• वि.सं २०८१ मङ्सिर ६ बिहीबार
  • Thursday, 21 November, 2024
वामदेव क्षेत्री (घिमिरे)
२०८१ कार्तिक १० शनिबार ०९:२८:००
सम्झना

अलबिदा प्रो. जिएन साइबाबा

२०८१ कार्तिक १० शनिबार ०९:२८:००
वामदेव क्षेत्री (घिमिरे)


भनिन्छ, वर्गीय साइनो रगतको भन्दा गाढा र दिगो हुन्छ । तपाईंको जेलभित्रको मृत्युले स्तब्ध बनाएको छ । तपाईंप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । अक्सर मृत्युपछि जीवन र जीवनपछि मृत्यु हुनु प्राकृतिक नियम हो भन्ने बुझ्दाबुझ्दै पनि लामो समय सहकार्य गरेको सहयोद्धा कमरेडको मृत्युको खबर सुन्दा ठुलो चोट पुगेको छ । तपाईं दिल्ली विश्वविद्यालय र म जवहारलाल नेहरू विश्वविद्यालय रहे पनि वर्गीय नाताले हामी नजिक थियौँ र क्रान्तिकारी आन्दोलन र अध्ययनको सामग्री साटासाट गर्दै खाना खान बसेको याद झलझल आउँछ । असह्य पीडाबोध पनि हुन्छ । 

 

मृत्युपछि मानिसको मूल्यांकन गर्दा अलि मनोगत हुने पनि गर्छ । तर, मलाई के डर लागिरहेको छ भने क.जीएन साइबाबाबारे मूल्यांकन गर्दा उहाँको अतिमूल्यांकन र इक्जोरसन होइन, सही मूल्यांकन गर्नुपर्छ भन्ने लाग्छ । प्रजातन्त्रको खोल ओेडेको भारत सरकारले त्यहाँका प्रगतिशील बुद्धिजीवी, लेखक, कलाकारलाई जेलमा बन्धक बनाएर राखेको खबरले पीडा भएको थियो । तपाईं अपांग हुनुहुन्थ्यो । वरवर राव बिमारीले पीडित हुुनुहुन्थ्यो । गौतम नवलेखा तीनैजना मेरा मित्र कमरेडहरू नागपुरको जेलमा भएको थाहा थियो । तपाईं अपांग भएकाले ह्विलचेयरमा कसरी जेलभित्र बस्नुभयो होला भन्ने लागिरह्यो । झट्ट हेर्दा विचार र अपांगताको सम्बन्ध नभएजस्तो देखिन्छ । तर, यी दुई पारस्परिक सम्बन्धले नै अपांगतालाई सांगमा बदलिदिँदो रहेछ । सही विचार नभएकाहरू पूर्ण स्वस्थ, बलिया हृष्टपुस्ट भए पनि साना–साना कुरामा निराश भएर आत्महत्याको निर्णयमा पुग्छन् । सही विचार समातेकाहरू बाँच्नु मात्र महान् उद्देश्य मान्दैनन्, बलिदान दिन पनि पछि हट्दैनन् । संसार बदल्न लागिपर्नेमध्येका साहसी बुद्धिजीवी तपाईं पनि हो । 

 

दिल्लीको जन्तरमन्तरको प्रदर्शनबाट तपाईं र मलाई गिरफ्तार गरी प्रतिक्रियावादीका भरौटेहरूले फरिदावाद बोर्डरमा लगेर छोडे । तपाईं ह्विलचेयरमा हुनुुहुन्थ्यो । अपांग हुँदाहुँदै पनि प्रतिक्रियावादीको अमानवीय व्यवहारले तपाईं कत्ति विचलित हुनुभएन । तपाईंको आत्मबल देख्दा मलाई पनि प्रेरणा मिल्यो । वर्गीय मुक्तिको लडाइँमा हामी दुवै अलग–अलग देशका भए पनि आत्मीयता र वर्गीय घनिष्टता बढी थियो । वर्ग संघर्षको भीषण आँधीमय अवस्थामा हाम्रा विचार र जनताबिचको सम्बन्ध समान थियो । नेपालको जनयुद्धमा भारतीय बुद्धिजीवीहरूको ठुलो भूमिका थियो । त्यसमध्येमा प्रो. क. जीएन साइबाबा एक हुनुहुन्थ्यो । हामी दिल्लीको प्रशासनको निगरानीमा थियौँ । गौतम नवलेखा, आनन्दस्वरूप बर्मा अर्का भूमिगत नेता क. राना र नेपालको तर्फबाट मलाई प्रशासनले प्रत्येक क्रियाकलापमा निगरानी गर्‍यो । 

 

प्रो. जिएन साइबाबालाई पटक–पटक गिरफ्तारी गर्ने र छोड्ने गरेको थियो । क. जिएन साइबाबा र म नेपालको जनयुद्ध र भारतको पिपुल्स वारबारे घन्टौँ छलफल गर्थ्यौँ । दुवैमा समानता र भिन्नताबारे पनि छलफल हुन्थ्यो । तर, उहाँ सधैँ नेपालको जनयुद्धप्रति सकारात्मक हुनुहुन्थ्यो । 

 

प्रसंग बदलौँ, तपाईं र कवि वरवर राव कोभिड–१९ बाट संक्रमित भएको खबर क. रोनामार्फत थाहा पाएको थिएँ । तपाईंहरूको जेलभित्र रेखदेख राम्रो नभएको अनुभूति हुन्थ्यो । शासक कति कठोर हृदय र कमजोर दिमागका हुन्छन् भन्ने कुरा तपाईंहरूको अवस्था हेरे पुग्छ । विश्वसामु आफूलाई प्रजातन्त्रको हिमायती देखाउने शासकवर्ग कलम चलाउने, गीत गाउने ८३ वर्षीय बराबर राव र अपांग तपाईंसँग डराइरहेको छ । 

 

सन् १९९८ तिरको कुरा हो, नेपालको जनयुद्ध तीव्र गतिमा अगाडि बढिरहेको थियो । म इन्टरनेसनल सोलिडारिटी फोरम अफ नेपालको संयोजक थिएँ । पार्टीले जनयुद्धलाई समर्थन जुटाउन बनाएको मोर्चा थियो त्यो । म दिल्लीमा कार्यरत हुँदा नेपालको जनयुद्धलाई सहयोग गर्ने प्रो.क. जीएन साइबाबा, लेखक गौतम नवलेखा, आनन्द स्वरूप बर्मालाई भुल्न सक्दिनँ । त्यतिवेला प्रशान्त झा, सुदन भदौरिया, अजित झा, डा. कमलमित्र चिनोही, प्रो. मनोरजन मोहन्ती, अनुतोष मिश्रा, मनीष सिसोदिया, योगेन्द्र शर्मा, डा. अर्पणा, पिके शाही, डिबी त्रिपाठी, डा. आनन्द कुमारलगायत विभिन्न राजनीतिकर्मी, बुद्धिजीवी, मानव अधिकारवादी, पत्रकार, वकिलसँग काम गर्‍यौँ, सँगै खायौँ, सँगै नाच्यौँ । अनेक मुद्दामा चर्को स्वरमा बहस गर्थ्यौँ । नेपालको राजतन्त्र अन्त्यका लागि हुने आन्दोलनमा सबैको ऐक्बद्धता रह्यो ।

 

भारतको नक्कली प्रजातन्त्रवादी सरकारले मलाई २००१ सेप्टेम्बर ७ मा दिल्लीमा गिरफ्तार गरी रातारात नेपालमा शेरबहादुर देउवाको सरकारलाई सुपुर्दगी गर्‍यो । यिनी सबैलाई मेरो हत्या हुन्छ भन्ने चिन्ता थियो । सिपिआई, सिपिएनलगायत कम्युनिस्ट घटक, स्वतन्त्र बुद्धिजीवी, पिपुल्स युनियन फर डेमोक्रेसी राइट, पिपुल्स युनियन फर सिविल लिबर्टी र स्वयं सुप्रिम कोटका मुख्य न्यायाधीश बिएम तारकुण्डे र कंग्रेस(आई) सित पनि मेरो राम्रो सम्बन्ध भएकाले मेरो गिरफ्तारीलाई लिएर उहाँहरू सबैले त्यतिवेला आवाज उठाउनुभयो । भारतको संसद् नै अवरुद्ध भयो । साथीहरूले दिल्लीमा ठुलो आन्दोलन गरे । मलाई सार्वजनिक गर्न बाध्य पार्न र राजतन्त्रको अन्त्यका लागि भारतीय बुद्धिजीवी, पत्रकार, मानव अधिकारवादी, राजनीतिक दल आन्दोलित छन् भन्ने आभास दिलाए । यो मेरो अथक मिहिनेतको उपज थियो । मेरो सम्पत्ति थियो । कतिपय साथीसित अहिले पनि इमेल र ह्वाट्सएपमार्फत सम्पर्क हुन्छ । यिनीमध्ये प्रो. जिएन साइबाबा र सीताराम यचुरी दुवैको मृत्यु भएको छ । 

 

आनन्दस्वरूप बर्मा अशक्त हुनुहुन्छ । अरू क्रान्तिकारी आन्दोलनसित जोडिएका साथीहरूलाई जेल हालिएको छ । त्यहाँको सरकारले अहिले ८३ वर्षीय वरवर रावलाई जेलमा राखेको छ । तपाईंहरूले पाउनुभएको जेल यातना, आजीवन, कारावास कतै मृत्यु सजायमा परिणत त हुँदैन भन्ने आशंकाले मन चिसो बनाएको थियो । सत्य अवश्य बाहिर आउनेछ । जनयुद्धको आधारभूमिमा क. वरवर राव रोल्पा आउनुभयो । म त्यही क्षेत्रमा कार्यरत हुँदा र भेट्दा खुसी लाग्यो । अहिले रोल्पाली भूमिबाट जनयुद्ध लडेको पार्टी तपाईंहरूप्रति बेखबर छ । नेपालको पत्रिका र दिल्लीबाट प्रकाशन हुने हिन्दुस्तान र जनसत्तामा भावनात्मक लेख लेखेर भए पनि तपाईंहरूको रिहाइको माग गरेँ । यसैबिच अचानक मैले अरुन्धती रायको अंग्रेजीमा लेखेको पत्र पढ्न पाएँ र मन थाम्न सकिनँ । उहाँमार्फत तपाईंको खबर पाइराखेँ ।

 

म हापुरको वार्तामा जेलबाट छुटेको थाहा पाएर गौतम नवलेखा दिल्लीबाट पद्मरत्न तुलाधरको सम्पर्कबाट काठमाडौं आएर मलाई हिमालयन होटेलमा भेटेको सम्झन्छु । कति स्नेह थियो । मैले त्यहीवेला प्रो. जीएन साइबाबा र आनन्दस्वरूप बर्माबारे सोधेँ । जीएन साइबाबाले बनाएको आँपको अचारसित सँगै खाना खाएको प्रसंग जोडेँ र अहिले पनि त्यो दिन स्मरण भएको छ । जे होस्, नेपालको वर्गसंघर्षमा उहाँहरू मात्र नभएर त्यतिवेला सत्ताबाहिर भएका पार्टीको पनि भूमिका ठुलो थियो । त्यसमध्ये प्रो. एसडी मुनी पनि एक पात्र हुन् । तपाईंहरूको भौतिक जीवनको ग्यारेन्टी छैन, उनीहरूले कुनै पनि बाहनामा तपाईंहरूको हत्या गर्न सक्छन् भनेको लेख अहिले स्मरण गर्दै छु । कतै यातनाबाट तपाईंको हत्या भएको त होइन ? तपाईंहरू आतंकवादी पनि होइन, अपराधी पनि होइन, प्रगतिशील विचारको पंक्तिमा उभिनुभएको लेखक बुद्धिजीवी भएकाले न्यायप्रेमी जनताको माझबाट तपाईंहरूमा उच्च सम्मान छ ।

 

बौद्धिक श्रम विशेष किसिमको श्रम हो । फेरि श्रम नै उत्पादनको सारतत्व हो । दिमागबाट गर्ने श्रम बिर्सिदिन्छौँ । यसरी समाज रूपान्तरण गरिने साहित्यकलालगायत सिर्जनाको बौद्धिक कर्मबाट उत्सर्जित प्रगतिवादी गुणात्मक परिवर्तनलाई बदनाम गर्ने प्रयास भएका छन् । आतंकवादको हाउगुजी बनाउँदै क्रान्तिबारे सर्वसाधारण मजदुर किसान वर्गमा भ्रम पार्ने काम भएको छ । वस्तुवादी ढंगले यथार्थको सही मूल्यांकन गर्ने क्षमताको विकास गर्नु श्रमजीवी बुद्धिजीवीहरूका निम्ति आज पनि विशेष महत्व छ ।

 

खासगरी जीएन साइबाबा र मबिच यिनै गम्भीर मुद्दामा बहस चलिरहन्थ्यो । मानसिक यातना दियो । साइबाबाको मृत्यु भइसक्यो । बाँकी रहेका बुद्धिजीवी कलाकारलाई छोडिएन भने भारत मात्र होइन, विश्वका प्रगतिशीलहरूले भारतीय शासकवर्गप्रति घृणा गर्नेछन् । बौद्धिक शक्तिसँग शासकवर्ग कति डराउने रहेछ भन्ने यही प्रमाण हो । तपाईंहरूको विचारलाई प्रतिक्रियावादीले रोक्न सक्नेछैन । तपाईंले सिर्जना गरेका साहित्य भारतमा मात्र नभएर विश्वभर लाखौँ, करोडौँबिच गुञ्जिरहनेछ । पुनः प्रो.का. जीएन साइबाबाप्रति नेपाली जनताका तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै जेलभित्र रहेका कमरेडहरूले स्वास्थ्यको ख्याल गर्दै उच्च मनोबल बनाउनुहोला । विजय तपाईंहरूको हुनेछ ।