• वि.सं २०८१ मङ्सिर ६ बिहीबार
  • Thursday, 21 November, 2024
पवन बराइली
२०८१ कार्तिक १० शनिबार ०८:४३:००
फिल्म

कमजोर स्क्रिप्टको जगमा नेपाली सिनेमा

एक महिनासम्म झुरै स्क्रिप्ट लेखेँ तापनि राम्रो लेखेँ भन्ने महसुस भइरहन्छ 

२०८१ कार्तिक १० शनिबार ०८:४३:००
पवन बराइली

 

फिल्म निर्देशक अविनाशविक्रम शाहको सर्ट फिल्म ‘लोरी’ले कान्स फिल्म फेस्टिभलमा अवार्ड जितेर इतिहास रच्यो । ‘लोरी’ आधिकारिक छनोट भएको पहिलो नेपाली फिल्म थियो । पटकथा लेखनमा अविनाशको खुबी अझ विशेष मानिन्छ । निर्देशक शाहसँग सिनेमाको पटकथा वरिपरि रहेर पवन बराइलीले गरेकोे कुराकानी:

 

सिनेमा समाजका लागि शक्तिशाली उपकरण हो । सिनेमा आममानिसले सजिलै बुझ्ने विधा पनि हो । सिनेमाबाहेक कलाको अरू माध्मयले सायदै गहिरो अनुभूत गराउँछ । बोलेर वा लेखेर भन्न नसक्ने कुरा सिनेमाबाट सजिलै भन्न सकिन्छ । कथालाई एकदमै प्रभावकारी रूपमा सिनेमामार्फत भन्न सकिन्छ । त्यसैले पनि समाजका लागि सिनेमा आवश्यक छ । भारतीय निर्देशक सत्यजित रेको पुरानो सिनेमाहरू हेर्दा हिजोको समाज देख्न सक्छौँ । हिजोको विश्व कस्तो थियो ? समाज कस्तो थियो ? राजनीति कस्तो हुन्थ्यो ? भनेर कल्पना गर्छाैँ । ती सबै उनको सिनेमामा देखिन्छ । त्यसकारण पनि समाजका लागि सिनेमा महत्वपूर्ण छ ।

 

पटकथा लेख्दै र सिक्दै आइरहेको छु । त्यसैले म आफूलाई फिल्म निर्देशकभन्दा पनि पटकथा लेखक ठान्छु । मैले फिचर फिल्म ‘एलिफेन्ट’ र ‘झ्यालिन्जा’ निर्देशन गरिरहेको छु । यी सिनेमाको पात्र आफै हुँ । कहिले म मेरी दिदीको कथा भन्छु, कहिले साथीको कथा भनिरहेको छु । मैले नजिकबाट देखेको, भोगेको कथा नै भन्छु । नजिकबाट देखेको कथा नै प्रभावकारी रूपमा भन्न सकिन्छ । मलाई महिलाको व्यक्तित्वले आकर्षण गर्छ । 

 

‘झ्यालिन्जा’मा छोरीको कथा छ । मैले र मीन भामले मिलेर लेखेको फिल्म ‘शाम्बाला’मा पनि महिलाको संघर्षको कथा छ । कथामा मेरो आफ्नो भोगाइ, हुर्काइ नै बढी आउँछ । आफूलाई छोएको कथा फिल्ममा आफैँ भन्न मन लाग्छ । 

 

हाम्रोमा स्क्रिप्ट राम्रो लेखिएन भन्ने गुनासो सुनिन्छ । नेपाली फिल्मको स्क्रिप्ट साँच्चै राम्रो छैन । यो ममा पनि लागू हुन्छ । मेरो पनि स्क्रिप्ट लेखाइ राम्रो छैन । हामी सबैजना स्क्रिप्ट लेख्न सिकिरहेका छौँ । हामी महँगो तरिकाले स्क्रिप्ट सिकिरहेका छौँ । हामी फिल्म बनाउँछौँ, हलमा रिलिज गर्छाैँ, तर हलमा फिल्म चल्दैन । हामीले आफ्नो फिल्मको समस्या रिलिज भएपछि देख्छौँ । त्यसपछि यसरी गर्नुपर्ने रहेछ भन्ने महसुस हुन्छ । म ढुक्क छु, नेपाली फिल्मको स्क्रिप्ट नै कमजोर छ । स्क्रिप्टलाई जति समय दियो त्यति नै राम्रो हुने हो । स्क्रिप्ट लेख्नलाई पर्याप्त समय चाहिन्छ ।

 

एक महिनासम्म झुरै स्क्रिप्ट लेखेँ पनि राम्रो लेखेँ भन्ने महसुस हुन्छ । समय लिएर स्क्रिप्ट लेख्दा वस्तुगत दृष्टिकोण आउँदोरहेछ । जसले गर्दा स्क्रिप्टलाई माया गरेरभन्दा पनि आलोचनात्मक आँखाले हेरिँदोरहेछ । त्यसपछि स्क्रिप्टलाई विश्लेषण गर्न सकिँदोरहेछ । केही समय लेख्यो, फेरि केही समय ब्रेक गर्नुपर्छ । त्यसलाई वस्तुगत दृष्टिकोणले हेर्नुपर्दाेरहेछ । तर, यस्तो बानी मेकरहरूमा छैन जस्तो लाग्छ । हामी स्क्रिप्टलाई समय कम दिएर सिनेमा बनाउँनेतिर लाग्छौँ । मेकरहरू अलि हतार गरिरहेको देखिन्छ । तर, यसले राम्रो परिणाम दिँदैन । 

 

मैले ‘एलिफेन्ट’ लेख्दा स्क्रिप्टको संरचना धेरैपटक भताभुंग पारेको छु । क्यारेक्टर, लोकेसन र सेटिङ उस्तै भए पनि फेरि सुरुवातबाट स्क्रिप्ट लेखेको छु । आफूलाई चित्त नबुझ्दासम्म स्क्रिप्टको संरचना नै भताभुंग गरिरहनुपर्छ । मैले लेखेको स्क्रिप्टचाहिँ राम्रो हुन्छ भन्न खोजेको होइन । समय लिएर लेख्यो भने वस्तुगत दृष्टिकोणले हेर्न सकिन्छ । वस्तुगत दृष्टिकोणले आलोचनात्मक भएर हेर्न मद्दत गर्दाेरहेछ । जम्मा तेस्रो ड्राफ्ट लेखेर फिल्म बनाउन गयो भने ठिकठाक मात्रै बन्न सक्छ । फिल्मको जग भनेकै स्क्रिप्ट हो । घर कस्तो बनाउने भन्ने कुरा नक्साले निर्धारण गर्छ । त्यस्तै, फिल्म पनि कस्तो बन्छ भन्ने कुरा स्क्रिप्टले तय गर्छ । नेपाली सिनेमा कमजोर स्क्रिप्टको जगमा उभिएको छ ।

 

अहिले चलचित्र विकास बोर्डले ‘स्क्रिप्ट डेभलपमेन्ट फन्ड’ छुट्याएको छ । तर, यो त्यति प्रभावकारी देखिँदैन । नेपाली स्क्रिप्ट राइटरलाई बोलाएर ट्रेनिङ दिइन्छ । तर, नेपालको स्क्रिप्ट राइटरहरूलाई ट्रेनिङ दिने खालको विदेशी मेन्टर झिकाउनुपर्ने हो । चलचित्र विकास बोर्डको स्क्रिप्ट डेभलपमेन्ट फन्ड त्यता खर्च गर्न सकिन्थ्यो । विकास बोर्डले स्क्रिप्टलाई ध्यानमा राखेर राम्रो विदेशी स्क्रिप्ट डाक्टर वा मेन्टर ल्याएर तालिम चलाउन जरुरी छ । यसो गर्दा फिल्महरू राम्रो बन्थ्यो होला । चलचित्र विकास बोर्डले स्क्रिप्ट डेभलपमेन्ट फन्डमा छनोट भएका स्क्रिप्टलाई केही रकम दिएर बाँकी विदेशको स्क्रिप्ट विश्लेषक ल्याएर स्क्रिप्ट लेखाउने तालिम दिए राम्रो हुन्थ्यो होला ! त्यसले हाम्रो फिल्म राम्रो बन्न ठुलो सहयोग पुग्थ्यो ।

 

अहिले नेपाली सिनेमाको विश्व मञ्चमा सुखद उपस्थिति छ । विश्वलाई हाम्रो सिनेमाले नेपालको भाषा, संस्कृति र समाजलाई चिनाइरहेको छ । कान्स, बर्लिन, टोरोन्टो, भेनिसजस्ता फेस्टिभलमा नेपालको प्रतिनिधित्व गरेर सिनेमा पुगेका छन् । यो नेपालका लागि आफैँमा ऐतिहासिक उपलब्धि हो । तर, हामीलाई चुनौती छ । यसमा राज्य पनि उत्तरदायी हुन जरुरी छ ।

 

गत वर्ष ‘लोरी’ले विश्व प्रतिष्ठित फिल्म फेस्टिभल कान्समा अवार्ड नै जित्यो । त्यो वेला मेरो फिल्म कान्समा छनोट हुनु नै ठुलो कुरा थियो । अवार्ड जित्नु धेरै परको कुरा थियो । त्यहाँ संसारका ठुला फिल्ममेकरहरूको उत्कृष्ट फिल्म पनि प्रतिस्पर्धामा थिए । त्यसबेला ५–६ हजार फिल्मबाट ‘लोरी’सहित सातवटा फिल्म छानिएका थिए । यो नेपाली सिने उद्योगका लागि ठूलो उपलब्धि थियो । तर, फेस्टिभलमा फिल्म पुगेर मात्रै केही हुँदैन । मुख्यकुरा फेस्टिभलमा गएर हाम्रो फिल्म बिक्नुपर्छ । हाम्रो फिल्मलाई त्यहाँको टेलिभिजन, सेल्स एजेन्ट र वितरकले किन्नुपर्छ । हामी अझै पनि त्यहाँसम्म पुग्न सकेका छैनौँ । हाम्रो स्किल यतातिर बढाउनुपर्छ जस्तो लाग्छ ।

 

यसका लागि निरन्तरता जरुरी छ । यस्ता खालका फिल्म धेरैभन्दा धेरै बन्नुपर्छ । अहिले नयाँ फिल्ममेकरहरू आइरहेका छन् । तर, फाट्टफुट्ट मात्रै हाम्रो फिल्म पुगिरहेको छ । अझै उल्लेखनीय रूपमा काम हुन सकेको छैन । नेपालमा वर्षको झन्डै सय हाराहारी फिल्म बन्छन् । कथाहरू सबै आइरहेका छन् । तर, फिल्मले के भन्न खोजेको कुरा स्पष्ट हुनुपर्छ । अहिले संसारमा हजारौँ संख्यामा फिल्म बनिरहेका हुन्छन् । संसारका फिल्ममेकरले नयाँ–नयाँ तरिकाबाट फिल्म बनाइरहेका छन् । हामीले पनि संसारका धेरैभन्दा धेरै फिल्म हेर्नुपर्छ । हाम्रो भाषा फरक होला, संस्कृति फरक होला, तर संसारको भावना एउटै छ । उनीहरूले कथा कसरी भनिरहेका छन् ? उनीहरूको कथा भन्ने शैली कस्तो छ ? यसबारे हामी पनि जानकार हुनुपर्छ । सिनेमामा कथा भन्ने शैली महत्वपूर्ण हुन्छ । यी सबै समिश्रण मिल्यो भने मात्रै राम्रो सिनेमा बन्न सक्छ ।

 

माटोको सुगन्धसँग जोडिएका कथाहरूलाई विदेशी दर्शकले रुचाएका छन् । उनीहरूले कन्टेन्ट र प्रस्तुतिको शैलीलाई विशेष रूपमा हेरेका हुन्छन् । हाम्रो भाषा फरक होला, संस्कृति फरक होला, तर संसारभरका मान्छेको ‘इमोसन कमन’ हुन्छ । ‘कालो पोथी’, ‘सेतो सूर्य’, ‘गाउँ आएको बाटो’, ‘शाम्बाला’,‘ रेड सुडकेस’जस्ता फिल्ममा नेपाली सुगन्ध भेटिन्छ । विदेशीहरूको चासो पनि मौलिक कथातिर नै छ । हामीले विश्वका सिनेमा हेर्दा कलासंस्कृति, समाज, राजनीतिलाई बुझ्छौँ । हामीले हाम्रो कथा पनि जरामा पुगेर भन्नुपर्छ । फिल्मले भन्न खोजेको कुरामा स्पष्ट हुनुपर्छ । निर्देशक रूपमा आफ्नो जीवन, समाज, राजनीतिप्रतिको दृष्टिकोण फरक हुनुपर्छ ।

 

लगानी खोज्नुपर्ने बाध्यता 

 

फिल्मका लागि लगानी प्रमुख हुन्छ । नेपाली निर्माताहरूले यस्ता खालको फिल्ममा लगानी गर्न चाहँदैनन् । हाम्राजस्ता फिल्म बनाउने निर्देशकलाई मूल धारका निर्माताले पत्याउँदैनन् । जसले गर्दा विदेशी लगानीकर्ता नै खोज्नुपर्ने बाध्यता छ । मीन भामलाई ‘कालो पोथी’देखि ‘शाम्बाला’ बनाउन धेरै समय लाग्यो । यस्ता फिल्मका लागि नेपाली लगानीकर्ता भेटिँदैनन् । त्यसैले विदेशी लगानीकर्ता नै खोज्नुपर्छ ।

 

राज्यको निकायबाट नेपाली सिनेमा लागि सहयोग एकदमै जरुरी छ । अहिले नेपाली सिनेमा अन्तर्राष्ट्रिय मञ्चमा एकपछि अर्काे पुगिरहेको छ । तर, भविष्यमा यसले निरन्तरता पाउला भन्न सकिन्न । हामीले विदेशी फन्डका लागि मात्रै आशा गरिराख्नु हुँदैन । उनीहरूले एक समयमा पुगेर फन्ड नदिन सक्छन् । त्यसैले यस्ता खालका सिनेमालाई राज्यले फन्डका लागि रणनीति बनाउनुपर्छ । अनि मात्रै अन्तर्राष्ट्रिय मञ्चमा हाम्रो उपस्थिति दीर्घकालीन हुन सक्छ ।

 

नेपालमा फेस्टिभलमा गएको फिल्म विदेशी दर्शकलाई मात्रै बनाएको भन्ने बुझाइ छ । नेपाली दर्शकले एउटा खालको फिल्म हेर्दै आइरहेका छन् । त्यस्तै, फिल्म हेर्ने दर्शकमा बानी लागेको छ । सधैँ हेरिरहेको फिल्मभन्दा फेस्टिभलमा गएका फिल्म फरक हुन्छ । त्यही फरक खालको भएर फेस्टिभलको फिल्म भनेर ट्याग लगाइएको छ ।

 

अहिले हामीले नेपाली दर्शकका लागि मात्रै फिल्म बनाउनु हुँदैन । अहिले हामी यस्तै समयमा छौँ । अहिले म फिल्मको कथा लेख्दा नेपालका लागि मात्रै भनेर सोच्दिनँ । मेरो फिल्म विश्वभरका दर्शकले हेर्नुपर्छ भन्ने सोचले लेख्छु । हामीले नेपालमा युरोप, अमेरिकाको म्युजिकलाई सुनिरहेका हुन्छौँ । कुनै कलाकारको पेन्टिङ म्युजियममा गएर हेरिन्छ । त्यो पेन्टिङ नेपाली वा विदेशी भनेर छुट्याइँदैन । जसको भए पनि पेन्टिङ हेरिन्छ । सिनेमा पनि त्यस्तै हो । नेपाली सिनेमालाई पनि नेपाली र विदेशीले हेर्नुपर्छ । हामी सर्जकहरूले पनि त्यही सोचेर बनाइरहेका हुन्छौँ । 

 

अहिले दर्शकलाई एउटै खालको फिल्म हेर्ने बानी परेको छ । त्यसैले फेस्टिभलमा गएका फिल्म हेर्न असहज हुन सक्ला । तर, नवीन दाइ (नवीन सुब्बा)को ‘गाउँ आएको बाटो’ले प्रमाणित गरिसकेको छ कि फेस्टिभलमा गएको फिल्मलाई पनि दर्शकले सजिलै बुझे । फेस्टिभलमा गएका फिल्महरू बुझ्न गाह्रो हुन्छ भन्ने भाष्य चिरेको छ । यो राम्रो संकेत हो ।