• वि.सं २०८१ मङ्सिर ६ बिहीबार
  • Thursday, 21 November, 2024
नयाँ पत्रिका
२०८१ कार्तिक १० शनिबार १०:२५:००
साहित्य

राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राईलाई मन परेका पुस्तक

२०८१ कार्तिक १० शनिबार १०:२५:००
नयाँ पत्रिका

 

आमा : म्याक्सिम गोर्कीको यो उपन्यास मलाई निकै मन परेको पुस्तक हो । यसले रसियाली क्रान्तिताका कारखानामा गरिबी र भोकसँग जुधेर काम गर्ने महिलाको कथा प्रस्तुत गर्छ । यसमा क्रान्तिकारी छोरा र उनकी मायालु आमाको कथा छ । जो सुरुमा आफ्ना छोरालाई लिएर चिन्तित हुन्छिन्, तर कालान्तरमा आफैँ क्रान्तिमा होमिन्छिन् । मातृत्व र महिलाको शक्तिलाई यस उपन्यासले देखाएको छ । महिलाले पनि समाज परिवर्तनका लागि अग्रमोर्चामा रहेर विद्रोह गर्न सक्छन् भन्ने देखाएको छ । यो उपन्यासले समानता, स्वतन्त्रता तथा अधिकार प्राप्तिका लागि विद्रोह गर्न सचेत बनाउँछ ।

 

शिरीषको फूल : पारिजातको ‘शिरीषको फूल’ मलाई निकै मन परेको उपन्यास हो । यस उपन्यासकी मुख्य पात्र सकम्बरी विशेष छिन् । उनले तत्कालीन समाजमा विद्रोही महिलाको प्रतिनिधित्व गरेकी छिन् । जीवनका अप्ठ्यारालाई यस उपन्यासले उजागर गरेको छ । उपन्यासका शब्द निकै शक्तिशाली छन् । त्यहीकारण, जतिपल्ट पढ्दा पनि धित मर्दैन । मलाई पारिजातको कथा ‘मैले नजन्माएको छोरो’ पनि विशेष लाग्छ ।

 

तस्लिमा नसरिन : बंगलादेशी लेखिका तस्लिमा नसरिनको आत्मकथा पनि मलाई निकै मनपरेको थियो । उनी एक विद्रोही महिला हुन् । बंगलादेश सरकारले उनको आत्मकथामा प्रतिबन्ध नै लगाएको थियो । उनको आत्मकथाले एउटा अलग ऊर्जा दिन्छ । धर्मका नाममा महिलामाथि हुने दमनबारे उनले खुलेर लेखेकी छिन् । महिलालाई समाजमा कस्तो ठाउँ दिइनुपर्छ भन्नेबारे उनका तर्क बेजोड छन् ।

 

फूल बेच्ने केटी : कोरियाली ओपेरा ‘द फ्लावर गर्ल’लाई खगेन्द्र संग्रौलाले काव्यिक अनुवाद गरेर ‘फूल बेच्ने केटी’ नाम दिनुभएको छ । यसमा महिलाका दुःखका कुरा छन् । जापानी साम्राज्यवादले कोरियामा गरेको ज्यादतीको कथा छ । त्यतिवेला हामी गाउँमा सानो टुकी बत्ती बालेर साथीहरू भेला गरेर कथा पढ्ने गथ्र्याैं । यो कथा पढ्दा म निकै रोएकी थिएँ । हामीले के दुःख भोगेका रहेछौँ र भन्ने लागेको थियो ।

 

युवाहरूको गीत : चिनियाँ लेखक याङ मोको उपन्यास ‘द सङ अफ युथ’लाई नेपालीमा खगेन्द्र संग्रौलाले अनुवाद गर्नुभएको हो । यो पुस्तकले पनि क्रान्तिका लागि झकझक्याउँछ । मैले युवावस्थामै यो पुस्तक पढेको हुँ ।

 

झाँसीकी रानी लक्ष्मीबाई : वृन्दावनलाल बर्माले लेखेको यो पुस्तक एक ऐतिहासिक पुस्तक हो । यस उपन्यासले ब्रिटिसकालमा झाँसीकी रानी लक्ष्मीबाईको बहादुरीलाई चित्रण गरेको छ । लक्ष्मीबाईले १८५७ को भारतको सिपाही विद्रोहमा अग्रणी भूमिका निभाएकी थिइन् । उनको बहादुरी र संघर्षको कथा यसमा छ ।