मेसिनबाट उत्पादित सामग्रीको दाँजोमा नेपाली हस्तकलाका सामग्रीलाई विदेशीले विशेष महत्वका साथ हेर्छन् । वार्षिक १० अर्बको हस्तकलाका सामग्री विदेश निर्यात भइरहेको छ भने ११ लाख मानिस रोजगार छन् ।
प्राचीनकालदेखि नै कला–संस्कृतिका लागि नेपाल प्रख्यात छ । कौटिल्यको अर्थशास्त्रमै नेपालका राडीपाखीको चर्चा छ । लिच्छविकालमा भारत र तिब्बतमा भाँडाकुँडा, मूर्ति, जुडीबुटीलगायत पठाइन्थ्यो । सातौँ शताब्दीमा भृकुटीले विवाह गरेर तिब्बत जाँदा मैत्रय बुद्धका मूर्ति आफूसँगै लगेको इतिहासमा उल्लेख छ । उनले पनि त्यहाँ नेपालको बज्रयान बौद्ध धर्मलाई फैलाएकी थिइन् । मल्लकाल नेपाली कला–संस्कृति र व्यापारका लागि स्वर्णकाल मानिन्छ । यस समय नेपालबाट हुने व्यापार भारत र तिब्बत दुवैतर्फ बढेको इतिहास छ । नेपालको यो सांस्कृतिक विरासत ‘डिजिटल युग’मा पनि कायमै छ । प्रविधिको विकाससँगै अवसर र चुनौती दुवै थपिएका छन् ।
नयाँ–नयाँ सोचसहित युवा उद्यमी हस्तकलाको प्रवर्द्धनमा सक्रिय छन् । रूपक पराजुलीको तीन पुस्ता व्यापारमा संलग्न छ । हजुरबुबा यमप्रसाद पराजुलीले न्युरोडमा कपडा र हस्तकलाबाट बनेका विभिन्न सामग्रीको पसल राखेका थिए । बाबु केदारप्रसाद पराजुलीले त्यसलाई ठमेल सारे ।
आइटी अध्ययन गरेका रूपकमा स्वदेशमै केही गरौँ भन्ने सोच आयो । उनले आफ्नो परिवारकै पेसालाई डिजिटल माध्यमबाट निरन्तरता दिने सोच बनाए । ‘हजुरबुबाले नै व्यापार थाल्नुभएको हो । उहाँ अहिले गाउँ गएर अवकाश जीवन बताइराख्नुभएको छ । बुबाले अझै ठमेलमा व्यापार गर्नुहुन्छ,’ रूपकले भने, ‘विदेश जानुको साटो यहीँ केही गर्ने सोच मलाई थियो । सूचना प्रविधिको युगमा नयाँ ढंगले केही गर्नुपर्छ भनेर मैले पाँच वर्षअघि अनलाइनमार्फत नेपाली मौलिक सामग्रीको व्यापार थालेको हुँ ।’
उनको स्वामित्वमा रहेको नेपाली ह्यान्डिक्राफ्ट इन नेपाल डटकमले नेपाली कलाकारले हातले बनाएका सामग्रीको व्यापार गर्छ । याकको ऊनबाट बनेका सल, ब्ल्यांकेट्स, विभिन्न किसिमका मूर्ति, खुकुरी, सिङगिङ बल, भाङबाट बनेका कपडा, योगा म्याट, हातले नै बनाइएको प्राकृतिक साबुन, धूपलगायत सामग्री अनलाइनमार्फत अर्डर गर्न सकिन्छ । ‘अहिले हातहातमै स्मार्टफोन छ । इन्टरनेटको सहज पहुँच छ । त्यही कारण अनलाइनमै सामग्री किनबेच हुने क्रम बढेको छ,’ उनले भने, ‘हामीले हातैबाट बनेका सामग्री बेच्ने हुनाले स्वदेश र विदेशमा पनि ग्राहक पाइरहेका छौँ ।’
उनले थपे, ‘नेपालमा आजकल मेसिनबाट बनेका सामग्रीको प्रयोग बढ्दो छ । हामी विदेशबाट त्यस्ता सामग्री मगाएर चलाइरहेका हुन्छौँ । तर, उता विदेशीहरू हातबाटै बनेका सामग्रीको प्रयोगमा ज्यादा रुचि देखाइरहेका हुन्छन् । उनीहरू त्यस्ता सामग्री प्रयोग गर्न चाहन्छन्, जसले समुदायमा पनि केही योगदान गरोस् । एउटा सर्जक वा उत्पादनकर्तालाई उसले गरेको मिहिनेतको मूल्य प्राप्त हुनेछ भन्ने कुराले उनीहरूलाई जुन सन्तुष्टि मिल्छ, मेसिनले बनाएका सामग्री प्रयोग गर्दा त्यो सन्तुष्टि ग्राहकलाई प्राप्त नहुन सक्छ ।’
आफ्ना अधिकांश ग्राहक विदेशमा रहेको रूपकले बताए । ‘झन्डै ७० प्रतिशत ग्राहक विदेशी छन् । ३० प्रतिशत नेपाली छन् । त्यस्तै विभिन्न स्टार्टअप ब्रान्डहरूसँग पनि हामीले सहकार्य गरेका छौँ । पठाओ, फुडमान्डुलगायतले वार्षिकोत्सव र विशेष समारोहमा हस्तकलाका सामग्री प्रयोग गर्दा हामीलाई नै सम्झन्छन् ।’
नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यका अनुसार नेपालबाट अल्लो, बाँसजन्य वस्तु, पोतेका सामान, सेरामिक सामान, ढाकाबाट बनेका कपडा, भाङबाट बनेका कपडा, फेल्ट, धूप, धातुजन्य, चित्रकला, कागज, ढुंगाबाट बनेका कलाकृति, रेसाजन्य सामग्री, चाँदी, गरगहना, काष्ठकला, ऊनलगायत सामग्री विदेश आयात हुँदै आएको छ । नेपालमा उत्पादित हस्तकला छिमेकी मुलुक भारत, चीनलगायत अमेरिका, जापान, जर्मनी, डेनमार्क, नेदरल्यान्ड, बेलायत अस्ट्रेलिया, सिंगापुरलगायत देशमा निर्यात हुने गरेको उनले बताए ।
‘विदेशीहरू हातले बनेका सामग्री भन्नेबित्तिकै खुसी हुन्छन् । जापानमा हस्तकलाका सामग्रीलाई पाँच गुणासम्म बढी मूल्य तिरेर किन्छन् । मानिसको श्रम र सीप परेको हुनाले मेसिनबाट उत्पादित सामग्रीको दाँजोमा यसलाई विदेशीले विशेष महत्वले हेर्छन्,’ नेपाल हस्तकला महासंघका अध्यक्ष शाक्यले भने ।
‘उद्यमी घर’की सञ्चालक शोभा घिमिरे २०६१ सालदेखि नै नेपाली परम्परागत सामग्रीको उत्पादन र बजारीकरणमा सक्रिय छिन् । ‘मैले एनजिओमा सक्रिय रहेर महिला उद्यमशीलता र रोजगारीका लागि देशका ५० भन्दा धेरै जिल्लामा गएर सीपमूलक तालिम दिएँ । जनचाहनामा र मागमा आधारित तालिम दियौँ । नेपाल सरकार, धेरै एनजिओ, आइएनजिओ तथा युनएनडिपीजस्ता संस्था यस कार्यमा सक्रिय छन् । एउटै मानिसले धेरै तालिम लिएको छ । तर, कतिपयका हकमा १० वटा सीप भएर पनि बेरोजगार छन्,’ उनले भनिन्, ‘यस्तो अवस्था किन आयो भनेर हामीले झन्डै दुई वर्ष अनुसन्धान गर्यौँ । खासमा हामीले तालिम दिए पनि त्यसपछि उनीहरूले गरेका प्रगतिबारे फलोअप गरेनौँ । बजार र प्रविधिमा उनीहरूको पहुँच नभएकाले पनि यस्तो अवस्था निम्तिएको भन्ने लाग्यो ।’
त्यसपछि घिमिरे ‘उद्यमी घर’ खोलेर व्यवसायमा सक्रिय भइन् । ललितपुरको चापागाउँ दोबाटोमा रहेको ‘उद्यमी घर’ले हस्तकला कृषि र लघु उद्यमका सबै उत्पादन र सामग्री एकै थलोमा बेच्छ । अनलाइनमार्फत पनि यस्ता सामग्रीको प्रवर्द्धन र बजारीकरण गर्छ । ‘नेपाली मन, नेपाली पन, नेपालकै उत्पादन’ भन्ने नारासहित परम्परागत सामग्रीको प्रवर्द्धनमा लागेकी घिमिरे भन्छिन्, ‘हातमा सीप भएकाहरूले बनाएका सामग्रीलाई स्वदेशी र विदेशी बजारसम्म पुर्याउँछौँ । पछिल्लो समय विदेशीले पनि परम्परागत सामग्रीमा रुचि देखाइराखेका छन् ।’ उनले भनिन्, ‘नेपालमै पनि परम्परागत सामग्रीप्रति आकर्षण बढ्दो छ ।’
गाउँ–गाउँका मानिसले बनाएका घुम, ठेकी, डालो, डोको, सुकुल, गुन्द्री, ढिकी–जाँतोलगायत सामग्री लिन ‘उद्यमी घर’मा आउँछन् । ‘असारमा घुम ओड्ने चलन थियो । यो परम्परा लोप हुनुहुँदैन भन्ने हाम्रो मान्यता हो । ठेकी, डालो, डोकोलगायत परम्परागत सामग्रीको माग बढ्दो छ । अहिले रेस्टुरेन्ट र क्याफेहरूमा यसको माग छ,’ उनले भनिन् ।
गाँजाका कपडा, अल्लोका कपडा, बाँसको पर्दा, खोस्टाको मूर्तिलगायत सामग्रीमा विदेशीसमेत आकर्षित भइरहेको उनले बताइन् । ‘मकैको खोस्टाबाट बनाएका सामग्रीको माग अहिले बढ्दो छ । विभिन्न जातजातिका ड्रेस यसबाट बनाएका छौँ । जापान, जर्मनबाट राम्रो अर्डर छ,’ उनले भनिन्, ‘मकैको खोस्टाबाट बनाइएको बुद्धको मूर्ति चाहियो भनेर अर्डर आइरहेको छ । तर, जनशक्ति अभाव छ । मकैको खोस्टाबाट सामग्री बनाउन सक्ने नेपालमा ६ जना मात्रै छन् । कतिपय सामग्री अर्डर आएर पनि दिन नसकिने अवस्था छ ।’
सोलुखुम्बुका यलम्बर राई पछिल्लो आठ वर्षदेखि हस्तकलाका सामग्रीको व्यापारमा संलग्न छन् । बुबाले ललितपुरको खुमलटारमा सुरु गरेको पसललाई अहिले उनले अनलाइनमार्फत निरन्तरता दिइरहेका छन् । ‘युना ह्यान्डिक्राफ्ट’ कोरोना महामारीपछि अनलाइन बिजनेसमा रूपान्तरण भएको उनले बताए । अहिले उनको अनलाइनमा स्वदेश तथा विदेशबाट ठुलो संख्यामा अर्डर आउँछ । थाङ्का, धातुबाट बनेका सामग्री, सिङगिङ बल, खुकुरी, ढाकाका कपडा, पस्मिना, कार्पेट, सारङ्गी, मूर्तिलगायत सामग्री उनले अनलाइनमार्फत बेच्ने गरेका छन् । ‘हाम्रोमा विदेशबाट अर्डर धेरै आउँछ । पछिल्लो समय नेपालीले पनि धेरै जानकारी लिन थालेका छन्,’ उनले भने, ‘विदेशमा पनि नेपाली समुदायभन्दा विदेशीले नै धेरै रुचि देखाएका छन् । खुकुरीचाहिँ त्यहाँका नेपाली समुदायको रोजाइमा पनि पर्छ । विशेषगरी, बेलायती गोर्खा सैनिकमा कार्यरतले सजावटका लागि खुकुरी अर्डर गर्छन् ।’
राईले अनलाइनमार्फत व्यापार गर्दा विश्वभर एक्सपोज हुन पाएको र मौलिक सामग्रीको प्रवर्द्धन गर्न पाउँदा सन्तुष्टि पनि मिलेको बताए । ‘विदेशतिर सजावटका लागि पनि परम्परागत सामग्री राख्ने चलन बढ्दो छ । हाम्रोमा रेडिमेड कार्पेट नै सस्तोमा पाइन्छ । मेसिनबाट बनेका सामग्रीको दाँजोमा हातले बनाइएका सामग्री तयार गर्न समय धेरै लाग्ने भएकाले केही महँगो हुन्छ । त्यसैले पनि नेपालमा परम्परागत सामग्री प्रयोग गर्नेको संख्या केही कम छ,’ उनले भने, ‘नेपाल घुम्न आएका, विगतमा नेपाल बसेका वा नेपालसँग सम्बन्ध भएका विदेशीले पनि नेपाली हस्तकलाका सामग्रीबारे विदेशमा प्रचार गरिराखेका हुन्छन् । यस्ता सामग्रीसँग उनीहरूको भावनात्मक निकटता पनि हुन्छ । यसले नेपालको सम्झना गराउँछ ।’
एक्ज्युकेटिभ एमबिए र पर्यटनमा मास्टर्स गरेका राई नेपालमा पर्यटक भित्र्याउन पनि मौलिक सामग्रीको प्रवर्द्धनले भूमिका खेल्ने बताउँछन् । ‘म फ्रेन्च पनि बोल्छु । मैले फ्रेन्चमा पनि उत्तर दिइरहेको हुन्छु । उनीहरू उनीहरूको भाषामा बोल्दा खुसी मान्छन् । त्यसपछि उनीहरूले नेपालबारे धेरै कुरा सोधिरहेका हुन्छन् । चासो प्रकट गरिरहेका हुन्छन् । सामानको किनबेच मात्रै नभएर सम्बन्ध बनाउने माध्यम पनि हो ।’
विगत चार वर्षदेखि स्वदेशी डटकमले पूजा सामग्री, नेपाली परम्परागत गहना र कपडा, हस्तकला, दैनिक जीवनमा प्रयोग हुने सामग्री, नेपाली परम्परागत संगीत उपकरणलगायत विभिन्न सामग्रीको प्रवर्द्धन गरिरहेको छ । मर्चुङ्गा, डमरु, डम्फु, टुङ्गना, धिमे, मादल, सारङ्गी, शंख, ट्याम्कोलगायत परम्परागत बाजा स्वदेशी डटकममा पाइन्छ । थाङ्का, मिथिला चित्रकला, खुकुरी, काठबाट बनेका मूर्ति, धातुबाट बनेका मूर्ति, धूप, करुवा, तामाको अस्टमंगल खड्कुलो, त्रिशूल, दियोलगायत सामग्री पनि यहाँ अर्डर गर्न सकिन्छ ।
‘नेपालमा सीप भएकाहरू धेरै छन् । अनलाइन प्लेटफर्ममार्फत उनीहरूको मौलिक सिपलाई फैलाउने र नेपाली सामग्रीको प्रवर्द्धन र निर्यात गर्ने लक्ष्यले हामीले स्वदेशी डटकम खोलेका हौँ,’ सहसंस्थापक तथा निर्देशक प्रवीन श्रेष्ठले भने, ‘विदेशी ग्राहकले नेपाली मौलिक सामग्रीमा राम्रो रुचि देखाएको हाम्रो अनुभव छ । यसले नेपालप्रतिको उनीहरूको माया पनि दर्साउँछ । बिस्तारै यी सामग्रीमा नेपालीको पनि आकर्षण बढ्दो छ । यसलाई सुखद मान्नुपर्छ ।’
विश्वास आर्जन महत्वपूर्ण
ग्राहकको विश्वास आर्जन सबैभन्दा महत्वपूर्ण पक्ष रहेको स्वदेशी डटकमका निर्देशक श्रेष्ठले बताए । ‘अनलाइन व्यापार विश्वासमा टिकेको हुन्छ । ग्राहकले सोच्दा कुनै सामग्री किनिसकेपछि भोलि रिटर्न गर्नुपर्दा के गर्ने ? कति समयभित्र आउँछ ? कस्तो गुणस्तरको छ ? लगायत विभिन्न कुरा हुन्छन्,’ उनले भने, ‘किनकि, अनलाइनमा फोटो हेरेरै ग्राहकले सामान अर्डर गर्नुपर्ने हुन्छ । त्यहीकारण उनीहरू विश्वासिलो कम्पनीसँग मात्रै कारोबार गर्न चाहन्छन् । आफ्ना ग्राहकलाई गुणस्तरीय सामग्री उपलब्ध गराएर विश्वासमा लिनुपर्ने हुन्छ ।’
यलम्बर राई ग्राहकलाई विश्वासमा राख्न सामानको गुणस्तरलाई ध्यान दिनुपर्ने बताउँछन् । त्यस्तै, उनीहरूसँग निरन्तर संवादमा रहनुपर्ने उनको अनुभव छ । ‘हाम्रोमा दुइटा कार्पेट एकैपटक अर्डर भएको थियो । भूलवश हाम्रो अप्रेसन टिमले युकेबाट आएको अर्डर इटली र इटलीबाट आएको युके पठाएछ । उनीहरूसँग संवाद गरेर, ठेगाना सेयर गर्न लगाएर, युकेको कार्पेटलाई इटली र इटलीको कार्पेटलाई युके पठायौँ । त्यस क्रममा लागेको खर्च हामीले व्यहोर्यौँ,’ उनले भने, ‘यसरी विश्वास आर्जन गर्नुपर्ने हुन्छ । कुनै समस्या भएमा त्यसबारे इमानदारीसाथ जानकारी दिनुपर्ने हुन्छ । प्रतिस्पर्धा छ, धेरै कम्पनी आइरहेका छन् । तर, गुणस्तर दिन सक्नुपर्छ । हाम्रोमा एकपटक किनेको कार्पेट दसौँ वर्ष टिक्छ । ग्राहक सन्तुष्ट हुन सके भने त्यसले मार्केटिङमा ठुलो भूमिका खेल्छ । पैसाको मुख हेरेर मात्रै हुँदैन ।’
उनले अर्डर आइसकेपछि डेलिभरी नहुँदासम्म ग्राहकसँग निरन्तर सम्पर्कमा बस्ने गरेको बताए । ‘कोही व्यक्तिले अर्डर गरिसकेपछि ६–७ हप्तासम्म सामान पाउन कुनुपर्ने हुन्छ । कहिलेकाहीँ थप ढिला पनि हुन सक्छ । यस अवधिमा हामी निरन्तर संवादमा बस्नुपर्छ,’ उनले भने, ‘हामी बन्दै गरेको फोटो र भिडियो पठाउँछौँ । केही वर्षअघि बनाउने मानिसलाई डेंगु लागेर पठाउन ढिला भएको थियो । हामीले यो विषय जानकारी गरायौँ । यसरी सम्पर्कमा बसेकाले उनीहरूले पनि बुझ्छन् । पैसा लियो तर केही अपडेट भएन भने उनीहरू आत्तिन्छन् ।’
रूपक पराजुली भन्छन्, ‘अनलाइनमा फोटो हेरेर विश्वास गर्नुपर्ने हुन्छ । यसमा पहिलो कुरा नै ट्रस्ट हो । अहिलेका ग्राहकले इन्स्टाग्रामका भरमा अर्डर गर्छन् । वेबसाइटबाट त्यसको रिभ्यु र रेटिङ हेरेर अर्डर गर्छन् । अप्रेसन कसरी भएको छ, क्वालिटी कस्तो छ भन्ने पनि हेर्छन् । कम्पनीको वेबसाइट र त्यसपछि हुने संवादकै आधारमा कम्पनी कति विश्वासिलो छ भन्ने कुरा ग्राहकले बुझिसकेका हुन्छन् ।’
झन्डै ११ लाखले रोजगारी पाएका छन् : प्रचण्ड शाक्य अध्यक्ष, नेपाल हस्तकला महासंघ
पछिल्लो आर्थिक वर्षमा आठदेखि १० अर्बको हस्तकला सामग्री निर्यात भएको छ । पेमेन्ट गेटवे सिस्टम राम्रो नहुँदा धेरै व्यापारीलाई अनलाइन कारोबारमा समस्या छ । विदेशबाट पैसा ल्याउन सहज छ, तर कहिलेकाहीँ सामान रिटर्न गर्नुपर्ने हुन्छ, त्यस्तो अवस्थामा यहाँबाट पैसा फिर्ता गर्न गाह्रो हुन्छ । अनलाइनबाट व्यापारसँगै सामग्रीको ब्रान्डिङ पनि राम्रो हुने भएकाले यसका लागि सरकारले वातावरण बनाउन जरुरी छ । तर, सरकारले सोचेजति ध्यान दिएको छैन । लघु उद्यम भएकाले निर्यात गर्नेलाई सहज बनाउनुपर्छ । प्राचीनकालदेखि नै नेपाललाई मौलिक सामग्रीले अन्तर्राष्ट्रिय जगत्मा चिनाएको छ । तर, आफ्ना उद्यमीलाई प्रवर्द्धन गर्ने नीति राज्यसँग भएन । यसविपरीत, युवाहरूलाई विदेश पठाउने र रेमिट्यान्स भित्र्याउने नीति सरकारको छ । अहिले हस्तकलाले १० देखि ११ लाख हाराहारीलाई रोजगारी दिइरहेको छ । गाउँघरमा कुहिएर जाने झारपातबाट पनि विभिन्न सामग्री बनाएर बेच्न सकिने भएकाले विदेशी मुद्रा आर्जन गर्न यो राम्रो माध्यम हो । तर, पछिल्लो समय युवाको संख्या घट्दो छ । पुस्तान्तरणमा देखिएको समस्याका कारण भारतबाट कामदार झिकाएर काममा लगाउनुपर्ने अवस्था छ ।
नेपालबाट पछिल्लो वर्ष सबैभन्दा धेरै फेल्टका वस्तु निर्यात भएका छन् । यसले ग्रामीण तथा सहरी क्षेत्रमा रोजगारीको व्यवस्था गरेको छ । विदेशमा नेपाली सामग्रीलाई निकै रुचाइन्छ । उनीहरूले निकै राम्रो प्रतिक्रिया दिन्छन् । नेपालको गुणस्तर पनि राम्रो छ । क्वालिटी मेन्टेन र प्रवर्द्धनमा स्थानीय सरकारले पनि ध्यान दिनुपर्ने हुन्छ । सीपमूलक जनशक्ति निर्माणका लागि प्राविधिक शिक्षालयको संख्या बढाउनुपर्छ ।