• वि.सं २०८१ कार्तिक २४ शनिबार
  • Saturday, 09 November, 2024
पवन बराइली
२०८१ कार्तिक १० शनिबार ०९:१०:००
रिपाेर्ट

गुमनाम सरोदवादक

२०८१ कार्तिक १० शनिबार ०९:१०:००
पवन बराइली

 

पाटनढोका गेटबाट करिब सय मिटर भित्र । साँघुरा गल्ली । पुराना घरमाझ चारकोठे आधुनिक घर । साँझ ७ बजेको हुँदो हो । वातावरण एकलास र सुनसान थियो । सरोदको मालश्री धुन बजिरहेको थियो । मालश्री धुनसँगै ध्यानमग्न भेटिए सुदर्शन राजोपाध्याय ।

 

सुदर्शनले चार दशकदेखि सरोदलाई साथी बनाएका छन् । सरोदका तारमा औँला चलाउन थालेपछि उनलाई समय बितेको पत्तो हुँदैन । ‘सरोदलाई बजाउने कुनै निश्चित समय हुँदैन । फुर्सद हुनेबित्तिकै काखमा लिएर बजाउन थालिहाल्छु,’ उनले भेटको सुरुवातमा सुनाए ।

 

सुदर्शनले बजाएको सरोदको धुन भारत, चीन, पास्कितानलगायत धेरै ठाउँमा बजिसकेको छ । थुप्रै मानिस उनले बजाएको सरोदको धुनमा लोभिएका छन् । तर नेपालमा भने उनी गुमनाम जस्तै छन् ।

 

सानैदेखि संगीतसँगै हुर्किए सुदर्शन । बुबा रेडियो नेपालका संगीतज्ञ थिए । बुबाले घरमा सरोद बजाउँथे । बुबाले सरोद बजाएको हेर्थे, सुन्थे । बुबाले बजाएको सरोदको धुन उनको मस्तिष्कमा बस्दै गयो । स्कुल पढ्दा उनी गितार बजाउँथे । तर, गितारले मात्र संगीतको धीत मरेन । र, सरोदप्रतिको मोह जाग्यो । उनको मस्तिष्कमा सरोदको धुन नमेटिने गरी बस्यो ।

 

०४० सालमा सुदर्शनले एसएलसी पास गरे । उनलाई संगीत सिक्ने हुटहुटी जाग्यो । उनी शास्त्रीय संगीत अध्ययन गर्न भारत गए । सरोद सिक्न सजिलो पक्कै थिएन । सुदर्शनले सयौँ रात धुनमै बिताएका छन् । जीवनमा सरोदको धुनसँग उनलाई कहिल्यै छटपट र दिक्क लागेन । सरोदका राग सिक्न सजिलो थिएन । हातका औँलामा फोका उठे । औँलाका टुप्पा काला भए । फोका फुटेर औँलामा चिरा पथ्र्याे । औँलाले कतै छोइहालेमा नराम्रोसँग मुटुमा शूल हानेझैँ हुन्थ्यो । तर, गुरुले सरोदका तारहरूबाट निकालेको धुनले भने उनलाई लोभ्याइरह्यो । त्यही लोभ र उत्कट चाहनाका अगाडि सुदर्शनका औँला चिरिएर निस्किएको पीडा सामान्य भइदियो ।

 

‘जसरी पनि सिकेरै छाड्छु भन्ने प्रण गरेँ । मलाई हातको दुखाइभन्दा सरोदबाट निस्किएको धुनले बढी आनन्द दियो । जति दुःख पीडा भए पनि शास्त्रीय संगीतबाट भाग्न सकिनँ । कहिलेकाहीँ त यति दिक्क लाग्थ्यो कि बाजा फालेर हिँडिदिऊँ जस्तो लाग्थ्यो । तर, अब त्यो सबै बिर्सिसकियो,’ उनी भन्छन् । 

 

भारतको दिल्लीमा शास्त्रीय संगीतमा मास्टर्स सकेर फर्किए उनी । ०५२ सालमा रेडियो नेपालमा जागिर खाए । तर, दिनभरि त्यत्तिकै बस्नुपथ्र्यो । काम नहुँदा समय बिताउन गाह्रो भयो । त्यही भएर उनले रेडियो नेपालको जागिर छाडिदिए । रेडियो नेपालमा शास्त्रीय संगीतको कार्यक्रम चलाउन खोजे । तर, उनले सकेनन् । अचेल भारतको शास्त्रीय संगीतका कार्यक्रममा उनी सरोद बजाउन पुग्छन् । धेरैजसो उनलाई भारतमा बोलाइन्छ । भारतका अधिकांश सहरमा आयोजना हुने कार्यक्रममा उनले सरोद बजाएका छन् ।

 

सुदर्शन भारतमा सरोदवादकका रूपमा निकै चर्चित छन् । कार्यक्रमकै दौरानमा उनी भारतको वेस्ट बंगालका अधिकांश स्थान पुगेका छन् । ‘सरोदवादक भारतमा पनि कमै छन् । त्यहाँ मलाई जुनसुकै कार्यक्रममा बोलाउँछन् । तर, नेपालमा चाहिँ कसरी गुमनाम भएँ, थाहा छैन । शास्त्रीय संगीतलाई भारतले माया गर्छ । त्यहाँको कलासंस्कृतिप्रति सरकारले देखाएको उदारता अचम्मलाग्दो छ,’ उनले भने । 

 

चार दशकदेखि संगीत साधनामा लागेका उनले भारतबाट विभिन्न सम्मान पाएका छन् । भारतको एनआरबी फाउन्डेसनबाट उनी सम्मानित भए । भारतको पश्चिम बंगाल सरकारबाट समेत सम्मानित भइसकेका छन् । गुजरातमा सुरिल साँझका तर्फबाट स्वर्णपत्र पाए । 

 

नेपालमा शास्त्रीय संगीतको कार्यक्रम निकै कम हुने उनी सुनाउँछन् । राज्यले शास्त्रीय संगीत बुझ्न नसकेको उनको गुनासो छ । ‘नेपालमा प्रतिभा देखाउने स्थान छैन । नेपालमा कलाकारिताको कदर हुँदैन । मैले संगीतमा जीवन समर्पित गरेँ । तर, कला प्रदर्शन गरेर नेपालमा ज्यान पाल्न सकेको छैन,’ उनी भन्छन्, ‘कलालाई राज्यले बुझेकै छैन ।’

 

रेडियो नेपालले शास्त्रीय संगीतको विभाग हटाउँदा उनको मन खिन्न भयो । रेडियो नेपालका तबला, सितार, सरोदजस्ता बाजा कुहिएर बसेको उनको भनाइ छ । ‘शास्त्रीय संगीतका कार्यक्रम हुँदैनन् । यहाँ पनि शास्त्रीय संगीतको कार्यक्रम भए हामीजस्ता कलाकारलाई बाँच्न सजिलो हुन्थ्यो । तर, अहिले भारतकै भर पर्नुपरेको छ,’ उनले भने । 

 

नेपालको चाडपर्वमा शास्त्रीय संगीतको प्रयोग गरिन्छ । दैसैँ र तिहारमा मालश्री धुन बजाइन्छ । त्यसैले पनि यो बाजा बजाउनेले जागिर नपाएको उनको अनुभव छ । नेपालमा शास्त्रीय संगीतका अधिकांश वाद्यवादक बेरोजगार रहेको उनी सुनाउँछन् । शास्त्रीय संगीत बजाउने ठाउँ नहुँदा धेरै भौँतारिनुपरेको उनको भनाइ छ । 

 

‘शास्त्रीय संगीतमा लागेर मैले धन सम्पत्ति कमाएको छैन । घरपरिवार पाल्न पुगेको छ । सामान्य जीवन बिताइरहेको छु,’ उनी भन्छन्, ‘मलाई त्यति धेरै सम्पत्तिको लोभ पनि लाग्दैन । सामान्य जीवनमै रमाउने मान्छे हुँ ।’

 

सरोद बजाउन रहरले मात्रै नहुने उनको अनुभव छ । उनको अनुभवले भन्छ– सरोद बजाउने रहरले होइन, मनले हो । यसका लागि साधना नै मुख्य कुरा हो । ध्यान चाहिन्छ । भित्रैदेखि तपस्या गर्नुपर्छ । नत्र धुन निस्किँदैन । 

 

सरोद बजाउनु कठिन कलाको रूपमा लिन्छन् उनी । भन्छन्, ‘सरोदले मान्छेको मनमा आनन्द तुल्याउँछ । तर, सिक्न पनि उत्तिकै खर्चिलो छ । यो कला अँगाल्न जोकोहीले सक्दैन ।’

 

सरोद जति बजायो, उति नै निखारता आउने उनको अनुभव छ । ‘एक महिना बजाएर पोख्त हुन्छु भनेर सम्भव छैन । यसलाई त्याग र तपस्या दुवै चाहिन्छ,’ उनी भन्छन्, ‘दिनरात नभनी लाग्नुपर्छ । यो सिक्नका लागि भित्री मनदेखि आउनुपर्छ ।’

 

नयाँ पुस्तालाई बुझेर मात्रै सरोद सिक्न सुझाउँछन् सुदर्शन । उनैले सिकाएका विद्यार्थी पनि सिक्दासिक्दै भागेका छन् । त्यसैले उनी सिक्नुअघि नै सजग गराउँछन् । ‘तर, यसलाई मिहिनेत चाहिन्छ । आफैँलाई समर्पित गर्नुपर्छ,’ उनले भने ।

 

संगीतले जीवन जिउन मद्दत गर्ने सुदर्शनको बुझाइ छ । संगीतले मानिसलाई नयाँ तरिकाबाट जीवन अघि बढाउन मार्गनिर्देशन गर्छ । उनले संगीतबाट जीवन जिउने नयाँ तरिका सिके । भन्छन्, ‘जीवनका अप्ठ्यारालाई चिर्दै अडिग भएर शास्त्रीय संगीतमा अघि बढेँ ।’

 

उनका नेपाली र नेवारी गरेर ‘पलपल’, ‘पानीसरी’, ‘त्यो रात’, ‘नसला’, ‘हसना’, ‘छन्ह’, ‘निन्ह‘, ‘छगु’ ‘मतिना’लगायत सरोदका धुन रहेका क्यासेट बजारमा आइसकेका छन् ।