ‘ब्रेक चिप’ लगाउनु नै उत्तम ठान्न सक्नुहुन्छ । तर, तपाईंलाई छनोटको विकल्प भएकोचाहिँ नबिर्सनुस् नि !
(आरजी नाइडरहोफर डिजिटलका प्रबन्धक गेर्लेन्टर कृत्रिम बुद्धिमत्ता र मेसिन लर्निङ विशेषज्ञ हुन् । वाल स्ट्रिट जर्नल(डब्लुएसजे)बाट नारायण शिवाकोटीको अनुवाद ।)