यहाँ योग्य एवं सक्षम प्रेस हुन्थ्यो भने बाइडेनका कमीकमजोरी समयमै तिनका अखबारका प्रथम पृष्ठका छापिन्थे । डेमोक्र्याटहरूलाई वास्तविकताको साक्षात्कारको अवसर दिन्थे ।
डेमोक्र्याटको लज्जास्पद हारका लागि कसलाई सबभन्दा बढी दोष लगाउने भनेर बाराक ओबामा र जो बाइडनका सेनाबिच दोषारोपणको क्रम चलेको छ । उनीहरूले एक–अर्कातर्फ चोर औँला देखाइरहँदा बाँकी औँला भने यो चुनावमा सबैभन्दा ठुलो भूमिका खेलेको समूह अर्थात् अमेरिकी मिडियातर्फ सोझ्याउनुपर्छ ।
डेमोक्र्याटिक उम्मेदवारहरूलाई प्रेसको खुला समर्थन एक हिसाबले आपसी हितसरह अर्थात् प्रेसले आफैँलाई सहयोग गरेसरह हुने मान्यता रही आएको छ । तर, कुरा यस्तो होइन । मिडियाको डोनाल्ड ट्रम्प र रिपब्लिकनमाथिको निरन्तरको आक्रमणले अनिर्णीत केही मतदाताहरूलाई निर्णयमा पुग्न मद्दत गरेकोमा कुनै शंका छैन । तरm कमला ह्यारिस एन्ड कम्पनीको प्रवर्द्धनको मूल्य निकै महँगो पर्न गएको छ । डेमोक्र्याटहरू स्वैरकल्पनाले परिपूर्ण भाष्यमै रुमलिए, देशको मनोदशा, चासो र चिन्ताबाट अलग्गै संसारमा रमाउन पुगे ।
यी स्वैरकल्पनामा जो बाइडेनको क्षमता उत्तिकै तीक्ष्णतामा कायम रहेको भनी प्रेसजगत्ले चार वर्ष दिलाएको दिलासा सबैभन्दा हानिकारक थियो । गत जुनमा ‘जी सेभेन’को एक जमघटमा अल्मलिँदै भौँतारिएर अनौँठो व्यवहार देखाउन पुगेका राष्ट्रपतिको भिडियो प्रमाणलाई समेत उक्त भिडियो फुटेज ‘सम्पादित’ ‘भ्रामक’ भएको दाबी गर्ने काम गरियो । ट्रम्प–बाइडेन बहसले बाइडेनको कमजोरी उजागर गरी उनको पतनलाई निर्विवाद बनाएपछि मात्र मिडियाले पर्दा हाल्न छोडेका थिए । त्यसपछि उनीहरू तुरुन्तै कमला ह्यारिसलाई राजनीतिक प्रतिभा करार गर्नतर्फ लागे । जब कि ह्यारिस प्राइमरिकी एक हरूवा र अलोकप्रिय उपराष्ट्रपति थिइन् । उनीहरूका फन्डाले कसरी काम गर्न सक्नु ?
यदि यहाँ योग्य एवं सक्षम प्रेस हुन्थ्यो भने बाइडेनका कमीकमजोरी समयमै तीनका अखबारका प्रथम पृष्ठमा छापिन्थे । डेमोक्र्याटहरूलाई वास्तविकताको साक्षात्कारको अवसर दिन्थे । प्राइमरीको निर्वाचन अनुभवबाट खारिएको, तर बाइडेनका असफलताको भारी नबोकेको उम्मेदवार आउनुपर्थ्यो । नबिर्सिऔँ, यो उद्योग(मिडिया)को काम बाइडेनका प्रशंसामा उपन्यास लेख्ने होइन कि राजनीतिक कथाहरूको पर्दाफास गर्नु हो । ह्यारिसका सल्लाहकार डेभिड प्लुफ ‘टिम बाइडेन’ विकल्पका लागि खुट्टा फैलाउनै नमिल्ने गरी गहिरो खाडल खन्ने काम गरेको गुनासो गर्छन् ।
पक्कै पनि, डेमोक्र्याटहरू आफू हारेकोमा स्तब्ध छन् । क्रियाशील प्रेस भएको संसारमा, मुद्रास्फीति, अपराध वा सीमाक्षेत्रका अराजकतालाई चित्रित गर्न प्रयास गर्ने राजनीतिज्ञलाई थप्पड हानिन्छ, यथार्थबाट टाढिएको भनेर । बाइडेन–ह्यारिसको संसारमा भने यी प्रेसले उनीहरूको असफलतालाई नै सुसमाचारको रूपमा छापे । चार वर्षका हेडलाइनले अमेरिकीहरू अहिलेसम्मकै मजबुत अर्थतन्त्रमा बाँचिरहेको, अपराधका दर घट्दै गएको, रेड–स्टेट(रिपब्लिकनले जितेका)का गभर्नरहरू आप्रवासी समस्यालाई बढाइचढाइ गर्ने ‘स्टन्ट’मा संलग्न रहेको, देशले सामना गरिरहेका सबैभन्दा ठूला मुद्दा भनेका जलवायु, प्रणालीगत नश्लवाद, गर्भपतन र तेस्रोलिंगी अधिकारहरू हुन् भन्नेमै जोड दिइरहे ।
यो स्वैरकल्पना चुनावसम्मै कायम रह्यो । रिपब्लिकनहरूले मतदाता दर्तामा वृद्धि भएको, अर्ली भोट अभूतपूर्व भएको र जनसांख्यिकीयमा उल्लेखनीय परिवर्तन आएको कुरालाई इंगित गर्दा पनि समाचारका हेडलाइन भने कमलाले गर्भपतन र लिज–चेनीप्रेमी उपसहरी महिला, पोर्टाेरिकनहरूको खिल्ली उडाउने हास्य कलाकार र टिम वाल्जको क्यामो ह्याट(सैन्य ढाँचाको टोपी)बाट प्रभावित गोराहरूको भिडले नै विजय निकाल्न सक्ने कुरामा जोड दिँदै बसे । मंगलबारको नतिजा अप्रत्याशित कुरा होइन ।
डेमोक्र्याटका सामु अब एउटा विकल्प छ । विकल्पको एक किनारमा पार्टीका कार्यकर्ताहरू छन् जो यो पराजयलाई मतदाताबाट प्रगतिशील नीतिहरूको अस्वीकारोक्तिका रूपमा चित्रित गरिरहेका छन् । उनीहरू प्रतिद्वन्द्वीलाई छेक्न कानुनी झमेलाको रणनीतिक प्रयोग गर्नु, पार्टी जनभावनाबाट कट्नु, उन्मादी स्वार्थ समूहलाई शरण शिविर चलाउन दिनु गल्ती थियो भनेर स्वीकार गरिरहेका छन् । उनीहरू पार्टीको भविष्यलाई नै खतरामा पार्ने गरी बढ्दो राजनीतिक पुनर्संरचनाबारे चिन्तित छन् ।
अर्काेतर्फ, छन् यो गडबडीका प्रगतिशील आर्किटेक्टहरू, जो यो निर्वाचन नतिजाको रातलाई जातिवाद, लिंगवाद र ‘फासीवाद’सँग अमेरिकाको प्रेम सम्बन्धका रूपमा जोड्दै छन् । यो हारलाई ‘रणनीतिक’ त्रुटिका रूपमा चित्रित गर्छन् । उनीहरू प्यालेस्टाइन–समर्थक मतदाताहरूलाई आफ्नो पक्षमा पार्न नसक्नु, प्रचारकहरूको गलत विनियोजन, विज्ञापनको सही समय किन्न नसक्नुजस्ता रणनीतिक त्रुटिलाई जिम्मेवार ठहर्याउँदै छन् । आखिर, यो पार्टीलाई आफ्ना ‘ऐतिहासिक उपलब्धि’हरूको सुसन्देश मात्रै जो चाहिएको छ ।
यी मिडियाले पछिल्लो कथालाई चलाउन थाल्नु कुनै आश्चर्य होइन । उनीहरू डेमोक्र्याटिक पार्टीलाई उसको वैचारिक विफलताको तीतो वास्तविकता साक्षात्कार गराउनुको सट्टा सहज विकल्प प्रदान गर्दै छन् । के डेमोक्र्याटहरू फेरि उदाउलान ? उनीहरू वास्तवमै मतदाताहरूसँग पुनः जोडिन चाहन्छन् भने उनीहरूले पृष्ठपोषणलाई गतिलो बनाउनुपर्छ ।
यो प्रक्रियामा मिडिया आफैँ मतदाताको तीक्ष्ण नजरमा परेका छन् । आफूलाई पोडकास्टर र इन्फ्लुएन्सरभन्दा पनि पछाडि धकेलेका छन् । अहिले मतदाताहरू सत्य पस्किने मामिलामा पोडकास्टर र इन्फ्लुएन्सरहरूलाई अधिक विश्वास गर्छन् ।
ट्रम्पसँग जो रोगनको अन्तर्वार्तालाई कम्तीमा पाँच करोड मानिसले सुनेका छन् । मिडियाका जलवायु, गर्भपतन अधिकार र लोकतन्त्रलाई नष्ट गर्ने ‘अधिनायकवादी’ अभिप्रायबारेका लेखहरूभन्दा उम्मेदवारहरूको अडान र देशको चासो र चिन्ताको सटिक मूल्यांकन प्रदान गरेको उनको पोडकास्टलाई मानिसले रुचाए ।
निर्वाचनलाई अक्षुण्ण राख्न प्रेसले खेलेको महत्वपूर्ण भूमिकालाई मान्यता दिँदै संविधानका रचयिताहरूले यसलाई पहिलो संशोधनमा समावेश गरेर सम्मान प्रदान गरेका थिए । यो उद्योगको कर्तव्य भनेको जनताको हितमा दुवैतर्फका सरकारको रखबारी, चियो गर्नु हो । पारदर्शिताका लागि मात्र होइन, दिग्भ्रमित राजनीतिज्ञहरूलाई तिनका नीति राष्ट्रसँग कसरी मेल खान्छन् भनेर निरन्तर लेखाजोखा पस्किन पनि यो काम अपरिहार्य हुन आउँछ । जब त्यो कर्तव्यको पर्खाल भत्किन्छ, राष्ट्रले दुःख पाउँछ । यसैगरी, जुन पार्टी स्वैरकल्पनामा जिउन खोज्छ त्यसले पनि दुःख नै पाउँछ ।
(ट्रासेल वालस्ट्रिट जर्नलकी सम्पादन समूहकी सदस्य हुन् । वालस्ट्रिट जर्नलबाट नारायण शिवाकोटीको अनुवाद ।)